येले सम्वत्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

येले सम्बत नेपालमा प्रचलित एक सम्बत हो । सन् २००९ नोभेम्बर १५का दिन येले सम्बतलाई पनि नेपालको राष्ट्रिय सम्बतका रूपमा चिनिएको छ । यो किराँती समुदायहरूको मौलिक सम्बत हो । यो सम्बतको नाम पहिलो किराँती राजा यलम्बरको नाममा सुरु भएको थियो । लिम्बुहरूले यसलाई 'येले ताङ्बे' भन्छन् भने देवानहरुले 'यल दोङ' बान्तावा राईहरूले 'येले दोङ' र सुनुवारहरूले 'येले थोचे' । [१] येले सम्बत माघ १ का दिन फेरिने गर्दछ । [२]

इतिहास[सम्पादन गर्नुहोस्]

राजा यलम्बरलाई नै नेपालको प्रथम किराँती राजाको रूपमा सबैजसो इतिहासकारहरूले मानेका छन्। यिनै राजा यलम्बरले सुरु गरी प्रयोगमा ल्याएको मानिएको संवतलाई नै येले संवत् भनी सबै किराँत समुदायले किराँत संवतको रूपमा मान्दै आएका पनि छन्। तर यो संवत् सधैं ओझेलमा पर्दै आयो। २०६३ पछि देशमा आएको राजनीतिक परिवर्तनपछि सबैले आ-आफ्नो ऐतिहासिक र सामाजिक अस्तित्व र पहिचानको आधारहरू खोजी गरेर संरक्षण संवर्द्धन गर्ने अवसर पाए किराँत समुदायमा पनि यो आफ्नो जातीयतामा आधारित येले संवतलाई व्यावहारिक र कानुनी मान्यताको माग अगाडि सारे।

किराँतका विभिन्न समुदायमा भाषा तथा संस्कार संस्कृतिहरू फरक फरक भएकाले यो संवत्को नामाकरण पनि बेग्लाबेग्लै भएको पाइन्छ। किराँत समुदायभित्र विशेष गरी तीन समूहहरू राई, लिम्बु र सुनुवार रहेका छन्। यसर्थ आफ्नो भाषागत फरक अनुसार किराँत राईहरूले यस संवतलाई येलेदोङ् तथा येलेदँ भन्दछन् भने लिम्बु समुदायमा येलेतङ्बे र सुनुवार समुदायमा येलेथोचे भन्ने गरेको पाइन्छ।यहाँ अलिकति फरक कुरा किराँतकालीन शासन अवधिमा नै विभिन्न इतिहासकारबाट लेखिएका दस्तावेजहरूको विवरणहरु एकै समयावधिमा आधारित नभएकाले सबैको मत एउटै रहेको पाइँदैन। इतिहासकारहरूको विभिन्न अभिलेख हेर्ने हो भने विदेशी लेखक कोलेनेल कर्कपेटि्रकका अनुसार किराँती राजाहरू २७ पुस्ता रहेको र शासन अवधि १५८१ वर्ष एक महिना त्यसमा पनि कुशकुनको ४८ वर्षको शासन अवधि जोड्दा किराँत शासन १६३० वर्षसम्म रहेको देखिन्छ। भाषावंशावलीका अनुसार किराँतका २८ पुस्ता राजाहरू रहेका र शासन अवधि १७४० वर्ष तीन महिना देखाएको छ। यसै गरी गोपालवंशावलीमा उल्लेख भए अनुसार किराँतका ३२ पुस्ताका राजाहरू रहेका र शासन अवधि १९६३ वर्ष आठ महिना उल्लेख पाइन्छ। किराँत इतिहासका धेरै गहिरो अध्ययन गर्नुभएका स्वामी प्रपन्नाचार्यका अनुसार किराँतका २७ पुस्ताका राजाहरूले १७३६ वर्ष शासन गरेको मानेको पाइन्छ। अर्का लेखक के.पी. जयसवालले किराँतका ३१ पुस्ताका राजाहरूले ७१० वर्ष शासन गरेको उल्लेख छ भने डेनियल राइटले भने किराँतका २९ पुस्ताका राजाहरूले शासन गरेको उल्लेख गरे पनि शासन अवधि उल्लेख गरेका छैनन्। यसरी कुनै पनि इतिहासकारहरूको अभिलेखमा किराँत राजाहरूको संख्या र शासन अवधि धेरै फराकिलो अन्तरहरू रहेको पाइएकाले पनि यस येले संवतलाई ठ्याक्कै मिलाउन अलिक अफ्ट्यारो देखिन्छ। (ई.पू. ३०६१)मा अहिर वंशी राजा भुवनसिंहको राजधानी मातातीर्थउपर आक्रमण गरी किराँत राजवंशीय युगको प्रारम्भ गरेका थिए" भन्ने विवरण पाइन्छ। यदि यो वास्तविकता हो भने यो ई. पू.को ३०६१ वर्ष र आजसम्मको सन् २०१० वर्षलाई समायोजन गर्दा ५०७१ वर्ष हुन आउँछ। हाल किराँतीहरूले मान्दै आएको किराँत संवत् यही २०६६ माघ १ गतेदेखि ५०७० लाग्नुपर्ने भए पनि यहाँ एक वर्षको मात्र फरक पर्न आएको देखिँदा यो तथ्याङ्क ठिक्क नमिले पनि अन्य भन्दा नजिकहो भन्ने चाँहि देखिन्छ। यसभन्दा अन्य तथ्याङ्क नै अनुसन्धानबाट पुष्टि हुन आएमा भने समयावधि धेरै नै फरक पर्ने हुन्छ। यसबाट के अनुमान गर्न सकिन्छ भने यो संवत् किराँती यलम्बरले नै पहिलो पटक सुरुवात नगरी धेरै अगाडिदेखि नै किराँतीहरूले नै प्रयोगमा ल्याएका र यलम्बरले नेपालमा आफ्नो राज्य स्थापनापछि यहाँ पनि यही संवत् लागू गराएकै आधारबाट येले संवत् नामाकरण गरिएको हो कि भन्ने देखिन्छ। किन भने किराँतहरू नेपालमा यलम्बर आउनु पूर्व नै संसारका धेरै भूभागहरूमा फैलिसकेका थिए। किराँतहरूको उद्गमस्थल बेबिलोन मानिएको छ र यहाँबाट इ. पू. २४०० तिर अन्यत्र पलायन हुनथालेका हुन् भन्ने इतिहासकारहरूको मान्यताले यो कुराको पुष्टि गर्ने हुँदा किराँतहरूको इतिहास नेपालबाटै पहिलो पटक सुरु भएको होइन भन्ने देखिन्छ। यसो हुँदा यो संवत् पनि पहिलेदेखि नै किराँतहरूले प्रयोगमा ल्याएको र पछि नेपालमा यलम्बरले आफ्नो शासनको स्थापना गरेपछि यो संवत्लाई पहिचानको नयाँ आधारको रूपमा उनैको नामबाट पछिका किराँतहरूले येले संवत् भनी नामाकरण गरेको हुन सकछ।तथापि तथ्यगत कुरा जे भए पनि येले संवत् किराँतहरूको ऐतिहासिक पहिचान र अस्तित्व मानिएको प्राचीन किराँत संवत् चाँहि अवश्य हो, यसमा कसैको विमति नहोला।

यस मुलुकका आदिम जातिका रूपमा परिचित आदिवासी किराँत जातिहरूले पनि आफ्नो पहिचान र अस्तित्व बोकेको यो येले संवतलाई राष्ट्रिय र कानुनी मान्यताको माग गर्नु स्वभाविक नै हो। तर यस संवतलाई किराँतहरूले आफ्नो संवत् माने पनि यो संवतले केवल किराँतहरूको मात्र प्रतिनिधित्व गर्ने नभई यसले प्राचीन नेपालको इतिहासकै प्रतिनिधित्व समेत गर्छ।

महिना[सम्पादन गर्नुहोस्]

चाम्लिङ[सम्पादन गर्नुहोस्]

चाम्लिङ भाषामा महिनाहरू यस प्रकारका छन् : [३]

क्र.सं. चाम्लिङ भाषा नेपाली
रुप्चुङ्ला माघ
तरिला फाल्गुन
वानाम्ला चैत
धिटुप्ला बैशाख
धिरिला जेठ
खारुला असार
वाहिला साउन
भुङ्लाला भदौ
सिटुप्ला असोज
१० टटुप्ला / टुटुप्ला कार्तिक
११ रुटुप्ला / रुटुम्ला मंसिर
१२ चुङ्लाला पुष

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "यलम्बर संवतको पुराना क्यालेन्डरहरु", यलम्बर फाउन्डेशन। 
  2. "नेपालमा कति प्रकारका नयाँ वर्ष", थाहा खबर। 
  3. विजय बलम्ताली (बैशाख २०७५), चाम्लिङ भाषा : आधारभूत सिकाई, आइएसबिएन 978-9937-8897-5-9 

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]