सामग्रीमा जानुहोस्

मानव विकास (अर्थशास्त्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानव विकास भन्नाले आर्थिक दृष्टिले मानिसहरूको जीवनस्तर, स्वास्थ्य, शिक्षा, आय, र अवसरहरूको स्तर सुधार गरेर उनीहरूको जीवन गुणस्तर र क्षमता वृद्धि गर्नु हो। यसले केवल देशको कुल राष्ट्रिय आय (GDP) बढाउनु मात्र नभई आम नागरिकहरूले आर्थिक स्रोतहरूको पहुँच, रोजगारी, स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षामा समान अवसर पाउने सुनिश्चितता पनि समावेश गर्छ। आर्थिक क्षेत्रको विकास भएको अवस्थामा मात्र विकास भएको ठहर्छ भन्ने कुरा अर्थशास्त्रीहरूको राय देखिन्छ। राजनीति तथा सामाजिक क्षेत्रको विकास गर्नको लागि पनि अर्थकै आवश्यकता पर्दछ। अर्थ अथवा पैसा भएन भने न त राजनीति अगाडि बढ्न सक्छ, न त समाज नै। मानिसमा रक्तसञ्चारको जति आवश्यक हुन्छ, त्यस्तै आर्थिक पक्षको हुने गर्दछ।

मानवका आर्थिक

[सम्पादन गर्नुहोस्]

मानव विकासका तीनवटा दृष्टिकोण छन्–
क) मनोवैज्ञानिक दृष्टिकोण
ख) मानवीय मूल्य दृष्टिकोण
ग) गुणस्तरीय जीवन दृष्टिकोण

मनोवैज्ञानिक दृष्टिकोण

[सम्पादन गर्नुहोस्]

मनोविज्ञानमा यस दृष्टिकोणले मानिसको आन्तरिक र बाह्य विकासलाई ध्यानमा राख्छ अर्थात् यसले मानिसको शारीरिक र मानसिक विकास तथा रोग प्रतिरोध क्षमता विकासको अध्ययन गर्छ। सामान्यतया मनोविज्ञानमा बाल विकासको बढी अध्ययन हुन्छ। यस अन्तर्गत मानिसको शारीरिक विकास अन्तर्गत स्वास्थ्य, तौल, लम्बाई इत्यादि कुराहरु पर्दछन्। मानसिक विकास अन्तर्गत शारीरिक परिवर्तनको मानसिक प्रभाव, मानसिक क्षमता, संवेग, केवल मानसिक विकास इत्यादि पर्दछन्। यी दुवै कुराको विकासका दुइ मुख्य तत्त्व मानिन्छ, प्रथम वंशानुक्रम र अर्को वातावरण। यी दुइ कुराको प्रभावले मानिसको जुन व्यक्तित्व निर्माण हुन्छ त्यसले व्यक्तिको सामाजिक, आर्थिक, मनोवैज्ञानिक र व्यक्तिगत अवस्था प्रभावित हुन्छ।

मानवीय मूल्य दृष्टिकोण

[सम्पादन गर्नुहोस्]

मानवीय मूल्य दृष्टिकोणमा मानवीय गुणहरूको विकासलाई मानव विकास भनिन्छ। मानवीय मूल्य, मान्यता र यसको विकासले सभ्य र सुसंस्कृत समाजको निर्माणमा सहयोग पुग्छ। मानवीय सभ्यता र संस्कृतिले तीन कुराको कामना गर्दछ– अन्धकारबाट उज्यालो तिर। मृत्युबाट अमरता तिर र असत्यबाट सत्य तिर– तमसोमा ज्योतिर्गमय। मृत्योर्मा अमृतं गमय। असतोमा सद्गमय। मानव विकासको यस दृष्टिकोणले मुख्यतः नैतिक कुराहरूलाई केन्द्रमा राख्छ।

गुणस्तरीय जीवन दृष्टिकोण

[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रमा मानव विकासको अध्ययन अलि फरक प्रकारले गरिन्छ। कुनै देशको आर्थिक विकासका दुइ मुख्य आधार हुन्छन्– प्राृकतिक साधन र मानवीय साधन। मानवीय साधनको प्रयोगले मानिसको सुख र कल्याणका उन्नतिका विविध प्रयास गर्नु नै आर्थिक विकास हो।
यहा“ ध्यान दिनु पर्ने कुरा के भने, मानवीय साधनलाई बढी उत्पादनशील बनाउन यसमा लगानी गरिरहनु पर्दछ। शिक्षा, स्वास्थ्य, सरसफाईमा लगानी गर्नु भनेको मानव विकासमा लागनी गर्नु हो। यी मध्ये मानव विकासका लागि सबभन्दा महत्त्वपूर्ण खर्च भनेको शिक्षा क्षेत्र हो। यसको दीर्घकालिक प्रभाव हुन्छ। तर स्वास्थ्य र सरसफाईमा खर्चको प्रतिफल छिटै प्राप्त हुन्छ। यस खर्चले मानवीय साधनलाई उत्पादनशील मात्र बनाउ“दैन, मानवीय कल्याणमा पनि योगदान गर्छ। यसले गर्दा मानव विकासमा गरिएको खर्च साधन र साध्य दुवै मानिन्छ। जबकि भौतिक पूर्वाधारमा गरिएको खर्चको केवल एक पक्षीय प्रभाव हुन्छ। त्यसले उत्पादनका साधन छिटो र सरलतासाथ उपलब्ध हुन जान्छन्। उत्पादन क्षमतामा वृद्धि हुन जान्छ। सडक, विद्युत स्वयंमा लक्ष्य होइन। यसको उद्देश्य मानव कल्याणसंग सम्बन्धित छ।
मानव विकासको अर्थशास्त्रले जैविकीय विकासको अध्ययन गर्दैन बरु यसले गुणस्तरीय जीवनका लागि अनिवार्य, र आरामदायक आवश्यकताहरूको परिपूर्ति, सभ्य नागरिक सरह जीवन बिताउनका लागि चाहिने आवश्यक ज्ञान, सुख भोगका लागि चाहिने स्वस्थ र लामो आयु जस्ता कुराहरूको उपलब्धि जस्ता कुराहरूको अध्ययन गर्दछ। यी सबैका लागि चाहिने न्यूनतम मात्रा कति हो ? कति प्राप्त भएको छ ? कसरी प्राप्त गर्न सकिन्छ र यसको निरन्तर उपलब्धि र विकास के कसरी गर्न सकिन्छ भन्ने कुरा मानव विकासका अर्थशास्त्रको विषय वस्तु हो।
त्यसैले, यस अवधारणालाई आर्थिक प्रगतिको तुलनामा सामाजिक न्यायलाई बढी महत्त्व दिने अवधारणा मानिन्छ। यो आर्थिक अवधारणा भइकन पनि यसले भौतिक धन र पूंजीको होइन मानवीय धन र मानवीय पूंजीको अध्ययन गर्दछ। मानिसका शारीरिक, मानसिक र बौद्धिक विकासको अध्ययन अर्थिक दृष्टिकोणले गर्दछ।

मानव विकास अध्ययनका विधि

[सम्पादन गर्नुहोस्]

विधि अनुमान गर्ने समान्य तरीकाहरूलाई भनिन्छ। मानव विकास सम्बन्धी अवधारणामा समय समयमा अर्थशास्त्री, समाजशास्त्री, राजनीतिशास्त्री लगायतका विचारकहरूले विचार गर्दै आएका छन्। यस आधारमा मानव विकासका लागि निम्न्लिखित विचारहरु प्रस्तुत गरिएका छन्–

१. आर्थिक वृद्धि: एडम स्मिथको समय देखिनै विकासलाई आर्थिक आयामसंग जोड्ने परम्परा सुरु भएको हो। दोस्रो विश्व युद्ध पछि यस अवधारणालाई अझ महत्त्वपूर्ण ठानिएको हो। यस अवधारणाले मानव विकास र गुणस्तरीय जीवन मूलतः आर्थिक पू“जी र प्रविधिको उपज हो भन्ने मान्दछ।यस अवधारणाले सामाजिक, सांस्कृतिक र राजनीतिक सम्बन्धहरूलाई न्यूनीकरण गरेकोले यसलाई कम महत्त्वपूर्ण सूचक मानिन्छ।

२. मानव पूंजीको विकास: सन ५० को दशक पछि मानव पूंजीको अवधारणा विकसित भयो। यस अवधारणाले मानव विकासको अवधारणालाई अस्वीकार गर्दैन तर यसले केवल मानवको स्वास्थ्य शिक्षा, सीप जस्ता मानव पूंजीलाई बढी महत्त्व दिन्छ। किनभने शिक्षित स्वस्थ र सीपयुक्त जनसङ्ख्याले आर्थिक विकासमा योगदान गर्दछ। यस अवधारणाको दोष के हो भने यसले मानिसलाई उत्पादनको एक साधनको रूपमा मात्र अध्ययन गरिएको छ। जबकि मानिस उत्पादनको अन्तिम लक्ष्य पनि हो।

३. आर्थिक समानता: राष्ट्रिय आयमा वृद्धिले पूंजी र लगानीमा वृद्धि भइ रोजगारी बढछ जसले सबै मानिसको कल्याणमा वृद्धि हुन्छ भन्ने पूँजीवादी अवधारणा आंशिक रूपमा मात्र सफल रह्यो किनभने यसले समाजमा असमानता वृद्धि भइ धनी झन धनी र गरीब झन गरीब अझ गरीब हुन पुग्यो। जसले समाजमा जातीय, वर्गीय र अन्य द्वन्द्व चर्कियो। त्यस कारण समानता सहितको आर्थिक वृद्धिको अवधारणा विकसित भयो। तर यस अवधारणामा पनि आर्थिक पक्षलाई मात्र समेटिएको र अन्य मानवीय र व्यक्तिगत तत्वलाई बेवास्ता गरिएकोले मानव विकास र मानिसको कल्याणमा यसको योगदानलाई पूर्ण मानिंदैन।

४. आधारभूत आवश्यकता: सन ७०को शुरुमा यस अवधारणाको विकास भयो। राष्ट्रिय आयको वृद्धि, आर्थिक समानता लक्ष्य नभएर मानवीय कल्याण प्राप्त गर्ने साधन हो। यी दुवै कुरा भए पनि मानिस आधारभूत आवश्यकताबाट वंचित भएको हुन सक्छ।त्यसैले मूलकुरा भनेको मानिसका आधारभूत आवश्यकताहरूको परिपूर्ति हो। यस अन्तर्गत खाद्यान्न, लत्ता कपडा, आवास, शिक्षा, सामाजिक सुरक्षाको न्यूनतम प्राप्ति लाई आधार मानियो। तर अल्पविकसित मुलुकहरूमा उपर्युक्त लक्ष्यहरूको सन्तोषजनक रूपमा प्राप्ति भएन। तसर्थ मानव विकास र जीवनको गुणस्तरीयताको नाप यस आधारमा हुन सकेन।

५. आर्थिक उदारीकरण: स्थानीय अर्थतंत्र र बजार व्यवस्थालाई विश्व अर्थतंत्रसंग समायोजन गर्दै बजार व्यवस्था माथि सरकारी हस्तक्षेप बन्द गरेर आर्थिक वृद्धि हुन सक्ने मान्यता यस अवधारणाको छ। यसले प्रत्येक व्यक्तिको व्यक्तिगत स्वतंत्रता र क्षमता अभिवृद्धि गर्ने अवसर प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिंदैन तथापि यस अवधारणाका पनि केही त्रुटिहरु छन। तथापि वर्तमानमा आर्थिक उदारीकरण र आर्थिक स्वतन्त्रतालाई मानव विकासको एक तत्त्वको रूपमा सामान्यतः स्वीकार गरिएको छ।

६. मानवीय विकास: कुनै पनि मुलुकको वास्तविक धन भनेका त्यहांका महिला र पुरुष हुन र विकासको उद्देश्य यस्तो वातावरणको सृजना गर्नु हो जसमा जनता स्वस्थ, दीर्घायु र रचनात्मक हुन सक्छन। भौतिक र वित्तीय धनको लालसामा यो महत्त्वपूर्ण सत्य ओझेलमा पर्छ। राष्ट्रिय आय तुलनात्मक रूपमा कम छ तर मानिसको जीवनको गुणस्तरीयता उच्च रहेको छ। यो अवधारणाकेहि नयां हो। यसले मानवीय विकास र गुणस्तरीय जीवनलाई आर्थिक विकासको आधार मान्दछ। यस अवधारणालाई के कारणले पनि वैज्ञानिक मानिन्छ भने यसमा आर्थिक विकासका अन्य सूचकहरु, प्रति व्यक्ति आय, शिक्षा, स्वास्थ्य आदि कुराहरु पनि समायोजित गरिन्छ। साथै गुणस्तरीयताको संख्यात्मक नाप गरिने भएकोले यो सूचक अन्य भन्दा बढी वैज्ञानिक छ।

सहस्राब्दी मानव विकास लक्ष्य

[सम्पादन गर्नुहोस्]

सन् २०१५ सम्मका लागि सं.रा.सं.ले निम्नलिखित आठवटा विकास लक्ष्य निर्धारित गरेको छ

  • १. भोक र गरिबीबाट मुक्ति
  • २. सबैलाई प्राथमिक शिक्षा
  • ३. लैगिक समानता र महिला सशक्तिकरण
  • ४. बाल मृत्युदर घटाउने
  • ५. मातृस्वास्थय सुधार
  • ६. एच आइ भीबाट सुरक्षा
  • ७. वातावरणीय सुरक्षा
  • ८. अन्तर्राष्ट्रिय सम्बन्ध

मानवीय विकासका क्षेत्र

[सम्पादन गर्नुहोस्]

अमत्र्य सेनले मानवीय विकासका आधारभूत पक्षलाई निम्नलिखित प्रकारले उल्लेख गरेका छन्

  • १. समानता
  • २. दिगो आर्थिक विकास
  • ३. उत्पादकता
  • ४. सशक्तिकरण
  • ५. सहकार्य, र
  • ६. सुरक्षा

मानव विकासका विषयहरु

[सम्पादन गर्नुहोस्]

मानव विकासकालागि कुनै देशले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु पर्दछ। स्वस्थ र शिक्षित जनशक्ति नै देशकालागि वास्तविक पूंजी हुन्छ। अस्वस्थ र अशिक्षित जनसङ्ख्या देशकालागि मात्र होइन स्वयं आफ्नैलागि पनि समस्या हुन जान्छ। नेपालमा मानव संसाधन विकासकालागि देशले शिक्षामा लगानी गरिरहेको छ। शिक्षा स्वास्थ्य, खानेपानी जस्ता कुरामा सरकारले प्रति वर्ष कुल बजेटको एक तिहाइ खर्च गरिएको छ। शिक्षामा मात्र कुल बजेटको २० प्रतिशत खर्च गरिएको छ। यसले गर्दा नेपालमा साक्षरता र विद्यालय शिक्षाको उपलब्धि निकै सकारात्मक भए तापनि शिक्षित जनशक्तिको गुण स्तर अभिवृद्धि गराउने चुनौती अझै पनि नेपालले बेहोर्नु परेको छ। गुणस्तरीयतामा अभिवृद्धि गर्न शिक्षालाई निजी संस्थाहरुद्वारा सञ्चालन गर्ने काम गरिएको छ। अहिले नेपालमा सरकारी, निजी र सामुदायिक तीन प्रकारका कार्यक्रमहरूद्वारा शिक्षाको विकास प्रयास गरिएको छ। उच्च शिक्षाको लागि सबभन्दा महत्त्वपूर्ण संस्था अहिले त्रिभुवन विश्वविद्यालय हो। यस बाहेक नेपाल संस्कृत विश्वविद्यालय, क्षेत्रीय विश्वविद्यालयहरु, तथा निजी विश्वविद्यालयहरु पनि क्रियाशील छन्।

मानव विकास अर्थशास्त्रको विषय वस्तु

[सम्पादन गर्नुहोस्]

मानव विकास अर्थशास्त्रले निम्नलिखित विषय वस्तु अध्ययन गर्दछ–

  • १. मानव विकासका मनोवैज्ञानिक सिद्धान्त
  • २. जन्म, मृत्यु, बसाईं सराइका नाप र तिनीहरूलाई प्रभावित गर्ने तत्त्व
  • ३. मानव संसाधन विकास र मानव विकासको सम्बन्ध
  • ४. मानव संसाधनको नापका विधि
  • ५. मानव विकास सूचक र यसको नाप
  • ६. मानव विकास सूचकका अवयव
  • ७. लैगिक भिन्नता र मानव विकास
  • ८. मानव समुदायमा गरिने लागनी
  • ९. मानव पूंजी र आर्थिक वृद्धिको सम्बन्ध
  • १०. मानव विकास र आर्थिक वृद्धि
  • ११.मानव विकास र गरिबी निवारण
  • १२. वैश्विकीकरण र मानव विकास
  • १३. सुशासन र मानव विकास
  • १४. मानव विकाससम्बन्धी योजना र नीतिहरु

जनसङ्ख्या, श्रम, जनशक्ति र मानव विकास अर्थशास्त्र

[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या अर्थशास्त्रमा जनसङ्ख्याका पक्षहरु जन्म, मृत्यु, बसाईं सराइ र यसलाई प्रभाव पार्ने तत्त्वहरूको अध्ययन गरिन्छ। श्रम अर्थशास्त्रले उत्पादनको साधनको रूपमा मानव साधनको अध्ययन गर्छ। यसमा श्रम समस्या, श्रम कानुन, सामूहिक मोलमोलाई, श्रमको सीमान्त उत्पादक, ज्याला, जीवनस्तर र जयालाको सम्बन्धको बारेमा अध्ययन गरिन्छ। यसमा मुख्यतः श्रम बजारमा श्रमको माग र पूर्तिसंग सम्बन्धित विषयवसतु अध्ययन गरिन्छ। जनशक्ति अर्थशास्त्रमा त्यस जनसङ्ख्याको बारेमा अध्ययन गरिन्छ जुन देशको राष्ट्रिय आयमा योगदान गर्छ। यस जनशक्तिलाई अझ बढी उत्पादक बनाउन शिक्षा, सीप र स्वास्थयमा लागनी गर्नु पर्छ। तथापि जनशक्ति अर्थशास्त्रमा शिक्षा र प्रशिक्षणमा बढी ध्यान केन्द्रित गरिन्छ। त्यसैले जनशक्ति अर्थशास्त्रलाई शिक्षाको अर्थशास्त्रको समानान्तर मानिन्छ। तथापि जनशक्ति अर्थशास्त्र र शिक्षाको अर्थशास्त्रमा अन्तर हुन्छ।

मानव विकास अर्थशास्त्र एक विस्तृत अवधारणा हो। यसमा श्रमको अध्ययन उत्पादनको एकाई र उपभोग दुवै दृष्टिले गरिन्छ। यसमा श्रम साधन मात्र हुंदैन साध्य पनि हुन्छ। त्यसैले यसमा मानव जीवनको सुख र सन्तोष मुख्य कुरा हुन्छ। त्यसैले यसमा निम्नलिखित विषयवस्तु अध्ययन गरिन्छ–

  • १.मानव विकासका मनोवैज्ञानिक सिद्धान्त
  • २.मानव विकासको परिभाषा र मानव विकासको नापका विधिहरु
  • ३.जनसङ्ख्या, मानव संसाधन, मानव पू“जी र आर्थिक विकासको सम्बन्ध
  • ४.लैंगिक समानता, गरिबी निवारण र मानव विकासको सम्बन्ध
  • ५. सुशासन र मानव विकास
  • ६. विश्वव्यापीकरण र मानव विकास
  • ७. मानव विकास सम्बन्धी नीति र योजना

मानव विकासका मापन

[सम्पादन गर्नुहोस्]
सन् २०१८ को विश्वका क्षेत्रीय मानव विकास सूचकाङ्क (HDI): रातो = कम HDI, हरियो = उच्च HDI; मानव विकासको स्तरलाई मापन गर्ने प्रमुख सूचक मानव विकास सूचकाङ्क लाई लिइन्छ।

मानव विकासको नापका लागि विभिन्न दृष्टिकोणहरु विकसित भइरहेका छन्। केही नापहरु यस प्रकार छन्–

  • १. मानव विकास सूचक
  • २. मानव निर्धनता सूचक
  • ३. लैंगिक विकास सूचक
  • ४. लैगिक सशक्तता माप

मानव विकासमा कति उन्नति भएको छ भन्ने कुरा पत्ता लगाउन एच डी आईको निर्माण गरिएको छ। विभिन्न देशका मानव विकास सूचकहरूले कुन देश मानव विकासको कुन स्तरमा छ भन्ने कुरा अध्ययन गर्न सकिन्छ। यस सूचकले मानिसको प्रत्याशित आयु, शैक्षिक अवस्था, र प्रति व्यक्ति आयको स्तर नाप गर्छ। मानव वंचितता सूचकले मानव विकासमा रहेको कमीलाई र लैंगिक विकास सूचकले पुरुषको तुलनामा महिलाको विकास स्तरको सापेक्षिक नाप गर्छ।लैंगिक सशक्तता नापले महिलाहरूको विकासका लागि गरिएका कामहरूको विवरणको अध्ययन गर्छ।

नेपाली परिवेश

[सम्पादन गर्नुहोस्]

२०२३ को मानव विकास सूचकाङ्क (HDI) रिपोर्ट अनुसार, १९९० देखि २०२२ सम्म नेपालमा मानव विकासका मुख्य सूचकहरूमा महत्वपूर्ण सुधार देखिएको छ। जन्मको समयमा जीवन प्रत्याशा ५४.४ वर्षबाट बढेर ७१.४५ वर्ष पुगेको छ भने औसत शिक्षाको वर्ष २.० वर्षबाट ५.१ वर्षमा पुगेको छ। आर्थिक दृष्टिले कुल ग्राह्य राष्ट्रिय आय प्रति व्यक्ति (GNI per capita, PPP$) $1,372 बाट $3,877 मा वृद्धि भएको छ। यससँगै मानव विकास सूचकाङ्क ०.३८७ बाट ०.६०२ मा सुधार भएको छ। यी तथ्यांकहरूले नेपालले पछिल्ला तीन दशकमा स्वास्थ्य, शिक्षा र आर्थिक आयका क्षेत्रमा सकारात्मक प्रगति हासिल गरेको देखाउँछन्।[] १९९० देखि २०२२ सम्म नेपालमा मानव विकास सूचकाङ्क (HDI) ०.३९९ बाट ०.६०२ मा पुगेको छ, जसले ५०.९ प्रतिशतको वृद्धि देखाउँछ। प्रदेश अनुसार हेर्दा बागमती प्रदेशले सबैभन्दा उच्च HDI मूल्य (०.६६९) हासिल गरेको छ भने काठमाडौं उपत्यकामा HDI स्कोर ०.६२२ पुगेको छ। सहर र गाउँको तुलनामा, शहरी क्षेत्रहरूमा HDI उच्च देखिन्छ, तर ग्रामीण क्षेत्रहरूसँगको अन्तर क्रमिक रूपमा घट्दै गएको छ। यसले ग्रामीण क्षेत्रमा पनि मानव विकासमा सुधार भइरहेको संकेत गर्छ।[] सन् २०२५ को मानव विकास सूचकाङ्क (HDI) अनुसार नेपाल १९३ देशमध्ये १४५औं स्थानमा रहेको छ, जसको HDI स्कोर ०.६२२ छ। देश अझै पनि मध्यम मानव विकास वर्गमा रहँदै आएको छ र पछिल्ला दशकमा क्रमिक प्रगति जारी राखेको देखिन्छ।[]

नेपालको पन्ध्रौं योजना (२०१९/२०–२०२३/२४) ले “समृद्ध नेपाल, सुखी नेपाली” हासिल गर्न लक्ष्य राखेको थियो। यस योजनाले २०४३ सम्म देशलाई उच्च आय भएका राष्ट्र बनाउनको लागि सतत् आर्थिक वृद्धि र सामाजिक विकासमा आधारित आधार तयार पार्ने प्रयास गरेको थियो। योजना अन्तर्गत शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरूमा सुधार गरी मानव विकास सूचकाङ्क (HDI) सम्बन्धी लक्ष्यहरूमा प्रगति गर्ने उद्देश्य राखिएको थियो, यद्यपि केही सामाजिक लक्ष्यहरू पूर्ण रूपमा हासिल हुन सकेनन्। सोह्रौँ योजनामा मानव विकास सूचकाङ्क (HDI) ०.६०१ बाट ०.६५ सम्म वृद्धि गर्ने लक्ष्य राखेको छ भने मानव सम्पत्ति सूचकाङ्क (Human Property Index) ७६.३ प्रतिशतबाट ७८ प्रतिशत पुर्‍याउने उद्देश्य राखिएको छ। आर्थिक र वातावरणीय जोखिम सूचकाङ्क (Economic and Environmental Risk Index) २९.७ बाट २४ मा घटाउने अपेक्षा गरिएको छ। साथै, जीवन प्रत्याशा (Life Expectancy) ७१.३ वर्षबाट ७३ वर्ष पुर्‍याउने लक्ष्य पनि समावेश गरिएको छ। शिक्षा क्षेत्रमा पनि विशेष लक्ष्य राखिएको छ; साक्षरता दर ७६.२ प्रतिशतबाट ८५ प्रतिशत पुर्‍याउने योजना छ। यस योजनाको कार्यान्वयनका लागि करिब रु ११.१ खर्ब लगानी अनुमान गरिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Opinion | HDI and development delusion", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०९-०४
  2. Dulal, Tulasa Devi (२०२३-१२-३१), "Status of Human Development Index with Reference to Nepal", Journal of Population and Development (अङ्ग्रेजीमा) 4 (1): 166–180, आइएसएसएन 2717-5065, डिओआई:10.3126/jpd.v4i1.64256
  3. "Nepal ranks 145th in UN Human Development Index amid digital push", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०९-०४
  4. "16th plan sets economic growth rate target of 7.3 per cent", GorakhaPatra, अन्तिम पहुँच २०२५-०९-०४
  • घोष, बी एन, १९९०, पपुलेशन इकोनोमिक्स, दीप एन्ड दीप।
  • ज्ञवाली, बाबुराम, वि.सं. २०७०, जनसंख्या अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन।
  • झिङ्गन,एम एल १९९०, इकोनोमिक्स अफ डिभलपमेन्ट, विकास पब्लिेकशन्स।  
  • टोडारो, इकोनोमिक डिभलपमेन्ट (पी डि एफ) २०१९।
  • यु एन डी पी, १९९८, नेपालमा मानव विकास १९९८।
  • शुल्ज, टी डब्लु,  इन्वेस्टमेन्ट इन ह्युमन क्यापिटल, (पी डि एफ) २०१९।
  • ह्युमन डिभलपमेन्ट इन्डेक्स, विकिपीडिया, नवम्बर २०१९।
  • हार्बिन्सन एन्ड मायर्स, एजुकेशन, म्यान पावर एन्ड इकोनोमिक ग्रोथ।

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]