योगमाया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(याेगमाया बाट पठाईएको)
Jump to navigation Jump to search

योगमाया भोजपुर जिल्लाको मजघा सिम्लेका न्यौपानेकी छोरी हुन् । योगमाया (१९१७-१९९७) समाज सुधारक महिला हुन् । उनको विवाह सिक्तेलका कोइरालासँग भएको थियो । घर परिवारको बुहार्तन र छोरी मात्र जन्माएको निहुमा कुटाइ खाएर पीडित भएकी योगमाया तत्कालीन समाजबाट पनि लाञ्छित तथा तिरस्कृत भइन् । समाजको सो लाञ्छना र तिरस्कार सहन नसकी उनी योग साधनामा संलग्न भइन् । सो क्रममा उनले निकै वर्ष तपस्या पनि गरिन् ।
योग साधना र तपश्चर्याबाट सिद्धि प्राप्त गरेपछि उनी योगीका रूपमा परिचित भइन् । उनका अनुयायीहरू धेरै भए । त्यसबेलाका पीडित महिलाहरूको ठुलो जमातले उनको पक्ष लियो । उनले बुहारीलार्इ नीच नोकरको व्यवहार गर्ने तत्कालीन समाजका विरुद्ध कडा आवाज उठाइन् । सामाजिक कुकृत्यको भन्डाफोर गर्दै उनले लोक लयात्मक कविताको रचना गरी प्रचार प्रसार गरिन् । यसबाट उनको पक्षमा अझ धेरै महिला सामेल भए ।
भनिन्छ काठमाण्डौका कविप्रसाद गौतम, लोचननिधि तिवारी, प्रेम नारायण आदि पनि योगमायाका चेला बनेका थिए । उनका सत्यार्थ वाणीसत्यार्थ स्वर्गारोहण जस्ता कृति रहेका देखिन्छन् । आधुनिक इतिहासकार ज्ञानमणि नेपालका अनुसार तत्कालीन राणा सरकारको कानुन र समाजको अत्याचार सहन नसकी ६७ जना आफ्ना अनुयायीका साथ सामाजिक रूपान्तरण र धर्मराज्यको स्थापनाका लागि उनले अरुण नदीमा सामुहिक देह त्याग गरेकी थिइन् । उनलार्इ शक्ति माताका रूपमा पनि लिने गरेको पाइन्छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. भट्टरार्इ, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाण्डौ ः लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

Yogamaya

नेपाली गौरव योगमाया