युनिकोडमा नेपाली भाषाको प्रयोग र समसामयिक आवश्यकता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भूमिका‍‍[सम्पादन गर्नुहोस्]

प्रविधिको उच्चतम विकासले आजको विश्व अधिकतम सुविधायुक्त हुँदै गएको छ। प्रविधिको विविध क्षेत्रहरूमा भएका प्रगतिहरूमध्ये पनि कम्प्युटर प्रविधिको प्रगतिको माध्यमबाट केही दशक अघिसम्म असम्भव झैं लाग्ने र कल्पनासम्म नगरेका कामहरू आजको युगमा दक्षतापुर्वक सामान्य रूपमा नै सम्पन्न गर्न सकिन्छ। कम्प्युटर प्रविधि अन्तर्गत हार्डवेयरका साथै सफ्टवेयरमा लगातार हुँदै गएको विकासले आज मानवजीवनका आवश्यकताहरू पूर्ति गर्न सहज हुँदै गएको छ। सफ्टवेयरतर्फ पर्ने मुलत: सिस्टम सफ्टवेयर र एप्लिकेशन सफ्टवेयरमध्ये आज कम्प्युटर प्रविधि क्षेत्रमा एप्लिकेशन सफ्टवेयरहरूको संख्या र उपयोग अनगिन्ती भइसकेका छन्। विभिन्न सफ्टवेयरहरूको प्रयोग विभिन्न उद्देश्यले हुन्छ। यसै सन्दर्भमा यस लेखमा एप्लिकेशन सफ्टवेयरको रूपमा नेपाली युनिकोडको समसमामयिक आवश्यकता र सान्दर्भिक प्रयोग बारे चर्चा गरिन्छ।

विषयप्रवेश[सम्पादन गर्नुहोस्]

आजको समयमा कम्प्युटर प्रयोगकर्ताहरूले कम्प्युटर चलाउँदा नेपाली भाषामा प्रयुक्त हुने देवनागरी लिपिका अक्षर, अंक र चिन्हहरू भाषा र ध्वनिविज्ञानसम्मत रूपले कम्प्युटर प्रविधिसँग संयोजन गरी उपयोग गर्नको लागि नेपाली युनिकोड एप्लिकेशन प्रयोग गर्नु अपरिहार्य छ। नेपाली युनिकोडको प्रयोग अघि कम्युटर प्रयोगकर्ता लगायत विद्युतीय छापा र प्रकाशन माध्यम प्रयोग गर्ने सम्बन्धित पक्षले भोग्नु परेका कम्प्युटर प्रविधिगत अनेकन् समस्याहरू नेपाली युनिकोडको प्रयोगबाट सहज रूपमा समाधान भएका छन्। आज नेपाली युनिकोड प्रयोगको लागि इन्टरनेटमा विविध वेबसाइटहरू उपलब्ध छन् तर तिनको प्रयोगको लागि अनलाईन इन्टरनेट कनेक्शनमा रहनु पर्ने भएकोले प्रयोगकर्ताहरूको लागि यो अव्यवहारिक र ठूलो आर्थिक बोझ हुन जान्छ। यस परिप्रेक्ष्यमा इन्टरनेटको उपयोग नै नगरी नेपाली युनिकोडको सहज प्रयोग गर्न सकिन्छ। प्रस्तुत लेखमा नेपालको मदन पुरस्कार पुस्तकालयद्वारा विकास गरी खुला स्रोत (Open Source) को रूपमा उपलब्ध नेपाली युनिकोडको चर्चा गरिन्छ। [खुला स्रोतको रूपमा उपलब्ध सफ्टवेयरहरूलाई Website मार्फत नि:शु:ल्क रूपमा डाउनलोड गरी (वा सिडी मार्फत पनि) प्रयोग गर्न सकिन्छ।]

युनिकोड र नेपाली भाषा[सम्पादन गर्नुहोस्]

युनिकोड के हो?[सम्पादन गर्नुहोस्]

ल्याटिन भाषामा ‘Unus’ को अर्थ ‘एक’ हुन्छ। अङ्ग्रेजी भाषामा ‘Code’ को अर्थ ‘सङ्केत’ वा ‘गुप्त भाषा’ हुन्छ। ‘Code’ शब्दको अगाडि ‘Unus’बाट बनेको उपसर्ग ‘Uni-’ थपेर ‘Unicode’ शब्द बनेको हो जसको अर्थ ‘एउटै सङ्केत वा गुप्त भाषा’ हो। अङ्ग्रेजीमा ‘Compute’ शब्दको अर्थ सांख्यिक गणना एवं विश्लेषण हो। यसर्थ प्राविधिक रूपमा ‘Computer’ को अर्थ सांख्यिक गणना एवं विश्लेषण गर्ने विद्युतीय यान्त्रिक साधन हुन्छ। यसकारण हामीले हाम्रो भाषा र लिपिमा पढ्न, लेख्न र बुझ्न प्रयोग गर्ने एवं कम्प्युटरको पर्दा (Monitor वा Screen) मा देख्ने गरेको अक्षर, अंक वा चिन्हहरूलाई कम्प्युटरले आफ्नो छुट्टै भाषा अर्थात् केवल निर्दिष्ट संख्याको रूपमा ग्रहण गर्ने, गणना एवं विश्लेषण गर्ने, बुझ्ने र व्यक्त गर्ने गर्दछ। ती अक्षर, अंक वा चिन्हहरूलाई कम्प्युटरको प्राविधिक भाषामा ‘Character’ भनिन्छ। यी Character हरूलाई पहिचान गर्न कम्प्युटरले कुनै निर्दिष्ट Character लाई एउटा निर्दिष्ट संख्या प्रदान गरी Coding गर्दछ र यस संख्यालाई ‘Character Code’ भनिन्छ भने ‘Character Code’ प्रदान गर्ने प्रणालीलाई संकेतन प्रणाली (Encoding System) भनिन्छ। विश्वका विभिन्न भाषा र लिपिमा कम्प्युटर प्रयोजनको लागि अपनाइएका Encoding System हरू पनि आ-आफ्नै प्रकारका, छुट्टाछट्टै र एक अर्काबाट फरक हुन सक्छन्। साथै कुनै एउटा Encoding System मा एउटै Character लाई एक भन्दा बढी Character Code दिइएको र त्यस्तै एकभन्दा बढी Character हरूलाई एउटै Character Code दिइएको हुन सक्छन्। त्यसै गरी कुनै कम्प्युटरमा भएको एउटा Encoding System को Character Code लाई अर्को Encoding System भएको कम्प्युटरले पहिचान नगर्ने समस्या पनि हुन्छ। Encoding System मा हुने यसप्रकारको विरोधाभाषले गर्दा एउटा Encoding System भएको कम्प्युटरमा तयार पारिएको कुनै सामग्री (Text) वा फाइल अर्को Encoding System भएको कम्प्युटर एवं Website हरूमा प्रयोग गर्न खोज्दा Corrupt (भ्रष्ट, खराब) हुने, नखुल्ने वा खुलेपनि Character (अक्षर, अंक वा चिन्ह) हरू पढ्न नसकिने जस्ता समस्या हुन जान्छन्। यसको समाधानको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्वका विविध भाषा र लिपिका अक्षर, अंक र चिन्हहरूलाई समष्टिगत रूपमा एउटै Encoding System भित्र क्रमश: समावेश गर्दे एउटा Universal Set of Characters को निर्माण गरिएको र यस अन्तर्गतका Character हरूको एउटै मात्र Character Code हुने र अर्को कुनै पनि Character को Character Code सँग नमिल्ने गरी विश्वव्यापीहरूमा मान्य हुने संकेतन प्रणाली (Encoding System) को विकास गरिएको छ जसलाई युनिकोड (Unicode) भनिन्छ।

अर्को शब्दमा युनिकोड भनेको विश्वका विविध भाषा र लिपिका वर्ण र सङ्केत (Character) हरूलाई एउटै संकेतन प्रणाली (Encoding System) भित्रका विभिन्न उप-समूह (Sub Set) हरूको रूपमा एकीकृत गरी तिनीहरूलाई एउटै सर्वसमूह (Universal Set) मा सङ्ग्रहित गरी निर्माण गरिएको विश्वव्यापी रूपमा मान्य संकेतन प्रणाली हो। हालसम्ममा यस युनिकोड System अन्तर्गतको Universal Set of Characters भित्र विश्वका विभिन्न भाषाका १ सय भन्दा बढी लिपिका १ लाख १० हजार भन्दा बढी Character हरू समावेश भइसकेका छन् जसमा नेपाली भाषामा प्रयोग हुने देवनागरी लिपि पनि समाविष्ट गरिएको छ। युनिकोडले सकेसम्म विश्वका सबै भाषाहरूको एकीकरण गर्ने प्रयत्‍न गर्दछ। यस नीति अनुसार पश्चिम युरोपीय भाषाहरूलाई ‘Latin’, सबै ‘स्लाभिक’ (Slavic) भाषाहरूलाई ‘सिरिलिक’ (Cyrillic), नेपाली, संस्कृत, हिन्दी, मराठी, सिन्धी, कश्मीरी आदि भाषाहरूलाई ‘देवनागरी’ (Devanagari) र चिनीयाँ, जापानी, कोरियाली, भियतनामी भाषाहरूलाई ‘युनिहान’ (UniHan) उप-समूह (Sub Set) हरूमा र ती सबै उप-समूहहरूलाई एउटै सर्वसमूह (Universal Set of Characters) अन्तर्गत समावेश गरेको छ।

युनिकोड प्रणाली बहुविध मञ्च (Multiplatform) अर्थात् जुनसुकै platform, बहुभाषीय अर्थात् जुनसुकै भाषा र Software तर्फका जुनसकै कम्प्युटर एप्लिकेशनमा स्वीकार्य हुने प्रणाली हो भने Non-Unicode प्रणाली यस्तो हुँदैन । [Multiplatform भनेको Software तर्फ Windows, Linux, Mac OS आदि Computer Operating System हरू र हार्डवेयरतर्फ Apple, Intel, Macintosh आदि जस्ता Computer हरू लगायत Computer र Internet Network का Browser हरू, Website, Blog Site र सामाजिक सञ्जालहरू सञ्चालन हुने वातावरण (Run Environment, जस्तै, XML, JavaScript, WML आदि) हुन्।]

युनिकोडको उत्पत्ति र विकास[सम्पादन गर्नुहोस्]

विश्वका विभिन्न देशहरूमा १ सय भन्दा बढी वटा परम्परागत Character Encoding System हरू प्रयोगमा छन् तर तिनमा एक आपसमा ठूलो बेमेल छ। धेरैजसो परम्परागत Character Encoding System हरूको साझा समस्या यो छ कि ती System हरूले द्विभाषीय कम्प्युटर प्रक्रिया (Latin Character र स्थानीय लिपि प्रयोग गरी) लाई स्वीकार गर्दछ तर बहुभाषीय कम्प्युटर प्रक्रिया (एक अर्कासँग मिसिएका स्वछन्द लिपिहरूको कम्प्युटर प्रक्रिया) स्वीकार गर्दैन। Unicode ले परम्परागत Character Encoding System का यस्ता सीमितताहरूलाई हटाउने स्पष्ट उद्देश्य राख्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

Joe Becker र Mark Davis ले एउटा Universal Character Set सृजना गर्नुको व्यवहारिकताहरूको खोजी सुरू गरेपछि सन् १९८७ मा युनिकोडको उत्पत्तिको थालनी भयो। सन् १९८८ को अगष्टमा Joe Becker ले एउटा ‘अन्तर्राष्ट्रिय‌\बहुभाषीय Text Character Encoding System (प्रयोगात्मक रूपमा Unicode भनिएको)’ को लागि एक मस्यौदा प्रस्ताव प्रकाशित गरे। Becker ले ‘Unicode’ संज्ञालाई ‘एउटा अद्वितीय, एकीकृत, विश्वव्यापी संकेतन (Encoding) को अर्थ दिने अभिप्रायले व्याख्या गरे।

सन् १९८८ को प्रारम्भतिर कम्प्युटर प्रविधि क्षेत्रका विभिन्‍न कम्पनीबाट Ken Whistler, Mike Kernaghan, Karen Smith-Yoshimura, Joan Aliprand, Glenn Wright समावेश भई युनिकोड कार्य समूह विस्तारित भयो। त्यसै गरी सन् १९९० मा अन्य कम्पनीहरूबाट पनि Michel Suignard, Asmus Freytag, Rick McGowan यस समूहमा संलग्न भए। सन् १९९० को अन्त्यसम्ममा विद्यमान Character Encoding मापदण्डको खाका कोर्ने कार्य पुरा भइसकेको थियो र युनिकोडको अन्तिम समीक्षाको मस्यौदा पनि तयार थियो।

सन् १९९१ को जनवरी ३ तारिखमा सं. रा. अ. को क्यालिफोर्नियामा युनिकोड मन्च (Unicode Consortium) को संयोजन गरियो र यही वर्ष अक्टोबरमा युनिकोड मापदण्डको पहिलो अंक प्रकाशित भयो। सन् १९९२ जुन महिनामा Han ideographs (युनिकोडका सङ्केत) समावेश गरी यसको दोस्रो अंक प्रकाशित भयो। सन् १९९६ मा युनिकोडलाई परिस्कृत गर्दै दोस्रो संस्करण प्रकाशित भयो जसमा Egyptian Hieroglyphs (मिश्री सभ्यताका लिपिहरूको सङ्केत र चिन्हहरू) जस्ता धेरै ऐतिहासिक लिपिहरू र धेरै प्रयोगमा नआएका अन्य पुरातन लिपिका हजारौं अक्षर, अंक, चिन्ह र संकेतहरूलाई युनिकोडमा संकेतन (Encoding) गर्न सकियो।

युनिकोड मन्च (Unicode Consortium)[सम्पादन गर्नुहोस्]

युनिकोड मन्च एक गैरनाफामूलक अन्तरराष्ट्रिय संस्था हो जसले युनिकोडको विकासमा संयोजनकारी भूमिका निर्वाह गर्दछ। यसका पूर्ण सदस्यहरूमा Adobe System, Apple, Google, IBM, Microsoft, Oracle Corporation र Yahoo जस्ता धेरैजसो कम्प्युटर सफ्टवेयर र हार्डवेयरका प्रमुख कम्पनीहरू छन्।

विद्यमान धेरैजसो Character Encoding Scheme (युक्ति) हरूमा बहुभाषीय वातावरणमा बेमेल भएकोले यस युक्ति (Scheme) लाई Unicode र यसको मापदण्ड युनिकोड रूपान्तरण ढाँचा अर्थात् UTF (Unicode Transformation Format) युक्तिद्वारा अन्ततोगत्वा विस्थापित गर्ने यस मन्चको महत्त्वाकांक्षी उद्देश्य रहेको छ।

यस मन्चले सन् १९९१ मा पहिलो पटक ‘युनिकोड मापदण्ड (Unicode Standard)’ प्रकाशित गर्‍यो र यही मौलिक कार्यको जगमा मापदण्ड विकास गर्न निरन्तर लागिरहेको छ। यस मापदण्डको पछिल्लो संस्करण Unicode ६.३ सन् २०१३ को सेप्टेम्बरमा विमोचित भएको थियो। अर्को संस्करण Unicode ७.० सन् २०१४ मा विमोचित हुने योजना छ।

नेपाली युनिकोड बारे[सम्पादन गर्नुहोस्]

मदन पुरस्कार पुस्तकालय (नेपालको एक गैरनाफामूलक र गैरसरकारी प्रतिष्ठित संस्था) ले ‘नेपाली युनिकोड’ सफ्टवेयरको विकास गरी सन् २००२ देखि खुला स्रोतको रूपमा उपलब्ध गराउँदै आएको छ। नेपाली युनिकोडको प्रयोग अघि नेपाली भाषामा टंकण (Type) गर्नको लागि देवनागरी लिपिका वर्ण (Letter) प्रयोग गरिएको हिमाली, कान्तिपुर, प्रीति जस्ता Non-Unicode नेपाली Font (कम्प्युटरमा Type गर्न प्रयोग हुने अक्षर, अंक वा चिन्ह) हरू प्रयोग गरिन्थे। तर ती Font हरू द्विभाषीय कम्प्युटर प्रक्रियालाई मात्र स्वीकार्य (Compatible) हुने र बहुभाषीय कम्प्युटर प्रक्रियालाई प्रामाणिक (Authenticated) नहुने एवं स्वीकार्य नहुने हुँदा ती Font हरूमा तयार गरिएका सामग्री (Text) हरू अरू कम्प्युटर, Website, Blog Site वा सामाजिक सञ्जालहरूमा प्रयोग गर्न समस्या हुन्थे। जसले गर्दा कम्प्युटर तथा Website हरूको विश्वव्यापी सञ्जाल (Network) मा विश्वका विभिन्न भाषाहरूको व्यापक प्रयोग, प्रसार र विकास भइरहेको अवस्थामा नेपाली भाषा भने यसबाट वञ्‍चित भई पिछडिरहेको थियो। ‘नेपाली युनिकोड’ को विकास भएपछि भने कम्प्युटर प्रविधि मार्फत नेपाली भाषा पनि विश्वव्यापीकरण भई नेपाली माध्यमभाषामा पनि कम्प्युटर र यसका एप्लिकेशन सफ्टवेयरहरू, Website, Blog Site र सामाजिक सञ्जालहरू सञ्चालन हुन थालेका छन्।

मदन पुरस्कार पुस्तकालयद्वारा ‘नेपाली युनिकोड’ का साथै NepaLinux (नेपालीनक्स Linux को नेपाली भाषामा तयार गरिएको संस्करण हो। अङ्ग्रेजी भाषाको ज्ञान नभएकाहरूले यो सफ्टवेयरबाट पूर्ण रूपमा नेपाली भाषाको माध्यमबाट कम्प्युटर सञ्चालन गर्न सक्दछन्।), ओपनअफिस डट अर्ग (OpenOffice.org मा Office XP मा जस्तै एप्लिकेशन सफ्टवेयरहरू छन्।) Conversion Tools (Nepali Non-Unicode Text वा Document लाई Nepali Unicode मा र Nepali Unicode Text वा Document लाई Nepali Non-Unicode मा रूपान्तर गर्ने सफ्टवेयर), Nepali Spell Checker (नेपाली युनिकोड शब्दका हिज्जे जाँच्ने र सच्याउने सफ्टवेयर) जस्ता सफ्टवेयरहरू विकास गरी खुला स्रोतको रूपमा उपलब्ध गराएको छ। साथै मदन पुरस्कार पुस्तकालयले नेपाली भाषामा Accounting Software विकास गर्ने परियोजनाको नेतृत्त्व गरेको छ।नेपाली युनिकोडको विकासपछि नेपाली माध्यमभाषामा यी सफ्टवेयरहरूको विकास सम्भव भएको हो।

यहाँ ओपनअफिस डट अर्गबारे छोटो जानकारी प्रस्तुत गरिन्छ। सन् २००२ देखि नै मदन पुरस्कार पुस्तकालयले खुला स्रोत परियोजना अन्तर्गत उपलब्ध गराएको ओपनअफिस डट अर्ग (OpenOffice.org) बहुविध प्लेटफर्ममा प्रयोग गर्न सकिने बहुभाषीय अफिस सुइट (Office Suite) हो। यो नेपाली माध्यमभाषाबाट नै चलाउन सकिन्छ। यसमा Word Processor तर्फ राइटर (MS Word को समरूप), Spreadsheet Presentation तर्फ Calc (MS Excel को समरूप), इम्प्रेस जस्ता आधारभूत अफिस सुइटका साथसाथै रेखाचित्र उपकरण (ड्र), डाटाबेस पहुँच कार्यक्रम (MS Access को समरूप), कागजातलाई पी डी एफ ढाँचामा प्रकाशन गर्ने तथा फ्ल्यास ढाँचा (एस डब्ल्यू एफ) मा प्रस्तुतिकरण गर्ने जस्ता सफ्टवयेरहरू समाविष्ट गरिएका छन्। साथै Web Browser र Email Client Application पनि थपी यसलाई विकास गरिने भएको छ।

मदन पुरस्कार पुस्तकालयबाट विकास गरिएका सफ्टवेयरहरूलाई भाषा प्रविधि केन्द्र (LTK, Language Technology Kendra) ले संभार र अझ विकास गर्ने भएको छ। LTK एक गैरनाफामूलक र गैरसरकारी संस्था हो र यो मदन पुरस्कार पुस्तकालय (MPP), काठमाडौँ विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ्ग विभाग (DoSCE) र त्रिभुवन विश्वविद्यालयको केन्द्रिय भाषा शास्त्र विभाग (CDL) बीचको सहकार्य हो।

नेपाली युनिकोड किबोर्ड ले-आउट सफ्टवेयर[सम्पादन गर्नुहोस्]

मदन पुरस्कार पुस्तकालयबाट विकास गरिएको नेपाली युनिकोड सफ्टवेयर कम्प्युटरमा जडान (Install) गरेर हामी MS-Word, Excel, आदि एप्लिकेशनहरूमा नेपाली भाषामा पनि सामग्री (Text) तयार गर्न सक्दछौं। त्यस्तै यो सफ्टवेयर जडान गरेर ओपनअफिस डट अर्ग पनि नेपाली माध्यमभाषाबाटै चलाउन सकिन्छ। यस सफ्टवेयरबाट दुईप्रकारका नेपाली युनिकोड किबोर्ड ले-आउटहरू जडान गर्न सकिन्छ।

१. परम्परागत नेपाली युनिकोड किबोर्ड ले-आउट (Traditional Nepali Unicode Keyboard Layout)

२. रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड ले-आउट (Romanized Nepali Unicode Keyboard Layout)।

यी किबोर्डहरू प्रयोग गरेर नेपाली भाषामा टाइप गर्न Non-Unicode Nepali Keyboardबाट भन्दा धेरै सरल, सहज, छिटो र वैज्ञानिक ढंगबाट गर्न सकिन्छ।

जस्तै केही नेपाली संयुक्त अक्षर टाइप गर्नको लागि Non-Unicode र Unicode Typing Keys यहाँ प्रस्तुत गरिएको छ।

संयुक्त नेपाली अक्षर Non-Unicode प्रीति Font Key जुनसुकै Unicode Font Keys
द्व Alt+0162 द+्+व
ट्ट Alt+0167 ट+्+ट
ड्ढ Alt+0176 ड+्+ढ
ठ्ठ Alt+0182 ठ+्+ठ
हृ Alt+0197 ह+ृ
ङ्ग Alt+0203 ङ+्+ग
ङ्क Alt+0205 ङ+्+क
ङ्ख Alt+0206 ङ+्+ख
ट्ठ Alt+0221 ट+्+ठ
द्म Alt+0223 द+्+म

परम्परागत नेपाली युनिकोड किबोर्डका अधिकांश Typing Key हरू Non-Unicode Typing Key हरू सँग मिल्ने (यस कारण नै ‘परम्परागत’ भनिएको) हुँदा Non-Unicode (जस्तै:- कान्तिपुर, प्रीति, हिमाली Font आदि) Typing Keys मा टाइप गर्न अभ्यस्त प्रयोगकर्ताहरूको लागि परम्परागत नेपाली युनिकोड किबोर्ड उपयुक्त हुन्छ। रोमनाइज्ड नेपाली युनिकोड किबोर्डमा नेपाली भाषाका हिज्जे अङ्ग्रेजी भाषाका हिज्जे (Spelling) सँग अधिकांश मिल्ने (यस कारण नै ‘रोमनाइज्ड’ भनिएको) हुँदा अङ्ग्रेजी Typing Keys अनुसार Type गर्ने प्रयोगकर्ताहरूको लागि रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड उपयुक्त हुन्छ।

यसप्रकारका र अन्य थुप्रै सरलता, सहजता र वैज्ञानिकताको कारण नेपाली भाषामा टाइप गर्न नेपाली युनिकोड किबोर्डको प्रयोग लोकप्रिय हुँदै आएको छ।

यहाँ रोमनाइज्ड नेपाली युनिकोडमा भएका नेपाली अक्षरहरूको सरलीकृत तालिका प्रस्तुत गरिएको छ। यो तालिका छिटो र सजिलो स्मरण तथा अभ्यासको लागि उपयुक्त छ।

व्यञ्जन वर्णमाला (Consonant Sound) का सग्लो अक्षर

क = k ख = Shift+k ग = g घ = Shift+g ङ = <
च = c छ = Shift+c ज = j झ = Shift+j ञ = Shift+y
ट = q ठ = Shift+q ड = x ढ = Shift+x ण = Shift+n
त = t थ = Shift+t द = d ध = Shift+d न = n
प = p फ = Shift+p ब = b भ = Shift+b म = m
य = y र = r ल = l व = v ****
श = Shift+s ष = z स = s ह = h ****
क्ष = क्+ष त्र = त्+र ज्ञ = ज्+ञ **** ****

स्वर वर्णमाला (Vowel Sounds) का अक्षर

अ = Shift+h आ = Shift+a इ = [ ई = {
उ = f ऊ = Shift+f ए = ] ऐ = }
ओ = Shift+o औ = Shift+w अं = अ+ं अ: = अ+:

स्वर मात्रा (Vowel Suffixes)

***** ा = a ि = i ी = Shift+i
ु = u ू = Shift+u े = e ै = Shift+e
ो = o ौ = w ं = Shift+m ****

अन्य (Others)

ँ = Shift+v ृ = Shift+r ् = / ऋ = Shift+z

नेपाली भाषामा युनिकोडको महत्त्व[सम्पादन गर्नुहोस्]

कम्प्युटर प्रविधिमा भएको प्रगतिलाई सूचना प्रवाहमा उपयोग गरी विश्वभरि नै अत्यधिक लाभ लिने काम भइरहेको छ। तर हाम्रो देश भने यस क्षेत्रमा ज्यादै पछि परिरहेको छ जसको कारण कम्प्युटर प्रविधिमा नेपाली भाषा प्रयोगको अभाव हो। हाम्रो देशमा अझै पनि अङ्ग्रेजी माध्यमभाषाबाट नै कम्प्युटर चलाईन्छ जुन भाषामा धेरैको पहुँच छैन। यसले गर्दा कम्प्युटर प्रविधिमा नेपाली भाषामा टाइप गर्ने बाहेक कम्प्युटरबाट डाटा प्रोसेसिङ गर्ने काम भएको छैन। यसकारण विश्वभरि नै सूचना प्रविधिमा भएको क्रान्तिबाट नेपाल भने लाभान्वित हुन पछाडि परिरह्यो। हुन त कान्तिपुर, प्रीति, हिमाली जस्ता Font हरू प्रचलनमा आए तर यी Font हरूको आ-आफ्ना भिन्दाभिन्दै संकेतन प्रणालीले गर्दा ती Font मा कम्प्युटरमा डाटा प्रोसेसिङ गर्न नहुने, सर्च नहुने, एउटा Font को Document अर्को Font मा परिवर्तन गर्दा समस्या हुने भयो। त्यस्तै कम्प्युटर र इन्टरनेटमा नेपाली माध्यमभाषाको प्रयोग हुन सकेन। यस अवस्थामा नेपाली युनिकोड प्रयोगबाट यी सबै समस्या निराकरण गर्न र कम्प्युटर र इन्टरनेटमा अङ्ग्रेजी भाषाको प्रयोगबाट लिन पर्ने सबै सुविधा नेपाली माध्यमभाषाबाट नै लिन सकिन्छ। यसरी युनिकोडमा नेपाली भाषाको प्रयोग समसामयिक, सान्दर्भिक र आवश्यकता बनेको छ।

निष्कर्ष[सम्पादन गर्नुहोस्]

प्रविधिको विकास र त्यसको सदुपयोगले नै आजको प्रतिस्पर्धात्मक समयमा अघि बढ्न सकिन्छ। यसैले नेपाली युनिकोड र यसमा आधारित सफ्टवेयरहरूको प्रयोगबाट सूचना प्रविधिको क्षेत्रमा निम्न बुँदामा महत्त्वपूर्ण लाभ लिन सकिन्छ।

  • कम्प्युटर र इन्टरनेटमा नेपाली माध्यमभाषाका साथै नेपालका अन्य राष्ट्रिय भाषाहरूको समेत व्यापक प्रयोग हुन सक्छ।
  • नेपाली भाषामा नै इ-मेल आदान-प्रदान गर्न सकिन्छ जसले गर्दा सरकारी निकायहरूबीच (दुर्गम क्षेत्रमा समेत) तत्काल र सुगम रूपमा सञ्चार संबन्ध स्थापित गर्न सकिन्छ।
  • सरकारी तथ्याङ्कहरूको नेपाली भाषामा नै शुद्धिकरण गर्न सकिन्छ।
  • स्थानीय तहका सामूदायिक ‘टेलि-सेण्टर’ हरूको स्थानीय भाषामा नै उपयोग गर्न सकिन्छ।
  • नेपाली मै बिल भर्पाईहरूको प्रयोग गर्न सकिन्छ।

प्रविधिबाट हासिल हुने लाभ अथाह छ। यसकारण नेपाली युनिकोडबाट प्राप्त हुने सफलताहरू उल्लेखित बुँदाहरूमा मात्र सीमित छैनन्। अङ्ग्रेजी भाषा नजानेकाहरूले पनि यसबाट कम्प्युटर प्रविधिका सम्पूर्ण सुविधाहरू उपयोग गर्नसक्ने त छँदैछ, संसारका जुनसुकै कुनामा रहेका नेपाली र नेपाली भाषाप्रति माया राख्नेहरूबीच नेपाली भाषाका माध्यमबाट प्रगाढ संबन्ध स्थापना हुन्छ।