सामग्रीमा जानुहोस्

मियाजाकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मियाजाकी प्रान्त (宮崎県, मियाजाकी केन) जापानको क्युशू टापुमा स्थित छ। १ जनवरी २०२५ अनुसार यस प्रान्तको जनसङ्ख्या १,०२८,२१५ छ। यसको भौगोलिक क्षेत्रफल ७,७३५ वर्ग किलोमिटर छ। मियाजाकी प्रान्तको उत्तरमा ओइता प्रान्त, उत्तर-पश्चिममा कुमामोटो प्रान्त, र दक्षिण-पश्चिममा कागोशिमा प्रान्तसँग सिमाना जोडिएको छ।[]

यस प्रान्तको राजधानी मियाजाकी सहर हो, जुन यहाँको सबैभन्दा ठुलो सहर पनि हो। अन्य प्रमुख शहरहरूमा मियाकोनोजो, नोबिओका, र ह्यूगा पर्छन्।

मियाजाकी प्रान्त क्युसुको दक्षिणपूर्वी भागमा अवस्थित छ र जापानको प्रशान्त महासागर तटमा फैलिएको छ। यसको तटरेखा बुंगो नहरको प्रवेशद्वार नजिकको नोबिओका बाट सुरु भएर कुशिमाको शिबुशी खाडीसम्म फैलिएको छ।

इतिहास

[सम्पादन]

मियाजाकी प्रान्तको इतिहास मेइजी पुनर्स्थापन पछि मिमित्सु प्रान्तलाई मियाकोनोजो प्रान्तको केही भागसँग मिलाएर बनाइएको हो। १८७३ मा पूर्वमा स्थित ह्यूगा प्रान्तलाई मियाजाकी प्रान्त भनेर नाम दिइएको थियो। प्रारम्भिक कालको मियाजाकी प्रान्त केवल १८७६ सम्म कायम रह्यो, त्यसपछि यो कागोशिमा प्रान्तसँग विलय गरियो। कागोशिमा प्रान्तको एसेम्बलीमा जनताको दबाब र माग पछि, मियाजाकी प्रान्त १८८३ मा कागोशिमाबाट स्वतन्त्र भयो र पुनः अस्तित्वमा आयो।[]

भूगोल

[सम्पादन]

मियाजाकी प्रान्त क्युशू टापुको पूर्वी तटमा अवस्थित छ। यसको दक्षिण र पूर्वमा प्रशान्त महासागर रहेको छ, उत्तरमा ओइटा प्रान्त, र पश्चिममा कुमामोटो र कागोशिमा प्रान्तहरूले यसलाई घेरेका छन्।

मियाजाकी प्रान्त पृथ्वीमा केवल दुई स्थानहरू मध्ये एक हो जहाँ चोरिआस्तिक गिस्टर(Chorioactis geaster) नामक दुर्लभ फङ्गस पाइन्छ।[]यस प्रान्तको ह्यूगानात्सु फलको उत्पादन क्षेत्रको रूपमा पनि प्रसिद्ध छ। प्रान्तको कुल भूभागको १२% भूभाग प्राकृतिक निकुञ्जका रूपमा संरक्षण गरिएको छ। ३१ मार्च २०१९ सम्म यसमा समावेश रहेका प्रमुख प्राकृतिक निकुञ्जहरूमा, किरिशिमा-किन्कोवान राष्ट्रिय निकुञ्ज, क्युशू चुओ सान्चि, निचिनान तट, निप्पो तट, सोबो-कातामुकी अर्ध-राष्ट्रिय निकुञ्जहरू, मोचियो-सेकिनोओ, ओसुझु, साइटोबारु-सुगियासुक्यो, सोबो-कातामुकी, वानित्सुका, यताके कोगेन प्रान्तल प्राकृतिक निकुञ्जहरू पर्छ।[]

अर्थतन्त्र

[सम्पादन]

मियाजाकी प्रान्तको अर्थतन्त्र कृषि, माछापालन र पर्यटनमा आधारित छ। यहाँको उर्वर माटो र अनुकुल जलवायुले कृषिमा ठुलो योगदान पुर्याउँछ। मियाजाकी आप र चामल यहाको प्रमुख उत्पादन हो। माछापालन पनि यहाँको महत्त्वपूर्ण उद्योग हो, जसले विभिन्न प्रकारका माछा उत्पादन गर्दछ र जापान तथा अन्य अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्छ। यस क्षेत्रको समृद्ध समुद्री संसाधन र माछा उद्योगले आर्थिक वृद्धि र रोजगार सृजनामा महत्वपूर्ण भूमिका खेल्दछ।

त्यसैगरी, मियाजाकीको पर्यटन क्षेत्र पनि अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। यहाँको प्राकृतिक सौन्दर्य, समुद्र तटहरू, ऐतिहासिक स्थलहरू र सांस्कृतिक धरोहरले पर्यटकहरूलाई आकर्षित गर्दछ। यसले होटल, ट्रांसपोर्ट र अन्य सेवामा रोजगारी सृजना गर्दछ र स्थानीय व्यापारको वृद्धिमा मद्दत पुर्याउँछ। मियाजाकी प्रान्तले कृषिप्रधान क्षेत्रको रूपमा आफ्ना उत्पादन र प्राकृतिक संसाधनहरूको भरपर्दो उपयोग गरेर दीर्घकालीन आर्थिक विकास सुनिश्चित गर्नमा योगदान पुर्याइरहेको छ।

यो पनि हेर्नुहोस

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८
  2. Nussbaum, "Provinces and prefectures" at p. 780, पृ. 780, गुगल बुक्स मा.
  3. "Kumanasamuha geaster sp. nov., an anamorph of Chorioactis geaster from Japan", Mycologia 101 (6): 871–877, २००९, डिओआई:10.3852/08-121
  4. "自然公園都道府県別面積総括" [General overview of area figures for Natural Parks by prefecture] (जापानीमा), Ministry of the Environment (Japan), ३१ मार्च २०१९, अन्तिम पहुँच १२ अगस्ट २०१९