सामग्रीमा जानुहोस्

मेरी मुरम्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेरी मुरम्यान
हत्या भएको साँझ डलास काउन्टी सेरिफको कार्यालयमा मेरी मुरम्यान
जन्ममेरी एन बोसार्त
(1932-08-05) अगस्ट ५, १९३२ (उमेर ९४)
जीवनसाथी
डोनाल्ड जि. मुरम्यान
(
वि १९५२; सवि १९७३)

गेरी क्रामर
(
वि १९८०)
सन्तान

मेरी एन मुरम्यान (जन्म उपनाम बोसार्त; जन्म; सन् १९३२ अगस्ट ५) एक अमेरिकी महिला हुन्, जसले टेक्ससको डलासमा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको टाउकोमा घातक गोली लागेको क्षणभरमै उनको तस्वीर खिचेकी थिइन्। षड्यन्त्र सिद्धान्तवादीहरूले केनेडीको हत्याराहरूमध्ये एक मानिरहेका ब्याज म्यान सोही दिन उनले खिचेको अर्को तस्वीरमा स्पष्ट देखिने दाबी गरिन्छ।

हत्याको प्रत्यक्षदर्शी

[सम्पादन गर्नुहोस्]
घातक प्रहारको एक सेकेन्डको सानो हिस्सा पछि मेरी एन मुरम्यानले खिचेको विस्तृत विवरण

सन् १९६३ नोभेम्बर २२ का दिन टेक्ससको डलासमा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको हत्या भएको थियो।

मुरम्यानले बताएअनुसार उनका ११ वर्षीय छोरा (रिचर्ड डन मुरम्यान, सन् १९५२–२००३)[] केनेडीलाई हेर्न चाहन्थे, तर विद्यालयका कारण उपस्थित हुन सकेनन्। उनले आफ्ना छोराका लागि एउटा तस्वीर खिचिदिने वाचा गरेकी थिइन्।[]

हत्याको समयमा मुरम्यान डेली प्लाजाको एल्म स्ट्रिटको दक्षिणी किनाराबाट करिब २ फिट (६१ सेमी) दक्षिणमा घाँसे मैदानमा उभिएकी थिइन्। उनी 'घाँसे ढिस्को' र उत्तर तर्फको कङ्क्रिटको 'पर्गोला' संरचनाको ठीक अगाडि थिइन् जहाँ अब्राहम जाप्रुडर र उनकी सहायक मरिलिन सिट्जम्यान उभिएका थिए। मुरम्यानले आफ्नो पोलारोइड क्यामेराबाट तस्वीर खिच्न घाँसबाट सडकमा ओर्लिएको बताएकी थिइन्। मुरम्यानको तस्वीरमा जाप्रुडर पर्गोलामा उभिएको देख्न सकिन्छ, जतिबेला राष्ट्रपतीय सवारी जाप्रुडर र मुरम्यानको बीचको दृष्टि रेखाबाट अगाडि बढिसकेको थियो।

मुरम्यान र उनकी साथी जिन हिल दुवैलाई जाप्रुडर फिल्ममा स्पष्ट रूपमा देख्न सकिन्छ।[] जाप्रुडर फिल्मको फ्रेम ३१५ र ३१६ को बीचमा मुरम्यानले एक पोलारोइड तस्वीर खिचेकी थिइन् जुन त्यस दिनको उनको पाँचौँ तस्वीर थियो। यो तस्वीरको पृष्ठभूमिमा घाँसे मैदानको क्षेत्र र राष्ट्रपतीय सवारीलाई देखिएको छ।

मुरम्यानको तस्वीरले राष्ट्रपति केनेडीको टाउकोमा लागेको गोलीको घातक क्षणलाई कैद गरेको थियो। उनले यो तस्वीर खिच्दा, जुन जाप्रुडर फ्रेम ३१३ मा राष्ट्रपति केनेडीको टाउकोमा गोली लागेको लगभग एक सेकेन्डको छैटौँ भाग पछि थियो – मुरम्यान राष्ट्रपति केनेडीको पछाडि र बायाँ तर्फ, राष्ट्रपतीय सवारीबाट करिब १५ फिट (५ मी) को दूरीमा उभिएकी थिइन्।[] मुरम्यानले एक टेलिभिजन अन्तर्वार्तामा बताएअनुसार हत्याको लगत्तै एकपछि अर्को गर्दै तीन वा चारवटा गोलीहरू चलेका थिए र टाउकोमा लागेको गोली पछि पनि गोली प्रहार भइरहेको थियो जसका कारण उनी पनि प्रहारको जोखिममा थिइन्।[] सन् २०१३ को पिबिएस वृत्तचित्र केनेडी हाफ सेन्चुरी मा बताएअनुसार उनी ज्याकी केनेडीले "जोनलाई गोली लाग्यो" भनेर चिच्याएको सुन्न सक्ने जति नजिक थिइन्।

मुरम्यानले सन् १९६७ मा मार्क लेनको वृत्तचित्र रस टु जजमेन्टका लागि अन्तर्वार्ता दिएकी थिइन्।[] सन् १९६९ मा उनले क्ले सको मुद्दा प्रमाण दिएकी थिइन्।[] सन् १९८८ मा उनी द म्यान हु किल्ड केनेडी नामक वृत्तचित्रमा देखा परेकी थिइन्।[] ओलिभर स्टोनको सन् १९९१ को चलचित्र जेएफकेमा सेली नाइस्टुएनले उनको भूमिका निर्वाह गरेकी छिन्।[] सन् २०१३ मा मुरम्यानले सिनसिनाटीमा बोलपत्र मार्फत आफ्नो मौलिक पोलारोइड तस्वीर बिक्री गर्ने प्रयास गरेकी थिइन्।[१०][११] उक्त तस्वीर ५०,००० देखि ७५,००० डलरमा बिक्री हुने अपेक्षा गरिएको थियो, तर यसले तोकिएको आरक्षित मूल्य प्राप्त गर्न भने सकेन।[११] मुरम्यानले यसअघि न्युयोर्कको सोथबिजमा पनि तस्वीर बेच्ने प्रयास गरेकी थिइन् तर उक्त लिलामी घरले यसलाई "लिलामीका लागि अत्यन्तै संवेदनशील" भएको ठहर गरेको थियो।[११] सोही वर्ष उनले हत्याका बारेमा आफ्नो धारणा व्यक्त गरिन्। उनी केनेडीको हत्या एउटा षड्यन्त्रको परिणाम थियो भन्ने कुरामा विश्वस्त थिइन्। उनको भनाइ यस प्रकार छ "वास्तवमा के भएको थियो मलाई ठ्याक्कै थाहा छैन, तर मलाई यति थाहा छ कि यस कथामा अझै धेरै कुराहरू हुन सक्छन् जुन अहिलेसम्म भनिएको छैन। म यो मेरो जीवनकालमै बाहिर आओस् भन्ने चाहन्थेँ, तर कसलाई के थाहा। सरकारले धेरै कुरा लुकाएको छ; जुनसुकै कुरा हुन सक्छ र त्यसलाई लुकाउन सकिन्छ। ओसवाल्ड सम्भवतः एक्लो व्यक्ति थिएनन्, उनका पछाडि पक्कै पनि समर्थकहरू थिए। मेरो विचारमा यो पक्कै पनि एउटा षड्यन्त्र थियो।"[१२]

मुरम्यानको तस्वीरको पृष्ठभूमिमा के कैद भएको थियो भन्ने कुरा सधैँ विवादको विषय बनेको छ। घाँसे मैदान क्षेत्रमा केही मानिसहरूले चारवटा सम्म फरक-फरक मानवीय आकृतिहरू पहिचान गरेको दाबी गरेका छन्, जबकि अन्यले ती अस्पष्ट आकृतिहरूलाई रूख वा छायाँ मात्र भएको भन्दै खारेज गरिदिएका छन्। सबैभन्दा बढी चर्चा गरिएको एक आकृतिलाई "ब्याज म्यान" नाम दिइएको छ, किनभने यो आकृति ब्याज लगाएको वर्दीधारी प्रहरी अधिकारी जस्तो देखिन्छ। अन्य केहीले सोही क्षेत्रबाट हत्याको भिडियो खिचेको दाबी गर्ने गोर्डन आर्नोल्ड, निर्माण कार्यमा लगाइने हेलमेट लगाएको एक व्यक्ति र काठको बार पछाडि टोपी लगाएको अर्को व्यक्ति देखिएको दाबी गर्छन्।[१३]

मुरम्यानले बताएअनुसार सवारी उनी भएठाउँबाट अगाडि बढ्दै गर्दा उनले एउटा गोलीको आवाज सुनिन्, त्यसपछि राष्ट्रपतिको टाउको क्षतविक्षत हुँदा अर्को दुईवटा गोलीको आवाज सुनेकी थिइन्। उनले गोली कहाँबाट चलेको थियो भन्ने कुरा आफूले ठम्याउन नसकेको र त्यस क्षेत्रमा हत्यारा हुन सक्ने कोही पनि व्यक्ति नदेखेको बताएकी थिइन्।[१४] मुरम्यानसँग डलास काउन्टी सेरिफको विभाग र एफबिआईले अन्तर्वार्ता लिएको थियो। उनलाई वारेन आयोगले प्रमाणको लागि बोलाएको थियो तर कुर्कुच्चा मर्किएका कारण उनी उपस्थित हुन नसकेपछस आयोगले उनीसँग कहिल्यै पनि सम्पर्क गरेन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Richard Moorman Obituary (2003) - Dallas, TX - Dallas Morning News", Legacy.com, अन्तिम पहुँच २०२५-११-०४
  2. Smith, Jeff (नोभेम्बर १८, २०१३), "Mary Moorman Recalls Witnessing JFK's Assassination", 5NBCDFW, अन्तिम पहुँच जनवरी २३, २०२३
  3. मुरम्यान जाप्रुडरको फ्रेम २९० देखि ३१६ सम्म देखिन्छिन्। Zapruder Frames: Costella Combined Edit.
  4. Bugliosi, Vincent (२००७), Reclaiming History: The Assassination of President John F. Kennedy, New York: W.W. Norton, पृ: ४३, आइएसबिएन 978-0-393-04525-3
  5. JFK Lancer अभिलेखिकरण फेब्रुअरी २५, २०२१ वेब्याक मेसिन, २२ नोभेम्बर १९६३ को साँझतिर खिचिएको मेरी मुरम्यानको एबिसी/डब्ल्युएफएए अन्तर्वार्ता
  6. Frewin, Anthony (१९९३), The Assassination of John F. Kennedy: An Annotated Film, TV, and Videography, 1963-1992, Greenwood Press, पृ: ३२।
  7. "Only Three Testify in Shaw Trial", The Spokesman-Review, १६ फेब्रुअरी १९६९।
  8. Frewin, Anthony (१९९३), The Assassination of John F. Kennedy: An Annotated Film, TV, and Videography, 1963-1992, Greenwood Press, पृ: ५७।
  9. Frewin, Anthony (१९९३), The Assassination of John F. Kennedy: An Annotated Film, TV, and Videography, 1963-1992, Greenwood Press, पृ: १०७।
  10. "Historic Kennedy assassination photo to be auctioned" USA Today, October 17, 2013
  11. 1 2 3 Coffey, Laura T. (नोभेम्बर १५, २०१३), "JFK 'grassy knoll' photo fails to sell at auction", Today.com (NBC News), अन्तिम पहुँच डिसेम्बर ८, २०१४
  12. Schmidt, Markus (नोभेम्बर १७, २०१३), "Mary Ann Moorman: The woman with the famous Polaroid", Richmond Times-Dispatch, अन्तिम पहुँच अगस्ट १४, २०२४
  13. Young, Michael E. (मार्च २, २०१३), "Gary Mack and the evolution of a JFK conspiracy theorist", The Dallas Morning News (Dallas), अन्तिम पहुँच डिसेम्बर १३, २०१६
  14. FBI interview of Mary Ann Moorman, taken 1963-11-22, CE 1426, Warren Commission Hearings, vol. 22, pp. 838-839.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]