यौन हिंसा तथ्याङ्क
यौन हिंसाका पीडितहरूसँग त्यस्तो हिंसाको अनुभव सम्बन्धमा सर्वेक्षण गरी यो कति सामान्य हो भनेर अनुमान लगाउनु नै यौन हिंसाको अनुमान हो। यससम्बन्धी धेरै घटनाहरूको उजुरी नगरिने भएकाले यस्तो सर्वेक्षणबाट प्राप्त तथ्याङ्क आधिकारिक तथ्याङ्क भन्दा भिन्न हुन्छ।[१]
संयुक्त राष्ट्र संघले विभिन्न स्थानहरूमा यौन हिंसाको मापन गर्न ठूला ठूला सर्वेक्षण गरेको छ। उक्त सर्वेक्षणबाट आफूमाथि यौन हिंसा भएको भन्ने महिलाहरूको प्रतिशत लापाज, बोलिभिया (१.४%), गबोरोन, बोत्सवाना (०.८%), बेइजिङ, चीन (१.६%) र मनिला, फिलिपिन्स (०.३%) जस्ता शहरहरूमा २% भन्दा कम छ, जबकि इस्तानबुल, टर्कीए (६.०%), ब्युनस आयर्स, अर्जेन्टिना (५.८%), रियो दि जेनेरियो, ब्राजील (८.०%) र बोगोटा, कोलम्बिया (५.०%) मा ५% वा सोभन्दा अधिक छ।[२][३]
सन् १९९८ मा अमेरिकाले राष्ट्रियस्तरका ८००० नागरिकहरूमा गरेको महिला विरूद्धको हिंसा सम्बन्धी सर्वेक्षणले हरेक ६ जना महिलामा १ महिला र हरेक ३३ जना पुरूषमा १ पुरूषले जीवनको कुनै न कुनै समयमा आफूमाथि यौन हिंसा वा यौन हिंसाको उद्योग भएको बताएका थिए।[४] यो तथ्याङ्कमा कुनै अपरिचितद्वारा गरिएको बलात्कार र चिनेजानेको मान्छेबाट भएको बलात्कारलाई छुट्टाछुट्टै प्रस्तुत गरिएको छैन। जुन सर्वेक्षणमा बलात्कार गर्ने व्यक्तिको आधारमा छुट्टाछुट्टै आँकडा प्रस्तुत गरिँदैन अथवा जुन सर्वेक्षण अपरिचितद्वारा गरिएको बलात्कारमा नै केन्द्रित रहन्छ, त्यस्तो तथ्याङ्कले यौन हिंसाको वास्तविक सङ्ख्यालाई प्रतिविम्बित गर्न सक्दैन। [५]
सन् २०११ मा, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अमेरिकामा लगभग २०% महिलाहरूको जीवनमा आफूमाथि बलात्कारको प्रयास भएको वा बलात्कार नै भएको कुरा उल्लेख गरिएको थियो, जसमध्ये एक तिहाइभन्दा बढी पीडितहरू १८ वर्ष उमेर नपुग्दै बलात्कृत भएका थिए।[६][७]
अन्य सर्वेक्षणहरूले महिलाहरूलाई यौन हिंसाको बारेमा प्रश्न गरेका थिए। अमेरिकामा गरिएको अर्को एउटा सर्वेक्षणले १७ वर्ष उमेर पूरा गरेका १४.८% महिलाले जीवनको कुनै न कुनै मोडमा आफ्नो बलात्कार भएको कुरा सार्वजनिक गरेको थियो जसमध्ये २.८% माथी बलात्कारको उद्योग गरेको र ०.३ % महिलाको गत एक बर्षभित्र बलात्कार भएको थियो।[८] १८ बर्ष देखि ४९ बर्षको उमेरसमूहका दक्षिण अफ्रिकाका ३ राज्यका महिलाहरूको सर्वेक्षणमा १.३ % महिलाहरूलाई उनीहरूको सहमति बिना नै यौनसम्पर्क गर्न बाध्य पारिएको थियो।[५] चेक गणराज्यमा १५ वर्षभन्दा अधिक उमेरका व्यक्तिहरूमाझ गरिएको एक सर्वेक्षणबाट यो पत्ता लाग्यो कि ११.६% महिलाहरूले आफ्नो जीवनकालमा जबरजस्ती यौन सम्पर्कको सामना गर्नु परेको थियो जसमा ३.४% ले आफूमाथि एकभन्दा बढी पटक यस्तो हर्कत देखाएको जनाएका थिए।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Ingemann-Hansen, Svend; Sabroe; Brink, Ole; Knudsen, Maiken; Charles, Annie Vesterbye (२००९), "Characteristics of victims and assaults of sexual violence – Improving inquiries and prevention", Journal of Forensic and Legal Medicine 16 (4): 182–188, डिओआई:10.1016/j.jflm.2008.07.004।
- ↑ The international crime victim survey in countries in transition: national reports. Rome, United Nations Interregional Crime and Justice Research Institute, 1998.
- ↑ Victims of crime in the developing world. Rome, United Nations Interregional Crime and Justice Research Institute, 1998
- ↑ "Prevalence, Incidence, and Consequences of Violence Against Women: Findings of the National Violence Against Women Survey", National Institute of Justice, नोभेम्बर १९९८, अन्तिम पहुँच २०१४-०२-०१।
- 1 2 Jewkes R, Abrahams N. The epidemiology of rape and sexual coercion in South Africa: an overview. Social Science and Medicine (in press).
- ↑ "Nearly 97% of women in the US are raped or suffer attempted rape at some point in their lives, a US study says.", BBC World, १५ डिसेम्बर २०११, अन्तिम पहुँच १५ डिसेम्बर २०११।
- ↑ "National Intimate Partner and Sexual Violence Survey 2010 Summary Report", Centers for Disease Control and Prevention, अन्तिम पहुँच १६ अगस्ट २०१६।
- ↑ Tjaden P, Thoennes N. Full report of the prevalence, incidence and consequences of violence against women: findings from the National Violence Against Women Survey. Washington, DC, National Institute of Justice, Office of Justice Programs, United States Department of Justice and Centers for Disease Control and Prevention, 2000 (NCJ 183781).
- ↑ "Experiences with sexual aggression within the general population in the Czech Republic", Archives of Sexual Behavior 28 (3): 265–269, १९९९, डिओआई:10.1023/A:1018740527252, पिएमआइडी 10410202।