म्याङलुङ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याङ्लुङ
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लातेह्रथुम जिल्ला
स्थापनाबि.स.२०७१
सरकार
 • मेयरसञ्जय कुमार तुम्वाहाङफे
 • उप मेयरपार्वती सानु डाँगी
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा१९६५९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५७१०४
क्षेत्रीय सङ्केत०२६
वेबसाइटwww.myanglungmun.gov.np

म्याङ्लुङ तेह्रथुम जिल्लाको सदरमुकाम एवम् जिल्लाको एक मात्र नगरपालिका हो । म्याङ्लुङ बजार रहेको रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । [१] म्याङलुङ नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर सो कार्यान्वयनमा हाल २०७१ जेष्ठ ४ गते देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा म्याङलुङ, ताम्फुला, पिप्ले, आम्वुङ,सावलाजिरिखिम्ति गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा म्याङलुङ पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

विशेष गरी लिम्बु जातीको बस्ती रहेको यो जिल्लाको सदरमुकाममा भने नेवार जातिको बाहुल्यता छ । म्याङलुङ धेरै पहिलेदेखि तेह्रथुम जिल्लाका विभिन्न गाविस तथा पाँचथर, ताप्लेजुङसंखुवासभाका केही गाविसको व्यापारिक स्थल बन्दै आएको छ । हरेक शुक्रबार म्याङलुङमा हाट लाग्छ । म्याङलुङसम्म कच्ची सडक पुगेको छ । म्याङलुङसम्म धरानबाट १ दिनको बसयात्रामा पुगिन्छ। तेह्रथुमको प्रवेशद्धार बसन्तपुर बजारबाट लसुने हुँदै म्याङलुङसम्म पुग्दा बाटोमा चियाबारी, तीनजुरे, पिँगुवा खोला, शिशिर ऋतुमा लालिगुराँसका ढकमक्क फुलेका रूखहरू साथै कुम्भकर्ण, मकालु हिमालको दृश्यवलोकन, जलजले, ओख्रे, ओयाक्जुङ, जिरिखिम्ती, सिम्ले, पिप्ले, फाक्चामारा देख्न सकिन्छ। सदरमुकामको छेउमा अवस्थित पाथिभरा मन्दिरले म्याङलुङ बजारको शोभा बढाएको छ । उक्त मन्दिर पुग्न म्याङलुङको मूल सडकदेखि लगभग ४ सय ५० वटा खुड्किला पार गर्नुपर्छ । मन्दिर भएको ठाउँमा मन्दिर मात्र अट्ने लगभग १० मिटर ब्याँसको ठाउँ मात्र छ भने अन्य भाग ओरालो परेको छ। यो मन्दिरको पश्चिमतर्फजंगल छ ।

नामकरण[सम्पादन गर्नुहोस्]

म्याङ्लुङ नाम कसरी रहन गयो भन्ने रोचक कथा छ । लिम्बू भाषामा 'म्याउँ'को अर्थ बिरालो र 'लुङ्ग'को अर्थ ढुङ्गा हुन्छ । म्याउलुङबाट अपभ्रंश भई म्याङलुङ भएको स्थानीय बूढापाकाहरूको भनाइ छ । प्रचलित लोककथा अनुसार धेरै पहिले डाँडाको एक चौतारामा दुइ ढाक्रे बास बस्न पुगेछन् । रातको समयमा खाना पकाउन ढुङ्गा खोजी चम्का लगाएर खाना पकाउन लाग्दा आगोको तापसँगै उक्त ढुङ्गा काँप्न थाल्यो । उक्त ढुङ्गा निकै तातेपछि काँप्दै लड्न पुग्यो र उनीहरूको खानासमेत पोखियो । रिसको झोकमा उनीहरूले सो ढुङ्गामा तरबार प्रहार गरे, तरबार प्रहारका क्रममा ढुङ्गाबाट म्याउँको आवाज आएको र त्यसबाट रगतसमेत बगेका कारण ढाक्रेहरू डराएछन् । उनीहरूले यो कुरा स्थानीय बासिन्दाहरूलाई सुनाए । उक्त घटना सुनिसकेपछि गाउँलेहरूले अब अनिष्ट हुने भयो भनी सो ढुङ्गालाई बाजागाजासहित हालको म्याङलुङ बजारको मध्यभागमा रहेको चौताराको वरको रूखको फेदमा स्थापित गरे । त्यहाँ पूजाआजा गर्ने, भाकल गर्ने र बलि चढाउने चलन अहिले पनि छ । यहाँको हावापानी मध्यम खालको भएकाले वातावरण रमणीय छ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

म्याङलुङ, ताम्फुला, पिप्ले, आम्वुङ,सावलाजिरिखिम्ति गाविसहरूलाई मिलाएर म्याङलुङ नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १९,६५९ रहेको छ ।[२]

आगलागी[सम्पादन गर्नुहोस्]

वि.स. २०५९ मंसिर २२ गते बेलुका लागेको आगलागीले मानवीय क्षति नभए पनि लगभग ८५ वटा घरसहित लत्ताकपडा, फर्निचर आदिका साथै सम्पूर्ण सामान जलेर खरानी भएका थिए। यसै क्रममा लगभग २ सय ५० घरपरिवार विस्थापित भए भने लगभग २ अरब बराबरको धनजनको क्षति भएको अनुमान गरिएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]