सामग्रीमा जानुहोस्

रम्भासुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रम्भासुर
आबद्धअसुर
धर्मग्रन्थहरूपुराणहरू

रम्भा वा रम्भासुर हिन्दु पौराणिक कथाहरूमा उल्लिखित असुरहरूका राजा हुन्। हिन्दु पौराणिक कथाहरूमा उनलाई एक शक्तिशाली असुर राजा मुख्यतया महिषासुरका पिताको रूपमा चिनिन्छ। उनको कथा विशेषगरी 'देवीभागवत पुराण' र 'वामन पुराण' मा उल्लेख गरिएको छ। रम्भा र करम्भा नामक असुर दाजुभाइहरू दनुकश्यपका सन्तानका रूपमा जन्मिएका हुन्छन्। उनीहरू युवा अवस्थामा छँदा, ब्रह्माण्डमा दानवहरूको शासन स्थापित गर्नका लागि विशेष शक्ति प्राप्त गर्ने उद्देश्यले दुवैले तपस्या गर्ने निर्णय गरेका थिए।[]

तपस्या र वरदान

[सम्पादन गर्नुहोस्]

पुराणहरूका अनुसार, रम्भा र करम्भाले सन्तान प्राप्तिको आशीर्वादका लागि पञ्चनदमा तपस्या गरेका थिए। रम्भाले पाँच प्रकारको अग्निको बीचमा बसेर र करम्भाले एउटा तालको पानीमा उभिएर मालवट यक्षको ध्यान गरेका थिए। जब इन्द्रले यसको बारेमा थाहा पाए तब उनले उनीहरूलाई मार्ने निर्णय गर्छन्। सुरुमा गोहीको भेषमा आएर इन्द्रले करम्भालाई खुट्टाबाट तानेर पानीमा डुबाउँछन् र पानीमा डुबेपछि उनको मृत्यु हुन्छ। त्यसपछि इन्द्र रम्भालाई मार्नका लागि जान्छन् तर अग्नीले उनलाई बचाउँछन्। आफ्नो भाइको मृत्युबाट क्रुद्ध भएका रम्भाले आफ्नो टाउको काटेर बलि दिने निर्णय गर्छन्। जब उनी त्यसो गर्नै लागेका थिए अग्नि प्रकट हुन्छन् उनलाई आत्महत्या अरूलाई मार्नुभन्दा पनि नराम्रो भएको र यसलाई ठुलो पापको रूपमा निन्दा गर्दै उनले जे चाहन्छन् त्यही दिने वाचा गर्छन्। त्यसपछि, रम्भाले अग्निसँग आफूभन्दा पनि बढी तेजस्वी छोराको माग गर्छन् जसले तीन लोकलाई जित्न सकोस् र जसलाई देवता वा असुर कसैले पनि पराजित गर्न नसकोस्। रम्भाले थप रूपमा त्यो छोरा वायु जत्तिकै शक्तिशाली, अत्यन्तै सुन्दर र धनुर्विद्यामा निपुण होस् भन्ने चाहेका थिए। अग्निले रम्भालाई उनले इच्छाएको स्त्रीबाट सोही अनुसारको छोरा प्राप्त हुने आशीर्वाद दिन्छन्।

महिषासुरको जन्म

[सम्पादन गर्नुहोस्]

रम्भा घर फर्किने क्रममा, उनले श्यामला नामकी एक सुन्दरी भैँसी देखे र उनीसँग विवाह गर्छन्। श्यामला वास्तवमा एक राजकुमारी थिइन् जो ऋषिको श्रापका कारण भैँसी बनेकी थिइन्। रम्भाले गर्भवती श्यामलालाई अन्य भैँसीहरूको आक्रमणबाट बचाउनका लागि पाताल लोकमा लग्छन्। एक दिन अर्को एउटा भैँसी श्यामलाप्रति आकर्षित हुन्छ झगडाको क्रममा रम्भालाई आफ्नो सिङले रोपेर मारिदिन्छ। पछि, सो भैँसीलाई रम्भाका सिपाहीहरूले मार्छन्। श्यामलाले रम्भाको चितामा हाम फालेर आत्मदाह गर्छिन्। सोही अग्निको बीचबाट अत्यन्त शक्तिशाली महिषासुरको जन्म हुन्छ। रम्भा पनि आफ्नो छोरा महिषासुरसँगै पुन: अग्निको ज्वालाबाट रक्तबीज को रूपमा प्रकट हुन्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Sarraf, Ritesh Raj, "Story Of Navratri", RESEARCHUT (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१०