यौन तथा प्रजनन स्वास्थ्य अधिकार
यौन र प्रजनन स्वास्थ्य विश्वव्यापी अधिकारको एक महत्त्वपुर्ण तत्व हो जसलाई मानव अधिकार विश्वव्यापी घोषणा पत्र र अन्य मानव अधिकारका सम्मेलन, घोषणा तथा सहमतिहरूमा प्रतिष्ठापित गरिएका छन् । राज्यद्धारा महिला तथा पुरुष दुवैको यौन र प्रजनन स्वास्थ्य आवश्यकता पुरागरिनु पर्दछ। मानव अधिकारका मापदण्ड अनुसार हरेक राज्यले हरेक व्यक्तिको यौन र प्रजनन स्वास्थ्य अधिकारको ईज्जत, संरक्षण र पुर्ति गर्नुपर्छ।[१] हरेक व्यक्तिले आफ्नो स्वास्थ्य सुधार सँग सम्बन्धित कार्यक्रमहरूमा सहभागि हुन पाउने देखि लिएर बच्चा जन्माउने वा नजन्माउने / कहिले जन्माउने र शिशुको जन्म भइसकेपछि शिशुको उचित पालनपोषण कसरी गर्ने, त्यस सम्बन्धि आवश्यक जानकारी र उचित शिक्षा पाउनु पर्दछ।
इतिहास
[सम्पादन गर्नुहोस्]१९९४ मा ईजिप्टको कायरोमा भएको सम्मेलनमा जनसङ्ख्या र विकास कार्यक्रममा अर्न्तगत यौन र प्रजनन स्वास्थ्य अधिकार (Sexual and reproductive rights - SRR) लाई स्पष्ट व्याख्या गरिएको छ। उक्त कार्यक्रममा समेटिएका मुख्य बुदाँहरु यस प्रकार रहेका छन्:
१. स्वेच्छिक, जानकारी गराइएको र सहज -परिवार नियोजनका सेवा तथा सुविधाहरु
२. शिशु जन्मिनु पुर्वको सुरक्षा, सुरक्षित मातृत्व र शिशु स्वास्थ्य र शिशु जन्म पश्चात तालिम प्राप्त स्वास्थ्यकर्मिबाट सल्लाह
३. यौन रोगहरूको उपचार तथा रोकथाम (जस्तै- एच आई भि र एड्स)
४. यातना लगायत अन्य महिला हिसां विरुद्ध रोकथाम र सुरक्षा
५. सुरक्षित र सहज गर्भपतन र गर्भपतन पश्चात हेरचाह साथै कानुनि सल्लाह
६. यौन स्वास्थ्य सम्बन्ध जानकारी शिक्षा कानुनि सल्लाह जसले व्यक्तिगत सम्बन्धलाई र जिवनलाई गुणस्तरिय बनाउन मदत गरोस् ।
नेपालमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार
[सम्पादन गर्नुहोस्]स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रजनन अधिकारहरूलाई गम्भीरतापूर्वक लिएको छ । तपाईद्वारा परिवार नियोजन, एच.आई.भी. लगायतका यौनजन्य सङ्क्रमण र सुरक्षित गर्भपतन सम्बन्धी सूचना र सल्लाहमा सजिलै पहुच पुर्याउन सकियोस् भन्ने हेतुले सरकारले किशोर किशोरी मैत्री स्वास्थ्य सेवा उपलब्ध गराइ रहेको छ । किशोर किशोरी मैत्री सेवा उपलब्ध नभइ सकेका स्वास्थ्य संस्थाहरूमा समेत तपाईलाई चाहेको बेला तपाईले खोजेको जानकारी र सेवा पाउने अधिकार छ । अन्य संस्थाहरू जस्तै; महिला तथा बालबालिका कार्यालय, महिला कानुनी तथा विकास मञ्च जस्ता अन्य धेरै निकायहरूले पनि तपाईहरूले स्वस्थ यौन तथा प्रजनन जीवन निर्वाह गर्न पाउनु पर्छ भन्ने हेतुले विभिन्न सेवा उपलब्ध गराउदै आइरहेका छन् । माथि उल्लिखित केही अधिकारकाहरूका लागि कानुनी अधिकार पनि रहेका छन् जसको अवस्था हेरी कानुनी सेवा दाबी गर्न सकिन्छ ।
सुरक्षित गर्भपतन सम्बन्धी कानुन धेरै केटी वा महिलाहरूमा आफू किशोरी वा युवा अवस्थामा हुँदा नचाहँदा नचाहँदै पनि विभिन्न कारणवश गर्भ रहेको हुन सक्छ । यस्तो अवस्थामा केटी वा महिलाले सुरक्षित तरिकाले कानुनी मान्यता अनुसार गर्भ पतन गराउन पाउँछिन् । नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइयो । सबै प्रकारका गर्भलाई १२ हप्तासम्म गर्भ पतन गराउन सकिन्छ । यदि केटी / महिला १६ भन्दा बढी उमेरकी छिन् भने श्रीमान् वा अभिभावकको अनुमति आवश्यक पर्दैन । तर यदि केटी / महिला १६ भन्दा मुनिकी छिन् भने उनलाई आफ्ना अभिमावक वा नातेदारको अनुमति वा स्वीकृति आवश्यक पर्दछ । बलात्कार तथा हाडनाता करणी (आफ्नो परिवारभित्रकै सदस्यद्वारा गरिने जबरजस्ती यौन सम्पर्क) को कारण गर्भ रहेमा १८ हप्तासम्मको गर्भ पतन गराउन सकिन्छ । यदि गर्भवती महिलाको जीवन वा उनको शारीरिक मानसिक अवस्था अस्वस्थ छ र महिलाको जीवन खतरामा पर्न सक्छ भन्ने प्रमाणित भयो भने वा गर्भको शिशुमा अपाङ्गता वा असामान्यता देखिएको खण्डमा चिकित्सकको सल्लाह अनुरूप पुरै विकसित भइ सकेको गर्भको पनि गर्भ पतन गराउन सकिन्छ । त्यस्तो अवस्थाको गर्भ पतनमा अनिवार्य रूपमा चिकित्सकको राय र स्वीकृति लिनु पर्छ ।
गर्भको शिशुको लिङ्ग हेरेर छोरी रहिछन् भन्ने आधारमा मात्रै गर्भ पतन गराउँदा, केटी वा महिलालाई आफ्नो इच्छाविना जबरजस्ती गर्भ पतन गराउन लगाउँदा अवैधानीक गर्भपतन भएको मानीन्छ ।
सुरक्षित गर्भपतन सेवा क्षेत्रीय, अञ्चल र जिल्ला अस्पताल लगायत प्राथमिक स्वास्थ्य सेवा केन्द्रसम्मका स्वास्थ्य संस्थामा उपलब्ध छ । तपाईँलाई सुरक्षित गर्भपतन सम्बन्धी सूचना विस्तृत रूपमा लिन मन छ भने तपाईँको नजिकको स्वास्थ्य संस्थामा जान सक्नु हुन्छ ।
बलात्कार सम्बन्धी कानुन
बलात्कार भन्नाले “कुनै व्यक्तिले महिलासँग कुनै सल्लाह नगरी महिलाको इच्छा विपरीत जबरजस्ती गरिने यौन सम्पर्क हो" । यस्तो घटनामा सामेल हुनेलाई मुलुकी ऐन, २०२० ले बलात्कार गरेको ठहर्याएमा धेरैमा १५ वर्ष र थोरैमा ५ वर्षसम्मको कैद सजाय तोकेको छ । विवाहित जोडीमा पनि श्रीमतीको अनुमतिविना जबरजस्ती यौन सम्पर्क राख्ने प्रयास गरेमा त्यसलाई पनि बलात्कारै मानिएको छ तर दुर्भाग्यवश, श्रीमान् ले जबरजस्ती सम्भोग गर्ने प्रयास भएमा नेपालको कानुनले ३ देखि ६ महिनासम्मको सजाय मात्र तोकेको छ ।
वैवाहिक कानुन २० वर्ष पुगेका केटा र केटीले आफ्ना अभिभावकको स्वीकृतिविना विवाह गर्न पाउछन् र उनीहरूले दम्पतीका रूपमा कानुनी दर्ता गर्न पनि पाउछन् । त्यसै गरी केटाकेटी १८ वर्षका मात्र छन् भने अभिभावकका सल्लाहमा मात्र केटाकेटीले विवाह गर्न पाउछन् । विवाह गर्ने वा नगर्ने भन्ने निर्णय र आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनु पर्छ भन्ने कुरा आफ्नो अधिकार हो ।
यौन तथा प्रजनन सम्बन्धी अधिकार
[सम्पादन गर्नुहोस्]- तपाईँलाई सधैं आफ्नो यौन स्वास्थ्यको रक्षा गर्ने अधिकार छ । उदाहरणका लागि एच.आई.भी. लगायत अन्य यौनजन्य सङ्क्रमणको रोकथाम गर्न कन्डमको प्रयोग गर्ने वा नचाहिएको अनिच्छुक गर्भ धारण नगर्नका लागि कन्डम वा अन्य परिवार नियोजनका साधनहरूको प्रयोग गर्न पाउने अधिकार छ । त्यसैले चाहे तपाईँ अविवाहित वा विवाहित जुनसुकै अवस्थामा हुनु होस् तपाईँले चाहेको बेला आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा विना हिचकिचावट सजिलैसंग अर्को व्यक्तिको अनुमतिविना नै आवश्यकता अनुसार र आफूले चाहेको परिवार नियोजनका साधन सहित सरसल्लाह लिन पाउनु तपाईँको अधिकार हो । यस्तो सेवाको उपभोगमा चाहे त्यो पुरुष वा स्त्री जुनसुकै जात, लिङ्ग र धर्मसंग सम्बन्धित वा अन्य कुनै होस् सेवा पाउने हकमा लैङ्गिक विभेद नगरी विना भेदभाव सेवा लिन आउनेलाई सेवा दिनु पर्छ । ध्यान राख्नुहोस्, तपाईँले चाहेको वा छानेको परिवार नियोजनका साधनका बारेमा परामर्श सेवा सहित परिवार नियोजनका साधन प्राप्त गर्न पाउनु तपाईँको अधिकार हो ।
- तपाईँलाई कुनै पुरुषसँग यौन सम्पर्क राख्ने इच्छा छैन भने कुनै प्रकारको यौन क्रियाकलापमा तपाईलाईं जबरजस्ती गर्न पाइँदैन । यौन सम्पर्क भनेको सधै दुबैको वा जोडीको समान निर्णयमा र सहमतिमा हुनु पर्छ जसले यौन व्यवहार स्वस्थ र आनन्दमय बनाउँछ ।
- तपाईको प्रजनन अधिकार भन्नाले तपाईले आफ्नो शरीरको निर्णय लिन पाउनुका साथै तपाईले कति बच्चा पाउने वा नपाउने, कहिले पाउने, एउटा र अर्को बच्चाको जन्मान्तर कति हुने भन्ने निर्णय गर्न पाउने अधिकार हो भन्ने बुझ्नु पर्छ । तर कसैले पनि कुनै केटी वा महिलालाई तिमीले बच्चा यति पाउनै पर्छ, तिमीले गर्भ पतन गराउनै पर्छ भनी जबरजस्ती गर्न पाइँदैन ।
- तपाईँलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा सूचना तथा जानकारी पाउने अधिकार छ । यसको अर्थ हो, तपाईँले पढ्ने ठाउँ विद्यालय आदि, तपाईंले सेवा लिन जाने स्वास्थ्य संस्थाबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही र स्पष्ट जानकारी प्राप्त गरेको हुनुपर्दछ जसले गर्दा तपाईँले आफूले चाहेको परिवार नियोजनका साधन र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी राम्रो निर्णय लिन सक्नु हुन्छ ।
- तपाईँले आफ्ना सूचना गोप्य राख्न पाउनु तपाईको अधिकार हो । यसको अर्थ हो, तपाईँ स्वास्थ्य संस्थामा सेवा लिन जाँदा स्वास्थ्यकर्मीहरूले तपाईँको जस्तोसुकै सूचना गोप्य राखि दिनु पर्ने हुन्छ र नराखेका खण्डमा तपाईँले आफ्नो गोप्यता भङ्ग भएको भनी उजुरी पनि दिन सक्नु हुन्छ । तपाईं र स्वास्थ्यकर्मीबिच के छलफल भएको थियो भन्ने कुरा पत्तो लगाउने प्रयास कसैले पनि गर्न पाईदैन । गरेमा ग्राहकले अधिकार हननको उजुरी गर्न सक्दछ ।
- कसैले पनि तपाईलाई लिङ्गका आधारमा भेदभाव गर्न पाईदैन र तपाईँको लिङ्गका आधारमा कसैले तपाईलाई भेदभाव गर्न नपाउने त्यो तपाईको अधिकार हो। यसको अर्थ हो, यदि तपाई समलिङ्गी (तपाईँ स्त्री भएर स्त्रीलाई नै माया गर्नु हुन्छ भने) वा तपाईँ तेस्रो लिङ्गी हुनु हुन्छ भने त्यस आधारमा कसैले पनि तपाईँमाथि भेदभाव गर्न पाउँदैन।
- तपाईलाई आफ्नो इच्छानुसारको जीवन बाँच्न पाउने अधिकार छ । यसको अर्थ हो, तपाईँले इच्छाएको व्यक्तिसँग विवाह गर्न पाउनु र चाहेको खण्डमा विवाह नै नगर्न पाउनु तपाईको अधिकार हो । त्यसै गरी अविवाहित आमा भए पनि कुनै पनि समाजबाट भेदभाव रहित भएर बाँच्न पाउनु तपाईको अधिकार हो ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Pithavadian, Rashmi; Mpofu, Elias; Dune, Tinashe (२०२४), "Sexual and Reproductive Health and Rights", Encyclopedia of Sexual Psychology and Behavior (अङ्ग्रेजीमा), Springer, Cham, पृ: 1–6, आइएसबिएन 978-3-031-08956-5, डिओआई:10.1007/978-3-031-08956-5_2467-1।
सम्मेलन
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरू वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०१ मिति