मान्धातृ
| मान्धाता | |
|---|---|
इन्द्रको भेषमा कृष्णले मान्धातालाई सल्लाह दिँदै | |
| धर्मग्रन्थहरू | महाभारत |
| वंशावली | |
| अभिभावकहरू |
|
| जीवनसाथी | बिन्दुमती |
| सन्तानहरू | पुरुकुत्स, अम्बरीष र मुचुकुन्द |
| वंश | सूर्यवंश |
मान्धाता वा मान्धातृ भारतको पौराणिक सूर्यवंशका एक प्रसिद्ध राजा थिए।[१] उनले सम्पूर्ण विश्वमा विजय प्राप्त गरेको र ऋग्वेद को मण्डल १० को सुक्त १३४ को रचना गरेको मानिन्छ।[२] महाभारतका अनुसार उनी युवनाश्वका छोरा थिए।[३][४] उनको विवाह यदुवंशका राजा शशबिन्दुको छोरी बिन्दुमतीसँग भएको थियो।[५] पुराण अनुसार उनका पुरुकुत्स, अम्बरीष र मुचुकुन्द गरी तीन छोराहरू थिए। उनी आफ्नो महानता, परोपकार र उदारताका लागि स्मरणीय छन्।[६]
जन्म
[सम्पादन गर्नुहोस्]मान्धाताको पौराणिक कथा महाभारतको वन पर्व, द्रोण पर्व र शान्ति पर्वमा उल्लेख गरिएको छ।
अयोध्याका राजा युवनाश्व एक पटक शिकार अभियानमा निस्किन्छन् र दिउँसोको समयमा उनी निकै तिर्खाउा५न्। उनी एउटा यज्ञ स्थलमा पुग्छन् र त्यहाँ उनले पवित्र कलशमा राखिएको घिउ पिउँछन्। सो घिउ पिएका कारण उनले गर्भधारण गर्छन्। अश्विनीकुमार जुम्ल्याहाले राजाको गर्भबाट बच्चालाई बाहिर निकाल्छन्। जब देवताहरूले यो बच्चालाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता व्यक्त गर्छन् तब इन्द्रले आफ्नो औँलाबाट अमृत निकाल्छन् जसलाई बच्चाले सेवन गर्छन्। इन्द्रको हातबाट शक्ति प्राप्त गरेका कारण मान्धाता अत्यन्त शक्तिशाली हुन्छन्।[७]
विजयहरू
[सम्पादन गर्नुहोस्]मान्धाताले आफ्नो दृढ इच्छाशक्तिको भरमा मात्र एकै दिनमा सम्पूर्ण पृथ्वीमा विजय प्राप्त गरेका थिए। उनले उशीरविगका राजा मरुत्त, असित, द्रुह्युका राजा अङ्गार, नृग, अङ्गका बृहद्रथ, सुन, जय, जनमेजय, सुधन्वन, कान्यकुब्जका गय, अङ्गारका छोरा गान्धार र अन्य धेरैलाई युद्धमा पराजित गरेका थिए। मान्धाताले पाताल, भूलोक र आधा स्वर्गमा विजय प्राप्त गरी तीनै लोकको शासक बनेका थिए।
महाभारतमा उल्लेख भए अनुसार अयोध्याका राजा मान्धाताले ब्राह्मणहरूलाई दानस्वरूप शुद्ध सुनले बनेका र धेरै किलोमिटर लामा रोहिता माछाका विशाल मूर्तिहरू दिएका थिए। उनले आफ्ना यज्ञहरूका क्रममा १०,००० पद्म उत्तम जातका गाईहरू ब्राह्मणहरूलाई दान दिएका थिए। मान्धाताले एक सय अश्वमेध यज्ञ र एक सय राजसूय यज्ञहरू सम्पन्न गरेका थिए।[८]
मान्धातालाई यौवनाश्विन (युवनाश्वका छोरा) र त्रसदस्यु (जसलाई दुष्टहरूले डराउँथे) भनेर पनि चिनिन्थ्यो। उनले एक पटक लङ्काका राजा रावणसँग द्वन्द्वयुद्ध गरेका थिए, तर सो युद्ध बराबरीमा टुङ्गिएको थियो।
मान्धाताले यदुवंशका राजा शशबिन्दुको छोरी चन्द्रवंशी राजकुमारी बिन्दुमतीसँग विवाह गरेका थिए। उनीहरूका तीन छोरा र ५० छोरीहरू थिए। उनका छोराहरू पुरुकुत्स, अम्बरीष र मुचुकुन्द पनि उत्तिकै प्रख्यात थिए।[६] मान्धाताका छोरीहरू सुन्दर तपस्वी सौभरिको प्रेममा परेकी थिइन् र उनीसँगै विवाह गरेका थिए जसबाट सौभरि ब्राह्मणहरूको उत्पत्ति भएको मानिन्छ। मान्धाता पछि उनका जेठा छोरा सुसन्धि राजा बनेका थिए।
मृत्यु
[सम्पादन गर्नुहोस्]मान्धाता वृद्ध हुँदै जाँदा उनको अहंकार पनि बढ्दै जान्छ र उनले इन्द्रद्वारा शासित स्वर्गलोकलाई पूर्ण रूपमा जित्ने इच्छा गर्छन्। यसबाट इन्द्र विचलित हुन्छन् र उनले मान्धातालाई अझै पनि पृथ्वी पूर्ण रूपमा जित्न बाँकी रहेको कुरा सम्झाउँछन्। इन्द्रले मान्धातालाई मधु र कुम्भीनसी (लङ्काका राजा रावणकी बहिनी) का छोरा असुर लवण उनको शासनको अधीनमा नरहेको बताउँ५न्। त्यसपछि मान्धाताले लवणासुरको नगर मधुपुरीमा आक्रमण गर्छन्। लवणसँग उनका पिता राजा मधुलाई भगवान् शिवले दिएको एक दिव्य त्रिशूल थियो। जबसम्म त्यो त्रिशूल लवणको साथमा रहन्थ्यो, तबसम्म कसैले पनि उनलाई युद्धमा पराजित गर्न सक्दैनथ्यो। लवणले सोही त्रिशूलको प्रयोग गरेर मान्धाता र उनको सम्पूर्ण सेनालाई क्षणभरमै जलाएर भष्म पारिदिन्छन्। पछि मान्धाताकै वंशज शत्रुघ्नले लवणासुरको वध गरेका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ wisdomlib.org (२०१२-०६-२९), "Mandhatri, Māndhātṛ, Mandhātṛ: 15 definitions", wisdomlib.org, अन्तिम पहुँच २०२२-११-३०।
- ↑ Pargiter 1972, पृष्ठ. 102–4.
- ↑ John Dowson (१८७०), A classical dictionary of Hindu Epic and religion, geography, history, and literature, Trübner & Co., पृ: 197–8।
- ↑ Mahabharata, III.126
- ↑ Pargiter 1972, पृष्ठ 150.
- 1 2 Pargiter 1972, पृष्ठ 93.
- ↑ wisdomlib.org (२०२०-१२-१२), "Section LXII [Mahabharata, English]", wisdomlib.org, अन्तिम पहुँच २०२२-११-३०।
- ↑ wisdomlib.org (२०२०-१२-१२), "Section LXII [Mahabharata, English]", wisdomlib.org, अन्तिम पहुँच २०२२-११-३०।