महेन्द्र पासमान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालिमा सिरहा ५बाट विजयी संविधान सभा सदस्य महेन्द्र पासवानले मधेसी दलितको पनि प्रतिनिधित्व गर्नुहुन्छ। पार्टीको सही राजनीतिक कार्यदिशा र जनताले पार्टी प्रति गरेको भरोसा नै आफ्नो विजयको कारण रहेको पासवानको भनाई छ।

सिरहाको मझौलिया -९ जयपुरमा वि.स. २०३१ साल भदौ २० गते जन्मेका पासवानको घर त्यस क्षेत्रमा वाम राजनीति गर्नेहरूको लुकेर बस्ने स्थान थियो। माओवादी नेताहरू रामवृक्ष यादव, इश्वरी दाहाल तथा सीपी गजुरेल पासवानको घरमा गइरहन्थे। नेताहरूको कुरा सुनेर पासवान राजनीतितिर आकर्षित हुनुभएको थियो।

अर्काको घरमा हलो जोतेर र गाई पालेर गुजारा गर्ने पासवानको परिवारमा उहाँको दाजु पनि वामपन्थी राजनीतिमा हुनुहुन्थ्यो। माओवादी पार्टी भित्र अरबिन्द उपनामले चिनिने पासवानले कानुनमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ। २०४५ सालदेखि राजनीतिमा लाग्नुभएका पासवान तराईका अधिकाशं जिल्लामा काम गर्नुभएको छ। पासवानले बारा, पर्सा, उदयपुर, मकवानपुर र ललिपुर जिल्लामा माओवादीको इन्चार्ज भएर पनि काम गरिसक्नुभएको छ।

२०५७ सालमा भारतको सिलगढीमा गठन गरिएको मधेसी मुक्तिमोर्चाको संयोजक पनि पासवान हुनुहुन्थ्यो। त्यसपछि मोर्चाको अध्यक्षमा जयकृष्ण गोइत र मातृका यादव बन्नु भयो। माओवादीको केन्द्रीय समिति ९५ सदस्यीय हुँदा पासवान केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो। छुवाछुत र जातीय विभेदले आक्रान्त मधेसी दलित समुदायका पासवान हाल मिथिला भोजपुरा राज्य समितिका सचिव हुनुहुन्छ। पासवानकी श्रीमती संजीता समेत माओवादी भातृ सङ्गठनकी अखिल नेपाल महिला सङ्घकी नेतृ हुनुहुन्छ।

क्षेत्रीय र जातीय हिसाबले पिछाडिएका वर्गको पक्षमा संविधान लेख्नमा आफ्नो भूमिका रहने पासवान बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]