सामग्रीमा जानुहोस्

मातृदेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मध्य प्रदेश वा राजस्थान, भारतबाट प्राप्त छैटौँ-सातौँ शताब्दीको मातृदेवीको मूर्ति, राष्ट्रिय सङ्ग्रहालय कोरिया, सियोल

मातृदेवी वा देवीमाता एक प्रमुख देवी हुन् जसलाई माता वा सृष्टिकर्ताको रूपमा चित्रण गरिन्छ। उनी मातृत्व र प्रजनन क्षमताको प्रतीक वा ब्रह्माण्ड विज्ञानमा सृष्टि र विनाश गर्ने पात्रको रूपमा रहन्छिन्। सामान्यतया उनलाई पृथ्वी, आकाश वा जीवन दिने प्राकृतिक उपहारहरूसँग जोडिने गरिन्छ जहाँ मानवता वा अन्य देवताहरूसँग उनको सम्बन्ध मातृवत हुन्छ। जब उनलाई पृथ्वी वा प्राकृतिक संसारको यही भूमिकामा तुलना गरिन्छ तब त्यस्ता देवीहरूलाई विभिन्न प्राणीवादी वा सर्वेश्वरवादी धर्महरूमा धर्ती माता वा 'पृथ्वी माता' भनिन्छ। विशेष गरी आदि-हिन्द-युरोपेली क्षेत्रबाट उत्पत्ति भएका धर्मशास्त्रहरूमा पृथ्वी देवीलाई 'आकाश पिता' वा 'स्वर्गका पिता' को पत्नी वा महिला समकक्षको रूपमा हेरिन्छ। यद्यपि, केही बहुदेववादी संस्कृतिहरूमा (जस्तै: प्राचीन मिस्री धर्म, जहाँ ब्रह्माण्डीय अण्डाको मिथक पाइन्छ), आकाशलाई स्वर्गीय माता वा आकाश माता (जस्तै: नुत र हाथोर) को रूपमा मानिन्छ। त्यहाँ पृथ्वी देवतालाई भने पुरुष, पैतृक र सांसारिक साझेदारको रूपमा हेरिन्छ (जस्तै: ओसिरिस वा गेब), जो ती मातृ 'ब्रह्माण्डीय अण्डा' बाट निस्किएका थिए।

हिन्दु धर्म

[सम्पादन]
हिन्दु देवी दुर्गा

परम्परागत हिन्दु पौराणिक कथाहरूमा मातृशक्तिको केन्द्रीय भूमिका रहेको छ जुन मातृदेवीको शक्तिशाली उपस्थितिले झल्काउँछ। उनलाई अन्नपूर्ण, दुर्गा, पार्वती, महादेवी, शक्ति, काली वा महाकाली जस्ता विभिन्न नामले पुकारिन्छ। अन्नपूर्णको रूपमा उनी भोजन र पोषणको प्रदायक हुन् भने दुर्गाको रूपमा उनले पुरुष देवताहरूले सामना गर्न नसक्ने 'आसुरी' वा राक्षसी तत्वहरूको विनाश गर्छिन्। यस्तैगरि कालीको रूपमा, आफ्नो उग्र स्वरूपमा उनी एक अनपेक्षित र दण्ड दिने आमा हुन् जसलाई मृत्यु र विनाशका साथै कृपा र पुनर्जीवनसँग पनि जोडिएको छ। शक्ति वा महादेवीको रूपमा, जसलाई सामान्यतया "देवी" (संस्कृत मूल "चम्कनु" बाट आएको) नामले चिनिन्छ, उनी ब्रह्माण्डको जीवनदायी र उत्पादक शक्ति हुन्।[१]

हिन्दु धर्ममा सरस्वती, लक्ष्मी, राधा, पार्वती, दुर्गा र अन्य देवीहरूले परब्रह्म भनिने सर्वोच्च सत्ताको स्त्री पक्ष र 'शक्ति' दुवैको प्रतिनिधित्व गर्छन्।[२] दैवी मातृदेवीले विभिन्न रूपहरूमा आफूलाई प्रकट गर्छिन्, जसले विश्वव्यापी सृजनात्मक शक्तिलाई जनाउँछ।[३] उनी 'प्रकृति माता' (मूल प्रकृति) बन्छिन्, जसले सबै जीवन रूपहरूलाई जन्म दिन्छिन् र आफ्नो शरीरमार्फत उनीहरूको पालनपोषण गर्छिन्। अन्ततः उनले सबै जीवनलाई आफूभित्रै समाहित गर्छिन्, वा नयाँ जीवन उत्पादन गर्नका लागि मृत्युको शक्तिको रूपमा उनीहरूको 'भक्षण' गर्छिन्। उनले नै माया (भ्रामक संसार) र प्रकृतिलाई जन्म दिन्छिन् जसले अस्तित्वको ईश्वरीय आधारलाई ब्रह्माण्डको रूपमा प्रक्षेपित गर्न उत्प्रेरित गर्छ।

शाक्त सम्प्रदायको साङ्ख्य र तन्त्रको हिन्दु दर्शनसँग गहिरो सम्बन्ध रहेको र अन्ततः यसलाई अद्वैतवादी मानिन्छ।[४] आदिम स्त्री सिर्जनात्मक-संरक्षणकारी-विनाशकारी ऊर्जा, शक्तिलाई नै दृश्य ब्रह्माण्डका सबै कार्य र अस्तित्व पछाडिको प्रेरक शक्ति मानिन्छ। ब्रह्माण्ड स्वयं पुरुष हो जो अपरिवर्तनीय, अनन्त र सबै अस्तित्वको दैवी आधार "विश्व आत्मा" हो। यो पुरुष क्षमतालाई स्त्री गतिशीलता (शक्ति) द्वारा वास्तविक रूप दिइन्छ जुन अनगिन्ती देवीहरूको रूपमा प्रकट हुन्छ र ती सबै अन्ततः एउटै महामाताका रूप हुन्। शक्तिले स्वयं व्यक्तिलाई अहंकार, अज्ञानता र तृष्णाका राक्षसहरूबाट मुक्त गर्न सक्छिन् जसले आत्मालाई मायामा बाँधेको हुन्छ। तान्त्रिक परम्पराका अनुयायीहरू मोक्ष प्राप्त गर्न र कर्मको चक्रबाट मुक्त हुन शक्तिको उपासना गर्ने गर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Guzder, Jaswant; Krishna, Meenakshi (१९९१), "Sita-Shakti : Cultural Paradigms for Indian Women", Transcultural Psychiatric Research Review 28 (4): 257–301, डिओआई:10.1177/136346159102800401।
  2. ↑ Rankin, John (१ जुन १९८४), "Teaching Hinduism: Some Key Ideas", British Journal of Religious Education 6 (3): 133–160, आइएसएसएन 0141-6200, डिओआई:10.1080/0141620840060306, "The notion of the feminine in deity is much more pronounced and is evident in the pairings of Shiva with Parvati, Vishnu with Lakshmi, Krishna with Radha and Ram with Sita."
  3. ↑ Monier-Williams, Monier, "Monier-Williams Sanskrit-English Dictionary", University of Washington, मूलबाट २५ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २०२२। अभिलेखिकरण २५ अगस्ट २०१७ वेब्याक मेसिन
  4. ↑ Katherine Anne Harper; Brown, Robert L. (२०१२), The Roots of Tantra, State University of New York Press, पृ: 48, 117, 40–53, आइएसबिएन 978-0-7914-8890-4।