सामग्रीमा जानुहोस्

महाभारतमा कृष्ण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाभारतका मुख्य पात्रहरू—पाँच पाण्डव र उनीहरूकी पत्नी द्रौपदीलाई परामर्श दिँदै कृष्ण, सन् १९४० को दशकको छाप

हिन्दु धर्मग्रन्थ महाभारतमा देवता कृष्ण एक केन्द्रीय पात्र हुन् जहाँ उनी युद्ध, कर्तव्य र सामाजिक परिवर्तनको कथामा एक प्रमुख सहभागीको रूपमा देखिन्छन्। भगवान् विष्णुका मानव अवतारको रूपमा चिनिने कृष्ण यस ग्रन्थमा सल्लाहकार, योद्धा, कूटनीतिज्ञ र शिक्षक जस्ता बहुआयामिक भूमिकामा प्रस्तुत छन्। उनले पाण्डव र कौरवबीचको द्वन्द्वमा पाण्डवहरूको पक्ष लिई धर्मको रक्षाका लागि महत्त्वपूर्ण प्रभाव पारेका छन्।[१] कृष्णको संलग्नताले मुख्य रूपमा धर्मको रक्षा र द्वापर युगबाट कलियुगमा हुने प्रवेशलाई उजागर गर्दछ, जुन समयलाई हिन्दु ब्रह्माण्ड विज्ञानमा वा सृष्टिचक्रमा नैतिक पतनको काल मानिन्छ।

वृष्णि वंशमा जन्मिएका कृष्णले कंसको वध र द्वारकाको स्थापना जस्ता साहसिक कार्यहरू पश्चात् यस ग्रन्थमा प्रवेश गर्छन्। आफ्नी फुपू कुन्तीका माध्यमबाट पाण्डवहरूका भाइ पर्ने र अर्जुनका घनिष्ठ मित्र रहेका कृष्णले व्यक्तिगत र रणनीतिक दुवै स्तरमा पात्रहरूसँग संवाद गर्छन्। उनले प्रायः धर्मको समर्थनका लागि कूटनीति वा दैवी हस्तक्षेपको प्रयोग गर्छन्। पाण्डवहरूले पासा खेल्दाको समयमा उनको अनुपस्थिति र भीष्मको पराजय जस्ता क्षणहरूमा उनको सक्रिय सहभागिताले महाकाव्यमा उनको जटिल भूमिकालाई चित्रण गर्दछ।[२]

महाभारतले कृष्णलाई पारिवारिक सम्बन्ध र ब्रह्माण्डीय जिम्मेवारी दुवैलाई जोड्ने व्यक्तित्वको रूपमा चित्रण गरेको छ। पाण्डवहरूसँगको उनको सम्बन्ध सुरुवाती चरणदेखि नै प्रगाढ थियो जुन युद्धको समयमा झनै घनिष्ठ बनेको देखिन्छ। उनको वास्तविक दैवी स्वरूप (विष्णुका अवतार) व्यास जस्ता ऋषिहरूले पहिचान गरेका थिए भने कुरुक्षेत्रको युद्धभूमिमा उनले अर्जुनलाई आफ्नो विश्वरूप दर्शन गराएर यसको पुष्टि गरेका थिए।[३]

पृष्ठभूमि

[सम्पादन]
भित्तामा झुण्डिएको ढुङ्गाको मूर्ति जसमा एक व्यक्ति घोडासँग लडिरहेको देखाइएको छ।
कृष्णका बाल्यकालका लीलाहरू, जस्तै घोडा राक्षस केशीको वध (चित्रमा), यस ग्रन्थभरी सन्दर्भको रूपमा आउँछन्, यद्यपि यी कथाहरू महाभारत मा वर्णन नगरिएर यसको पछिल्लो परिशिष्ट हरिवंश मा विस्तृत रूपमा दिइएका छन्; गुप्त काल (अन्दाजी ३२१–५००) को मूर्ति, मेट्रोपोलिटन कला सङ्ग्रहालय

महाभारत का मुख्य घटनाहरू भन्दा अघिको कृष्णको पृष्ठभूमि महाकाव्यमा सन्दर्भको रूपमा र विशेषगरी यसको परिशिष्ट हरिवंश मा विस्तृत रूपमा उल्लेख गरिएको छ। यसले पाण्डव र कौरवहरूसँगको उनको संलग्नता अघि नै उनको पहिचान र क्षमताहरू स्थापित गर्दछ। उनको जन्म मथुरामा देवकी र वसुदेवको आठौँ सन्तानको रूपमा भएको थियो। एक भविष्यवाणी अनुसार देवकीको आठौँ छोराले मथुराका राजा र उनका दाजु कंसको वध गर्नेछ भन्ने भएपछि कंसले दम्पतीलाई कारागारमा हाली उनीहरूका पहिलो सात सन्तानलाई जन्मनासाथ मारेका थिए। कृष्णको जन्म दैवी परिस्थितिमा भएको थियो। विष्णुले कृष्णको रूप धारण गरेका थिए भने वसुदेवले अलौकिक सहयोगमा नवजात शिशुलाई जन्मिएकै रात यमुना नदी पार गर्दै गोकुल पुर्‍याएका थिए। त्यहाँ उनले कृष्णलाई नन्द र यशोदाकी छोरीसँग साट्छन् जसले गोठाला समुदायमा कृष्णको पालनपोषण गर्दछन्। कृष्ण वृन्दावनमा गोपी र गोपिनीहरूका बीचमा हुर्किन्छन्, जहाँ उनले महाभारतमा उल्लेख गरिएका र हरिवंशमा विस्तृत रूपमा वर्णन गरिएका धेरै कार्यहरू गरेका हुन्छन्। उनले धेरै राक्षसहरूलाई पराजित गरे र गोवर्धन पर्वत उठाउने जस्ता चमत्कारहरू देखाउँछन्।[४]

पछि कृष्ण मथुरा फर्केर सार्वजनिक रूपमा कंसको सामना गरी उसको वध गर्छन् र कंसका पिता उग्रसेनलाई पुनः सिंहासनमा विराजमान हुने अवसर दिलाउँछन्। यसपछि कृष्णले यादवहरूलाई उनले स्थापना गरेको सुरक्षित तटीय सहर द्वारकामा स्थानान्तरण गर्छन् जहाँ उनले आफ्नी पत्नी रुक्मिणी र अन्य रानीहरूसँग शासन गर्दछन्।

महाकाव्य पूर्वको यो इतिहासले महाभारत मा कृष्णको भूमिकाको लागि सन्दर्भ प्रदान गर्दछ। उनको यादव वंशले उनलाई पाण्डवहरूसँग जोड्दछ, किनकि पाण्डवकी माता कुन्ती उनका पिता वसुदेवकी बहिनी थिइन्, जसले गर्दा उनी पाण्डवका भाइ पर्न जान्छन्। कंसको वध गर्ने र द्वारकाको शासकको रूपमा उनको ख्यातिले गर्दा महाकाव्यका पात्रहरूसँगको उनको संवाद र सल्लाहलाई ठुलो महत्त्व दिइन्छ। यसका साथै, ऋषि व्यासद्वारा स्वीकार गरिएको र अर्जुनलाई गरिएको खुलासाले पुष्टि गरेको विष्णुको अवतारको रूपमा उनको दैवी स्थितिले महाभारतका घटनाहरूमा उनको योगदानलाई निर्देशित गर्दछ। पारिवारिक सम्बन्ध बाहेक, अर्जुन र कृष्णलाई क्रमशः दैवी जोडी नरनारायणको पुनर्जन्म पनि मानिन्छ। यी उत्पत्तिहरूले कृष्णलाई मानवीय सम्बन्ध र दैवी अभियान दुवै भएको व्यक्तित्वको रूपमा स्थापित गर्दछ, जसले महाकाव्यका द्वन्द्व र समाधानहरूमा उनको व्यापक संलग्नताको आधार तयार गर्दछ।[५]

परिचय

[सम्पादन]
महाभारत मा कृष्णको प्रवेश दृश्य अन्तर्गत द्रौपदीको स्वयम्वरमा अर्जुनको अगाडि कृष्ण

महाभारतका पाँच मुख्य पात्र पाण्डवहरूसँग कृष्णको संलग्नता र महाकाव्यको कथामा उनको औपचारिक प्रवेश आदि पर्वमा वर्णित द्रौपदीको स्वयम्वर (विवाह चयन समारोह) बाट सुरु हुन्छ। कृष्ण आफ्ना दाजु बलरामका साथ पाञ्चाल राज्यमा भेला भएका विभिन्न राजा र राजकुमारहरूका बीचमा अतिथिको रूपमा उपस्थित हुन्छन्। अन्य अतिथिहरू जस्तो नभई, यी दुई दाजुभाइले प्रतियोगितामा भाग लिँदैनन् र केवल दर्शकको रूपमा घटनालाई नियाल्छन्। समारोह चलिरहेका बेला, ब्राह्मणको भेषमा रहेका अर्जुनले माछाको आँखामा निशाना लगाएर द्रौपदीलाई प्राप्त गर्ने चुनौती सफलतापूर्वक पूरा गर्छन्, जसलाई कृष्णले सूक्ष्म रूपमा अवलोकन र स्वीकार गर्छन्। कृष्णले ती ब्राह्मण वास्तवमा अर्जुन नै हुन् भनी पहिचान गर्छन् र द्रौपदीमाथिको उनको दाबीलाई समर्थन गर्छन्। यसै घटनाबाट कृष्ण र पाण्डव दाजुभाइहरू बीचको एक महत्त्वपूर्ण गठबन्धनको सुरुवात हुन्छ। यो सम्बन्धलाई कृष्णको पाण्डवहरूसँगको पारिवारिक नाताले थप बलियो बनाउँछ; पाण्डवकी माता कुन्ती कृष्णका पिता वसुदेवकी बहिनी हुन्, जसले गर्दा कृष्ण पाण्डवहरूका फुपूको छोरा (दाजु/भाइ) पर्छन्।[६]

पाण्डवहरूसँगको प्रारम्भिक सम्बन्ध

[सम्पादन]
१९औँ शताब्दीको राजस्थानी लघुचित्र: अर्जुन र कृष्ण खाण्डव वन दहनको साक्षी बन्दै

इन्द्रप्रस्थ र राजसूय

[सम्पादन]

द्रौपदीको स्वयम्वर पछिका धेरै महत्त्वपूर्ण घटनाहरूमा कृष्ण सक्रिय रूपमा संलग्न छन्। पाण्डवहरूको विवाहपछि उनी केही समय उनीहरूसँगै बस्छन् र कुरु राज्यको आधा भाग स्वीकार गर्न उनीहरूलाई मद्दत गर्छन्। उनले पाण्डवहरूलाई खाण्डवप्रस्थ तर्फ डोर्‍याउँछन् र व्यास ऋषिसँग मिलेर त्यसलाई इन्द्रप्रस्थमा रूपान्तरण गर्न सहयोग गर्छन्। पछि, अर्जुनको द्वारका भ्रमणका क्रममा, कृष्णले आफ्नी बहिनी सुभद्रा र अर्जुनबीचको विवाह सुनिश्चित गर्छन् र उनीहरूको छोरा अभिमन्युको जन्म संस्कारमा सहभागी हुन्छन्। आफ्नो बसाइका क्रममा, कृष्ण खाण्डव वन दहनको साक्षी बन्छन् र असुर मयलाई पाण्डवहरूका लागि एक भव्य सभा भवन निर्माण गर्न अनुरोध गर्छन्। यही संरचनाले पछि ज्येष्ठ कौरव दुर्योधनलाई अपमानित गर्छ र उनको डाहलाई थप प्रज्वलित बनाउँछ।[७]

युधिष्ठिरले राजसूय यज्ञको बारेमा कृष्णसँग परामर्श लिन्छन् र कृष्णले त्यसलाई समर्थन गर्छन्। अनुष्ठान अघि, उनले युधिष्ठिरका मुख्य प्रतिद्वन्द्वी राजा जरासन्धलाई समाप्त गर्न मद्दत गर्छन् र पछि शिशुपालको वध गरेर यज्ञमा हुने अवरोधलाई रोक्छन्।[८][note १] राजसूय यज्ञका क्रममा कृष्णलाई पहिलो सम्मान (अर्घ्य) अर्पण गरिन्छ, जसले गर्दा विवाद उत्पन्न हुन्छ। भीष्म जस्ता व्यक्तित्वहरूले कृष्णमा रहेका विभिन्न 'गुण'हरूको चर्चा गर्दै उनको बचाउ गर्छन्। शिशुपालले कृष्णलाई पटक-पटक अपमान गर्छन्। शिशुपालकी आमालाई दिएको अघिल्लो वचन अनुसार एकसय अपराध सहेपछि कृष्णले आफ्नो सुदर्शन चक्र प्रयोग गरेर शिशुपालको शिर छेदन गरिदिन्छन्। यो कार्यले द्वन्द्व समाधान हुन्छ र राजसूय यज्ञ सुचारु रूपमा अघि बढ्छ, जसका कारण युधिष्ठिरलाई सम्राटको रूपमा मान्यता प्राप्त हुन्छ।[१०][११]

पासाको खेल

[सम्पादन]
२०औँ शताब्दीको प्रारम्भिक दृष्टान्त: कृष्णले चमत्कारिक रूपमा द्रौपदीको रक्षा गर्दै, जुन एक लोकप्रिय आख्यान हो

सफल राजसूय यज्ञपछि, कृष्ण आफ्नो घर फर्कन्छन् र पाण्डवहरूको पतनको कारण बनेको निर्णायक पासाको खेलको समयमा उनी अनुपस्थित रहन्छन्। वाल्टर रुबेन जस्ता केही विद्वानहरूले उनको अनुपस्थितिलाई यो मूल कथामा कृष्ण समावेश नगरिएको प्रमाणको रूपमा व्याख्या गर्छन्। दुर्योधनले युधिष्ठिरलाई जुवा खेल्न निमन्त्रणा दिन्छन्, जुन दुर्योधनका मामा शकुनीद्वारा योजनाबद्ध गरिएको थियो। शकुनीले जित सुनिश्चित गर्नका लागि छलकपटयुक्त पासा प्रयोग गर्छन्। पाण्डवहरूले दाउमा लगाइएको आफ्नो धन, राज्य र अन्ततः द्रौपदीलाई पनि जुवामा हार्छन् र पाण्डवहरूको हार पश्चात् सभा बोलाइन्छ। त्यस समयमा, कृष्ण राजा शाल्वसँगको युद्धमा व्यस्त रहेकाले शारीरिक रूपमा उपस्थित नभएतापनि एक प्रसिद्ध परम्परा अनुसार जब दुशासनले द्रौपदीको चीरहरण गर्ने प्रयास गर्छन् तब सङ्कटमा परेकी द्रौपदीले कृष्णलाई पुकार्छिन् र उनी त्यहाँ प्रकट हुन्छन्। शारीरिक रूपमा अनुपस्थित भएतापनि, कृष्णले चमत्कारिक रूपमा उनको सम्मानको रक्षा गर्न अनन्त वस्त्र प्रदान गर्छन्, जसले उनको संरक्षकको रूपमा कृष्णको भूमिकालाई जोड दिन्छ। यो प्रसङ्ग पाठका धेरै संस्करणहरूमा देखा पर्दछ।[१२]

वन भ्रमण

[सम्पादन]

पासाको खेलको समयमा कृष्णको अनुपस्थितिलाई पछि वनवासको सुरुमा पाण्डवहरूसँगको उनको पहिलो भेटका क्रममा सम्बोधन गरिएको छ जसको वर्णन वनपर्व मा पाइन्छ। यस समयसम्म पाण्डवहरूले विदुर र मैत्रेयलाई भटेका हुन्छन्, जसका प्रवचनहरूले महाकाव्यका मुख्य घटनाहरूलाई अगाडि बढाउनुको सट्टा नैतिक शिक्षाहरू प्रदान गर्दछन्। कृष्णले थप दुई पटक भ्रमण गर्छन्, जसमा तेस्रो भ्रमणलाई पछिल्लो समय थपिएको अन्तरवेशन मानिन्छ। अघिल्ला आगन्तुकहरूको विपरीत, कृष्णले नैतिक कथाहरू नसुनाई यसको सट्टामा उनले भ्रमण प्रत्यक्ष रूपमा सभापर्वका घटनाहरू र त्यसपछिका परिणामहरूसँग सम्बन्धित छ। यस भ्रमणको मुख्य उद्देश्य उनीहरूको अपमानको समयमा आफ्नो अनुपस्थिति पछि पाण्डवहरूसँगको सम्बन्धलाई पुनः प्रगाढ बनाउनु हो। युधिष्ठिर, अर्जुन र द्रौपदीसँगको कुराकानी मार्फत कृष्णले आफ्नो निष्ठालाई सुदृढ गर्छन्। उनले युधिष्ठिरलाई भविष्यमा राज्याभिषेक हुने र शत्रुहरूसँग बदला लिने वाचा गर्दै आश्वस्त पार्छन्। बदलामा, अर्जुनले कृष्णको क्रोधलाई शान्त पार्दै उनीहरूको दिव्य पहिचान नरनारायण भएको स्मरण गराउँछन्।[१२]

सबैभन्दा महत्त्वपूर्ण संवाद कृष्ण र द्रौपदीबीच हुन्छ, जहाँ उनीहरूको सम्बन्ध मित्रता (सखा-सखी) को रूपमा स्थापित छ। कृष्ण र द्रौपदीको संवादले उनीहरूको पौराणिक पहिचानलाई उजागर गर्छ। द्रौपदीले आफ्ना पतिहरूलाई इन्द्र समान र कृष्णलाई यज्ञकर्ता तथा एवं स्वयं यज्ञको रूपमा रहेका विष्णु स्वीकार गर्छिन्। आफ्ना यस्ता दिव्य सम्बन्धहरू हुँदाहुँदै पनि आफूले किन यस्तो अपमान भोग्नुपर्‍यो भनी उनले प्रश्न गर्छिन्। कृष्णले उनलाई आश्वासन दिँदै युद्धमा मारिएका उनका शत्रुहरूका पत्नीहरूले पनि त्यसैगरी विलाप गर्नेछन् भनेर सम्झाउँछन्। उनले द्रौपदीको प्रतिष्ठा पुनर्स्थापित गर्ने प्रतिज्ञा गर्दै उनी राजाहरूकी रानी हुने र आफ्नो वचन अटल रहने घोषणा गर्छन्। प्रतीकात्मक रूपमा, द्रौपदीलाई श्री (समृद्धि) को रूपमा राजकीय सौभाग्यको स्वरूप मानिन्छ र उनलाई विष्णुको अर्धाङ्गिनीको रूपमा पनि हेरिन्छ।[१३] पछि थपिएको एक अंशले द्रौपदीलाई इन्द्रकी पत्नी शचीको अवतारको रूपमा पुनर्व्याख्या गर्दछ, जसले गर्दा श्री को पहिचान कृष्णकी पत्नी रुक्मिणीसँग जोडिन पुग्छ।[१४] आफ्नो दोस्रो भ्रमणमा कृष्णसँग उनकी तेस्रो पत्नी सत्यभामा छिन्, जबकि तेस्रो (थपिएको) भ्रमणमा उनले पाण्डवहरूलाई ऋषि दुर्वासाको क्रोधबाट बचाउँछन्।

कुटनीति र शान्ति नियोग

[सम्पादन]
अर्जुनले कृष्णलाई रोज्दै, पहाडी लघुचित्र

पाण्डवहरूले आफ्नो तेह्र वर्षको वनवास पूरा गरेर फर्किएपछि उनीहरूले आफ्नो राज्यको माग गर्दा आसन्न युद्धलाई टार्न कृष्ण एक कुटनीतिज्ञको रूपमा अगाडि आउँछन्। राजा विराटको दरबारमा पाण्डवहरूले आफ्नो एक वर्षको अज्ञातवास सफलतापूर्वक पूरा गरेपछि, कृष्णले सुभद्रा र अभिमन्युलाई उनीहरूसँग सामेल गराउन ल्याउँछन् र अभिमन्युको उत्तरासँगको विवाहमा सहभागी हुन्छन्। यो भ्रमण युद्धको तयारीको पुस्तक उद्योग पर्व सम्म फैलिएको छ।[१५]

उपप्लव्यमा, कृष्णले पाण्डवहरूलाई दुर्योधनले पासा खेलको सर्तहरू पालना गर्नुपर्ने र युधिष्ठिरको आधा राज्य फिर्ता गर्नुपर्ने माग राख्न सल्लाह दिन्छन्। द्वारका प्रस्थान गर्नुअघि, कृष्णले आफ्नो कथित तटस्थतामा जोड दिँदै दुवै पक्ष एकअर्कामा व्यस्त रहँदा उनले दुवै पक्षको भलो चाहेको धारणा उनीसँग हुन्छ। यद्यपि, उनले, यदि दुर्योधनले राज्य फिर्ता गर्न अस्वीकार गरेमा, पाण्डवहरूले उनको र अन्य सहयोगीहरूलाई बोलाउनुपर्छ भनेर चेतावनी दिन्छन्। दुर्योधनले पनि सहयोग खोज्ने कुरामा सचेत रहेका पाण्डवहरूले छिटो कदम चाल्छन्। दुवै पक्षले कृष्णकहाँ दूत पठाउँछन् जसमा कौरवहरूको तर्फबाट दुर्योधन र पाण्डवहरूको तर्फबाट अर्जुन कृष्णकहाँ पुग्छन्। उनीहरू कृष्ण निदाइरहेको बेला आइपुग्छन्: दुर्योधन उनको शिरको नजिक बस्छन् भने अर्जुन विनम्रतापूर्वक उनको गोडातिर उभिन्छन्। ब्युँझिएपछि कृष्णले पहिले अर्जुनलाई देख्छन्। दुर्योधनले पहिले आइपुगेको आधारमा प्राथमिकताको दाबी गर्छन्, तर कृष्णले अर्जुन कान्छो भएकाले उनको पहिलो रोजाइ हुने तर्क गर्नुहुन्छ। कृष्णले त्यसपछि दुई विकल्प प्रस्ताव गर्नुहुन्छ: कि त उनको नारायणी सेना को विशाल फौज वा कृष्ण स्वयम्, जो निशस्त्र हुनेछन् र युद्ध लड्ने छैनन्। अर्जुनले तुरुन्तै कृष्णलाई रोज्छन्, जबकि दुर्योधन खुसी हुँदै नारायणी सेना लिन्छन्। दुर्योधन प्रस्थान गरेपछि, कृष्ण अर्जुनको सारथि बन्न सहमत हुन्छन्, जसले युद्धको निर्माणमा एउटा महत्वपूर्ण मोड ल्याउँछ।[१६]

हस्तिनापुरको दरबारमा दुर्योधनले कृष्णको अपमान गर्दा कृष्णले सात्यकिलाई प्रहार गर्नबाट रोक्दै। उद्योग पर्व को एउटा दृश्य, राजा रवि वर्माद्वारा चित्रित

कृष्ण कौरव र पाण्डवहरूबीच शान्ति खोज्ने तीन दूतहरूमध्ये अन्तिम थिए, यद्यपि उनले युद्धको अपेक्षा गरेका थिए। उनले युधिष्ठिरलाई (उद्योग पर्व) भनेझैँ, उनको नियोग युधिष्ठिरको सद्गुण प्रदर्शन गर्न र दुर्योधनका अपराधहरू उजागर गर्न, भेला भएका राजाहरू र व्यापक जनता दुवैलाई विश्वस्त पार्नु हो। शान्तिको वकालत गर्दै गर्दा, उनी शत्रुको अडान अवलोकन गर्ने र सङ्घर्षको पूर्वअनुमान गर्ने धारणा राख्छन्।[१७]

बिहानीको अनुष्ठानपछि प्रस्थान गर्नुभएका कृष्ण सात्यकि र योद्धाहरूको एउटा टोलीसँग यात्रा गर्छन्। उनी जहाँ जान्छन् त्यहाँ शुभ सङ्केतहरू देखिन्छन्, जबकि अन्यत्र विपत्तिहरू आउन थाल्छन्। यस प्रसङ्गमा आतिथ्यले प्रमुख भूमिका खेल्छ। कृष्ण पहिले वृकस्थलमा रोकिन्छन्, जुन युधिष्ठिरले सङ्घर्ष समाधान गर्न दुर्योधनसँग मागेका पाँच सहरहरूमध्ये एक हो। दुर्योधनले उनको स्वागतका लागि भव्य मण्डपहरू तयार गर्छन्, तर कृष्ण फन्दामा पर्नबाट बच्न त्यतातिर हेर्दैनन्। हस्तिनापुर पुगेपछि, धृतराष्ट्रले भव्य स्वागतको व्यवस्था गर्छन् र उनलाई दुशासनको महल प्रस्ताव गर्छन्, जुन सहरकै सबैभन्दा उत्कृष्ट महल थियो। कृष्ण यसको सट्टा विदुरसँग बस्छन्। पछि, उनी दुर्योधनको दरबारमा जान्छन् तर उनको विलासी आतिथ्य, उपहार र भोजहरू अस्वीकार गर्दै आफ्नो स्वतन्त्रता पुन: पुष्टि गर्छन्। कृष्णले धन र विलासितालाई पटक-पटक अस्वीकार गर्नु प्रलोभनको प्रतिरोध गर्ने अन्य पौराणिक पात्रहरूसँग मिल्दोजुल्दो छ।[१७]

कौरव सभामा, कृष्णले एउटा सभालाई सम्बोधन गर्छन् जसमा प्रमुख व्यक्तित्वहरू सामेल थिए भने महाभारतले कृष्णको भाषणलाई कुटनीति र युद्धको जोखिमको स्पष्ट चित्रण बीचको सन्तुलन मिलाउने प्रयासको मान्दछ।[note २] दुर्योधनले कृष्णको प्रस्तावलाई अस्वीकार गर्छन् र आफ्ना सहयोगीहरूसँग मिलेर वार्ताको क्रममा कृष्णलाई बन्दी बनाउने योजना बनाउँछन्। कृष्णप्रति वफादार यादव योद्धा सात्यकीले उनलाई यो षडयन्त्रको बारेमा सचेत गराउँछन्। यसको जवाफमा, कृष्णले आफ्नो विश्वरूपमा प्रकट हुन्छन्, जुन सृष्टि र विनाशका सबै पक्षहरूलाई समेट्ने एउटा ब्रह्माण्डीय रूप हो जसलाई सभामा सबैले देख्न सक्दथे। भीष्म र उपस्थित अन्य ऋषिहरूले कृष्णको दैवी स्वरूपलाई चिन्छन् र श्रद्धा अर्पण गर्छन्, जबकि दुर्योधन आफ्नो अडान परिवर्तन गर्न अस्वीकार गर्दै विद्रोह गर्छन्। शान्ति नियोगको असफलताले एउटा महत्वपूर्ण मोड ल्याउँछ, जसले कृष्णको भूमिकालाई मध्यस्थकर्ताबाट आगामी युद्धमा पाण्डवहरूको सक्रिय समर्थकमा परिवर्तन गर्छ। यस घटनापछि, कृष्णले योद्धा कर्णलाई दुर्योधनलाई छोडेर पाण्डवहरूमा सामेल हुन फकाउने प्रयास गर्छन्, उनलाई कुन्तीको छोराको रूपमा उनको वास्तविक क्षत्रिय वंश प्रकट गर्दै राजा बन्ने प्रस्ताव राख्छन्, तर कर्णले व्यक्तिगत लाभ भन्दा दुर्योधनप्रतिको वफादारीलाई रोज्दै यस्तो प्रस्ताव अस्वीकार गर्छन्। कृष्ण पाण्डवहरूकहाँ फर्किन्छन् र उनीहरूलाई कुरुक्षेत्र युद्धको लागि तयार पार्छन्, जुन कौरवहरूको हठका कारण अपरिहार्य भएको थियो।[१७][१८]

कुरुक्षेत्र युद्ध

[सम्पादन]
कृष्णले अर्जुनलाई भगवद्गीता सिकाउँदै, नन्दलाल बोसद्वारा निर्मित चित्र

अठार दिनसम्म चलेको कुरुक्षेत्र युद्धले महाभारतमा कृष्णको सबैभन्दा सक्रिय भूमिकालाई जनाउँछ, जहाँ उनी गैर-लडाकुको रूपमा अर्जुनको सारथि बनेका थिए। कुरुक्षेत्र युद्धका क्रममा कृष्णले रणनीतिकार, संरक्षक, मार्गदर्शक र कुटनीतिज्ञका रूपमा बहुआयामिक भूमिका निर्वाह गर्दै पाण्डवहरूको विजय सुनिश्चित गर्छन्। उनको सबैभन्दा महत्वपूर्ण योगदान अर्जुन युद्ध गर्न हिचकिचाउँदा भगवद्गीता सुनाउनु थियो, जसमा उनले धर्म, निष्काम कर्म र भक्तिका सिद्धान्तहरू व्याख्या गर्छन्। युद्धको प्रारम्भमा, उनले आफ्नो शङ्ख, पाञ्चजन्य फुकेर युद्धको सुरुवातको सङ्केत गर्छन्।[१८]

भगवद्गीता

[सम्पादन]

युद्ध सुरु हुनुअघि, कृष्णले अर्जुनलाई भगवद्गीता सुनाउँछन्, जो विपक्षमा आफ्ना नातेदारहरू; भीष्म, द्रोण र अन्यलाई देखेर विचलित बनेका थिए। यस ७०० श्लोकको प्रवचनमा, कृष्णले धर्मको व्याख्या गर्छन् र अर्जुनलाई आसक्ति बिना कर्तव्यको रूपमा युद्ध गर्न आग्रह गर्छन्। यसै क्रममा उनले आफूलाई विष्णुको रूपमा प्रकट हुन्छन् र आफ्नो ब्रह्माण्डीय भूमिका पुष्टि गर्ने अनन्त रूपहरूको दर्शन विश्वरूप प्रदर्शन गर्छन्। यो शिक्षाले अर्जुनको मानसिक द्विविधा समाधान गर्छ।[१८]

रणनीतिकारको रूपमा कृष्ण

[सम्पादन]

युद्धका क्रममा पाण्डवहरूको विजय सुनिश्चित गर्न कृष्णका रणनीतिहरू अभिन्न रहेका छन् तर विशेषगरी धर्म (धार्मिकता) र राजनीतिक आवश्यकता बीचको सन्तुलनका बारेमा यसले उनको जटिल नैतिक प्रश्नहरू खडा गर्छन्। कृष्णलाई प्रायः नैतिक व्यवस्थाको संरक्षकको रूपमा चित्रण गरिएतापनि, महाकाव्यमा उनका कार्यहरूमा प्रायः रणनीतिक छल, हेरफेर र परम्परागत धर्मको उल्लङ्घन मान्न सकिने कार्यहरूमा प्रत्यक्ष संलग्नता देखिन्छ।[१९]

कृष्णले शङ्ख फुकेर महाभारत युद्धको अन्त्यको घोषणा गर्दै, १६औँ शताब्दीको महाभारतको फारसी अनुवाद रज्मनामा बाट लिइएको एक चित्र

युद्धभरि कृष्णले प्रमुख कौरव योद्धाहरूको मृत्युमा सहजीकरण गर्छन्, प्रायः परम्परागत योद्धा नैतिकता (क्षत्रिय धर्म) विपरीतका माध्यमहरूबाट, जसलाई महाकाव्यले "पाप" भनेको छ। एक पटक, अर्जुनको फितलो प्रदर्शनपछि, कृष्णले गैर-लडाकु रहने आफ्नो प्रतिज्ञा तोड्दै आफ्नो चक्रले भीष्मलाई मार्ने प्रयास गर्छन् तर भीष्मले आत्मसमर्पण गरेपछि अर्जुनले उनलाई रोक्छन् (भीष्म पर्व, अध्याय ६५)। यद्यपि, कृष्णले पछि भीष्म विरुद्ध अर्जुनको विजय सुनिश्चित गर्छन्। दसौँ दिनमा, उनले भीष्मको अगाडि शिखण्डीलाई राख्छन् जो महिलाको रूपमा जन्मिएका थिए र जसका कारण उनी भीष्मको प्रतिज्ञाबाट सुरक्षित थिए। यसकारण अर्जुनलाई भीष्मलाई वाणले ढाल्न सक्षम बनाउँछ (भीष्म पर्व, अध्याय १०६)। तेह्रौँ दिनमा, युद्ध मैदानमा उनको अनुपस्थितिले अप्रत्यक्ष रूपमा अभिमन्युको चक्रव्यूहमा मृत्यु हुन्छ, जुन क्षतिले अर्जुनको संकल्पलाई अझ दृढ बनाउँछ। कृष्णले सूर्यास्तको भ्रम सिर्जना गरेर मित्र र शत्रु दुवैलाई झुक्याउँदै जयद्रथको वधको वातावरण मिलाउँछन् (द्रोण पर्व, अध्याय १४६)। यसका साथै, उनले घटोत्कचलाई मध्यरातमा कर्णसँग युद्धमा संलग्न गराउँछन्, जसले अर्जुन र कर्णबीचको द्वन्द्वलाई टार्दछ। यदि यो उनीहरूबीच यो द्वन्द्व भएको भए अर्जुनको पराजय हुन सक्थ्यो (द्रोण पर्व, अध्याय १७३)। कृष्णका विवादास्पद रणनीतिहरूमा "अश्वत्थामा हतोहतः" (अश्वत्थामा मर्‍यो) भन्ने अस्पष्ट घोषणाद्वारा द्रोणलाई धोका दिनु समावेश छ, जसले गर्दा धृष्टद्युम्नद्वारा द्रोणको शिरच्छेदन हुन्छ। उनले कर्णको रथ फसेको बेला कर्णमाथि प्रहार गर्न अर्जुनलाई आग्रह गर्छन् र यसलाई न्यायका लागि आवश्यक भन्दै न्यायोचित ठहर्‍याउँछन् (कर्ण पर्व, अध्याय ६०, ९०)। कर्णको मृत्युपछि कृष्णले युधिष्ठिरलाई शल्यको वध गर्न प्रेरित गर्छन् (शल्य पर्व, अध्याय ७)। अन्तिम मुठभेडमा, कृष्णले भीमलाई दुर्योधनको तिघ्रामा प्रहार गर्न निर्देशन दिन्छन्, जसले युद्धको परम्परागत नियमहरू उल्लङ्घन गरेतापनि विजय सुनिश्चित गर्दछ (शल्य पर्व, अध्याय ५८)।[२०][१८] प्रत्येक अवस्थामा, उनका कार्यहरूले कठोर नैतिक संहिताको पालना भन्दा धर्मको अन्तिम विजयलाई प्राथमिकता दिन्छन्।[१९]

कृष्णको भूमिका महाभारतको सार्वभौमिकताको व्यापक विषयवस्तुसँग मेल खान्छ, जसमा शासकहरू र उनीहरूका सल्लाहकारहरूले व्यवस्था र न्याय सुरक्षित गर्न नैतिक अस्पष्टताहरू पार गर्नुपर्छ। उनका कार्यहरू वैदिक पौराणिक कथाका एक आदर्श शासक इन्द्रसँग मिल्दाजुल्दा छन्, जसले ब्रह्माण्डीय सन्तुलन कायम राख्न नैतिक रूपमा जटिल कार्यहरूमा संलग्न हुन्छन्। महाकाव्यले कृष्णका रणनीतिक छनौटहरूलाई धर्मको स्थापनाका लागि आवश्यक रूपमा प्रस्तुत गर्दछ।[१९]

संरक्षकको रूपमा कृष्ण

[सम्पादन]
अर्जुन र कर्णबीचको मुठभेड चित्रण गरिएको पहाडी लघुचित्र। कृष्ण अर्जुनका सारथि हुन्

कृष्णले पटक-पटक अर्जुन र पाण्डवहरूलाई खतराबाट बचाउँछन्। जब भगदत्तले अर्जुनमाथि शक्तिशाली वैष्णवास्त्र प्रहार गर्छन्, कृष्णले त्यसलाई आफैँले ग्रहण गर्छन् (द्रोण पर्व, अध्याय २९, श्लोक १३)। अर्जुनको कर्णसँगको युद्धका क्रममा, उनले रथलाई तल थिचेर कर्णको नागास्त्रलाई मोडिदिन्छन्, जसले अर्जुनको ज्यान लिन सक्थ्यो (कर्ण पर्व, अध्याय ९०)। उनले घाइते युधिष्ठिरलाई सहयोग गर्ने बहानामा अर्जुनलाई कर्णसँगको प्रत्यक्ष मुठभेडबाट पछि हटाउँछन् (कर्ण पर्व, अध्याय ६४)। उनी युद्धको मैदानमा घोडाहरूको पनि हेरचाह गर्छन् (द्रोण पर्व, अध्याय १००)।[१८]

शारीरिक सुरक्षा बाहेक, कृष्णले भावनात्मक समर्थन पनि प्रदान गर्छन्। उनले अभिमन्युको मृत्युपछि अर्जुनलाई सान्त्वना दिन्छन् र सुभद्रा, द्रौपदी र उत्तरालाई उनीहरूको शोकमा ढाडस दिन्छन् (द्रोण पर्व, अध्याय ७२-७८)। जब घटोत्कच मारिन्छन् तब उनले युधिष्ठिरलाई आश्वस्त पार्छन् (द्रोण पर्व, अध्याय १५३)। युधिष्ठिर र अर्जुनबीचको ठूलो द्वन्द्वलाई उनले रोक्छन् जब अर्जुनले क्रोधको क्षणमा आफ्ना दाजुलाई आक्रमण गर्न लागेका हुन्छन्; कृष्णले व्याध र कौशिकको कथा सुनाएर उनीहरूलाई शान्त पार्छन् (कर्ण पर्व, अध्याय ७०)।[१८]

परिणाम

[सम्पादन]
यादवहरू एकआपसमा काटमार गर्दै, दायाँतर्फ कृष्ण र उनका दाजु बलराम चित्रित छन्। एमवी धुरन्धरद्वारा निर्मित चित्र।

कुरुक्षेत्र युद्धको समाप्तिपछि, कृष्ण महाभारत को कथानकमा सक्रिय रहन्छन्, जसले पाण्डवहरूलाई उनीहरूको अधिकार पुन: स्थापित गर्न र युद्धका परिणामहरूलाई सम्बोधन गर्न सहयोग गर्छन्। युद्धपछिको एक महत्त्वपूर्ण घटनामा द्रोणका पुत्र अश्वत्थामा संलग्न छन्, जसले आफ्नो पिताको मृत्युको बदला लिन खोज्छन् र पाण्डवहरू, कृष्ण, सात्यकी र युयुत्सु बाहेक बाँकी रहेका पाण्डव सेनाको हत्या गर्छन्। अश्वत्थामाले पाण्डवहरूको वंश समाप्त गर्न उत्तराको गर्भमा ब्रह्मशिर अस्त्र प्रहार गर्छन्; यस कार्यका लागि कृष्णले उनलाई सजाय दिन्छन् र श्राप दिन्छन्। विजयपछि, कृष्ण पाण्डवहरूका साथ कुरु राजधानी हस्तिनापुर जान्छन्, जहाँ उनीहरूले पराजित कौरवहरूका शोकाकुल आमाबाबु धृतराष्ट्र र गान्धारीलाई भेट्छन्। आफ्ना सय छोराहरूको मृत्युमा शोक गरिरहेकी गान्धारीले युद्ध रोक्न सक्ने क्षमता भएतापनि नरोकेकोमा कृष्णलाई जिम्मेवार ठहर्‍याउँछिन् र छत्तीस वर्षपछि यादव वंश पनि कुरु परिवारको जस्तै आपसी कलहमा नष्ट हुने श्राप दिन्छन्। कृष्णले यस श्रापलाई कुनै प्रतिरोध बिना स्वीकार गर्छन् र यो पूर्व निर्धारित ब्रह्माण्डीय व्यवस्थासँग मिल्दोजुल्दो रहेको बताउँछन्। यो कुराकानी महाभारत को स्त्री पर्व मा लिपिबद्ध छ।[५][१८]

यसका अतिरिक्त, कृष्णले भीष्मलाई युधिष्ठिरलाई धर्म (शान्ति पर्व) को बारेमा सिकाउन निर्देशन दिएर ज्ञानको उचित हस्तान्तरण सुनिश्चित गरे र भीष्मको मृत्युमा देवी गङ्गालाई सान्त्वना दिन्छन्। त्यसपछि कृष्णले युधिष्ठिरको कुरु राजाको रूपमा राज्यरोहणमा सहयोग गर्छन् र अश्वमेध यज्ञको रेखदेख गर्छन्, जुन सार्वभौमिकता पुष्टि गर्न घोडाको क्षेत्रीय यात्रा समावेश भएको एक वैदिक अनुष्ठान हो। उनले यज्ञको कार्यान्वयनमा सल्लाह दिन्छन् र अर्जुनले विभिन्न राज्यहरू पार गर्दा घोडाको रक्षा गर्ने र कुनै पनि विरोधलाई दबाउने सुनिश्चित गर्छन्। उनले ऋषिहरू र कश्यपसँगको छलफलमा गीता का शिक्षाहरू पुन: दोहोर्‍याउँछन् (आश्रमवासिक पर्व)।[१८]

पाण्डव-कुरु सङ्घर्षमा कृष्णको संलग्नताको चरमोत्कर्ष अभिमन्युका पुत्र परीक्षितको पुनर्जीवन हो। उत्तराले बच्चा जन्माउँदै गर्दा कुरु वंशका शाही महिलाहरू कृष्णकहाँ पुग्छन्। यदि बच्चा मृत जन्मियो भने कुरु वंश समाप्त हुने निश्चित थियो। तर, कृष्णले उनलाई जीवित गर्ने प्रतिज्ञा गरेका थिए र उनकी बहिनी सुभद्रा (बच्चाकी हजुरआमा) ले उनलाई यो वाचा सम्झाउँछिन्। उनले कृष्णका गुणहरू—धर्म (धार्मिकता), सत्य (सत्यता) र सत्यविक्रम (सच्चा पराक्रम) लाई पुकार्छिन् र उनलाई ब्रह्माण्डीय व्यवस्था (ऋत) अनुसार आफ्नो वचन पूरा गर्न आग्रह गर्छिन्। कृष्णले एक चमत्कारपूर्ण कार्यद्वारा यो प्रतिज्ञा पूरा गर्छन्। पहिले, उनले बच्चालाई पीडा दिइरहेको अस्त्र फिर्ता लिन्छन्, त्यसपछि ब्रह्माण्डलाई घोषणा गर्छन् कि उनी कहिल्यै असत्य बोल्दैनन्। उनको शब्दले बच्चामा प्राण भरिन्छ। यो घटनाले कृष्णको दोहोरो स्वभाव—उनको योद्धा कौशल (क्षत्रिय गुण) र सत्यप्रतिको उनको प्रतिबद्धतालाई जोड दिन्छ। उनले युद्धमा आफ्नो अपराजित रेकर्ड, अर्जुनसँगको अटल मित्रता र कंस र केशीमाथिको आफ्नो धर्मपूर्ण विजयलाई स्मरण गर्छन्। साथै, उनले धर्म, सत्य र ब्राह्मणहरूप्रति आफ्नो सम्मानको पुष्टि गर्छन्। उनको सत्यको कार्य यस दोहोरो स्तरमा सञ्चालित हुन्छ: उनको युद्धको वीरता उनको सत्यता मार्फत प्रमाणित हुन्छ।[२१]

यादवहरूको विनाश

[सम्पादन]
कृष्णको मृत्यु - महाभारतको बर्द्धमान संस्करणबाट एक चित्रण

महाभारत मा कृष्णको भूमिका कुरुक्षेत्र युद्धको छत्तीस वर्षपछि भएको यादव वंशको विनाशसम्म फैलिएको छ। मौसल पर्वले कृष्णका आफन्तहरू सहित यादवहरू तटीय तीर्थस्थल प्रभासमा कसरी भेला हुन्छन् भन्ने वर्णन गर्दछ, जहाँ उल्का वर्षा र कृष्णको सुदर्शन चक्र हराउनु जस्ता अशुभ सङ्केतहरूले आसन्न विनाशको सङ्केत गर्छन्। भेलाको समयमा, नशा र युद्धको मजाकपूर्ण सन्दर्भका कारण यादवहरूबीच विवाद उत्पन्न हुन्छ, जुन पछि हिंसामा परिणत हुन्छ।[५][१८]

कृष्णले झगडा शान्त पार्ने प्रयास गर्छन् तर सात्यकी र कृतवर्मा जस्ता योद्धाहरू लगायत यादवहरूलाई मुसल (गदा) ले एकअर्काको हत्या गर्नबाट रोक्न सक्दैनन्। हिंसा फैलिँदै जाँदा, कृष्ण आफ्नो नजिकको परिवारको रक्षा गर्न सङ्घर्षमा सामेल हुन्छन् र आक्रमणकारीहरूलाई प्रहार गर्छन्, तर धेरैजसो यादवहरू सोही भिडन्तमा मारिन्छन्। नरसंहारपछि, कृष्ण र उनका दाजु बलराम थोरै जीवित व्यक्तिहरूमध्ये रहन्छन्; त्यसपछि बलराम नजिकैको स्थानमा जान्छन्, ध्यान मुद्रामा लीन हुन्छन् र देह त्याग गर्छन् जहाँ उनको आत्मा शेषनागको रूपमा प्रकट हुन्छ। एक्लै बाँकी रहेका कृष्णले यादवहरूको विनाशलाई नियाल्छन्, जसलाई महाभारत ले उनका छोरा साम्बलाई ऋषिहरूले दिएको श्राप र गान्धारीको भविष्यवाणी दुवैको परिणाम मानेको छ, जसले द्वापर युग को अन्त्यलाई सङ्केत गर्दछ। कृष्ण प्रभास नजिकैको जङ्गलमा जान्छन् र एउटा पिपलको रूखमुनि ध्यान मुद्रामा बस्छन्, जहाँ उनको खुट्टा घुँडामाथि राखिएको हुन्छ। जरा नामक एक शिकारीले कृष्णको खुट्टालाई मृगको कान ठानेर फलामको टुप्पो भएको वाण प्रहार गर्छन्, जुन त्यही 'एरका' घाँसबाट बनेको थियो जसले अघि यादवहरूलाई मारेको थियो। वाण कृष्णको कुर्कुच्चामा लाग्छ, जसलाई कथामा उनको एक मात्र कमजोर बिन्दुको रूपमा पहिचान गरिएको छ र उनले सोही चोटका कारण देह त्याग गर्छन्। कृष्णले जरालाई आशीर्वाद दिँदै अपराधबोधबाट मुक्त गर्छन् र उनको आत्मा विष्णुको स्वर्गीय निवास वैकुण्ठतर्फ प्रस्थान गर्छ जसले उनको अवतारको भूमिका पूरा भएको सङ्केत गर्छ।[५][१८]

अर्जुनले कृष्णको मृत्यु र यादवहरूको अवस्थाबारे थाहा पाएपछि, कृष्ण र बलरामको अन्त्येष्टि गर्न र उनीहरूको दाहसंस्कार गर्न प्रभासको यात्रा गर्छन्। उनले जीवित यादव महिलाहरूलाई हस्तिनापुर लैजान्छन्, तर छिट्टै समुद्रले द्वारकालाई आफ्नो गर्भमा लिन्छ र अघिल्ला सङ्केतहरू अनुसार कृष्णको सहर डुब्छ। कृष्णको मृत्युले पाण्डवहरूलाई आफ्नो राज्य त्याग गर्न प्रेरित गर्छ; उनीहरूले अन्तिम यात्रा सुरु गर्छन्, जसको क्रममा युधिष्ठिर स्वर्ग जान्छन् र देवताहरूको बीचमा कृष्णलाई उनको दिव्य रूपमा देख्छन्।[५][१८]

टिप्पणीहरू

[सम्पादन]
  1. ↑ एउटा उल्लेखनीय उदाहरण मगधका राजा जरासन्धको पराजयमा उनको भूमिका हो, जो यादव र पाण्डव दुवैका विरोधी थिए। जरासन्धले बलि दिने उद्देश्यले धेरै राजाहरूलाई कैद गरेका थिए, जसले क्षेत्रीय स्थिरतामा खतरा उत्पन्न गरेको थियो। कृष्णले एक योजना प्रस्ताव गर्छन् जसमा उनी, अर्जुन र भीम भेष बदलेर मगध जान्छन्; त्यसपछि कृष्णले भीमलाई जरासन्धसँग कुस्ती खेल्न चुनौती दिन लगाउँछन्। भीमले जरासन्धलाई बीचबाट चिरेर पराजित गर्छन्, जसले गर्दा बन्दी राजाहरू मुक्त हुन्छन् र छिमेकी राज्यहरूमा पाण्डवहरूको गठबन्धन बलियो हुन्छ।[८][९]
  2. ↑ कृष्णले मेलमिलापको लागि तर्क प्रस्तुत गर्छन्, दुर्योधनलाई पाण्डवहरूसँग राज्य बाँड्न आग्रह गर्छन् र व्यापक जनधनको क्षति र विनाश सहित युद्धका विनाशकारी परिणामहरूको चेतावनी दिन्छन्। उनी पाण्डवहरूको आफ्नो उत्तराधिकारमाथिको सही दाबी र कौरवहरूको वनवासका सर्तहरू पालना गर्ने दायित्वमा जोड दिन्छन् र आफ्नो अपीललाई न्याय र पारिवारिक कर्तव्यको रूपमा प्रस्तुत गर्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Buitenen, J. A. B. van (१९७३), The Mahabharata, Volume 1: Book 1: The Book of the Beginning, University of Chicago Press, आइएसबिएन 978-0226846637।
  2. ↑ "Mahabharata - Work & Summary", Encyclopedia Britannica, अन्तिम पहुँच २ मार्च २०२६।
  3. ↑ Radhakrishnan, S. (१९४८), The Bhagavadgita, HarperCollins, आइएसबिएन 978-8172230876।
  4. ↑ Bryant, Edwin F. (२००७), Krishna: A Sourcebook, Oxford University Press, आइएसबिएन 978-0-19-972431-4।
  5. 1 2 3 4 5 Hiltebeitel 2017.
  6. ↑ Hiltebeitel 2017, पृष्ठ 79 - 85.
  7. ↑ Hiltebeitel 2017, पृष्ठ 86.
  8. 1 2 Hiltebeitel 2017, पृष्ठ 87.
  9. ↑ Mani 1975, पृष्ठ जरासन्ध.
  10. ↑ Hiltebeitel 2017, पृष्ठ 91, 96, 196.
  11. ↑ Mani 1975, पृष्ठ शिशुपाल.
  12. 1 2 Hiltebeitel 2017, पृष्ठ 88.
  13. ↑ Hiltebeitel 2017, पृष्ठ 88-89.
  14. ↑ Hiltebeitel 2017, पृष्ठ 145.
  15. ↑ Hiltebeitel 2017, पृष्ठ 105.
  16. ↑ Hiltebeitel 2017, पृष्ठ 106 - 108.
  17. 1 2 3 Hiltebeitel 2017, पृष्ठ 128 - 140.
  18. 1 2 3 4 5 6 7 8 9 10 11 www.wisdomlib.org (२०१९-०१-२८), "Story of Kṛṣṇa", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-३१।
  19. 1 2 3 Hiltebeitel 2017, पृष्ठ 299 - 244.
  20. ↑ Hiltebeitel 2017, पृष्ठ 245 - 286.
  21. ↑ Hiltebeitel 2017, पृष्ठ 211 - 212.