मरिचमान सिंह श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मरिचमान सिंहबाट अनुप्रेषित)
मरिचमान सिंह श्रेष्ठ
२८ औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
२०४३ जेठ – २०४६ चैत्र २४ गते
एकाधिपतिराजा बीरेन्द्र
पूर्वाधिकारीनगेन्द्रप्रसाद रिजाल
उतराधिकारीलोकेन्द्रबहादुर चन्द
व्यक्तिगत विवरण
जन्म१९९७ कार्तिक १७
सल्यान खलङ्गा, नेपाल
मृत्यु२०७० साउन २९ गते
नर्भिक अस्पताल, काठमाडौँ
नागरिकतानेपाली
राजनीतिक दलनिर्दलीय
जीवन साथीविष्णुदेवी
सन्तान(हरू)अनिल प्रधान, सञ्जय, रश्मी र रञ्जन [१]
पेशाराजनीतिज्ञ

मरिचमान सिंह श्रेष्ठ नेपालका राजनीतिज्ञ तथा पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। उनी पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालको प्रधानमन्त्री बनेका थिए। पञ्चायती व्यवस्था भित्र गरम गुटको नेतृत्त्व गर्दै २०४३ साल जेठमा उनी प्रधानमन्त्री बनेका हुन्। त्यस अघि उनी तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए। नेवार समुदायबाट प्रधानमन्त्री वा मन्त्रीपरिषदको अध्यक्ष बनेका उनी गेहेन्द्र बहादुर राजभण्डारी पछि दोस्रो व्यक्ति हुन्। राष्ट्रिय पञ्चायतको अध्यक्ष रहुन्जेल मरिचमान सिंह मात्र लेख्दै आएका उनले प्रधानमन्त्री भएपछि पहिलो पटक मरिचमान सिंह श्रेष्ठ नाम लेखि आफूलाई नेवारको रूपमा परिचित गराएका थिए।

जीवनी[सम्पादन गर्नुहोस्]

मरिचमान सिंह श्रेष्ठको जन्म सल्यान जिल्लाको खलङ्गा बजारमा १९९७ कार्तिक १७ मा भएको थियो। [२] उनी २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए। [३] २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका सिंह पञ्चायत भित्रको अनुदारवादी खेमामा थिए। दरवारको विश्वासपात्र सिंह २०३८ सालमा पञ्चायती व्यवस्थाको सङ्गठन हेर्ने पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बने[३]। पञ्चायतको अन्त्यतिर २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म यिनी नेपालको प्रधानमन्त्री थिए।

यिनी प्रधानमन्त्री भएकै बेला नेपाल भारत पारवाहन सन्धिको विषयलाई लिएर भारतले नेपाललाई नाकावन्दी लगायो। यिनले भारत सँग नझुक्ने अडान लिएर बसे। त्यसैबेला सुरू भएको शान्तिपुर्ण जनआन्दोलन २०४६ मा प्रजातन्त्र प्राप्त गर्न आन्दोलमा लागेका समूह माथि अत्याधिक शक्ति प्रयोग गरेर दमन गरेकाले यिनी सबैभन्दा बढी आलोचित पञ्चायती प्रधानमन्त्री बन्न पुगे। २०४३ साल जेठ ३१ गते राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका सिंहले जनआन्दोलन उत्कर्षमा पुगेपछि २०४६ साल चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। [२]

राजनीतिक निस्कृयता[सम्पादन गर्नुहोस्]

पञ्चायती व्यवस्थाको अन्त्यपछि यिनी राजनीतिक रूपमा पूर्ण निस्कृय बसे। २०५६ सालको निर्वाचनमा काठमाडौँबाट उम्मेदवारी दिएपनि त्यसपछि पुनः निस्कृय नै रहे। ०४६ परिवर्तनपछि उनी कुखुरापालन र गाईपालन गरेर राजनीतिबाट टाढा बसेका थिए।

राष्ट्रवाद

श्रेष्ठ राष्ट्रवादी छविका नेताका रूपमा चिनिएका थिए। ०४५ सालमा भारतले नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको र पारवाहन सन्धी सम्बन्धी विवाद परेका बेला श्रेष्ठले लिएको अडानको प्रशंसा हुने गरेको छ।

निधन[सम्पादन गर्नुहोस्]

मरिचमान सिंह श्रेष्ठको निधन २०७० साउन ३० गते काठमाडौँमा भएको थियो। लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित श्रेष्ठको ७१ वर्षको उमेरमा बिहान तीन बजे काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।[२] क्यान्सरले ग्रस्त श्रेष्ठलाई भारतको मेदान्ता अस्पतालमा उपचार गराइएको थियो। आफ्नै देशमा प्राण त्याग गर्ने इच्छा व्यक्त गरेपछि उनलाई भारतबाट एयर एम्बुलेन्समा २९ गते मङ्गलबार नेपाल ल्याइएको थियो।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

पूर्वाधिकारी
राजेश्वर देवकोटा
राष्ट्रिय पञ्चायतको अध्यक्ष
२०३८ देखि २०४२ सम्म
उत्तराधिकारी 
नवराज सुवेदी
पूर्वाधिकारी
नगेन्द्रप्रसाद रिजाल
नेपालको प्रधानमन्त्री
२०४३ जेठ ३१ देखि २०४६ चैत्र २३ सम्म
उत्तराधिकारी 
लोकेन्द्रबहादुर चन्द