महाकुलुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महाकुलुङ भन्नाले सोलुखुम्बु जिल्लाको दुधकोशी नदीभन्दा पूर्वका क्षेत्रलाई बुझिन्छ । महाकुलुङ क्षेत्रले विशेषत सोलुखुम्बु जिल्लाका साविकका ५ गा.वि.स. हरू समेट्दछ । ती गा.वि.स.हरू बुङ, छेस्काम, गुदेल, सोताङपावै हुन् । नेपालको नयाँ संरचना अनुसार सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका अन्तर्गत पर्ने सम्पूर्ण भूभागहरु महाकुलुङ क्षेत्रभित्र पर्दछ । सोलुखुम्बु लगायत भोजपुर जिल्लाको उत्तरी क्षेत्र साल्पा सिलुछो गाउँपालिका तथा स‌ङ्खुवासभाको उत्तरपूर्वी क्षेत्र सिलिचोङ गाउँपालिका सहित भौगोलिक रूपमा एक रहेको र राजनीतिक सीमाले मात्र छुटाइएको क्षेत्रलाइ पनि महाकुलुङकै भूभाग भनेर चिनिन्छ । यस क्षेत्रमा कुलुङ जातीको बाहुल्यता तथा कुलुङ भाषीको भाषिक एक छत्रता रहेको छ । कुलुङ समुदाय भित्रकै कुलुङ भाषी एक समुदायले हाल आएर आफुलाई नाछिरिङ भनेर चिनाउन मन पराउँछन् ।

महाकुलुङ भनेर नाम कसरी रहन गयो त?[सम्पादन गर्नुहोस्]

परापूर्वकालदेखि यस क्षेत्रमा किरात समुदायका एक व‌ंशका चार सन्तानहरु खप्दुलु, राताप्खु, छेम्सी र ताम्सी विकसित भए पछि तिनीहरुका सन्तानहरुले दुधकोशी नदी र अरुण नदीलाई आधार मानी सो दुई नदीका विचमा हुँगा खोला आसपास आफ्नो सभ्यता विकास गर्दै रहे । यसै क्रममा यहाँको भाषिक तथा ऐतिहासिक आधारमा यस क्षेत्रको नाम कुलुङ रहन गयो । यस क्षेत्रमा आफ्नो सभ्यता विकास गर्दै रहेका चार वङ्शका सन्तानहरुमध्ये छेम्सी क्षेत्रमा छेम्सी, छेस्काम क्षेत्रमा ताम्सी, पिल्मो क्षेत्रमा खप्दुलु र सोत्तो क्षेत्रमा राताप्खुका सन्तानहरुहरु फैलिए र तिनीहरु कुलुङ क्षेत्रमा विकास भएका आधारमा कुलुङ जाति कहिलन थाले । यस क्षेत्रमा कुलुङ जातीको बाहुल्यता रहेको र कुलुङ जातीको उदगम थलो भएकोले विदेशी शोधकर्ताहरूले यो क्षेत्रलाई अङ्ग्रेजीमा Greater Kulung भनी नामाकरण गरे । त्यस्तै नेपाल एकीकरणको क्रममा यस क्षेत्रलाइ महाकुलुङ नामबाट किपट तथा लालमोहर प्रदान गरियो । यसै आधारमा महाकुलुङ नाम रहन गएको हो ।