मोमिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोमिला
मोमिला जोशी
जन्ममोमिला
(1967-08-09) ९ अगस्ट १९६७ (उमेर ५६)
हुलाकटोल, धनकुटा
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
शिक्षाएम.ए.
पेशालेखन
चिनारीको कारणकविता, निबन्ध, सम्पादन
उल्लेखनीय कार्य
पैयुँ फुल्न थालेपछि, जूनकीरीहरू ओर्लिरहेछन्, दुर्गम उचाइमा फूलको आँधी, निर्वस्त्र नगरीमा, भीमसेन थापाको सुसाइट नोट, खुला ढोका, नेपाली कलासाहित्य डट कम प्रतिष्ठान : 'सद्वभाव र सिर्जना' (साहित्यिक वेब पत्रिका), सगरमाथाको नृत्यमग्न आत्मा (प्रतिनिधि आधुनिक नेपाली कविता) को सम्पादन
गृहनगरकाठमाडौँ
पुरस्कारपद्मकन्या पदक (२०५२), प्रज्ञा पदक (कविता महोत्सव, २०५५), शताब्दी युवा सम्मान (२०५७), मोहन रेग्मी स्मृति सम्मान (२०५८), गुञ्जन प्रतिभा पुरस्कार (२०६२), युवा वर्ष मोती पुरस्कार (२०६३), धनकुटा प्रतिभा पुरस्कार (२०६४)

मोमिला (अङ्ग्रेजी: Momila जन्म सन् १९६७, अगस्ट ९ विक्रम सम्बत्: २०२४ श्रावण २५ गते बुधबार भएको हो ।[१][२] नेपाली साहित्यमा युवापुस्ताको अग्र पंक्तिमा उभिएकी उनका सृजनाहरु सशक्त मानिन्छन् ।[३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

मोमिलाको जन्म वि.सं. २०२४ साल साउनमा धनकुटा जिल्लाको सदरमुकाम धनकुटा हुलाकटोलमा भएको थियो ।[४]

शिक्षा तथा कार्य जीवन[सम्पादन गर्नुहोस्]

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

भीमसेन थापाको सुसाइड नोट
 
 
सम्बोधनमा नपरेका बाँकी सारा सम्बोधनहरू !

उहिल्यै इतिहासमा
बेमौसमी हुरीबतास र बर्सात्को एक दिन
आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै
भित्तामा ससम्मान झुन्ड्याइएको
वर्षौँ पुरानो देशभक्त अमर सिंहको तस्बिरबाट
अचानक आँखा झरेछन्
हुन सक्छ—
ठीक त्यही बेलादेखि यो देशका मार्गदर्शकहरूले
दृष्टि गुमाएको हुनुपर्दछ

फेरि एकाएक तस्बिरबाट कान झरेछन्
ठीक त्यही बेलादेखि यस देशका शासकहरू
बहिरो भएको हुनुपर्दछ

बिस्तारै छोपिएका नाकमुख पनि झरेछन्
ठीक त्यही बेलादेखि लासहरूको दुर्गन्धित पहाडमाथि उभिएर
देशको बिरानीमा यहाँ बेसुरा राष्ट्रियता गाइएको हुनुपर्दछ

तस्बिरबाट क्रमशः
    हात झरेछन्
    खुट्टा झरेछन्
ठीक त्यही बेलादेखि स्वाभिमानी हातहरू
आत्महत्या गर्न विवश हुनुपर्दछ
ठीक त्यही बेलादेखि हिँड्न सुरु गर्नुअघि नै
यो देशको गन्तव्य नै हराएको हुनुपर्दछ

र अन्तमा मात्र अस्थिपञ्जर केवल अस्थिपञ्जर बाँकी राखेर
अमर सिंहको त्यो तस्बिरबाट मस्तिष्क र मुटु पनि झरेछन्
सायद त्यही बेलादेखि यस देशका शासकहरू
अबिरमालाले पुरिएका चेतना र हृदयशून्य
केवल ठिङ्ग उभिएका सालिकजस्ता बनेको हुनुपर्दछ

यस्तो अजङ्गको अभिशप्तता अन्त्य गर्न
यहाँ भीमसेन थापाहरूले सालिक होइन
बरु मुर्दा नै बन्नुपर्ने रहेछ !
        — तपाईँहरूकै सेवक
                       भीमसेन थापा
    
“भरखरै सुन्दै हुनुहुन्थ्यो
भीमसेन थापाको सुसाइड नोट ।
अब परिशिष्टमा :
( आजको शीर्ष खबर—
 देशभक्त भीमसेन थापाको आत्महत्याले देश स्तब्ध छ
 थापाको आत्महत्यापश्चात् उनको बन्द मुठी खोलेर हेर्दा
 उनको हत्केलामा कोरिएको किरिङमिरिङ भाग्यरेखा,
 अनि यो देशको नक्शा र
 त्यो झुन्डिएको तस्बिरमा बाँकी रहेको
 अमर सिंह थापाको त्यो वास्तु नमिलेको अस्थिपञ्जर
 दुरुस्त उस्तै रहेको बताइएको छ )”

(भीमसेन थापाको सुसाइट नोट, २०७०), याम्बुरी बुक प्वाइन्ट

२०३३ देखि साहित्यको अथाह सागरमा होमिएकी मोमिलाको ‘प्रतिबिम्बित मनवता’ शीषृकको रचना पहिलोपटक २०४२–४३ तिर ‘निर्माण’ नामक पत्रिकामा प्रकाशन भएको थियो । राष्ट्रिय स्तरको पत्रिका ‘रुपरेखामा, २०४४ मा ‘प्रतिक्षा फेरि चिताको’ शीर्षक कविता प्रकाशित भएपछि निरन्तर साहित्यिक सागरमा सिर्जनाको डुङ्गा खियाएकी मोमिला युवापुस्ताकी सशक्त प्रतिभा हुन् । नेपाली वाङ्मयको श्री वृद्धिको खातिर दिलो ज्यानले समर्पित मोमिला अनेकौँ पुरस्कार तथा मान–सम्मानद्वारा पुस्कृत तथा विभूषित भइसकेकी छिन् । उनले नेपाली भाषा, साहित्य एवम् कला तथा संस्कृतिको क्षेत्रमा पुर्‍याउको अनुकरणीय योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सन् २०१२ को लागि एक लाख नगद तथा ताम्रापत्रसहितको प्रतिभा पुरस्कारले उहाँलाई विभूषित गरेको छ ।[४]

कविता लेखनमा अत्यन्त रुचि राख्ने मोमिला निबन्ध र साहित्यसंग सम्बन्धित विधामा पनि त्यत्तिकै कलम चलाउँछिन् । वरिष्ठ साहित्यकार सरुभक्तले मोमिला समय अनुसार चल्न सक्ने सशक्त कवि भएको बताएका छन् ।[५]

‘पैयु फुल्न थालेपछि’ कवितासङ्ग्रह (२०५२) उनको पहिलो प्रकाशित कृति हो । दोस्रो कृति जूनकीरीहरु ओर्लिरहेछन्(२०५५), तेस्रो कृति दुर्गम उचाईमा फूलको आँधी(२०६०) लगायत उनको दुई ओटा कविताकृति Selected Poem अङ्ग्रेजी संस्करण र भीमसेन थापाको सुसाइट नोट(२०७०) प्रकाशन भएका छन् । कविता लेखनमा अत्यन्त लोकप्रिय रहेकी मोमिला कविता, निबन्ध लगायत साहित्यका विविध विधाहरूमा आफ्नो प्रभुत्व जमाउन सफल भएकी छिन् । प्रज्ञा पदक, युवावर्ष मोती पुरस्कार लगायत थुप्रै पुरस्कारहरु प्राप्त गरेकी मोमिला कुशल सम्पादक पनि हुन् । पछिल्लो अवधिमा प्रकाशित भएको पुस्तक ‘सगरमाथाको नृत्यमग्न आत्मा’ यसको उदाहरण हो । एकसय पैतिस जना कविहरूलाई एकै थलोमा उभ्याउन सफल भएकी छिन मोमिला । यस संग्रहहरूमा धेरै पुस्ताका कविहरूलाई भेट्न सकिन्छ ।[३]

लेखनशैली[सम्पादन गर्नुहोस्]

आफैबारे ‘हजार पीडाहरूलाई माया गर्दै जीवनको वक्ररेखामा आफ्नो अस्तित्व खोजिरहेको एक आउटसाइडर’ भन्ने मोमिलाका कविताहरुका बारेमा कवि विप्लव ढकाल भन्छन्, ‘“बीसौ“ शताब्दीको अन्तिम दशकतिर अथवा एक्काइसौँ शताब्दीको प्रारम्भिक प्रहरतिर नेपाली कविताको नयाँ इतिहास कसरी रेखाङ्कित हुँदै थियो ? यो प्रश्न भविष्यले आफ्नो अतीतलाई सोध्नका लागि सुरक्षित राखेको छ जसका सर्वाङ्गीण उत्तरहरूको महत्त्वपूर्ण अंशलाई मोमिलाका कविताहरूले समेटेका छन्।‘[१]

रात पछिको दिनको कल्पना, अध्यारो पछिको उज्यालोको प्रतिक्षाको पक्षमा उभिएका मोमिलाका कविताहरूले सुन्दर जीवनको पक्षमा सकारात्मक आशा जगाउने पक्षमा वकालत गरिरहेका हुन्छन् । मानविय संवेदनाहरूलाई ध्यानमा राखेर लेखिएका उनका कविताहरु देश प्रेमप्रति सर्मर्पित छन् । मान्छे आफैले आफुप्रति विश्वास गर्न सक्नुपर्छ । सकारात्मक विचारहरूलाई सम्प्रेषण गर्नूपर्छ । सम्पूर्ण मानवहरूको पीडा नै आफ्नो सम्झनु पर्छ, भात्तृत्वप्रेम जगाउँन सक्नुपर्छ भन्ने सकारात्मक सन्देशहरू मोमिलाका कविताहरूले बोलिरहेका छन् । समकालीन अनुहारहरूको भीडभित्रै पनि भीडबाटै छुट्टिने मोमिलाका रचानाहरूले आफ्नो समयको निरङ्कुशता, अहमन्यता, विद्रोह, उत्पीडन, साहसिकता, चुनौती, स्वतन्त्रता आदि प्रतिनिधित्व गरिरेका छन् [३]

लेखन एवम मुख्य कृतिहरू[सम्पादन गर्नुहोस्]

कविता सङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • हेमचन्द्र पोखरेलका केही कविता, (२०४४), मोमिला जोशी र धीरकुमार श्रेष्ठ
  • पैयुँ फुल्न थालेपछि (२०५२), पोखरेली युवा सांस्कृतिक परिवार
  • जूनकीरीहरू ओर्लिरहेछन् (२०५५), मोमिला
  • दुर्गम उचाइमा फूलको आँधी (कवितासङ्ग्रह, २०६०), कालचक्र नेपाल
  • निर्वस्त्र नगरीमा (कविता– सङग्रह)
  • भीमसेन थापाको सुसाइट नोट (२०७०), याम्बुरी बुक प्वाइन्ट
  • खुला ढोका २००६ (कविता सङ्ग्रह, सहलेखनऽ,सन् २००६)

निबन्ध[सम्पादन गर्नुहोस्]

  • नीलो–नीलोआकाश र दुईथोपा आँसु (निबन्ध–कवितासङ्ग्रह, सहलेखन, २०५३)
  • ईश्वरको अदालतमा आउटसाइडरको बयान (ललित निबन्धसङ्ग्रह, २०६३)[६]

सम्पादन[सम्पादन गर्नुहोस्]

  • नोबेल साहित्य वार्षिकी २०६०, २०६१ र २०६२, नोबेल एकेडेमी
  • नेपाली कलासाहित्य डट कम प्रतिष्ठान : 'सद्वभाव र सिर्जना' (साहित्यिक वेब पत्रिका)[७]
  • कालचक्र (कविताङ्क, सहसम्पादन)
  • सगरमाथाको नृत्यमग्न आत्मा (प्रतिनिधि आधुनिक नेपाली कविता) को सम्पादन[१]

पुरस्कार/मान-सम्मान/पदक[सम्पादन गर्नुहोस्]

  • पद्मकन्या पदक (२०५२)
  • प्रज्ञा पदक (कविता महोत्सव, २०५५),
  • शताब्दी युवा सम्मान (२०५७)
  • मोहन रेग्मी स्मृति सम्मान (२०५८)
  • गुञ्जन प्रतिभा पुरस्कार (२०६२)
  • युवा वर्ष मोती पुरस्कार (२०६३)
  • धनकुटा प्रतिभा पुरस्कार (२०६४)[८]
  • नेपाली प्रतिभा पुरस्कार (सन् २०१२)[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ मोमिला, सम्पादक (वि.सं. २०६५), सगरमाथाको नृत्यमग्न आत्मा : स्रष्टा र सृष्टि (प्रतिनिधि आधुनिक नेपाली कविता), नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, ISBN 978-9937-2-0961-8, पृ: ५१५। 
  2. "मोमिला :: कविता कोश", Kavita Kosh, २०१७ मे ९, अन्तिम पहुँच २०१८-०४-१७ 
  3. ३.० ३.१ ३.२ सिलवाल, छविरमण (सोमबार, २६ जेठ, २०७१), "सशक्त कविताहरूको संगालो", samakalinsahitya.com, समकालीन साहित्य (नेपाली साहित्यको सङ्ग्रह ), अन्तिम पहुँच २०१८-०४-१७ 
  4. ४.० ४.१ "मोमिला जोशी", नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत, अन्तिम पहुँच २०१८-०४-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१८ मिति
  5. "मोमिलाको कवितावाचनमा पोखरेली मोह", http://www.goldennews.com.np, अन्तिम पहुँच २०१८-०४-१७ 
  6. हाचेकाली, सुरेश (फेब्रुअरी ५, २०१८), "समालोचना : ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ भित्र प्रतिवादी हाँसो", http://sahityasangraha.com, समकालीन साहित्य (नेपाली साहित्यको सङ्ग्रह ), अन्तिम पहुँच २०१८-०४-१७ 
  7. "सम्पादकीय: आकाश चट्टान भएर खसे पनि...", http://www.nepalikalasahitya.com/, अन्तिम पहुँच २०१८-०४-१७ 
  8. "यस वर्षको धनकुटा प्रतिभा पुरस्कार साहित्यकार मोमिला, नेपाल स्टार विष्णु र स्वर्ण पदक विजेता कुसललाई प्रदान गरिने", http://nepaliliterature.com, २००८-०३-१२, अन्तिम पहुँच २०१८-०४-१७ [dead link]
  9. "मोमिला पुरस्कृत भट्टराई सम्मानित", nepalihimal.com, अन्तिम पहुँच २०१८-०४-१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]