मन्थरा
| मन्थरा | |
|---|---|
| रामायण पात्र | |
कैकेयीसँग मन्थरा (बायाँ) को चित्र | |
| प्राप्त जानकारी | |
| लिङ्ग | महिला |
| पेशा | दासी |
मन्थरा हिन्दु धर्मग्रन्थ रामायणकी एक पात्र हुन्। यस ग्रन्थमा वर्णन गरिएअनुसार, उनले रानी कैकेयीलाई अयोध्याको सिंहासन उनका छोरा भरतको हुनुपर्ने र उनका सौतेनी छोरा युवराज रामलाई (रामायणका मुख्य पात्र) राज्यबाट निकाला (वनवास) गर्नुपर्ने कुरामा सहमत गराएकी थिइन्।[१] कैकेयीकी आमालाई राज्य निकाला गरिएपछि मन्थरालाई कैकेयी र उनका जुम्ल्याहा दाजु युधाजितका लागि आमा समान पात्रको रूपमा चित्रण गरिएको छ। कैकेयीको दशरथसँग विवाह भएपछि उनी कैकेयीसँगै अयोध्या आएकी थिइन्।
कैकेयीमाथि प्रभाव
[सम्पादन गर्नुहोस्]कैकेयीको पारिवारिक दासीको रूपमा मन्थरा उनको जन्मदेखि नै उनीसँगै बस्थिन्। जब उनले राजा दशरथले आफ्ना जेठा छोरा रामलाई (कैकेयीका छोरा भरतको सट्टा) युवराज बनाउने योजना बनाउँदैछन् भन्ने सुन्छिन् उनी क्रोधित हुन्छिन् र यो खबर कैकेयीलाई सुनाउँछिन्। सुरुमा कैकेयी प्रसन्न हुन्छिन् र खुसी हुँदै मन्थरालाई मोतीको हार उपहार दिइन्।[१]

मन्थराले कैकेयीलाई ती दुई वरदानहरूको सम्झना गराइन् जुन दशरथले एक पटक देवासुर सङ्ग्राममा आफ्नो ज्यान बचाएको बदलामा उनलाई दिएका थिए। कैकेयीले ती वरदानहरू पछिका लागि साँचेर राखेकी थिइन् र मन्थराले ती माग्ने यो सही समय भएको ठान्छिन्। उनले कैकेयीलाई फोहोर लुगा लगाएर र कुनै पनि गहना नपहिरिएर आफ्नो कोठामा सुत्न सल्लाह दिन्छिन्। उनलाई रिसको बहाना गर्दै रुन र विलाप गर्न भन्छिन्। जब दशरथ उनलाई सान्त्वना दिन आउँथे, उनले तुरुन्तै ती वरदानहरू माग्नुपर्ने थियो। पहिलो वरदान भरतलाई राजा बनाउनुपर्ने र दोस्रो वरदान रामलाई चौध वर्षका लागि वनवास पठाउनुपर्ने थियो। मन्थराको विचारमा चौध वर्षको वनवासको अवधि भरतलाई साम्राज्यमा आफ्नो पकड बलियो बनाउन र जनताको मन जित्नका लागि पर्याप्त हुनेछ।[१]
शत्रुघ्नद्वारा तिरस्कृत
[सम्पादन गर्नुहोस्]रामको वनवासपछि रामायणमा मन्थरा एक पटक मात्र देखा पर्छिन्। कैकेयीबाट महँगा लुगा र गहनाहरू उपहार पाएपछि उनी दरबारको बगैँचामा टहलिरहेकी हुन्छिन्, जहाँ भरत र उनका सौतेनी भाइ शत्रुघ्नको उनीसँग जम्काभेट हुन्छ। उनलाई देख्नेबित्तिकै रामको वनवासका कारण शत्रुघ्न प्रचण्ड क्रोधमा आउँछन् र उनीमाथि घातक आक्रमण गर्छन्। कैकेयीले मन्थरालाई बचाउन भरतसँग प्रार्थना गर्छिन् र शत्रुघ्नलाई स्त्री हत्या गर्नु पाप भएको र यस्तो कार्य गरेमा राम उनीहरू दुवैसँग क्रोधित हुने कुरा सम्झाउँछिन्। त्यसपछि शत्रुघ्न शान्त हुन्छन् र दुवै दाजुभाइ त्यहाँबाट जान्छन् जबकि कैकेयीले मन्थरालाई सान्त्वना दिने प्रयास गर्छिन्।
रामको राज्याभिषेकपछि
[सम्पादन गर्नुहोस्]जब राम १४ वर्षको वनवासपछि सीता र लक्ष्मणका साथ अयोध्या फर्किए तब[२] उनलाई अयोध्याको राजा बनाइन्छ।[३] रामको राज्याभिषेकपछि राम र सीताले आफ्ना सेवकहरूलाई गहना र लुगाहरू उपहार दिन्छन्। त्यसपछि, रामले कैकेयीसँग मन्थरा कहाँ छिन् भनी सोध्छन्। कैकेयीले रामलाई मन्थरा आफ्नो कार्यप्रति निकै पश्चाताप गरिरहेकी छिन् र १४ वर्षदेखि रामसँग माफी माग्न उनलाई पर्खिरहेकी छिन् भनेर बताउँछिन्। राम एउटा अँध्यारो कोठामा गए जहाँ मन्थरा भुइँमा लडिरहेकी थिइन्। लक्ष्मण, सीता र रामलाई देखेपछि उनले आफ्नो विश्वासघातका लागि माफी माग्छिन् भने रामले उनलाई क्षमा गरिदिन्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 Mani 2015.
- ↑ Ohri, Vishwa Chander (१९८३), The exile in forest, Lalit Kalā Akademi, India, ओसिएलसी 10349809।
- ↑ Hone, Joseph (२०१७-११-२३), "Coronation", Oxford Scholarship Online, डिओआई:10.1093/oso/9780198814078.003.0003।