सामग्रीमा जानुहोस्

रम्भा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रम्भा
रम्भा र शुक
राजा रवि वर्माको चित्रमा शुकलाई मोहित पार्ने प्रयास गर्दै रम्भा
आबद्धअप्सरा
वासस्थानस्वर्ग
रानीनलकुबर

रम्भा हिन्दु पौराणिक कथाहरूका अनुसार स्वर्गकी एक प्रमुख अप्सरा हुन्। उनलाई नृत्य, सङ्गीत र सौन्दर्यको कलामा अद्वितीय र निपुण मानिन्छ।

उनको जन्म समुद्र मन्थनको समयमा भएको मानिन्छ। पौराणिक कथाहरूमा रम्भालाई प्रायः इन्द्रको आदेशमा ऋषिमुनिहरूको तपस्या भङ्ग गर्न पठाइने पात्रको रूपमा चित्रण गरिएको छ। उनी कुवेरका छोरा नलकुवरकी पत्नी हुन्।

पौराणिक कथाहरू

[सम्पादन गर्नुहोस्]

महाकाव्य महाभारतको आदि पर्वका अनुसार, रम्भा र उनका अन्य अप्सरा दिदीबहिनीहरू (अलम्बुषा, मिश्रकेशी, विद्युत्पर्णा, तिलोत्तमा, अरुणा, रक्षिता, मनोरमा, सुबाहु, केशिनी, सुरता र सुरजा) ऋषि कश्यप र उनकी पत्नी प्राधाका छोरीहरू हुन्।[] तर, भागवत पुराणमा अप्सराहरूको आमाको नाम 'मुनि' उल्लेख गरिएको छ।[]

केही अन्य पौराणिक शास्त्रहरूका अनुसार, रम्भाको जन्म समुद्र मन्थनको समयमा क्षीर सागर (दूधको सागर) बाट भएको मानिन्छ।[]

विश्वामित्रसँगको मुठभेड

[सम्पादन गर्नुहोस्]

देवताका राजा इन्द्रले प्रायः ऋषिमुनिहरूको तपस्या भङ्ग गर्न र उनीहरूलाई दिव्य शक्ति प्राप्त गर्नबाट रोक्न रम्भा लगायतका अप्सराहरूलाई पठाउने गर्दथे।[][]

रामायणको बालकाण्डमा उल्लेख भए अनुसार, इन्द्रले रम्भालाई ऋषि विश्वामित्रको तपस्यामा बाधा पुर्‍याउन निर्देशन दिएका थिए। विश्वामित्र यसअघि नै मेनका नामकी अप्सराबाट मोहित भइसकेका थिए। इन्द्रले फेरि अर्की सुन्दरी पठाएको थाहा पाएपछि क्रुद्ध भएका विश्वामित्रले रम्भालाई १०,००० वर्षसम्म ढुङ्गा (शिला) बन्ने श्राप दिएका थिए। पछि एक ब्राह्मणको अनुग्रहले मात्र उनी सो श्रापबाट मुक्त हुने विधान थियो।[]

रावणद्वारा उत्पीडन

[सम्पादन गर्नुहोस्]

रम्भालाई यक्षराज कुवेरका छोरा नलकुवरकी पत्नीको रूपमा वर्णन गरिएको छ।[]

रामायणको उत्तरकाण्डका अनुसार, लङ्काका राजा रावण (जो कुवेरका सौतेनी भाइ पनि थिए) ले पर्वतमा रम्भालाई देखेर उनीमाथि मोहित हुन्छन्। रावणले आफ्नो कामवासना तृप्त गर्न खोज्दा रम्भाले आफू उनका छोरा नलकुवरको पत्नी भएकोले नाताले 'बुहारी' पर्ने भन्दै प्रतिवाद गर्छिन्। तर, रावणले 'अप्सराहरू कसैको मात्र नहुने' भन्दै उनको अपमान र जबरजस्ती गर्छन्। यस घटनापछि रम्भाले रुँदै आफ्नो पति नलकुवरलाई सबै कुरा सुनाउँछिन्।[]

यो सुनेर क्रुद्ध भएका नलकुवरले रावणलाई यदि रावणले अब उप्रान्त कुनै पनि महिलाको इच्छा विपरीत जबरजस्ती गरेमा उसको टाउको सात टुक्रा हुने श्राप दिन्छन्। पछि रावणले सीताको अपहरण गर्दा पनि यो श्रापका कारण उनले सीतालाई छुन सक्दैनन्। अन्ततः सीताको अपहरण नै रावणको मृत्युको कारण बन्छ।[][]

शुकदेवसँगको संवाद

[सम्पादन गर्नुहोस्]

'शृङ्गारज्ञाननिर्णय' (प्रेम र ज्ञान बीचको भिन्नता) नामक काव्यमा रम्भालाई युवा ऋषि शुकलाई मोहित पार्न पठाइएको प्रसङ्ग छ। त्यहाँ उनले शुकदेवसँग संवाद गर्छिन्। उनले कामुक भावमा शुकदेवलाई प्रेमविनाको पुरुष जीवन फलहीन हुने बुझाउने प्रयास गर्छिन्, जसको प्रतिउत्तरमा शुकदेवले यदि मानिसले उच्च ज्ञान प्राप्त गर्न सकेन भने उसको जीवन व्यर्थ हुने तर्क दिन्छन्।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 Mani, Vettam (१९७५), "Rambhā", Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: ६४१-६४२, आइएसबिएन 978-0-8426-0822-0
  2. Handique, Krishnakanta (२००१), Apsarases in Indian Literature and the Legend of Urvaśī and Purūravas (अङ्ग्रेजीमा), Decent Books, आइएसबिएन 978-81-86921-16-6
  3. 1 2 3 Walker, Benjamin (२०१९-०४-०९), Hindu World: An Encyclopedic Survey of Hinduism. In Two Volumes. Volume II M-Z (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-0-429-62419-3
  4. Kulaśreshṭha, Sushamā (१९९७), Erotics in Sanskrit & English Literature-I with Special Reference to Kālidāsa & Shakespeare (अङ्ग्रेजीमा), Eastern Book Linkers, आइएसबिएन 978-81-86339-48-0
  5. www.wisdomlib.org (२०२०-०९-२८), "Nalakuvara curses Ravana [Chapter 26]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-१३
  6. Austin, Christopher R. (२०१९-०९-०४), Pradyumna: Lover, Magician, and Scion of the Avatara (अङ्ग्रेजीमा), Oxford University Press, आइएसबिएन 978-0-19-005413-7
  7. Winternitz, Moriz (१९८५), History of Indian Literature (अङ्ग्रेजीमा), Motilal Banarsidass Publ., आइएसबिएन 978-81-208-0056-4
  8. Chandran, Mini; V.S, Sreenath (२०२१-०२-१८), An Introduction to Indian Aesthetics: History, Theory, and Theoreticians (अङ्ग्रेजीमा), Bloomsbury Publishing, आइएसबिएन 978-93-89165-13-5

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]