सामग्रीमा जानुहोस्

महाकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाकाल
समय, माया, सृष्टि, विनाश र शक्तिका देवता
महाकाल र उनका साथीहरू
वासस्थानश्मशान (व्याख्या अनुसार फरक पर्न सक्छ)
अस्त्रखड्ग, त्रिशूल, मुङ्ग्रो (जापानी चित्रणहरूमा)
रानीपार्वती (महाकालीको रूपमा)

महाकाल हिन्दुबौद्ध धर्म दुवैमा साझा रूपमा पूजिने एक देवता हुन्।[] बौद्ध धर्ममा, महाकाललाई एक धर्मपाल ("धर्मको रक्षक") र बुद्धको एक क्रोधित अभिव्यक्ति मानिन्छ। अर्कोतर्फ, हिन्दु धर्ममा महाकाल हिन्दु देवता शिवको एक भयानक रूप र देवी महाकालीका पति हुन्।[] उनी विशेषगरी शाक्त धर्मको कालीकुल सम्प्रदायमा देखा पर्दछन्।[][][]

महाकाल वज्रयान बौद्ध धर्मका विभिन्न परम्पराहरू जस्तै; चिनियाँ तान्त्रिक बौद्ध धर्म, सिङ्गोन र तिब्बती बौद्ध धर्ममा एक संरक्षक देवताको रूपमा देखा पर्दछन्।[]

भारतीय बौद्ध महाकाल, ११औँ–१२औँ शताब्दी, बिहार
ओडिशाबाट प्राप्त महाकालको बासाल्ट मूर्ति, पाल साम्राज्य (पूर्वी बङ्गाल, ११००–१२०० ईस्वी)। भिक्टोरिया र अल्बर्ट सङ्ग्रहालय, लन्डन

शक्तिसङ्गम तन्त्रका अनुसार, महाकाल अत्यन्तै डरलाग्दा छन्। महाकालका चार हात, तीन आँखा छन् भने उनी १० करोड प्रलयका काला अग्निहरू जस्तै देदीप्यमान छन्। उनी आठवटा श्मशानहरूको बीचमा निवास गर्दछन्। उनी आठवटा मानव खप्परहरूद्वारा सुशोभित र पाँचवटा शवहरूमाथि विराजमान छन् भने उनले हातमा त्रिशूल, डमरु, खड्ग र हँसिया लिएका छन्। उनी श्मशानको खरानीले सजिएर चर्को स्वरमा कराउने गिद्ध र स्यालहरूबाट घेरिएका छन्। उनको छेउमा उनकी अर्धाङ्गिनी छिन् जसलाई कालीको प्रतीक मानिन्छ।

महाकाल र काली दुवैले ब्रह्मको अन्तिम विनाशकारी शक्तिको प्रतिनिधित्व गर्दछन् र उनीहरू कुनै पनि नियम वा बन्धनमा बाँधिएका छैनन्। उनीहरूसँग समय र अन्तरिक्षलाई समेत आफूभित्र विलीन गर्ने शक्ति हुन्छ भने ब्रह्माण्डको प्रलयको समयमा उनीहरू 'शून्य' को रूपमा अवस्थित रहन्छन्। प्रत्येक कल्पको अन्त्यमा ब्रह्माण्डको विनाशका लागि उनीहरू नै जिम्मेवार मानिन्छन्। जब अन्य देवता, देवगणहरू र त्रिमूर्तिहरू समेत असफल हुन्छन् तब महाकाल र कालीले नै ठूला दुष्ट र असुरहरूको विनाश गर्छन्। महाकाल र कालीले पुरुष, महिला, बालबालिका, जनावर, संसार र सम्पूर्ण ब्रह्माण्डलाई दया बिना विनाश गर्छन् किनभने उनीहरू 'काल' वा 'समय' का मानवीकृत स्वरूप हुन्। यी देवीदेवताबाट समय कुनै पनि कुरामा बाँधिएको हुँदैन, समयले कसैलाई दया देखाउँदैन र यो कसैको लागि पर्खिँदैन भन्ने सार पाइन्छ।[][] ओडिशा, झारखण्डडुवर्सका केही भागहरूमा (अर्थात् पूर्वी बङ्गालमा), जङ्गली हात्तीहरूलाई महाकालको अवतारको रूपमा पूजा गरिन्छ।[][]

महाकाललाई सामान्यतया नीलो वा कालो रङमा चित्रण गरिन्छ। जसरी सबै रङहरू कालोमा समाहित र विलीन हुन्छन् त्यसरी नै सबै नाम र रूपहरू महाकालमा पग्लिन्छन् भन्ने विश्वास गरिन्छ जसले उनको सर्वव्यापी र व्यापक प्रकृतिको प्रतीक दिन्छ। कालो रङले रङहरूको पूर्ण अभावलाई पनि प्रतिनिधित्व गर्न सक्छ र यस अवस्थामा यसले महाकाललाई परम वा निरपेक्ष सत्यको रूपमा जनाउँछ। यो सिद्धान्तलाई संस्कृतमा निर्गुण भनिन्छ जुन सबै गुण र स्वरूप भन्दा पर छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 Bryson (2017), p. 42.
  2. 1 2 Magee (n.d.).
  3. 1 2 Bhattacharya Saxena (2011).
  4. 1 2 Johnson (2009).
  5. Snyder (2001), p. 76.
  6. Bowker (2000).