रवि प्राञ्जल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

विषयसूची

रवि प्राञ्जलको जीवनी[सम्पादन गर्ने]

रवि प्राञ्जलको पुर्ख्यौली[सम्पादन गर्ने]

रवि प्राञ्जलका पुर्खाहरू पूर्व काल देखि नै काठमाण्डौमा बसो बास गर्दै आएको बुझिन्छ। हालको गोकर्ण महादेव स्थान भन्दा २ कि मि उत्तर तर्फको बालुवा गा .बि. स.मा प्राञ्जल का पुर्ख्यौलीहरूको बसोबास रही आएको कुरा प्राञ्जललाई नजीकैबाट चिन्नेहरूसंगको कुराकानी बाट बुझ्न सकिन्छ।

रवि प्राञ्जलका पूर्वज आत्रेय गोत्र भट्ट ब्राह्मण र तिनका दुई सन्तान क्रमशः सिद्धिग्राम र पौडिग्राममा बसोबास गर्दै कालान्तरमा सिद्धिग्राममा बस्ने सिग्देल र पौडिग्राममा बस्ने पौडेलका रूपमा विकसित भएको किंवदन्ती अनुसार प्राञ्जल उक्त पौडिग्रामकै भूमिदत्त पौडेलका खनाती, मनोरथ पौडेलका पनाती , टङ्कनाथ पौडेलका नाती र रामप्रसाद पौडेलका छोराका रूपमा देखा पर्दछन्।

जन्म र जन्मस्थान[सम्पादन गर्ने]

बि. सं. २०१७ साल जेठ ११ गते कृष्णचतुर्दशीका दिन काठमाण्डौको भाट-भटेनीमा पिता राम नाथ पौडेल तथा माता मैना देवी पौडेलका दोस्रो सन्तति तथा प्रथम पुत्रका रूपमा रवि प्राञ्जलले जन्म लिएका हुन्। हाल उहाँ काठमाण्डौ महानगरपालिका वडा नं-७, चाबहिल,शान्ति गोरेटो स्थित घरमा सपरिवार बस्दै आउनु भएको छ।

बाल्यकाल[सम्पादन गर्ने]

मध्यम बर्गीय नेपाली परिवारमा जन्मिएका प्राञ्जलको बाल्यकाल तत्कालीन अरु साथीहरूकोझैँ बाल सुलभ क्रियाकलापमा रमाइलै तरिकाले सामान्य पारिवारिक वातावरणमा गुज्रिएको थियो। विद्यालयमा पढ्ने क्रममा पढाइमा त्यति वास्ता नराख्ने र पढाइ कहिले सकिन्छ र साथीसँग खेल्ने मौका पाइन्छ भनी समयको पर्खाइमा प्राञ्जल बस्दथे। घरबाट स्कुल जाने निहुँमा पौडी खेल्ने, पाटन, भक्तपुरसम्म पुगेर सिनेमा हेर्ने प्राञ्जल एक–आपसमा साथीसाथी बीच झै–झगडा पर्दा पनि पछि पर्ने उनको स्वभाव थिएन। उनी अलग स्वभाव भएका व्यक्ति थिए तसर्थ अरूभन्दा अलग प्रकारका चञ्चल क्रियाकलापहरू गर्दथे। आफूभन्दा सानालाई उनी गन्दैनथे। अलि घमण्डीपना र स-साना कुरामा रिसाउने प्रवृत्ति उनको थियो। सानामा घरमा बस्दा स्कुलबाट घर आएपछि घरमा पढेको जस्तो अभिनय गरेर आफ्नो परिवारलाई छक्याउन पाउँदा आफूलाई रमाइलो लाग्ने गरेको कुरा उनी भन्दछन्। अध्ययन गर्ने क्रममा शिक्षकहरूबाट पढाइमा ध्यान नदिएका कारण पिटाइबाट वञ्चित हुन पाएनन्। निकै चलाख भइकन पनि उनका क्रियाकलापले गर्दा घरमा बुवाआमाबाट गाली खाइरहन्थे र त्यसपछि आफ्नो तातो रिस पनि बुवाआमाप्रति देखाउँथे। यसरी उनको बाल्यकाल सरासर हेर्दा खासै सुखमय रूपमा बितेको भने देखिँदैन।

प्रारम्भिक शिक्षा र उच्चशिक्षा[सम्पादन गर्ने]

प्राञ्जलले आम नेपाली समाजमा झैँ आफ्नै घरमा पिताबाट सामान्य अक्षरारम्भ गरी करिब ४ वर्षको उमेर देखि ‘शान्तिविद्यागृह’ लैनचौरमा कक्षा १ देखि कक्षा दशसम्म अध्ययन गरेका हुन्। माध्यमिक तहसम्म आफ्नो पढाइ राम्रो भएको र पढाइका अतिरिक्त खेल , वादविवाद ,हाजिरीजवाफ आदि क्रियाकलापमा भाग लिई राम्रै स्थान पाउने गरेको प्राञ्जल सम्झन्छन् । कक्षा दशसम्मको अध्ययनपश्चात् दुइ चार वर्ष विविध कारणले गर्दा पढाइमा व्यवधान पुगे पनि वि.सं. २०३६ सालमा भानु मा. वि. रानीपोखरीबाट एस. एल. सी. उत्तीर्ण गरेका हुन्। विभिन्न समस्याका बावजुद विद्यालयीय अध्ययन तर्फ अरूचि तथा उदासीनता भएकाले र साहित्य अध्ययन तथा सृजना तर्फ आकर्षित भएका कारणले प्राइभेटमा नै उनले वि.सं. २०४२ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका हुन्। आफ्नो सृजनशील अध्ययनलाई एकातर्फ फैलाउँदै र अर्कोतर्फ प्राइभेट रूपमा रहेको पढाइलाई सँगसँगै लाने क्रममा वि.सं. २०४६मा स्नातक पास गरी पढाइलाई निरन्तरता दिन नपाउँदा नपाउँदै पनि सङ्घर्ष गर्दै २०६० सालमा केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एम्.ए) नेपाली विषय लिई पूरा गरेका हुन् भने ब्याचलर इन म्युजिक इलाहाबादबाट पुरा गरेका हुन्। यसरी आफ्नो पढाइको समय नमिले तापनि क्याम्पस प्रवेश नै नगरी उच्च शिक्षाको पढाइ पूरा गरेको कुरा प्राञ्जलसँग प्रत्यक्ष कुराकानीबाट प्रष्ट हुन्छ।

साहित्यिक प्रेरणा[सम्पादन गर्ने]

साहित्यकार कुनै न कुनै व्यक्तिबाट केही न केही मात्रामा प्रभावित भएको पाइन्छ। त्यही तथ्य अनुसार प्राञ्जल पनि सानैदेखि साहित्यतिर रम्ने गर्थे। आफूसँग भएका अनुभवलाई साहित्यमा दाँज्थे। त्यही अनुभवको क्रममा आफ्ना केही अग्रज साहित्यकारहरूबाट प्रभावित भएको देखिन्छ। सत्र –अठार वर्षको उमेरमा महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको अध्ययनबाट उनको सोचाइमा एक्कासी परिवर्तन आएको र आफूभित्र साहित्य र सङ्गीतप्रति तीब्र अभिरुचि जागृत भएको कुरा सम्झँदै उनी देवकोटालाई विश्वकै महानायकका रूपमा आदर गर्दछन्। विशेष गरी महाकविको आर्थिक दृष्टिले विपन्न र अभावको जीवनबाट अत्यन्त प्रभावित भएको कुरा उनी बताउँछन्। यसका अतिरिक्त हिन्दी साहित्यको कुशवाहकान्त तथा रुसका महान् लेखक टाल्सटायका उपन्यास तथा कथाहरूका अध्ययनले पनि आफूभित्रको सुषुप्त मानवतालाई चलायमान गरिदिएको कुरा उनी स्वीकार्दछन्।

यति भए तापनि उनको आफ्नै जीवनको परिवेश तथा विसङ्गत जिन्दगी नै प्रेरणाको स्रोत भई साहित्य क्षेत्रमा कलम चलाउन प्रारम्भ गरेका हुन्। यी सब कुराहरूका अतिरिक्त रवि प्राञ्जल,ललिजन रावल,ज्ञानुवाकर पौडेल आदि समकालीन हरूबाट पनि आंशिक रूपमा प्रभावित भएर गजललेखनतर्फ विशेष आकर्षित भएको कुरा उनको यो गजलको अंश पढ्दा थाहा पाइन्छ –

‘‘ज्ञानु, मनु र ललिलाई भेट्न

गजलको बारी गोडेर आएँ। ’’

प्राञ्जल उपनाम[सम्पादन गर्ने]

कुनै समयमा विभिन्न साहित्यकारहरूले आफ्नो नाम पछाडि अर्को फुर्को (टाइटल) जोडेर उपनाम राख्ने होड चलेको र आफूपनि त्यसै लहैलहैमा लागेर विभिन्न उपनाम लेख्दै जाने क्रममा उनको न्वारनको नाम रविनाथ पौडेल भए तापनि वि.सं. २०३५ सालतिर ‘मातृभूमि’ पत्रिकामा ‘अधीर’ उपनाम राखेर उनका रचनाहरू प्रकाशित भएको र सुरुआतमा ‘अधीर’ उपनाम राखेर रचना प्रकाशित गरे पनि वि.सं. २०३६ सालतिर ‘संरक्षक’ पत्रिकामा ‘प्राञ्जल’ उपनामबाट उनका रचना प्रकाशित हुन थालेको कुरा बुझिन्छ। आफ्नो थर पौडेलको ठाउँमा ‘प्राञ्जल’ राखेर बीचको नाथ समेत झिकी उनले आफ्नो नामथरका लागि रवि प्राञ्जल लेख्न थालेको बुझिन्छ।

कार्यक्षेत्र[सम्पादन गर्ने]

साहित्यका अधिकांश विधामा कलम चलाएका प्राञ्जल साहित्य संगै समाजसेवा , पत्रकारिता, गीत , सङ्गीतका साथै कलाकारिताका क्षेत्रमा पनि सक्रिय छन्। आधुनिक समयमा विभिन्न वेब साइट पत्र पत्रिका तथा फेसबुक लगाएतका सामाजिक सन्जालमा समेत प्राञ्जलको सक्रिया सहभागिता देख्न सकिन्छ।

लेखन आरम्भ[सम्पादन गर्ने]

रवि प्राञ्जलले लेखनको आरम्भ कविता विधाबाट वि.सं. २०३३ सालदेखि गरेको र उनका प्रारम्भिक चरणका कविता, कथाजस्ता रचनाहरू ‘संरक्षक’, ‘मातृभूमि’, ‘रूपरेखा’, ‘गोरखापत्र’ ‘मधुपर्क’ जस्ता पत्र-पत्रिकामा प्रकाशित भएको पाइन्छ।

प्राञ्जलको सर्वप्रथम प्रकाशित रचना ‘सन्ध्या-प्रभात’ हो र त्यो वि.सं. २०३५ सालमा ‘संरक्षक’ नामक साप्ताहिकमा प्रकाशित भएको थियो। उनको त्यो कविता पढ्दा उनले आफूलाई स्वच्छन्दतावादी कविका रूपमा प्रस्तुत गर्न खोजेको प्रतीत हुन्छ –

‘‘प्रभातमा गिरिपूर्व भानु सुटुक्क आउँदा

पंक्षीहरूका चिरिबिरि सङ्गीत हृदयमा छाउँदा

अनि सन्ध्याको मृदुल रूपले मोहनी लाउँदा

विभोर हुन्छ हृदय, खुसीले तर दिनमा धुवाँ छ

सन्ध्या प्रभात झैँ अन्य क्षणमा माधुर्य कहाँ छ ?

यसरी प्राञ्जलले वि.सं. २०३५ सालदेखि फाटफुट रूपमा केही रचनाहरू पत्रपत्रिकामा प्रकाशित गराएपनि उनको लेखनविस्तार भने वि.सं. २०३८-०३९ सालदेखि मात्र हुन थालेको देखिन्छ र त्यसैबेला उनी विभिन्न पत्रपत्रिकाको सम्पादक एवं प्रकाशक भएको कुरा पनि बुझिन्छ।

पारिवारिक स्थिति[सम्पादन गर्ने]

वि.सं. २०३६ सालमा ईश्वरीदेवी ढुङ्गानासँग वैबाहिक बन्धनमा बाधिनु भएका प्राञ्जलका तीन छोरीहरू हुनुहुन्छ। प्राञ्जलको पारिवारिक अवस्थाको जानकारी लिँदा उनको पारिवारिक जीवन सुखमय रहेको देखिन्छ। विवाह गरेको केही समय पछि वि.सं २०३९ साल आश्विन १६ गते प्रथम सन्तानका रूपमा सुपुत्री दीपाको जन्म भयो र दुइ वर्षपछि २०४१ पौष ६ गते माहिली छोरी आस्थाको जन्म भएपश्चात् पुनः २०४९ मंसिर ६ गते कान्छी सुपुत्री श्रद्धाको जन्म भएको बुझिन्छ।

छोरीहरूलाई असल शिक्षा सद्गुण अनि सदाचारमा रहन सधैँ प्रेरणा दिनु हुने प्राञ्जलले आफ्ना सन्तानहरूप्रति गरिने दयामाया र एक आदर्श पितामा हुनुपर्ने गुण राम्ररी निभाउनु भएको छ।दुई छोरीहरूको विबाह पश्चात हाल उनको घरमा माता, कान्छी छोरी,पत्नी र उनी समेत गरी ४ जनाको परिवार रहँदै आएको देखिन्छ।

आर्थिक अवस्था[सम्पादन गर्ने]

मध्यमवर्गीय प्राञ्जल काठमाडौंका बासिन्दा हुन् र उनको केही जमीन आज पनि पुख्र्यौली गाउँ बालुवा गा.वि.स.मा रहेको देखिन्छ। जीवनमा दुई छाक खान र एकसरो कपडा लगाउन पाए पुग्छ भन्ने सिद्धान्तमा विश्वास राख्ने भएकाले उनले सम्पत्तिलाई खासै महत्त्व दिएको देखिँदैन। एक्लो कमाइले पाँच-सात जनाको परिवार पाल्न र छोरीहरूलाई सुव्यवस्थित शिक्षा प्रदान गर्न त्यति सहज नभएकाले प्राञ्जल केही समय व्यवसायिक समाचारमूलक पत्रिकामा समेत संलग्न भएको बुझिन्छ। त्यसैले प्राञ्जल आर्थिक दृष्टिकोणले श्रमजीवी मध्यमवर्गमा पर्न आउने कुरा स्पष्ट बुझिन्छ।

आजीविका[सम्पादन गर्ने]

पैतृक पेशा कृषि भए तापनि प्राञ्जल भने सरकारी नोकरीमा संलग्न देखिन्छन्। प्राञ्जल सानैदेखि स्वावलम्बी स्वभावका भएकाले प्रवेशिका उत्तीर्ण हुनु अघि देखिने संस्थान सेवामा लागेका हुन्। मान्छे भएर जन्मिइसकेपछि आफ्नो एवं परिवारका लागि केही न केही त अवश्य नै गर्नुपर्दछ भन्ने क्रममा उनी वि.सं.२०३६ सालमा ज. शि.सा.के.लि.मा जागीरको पहिलो पाइला राखेका हुन्। जागीर खाने सिलसिलामा वि.सं २०३६ सालदेखि २०४४ सालसम्म ज.शि.सा.के.लि.मा र त्यसपछि वि.सं.२०४४ सालमा कर्मचारी सञ्चय कोषमा सरुवा भई हालसम्म शाखा अधिकृत पदमा त्यहीँ कार्यरत छन्।

रुचि तथा स्वभाव[सम्पादन गर्ने]

रवि प्राञ्जल सानैदेखि साहित्यका साथै सङ्गीत तथा अध्यात्मतर्फ अनुरागी भएको र खाना उनी शुद्ध शाकाहारी सात्विक भोजन गर्न रुचाउने व्यक्ति हुन्। उनको स्वभाव अन्तर्मुखी किसिमको देखिन्छ। उनी धेरै सुन्न र थोरै बोल्न रुचाउँछन्। घमण्डी र अहङ्कारी व्यक्तिहरूलाई देख्दा उनलाई पीडाबोध हुने कुरा उनी बताउँछन्। एकान्तमा बसेर ध्यान तथा चिन्तनमा डुब्नु र शास्त्रीय सङ्गीतमा रम्नु उनका रुचिका विषय हुन्। सामाजिक रूपमा जातीय विभेद तथा वर्गीय समाजको अन्त्यको लागि रचनात्मक कार्य गर्नु उनको रुचिको विषय भएको पाइन्छ। हतपत्ती नरिसाउने प्राञ्जल रिसाउँदा झनक्क रिसाउने गरेको कुरा उनका छोरीहरूको कुराबाट बुझिन्छ।

सम्मान र पुरस्कार[सम्पादन गर्ने]

सामान्य कुनै एक–दुइ ओटा कृति लेखेर लोकप्रियता कमाउँदै कसैलाई पनि पुरष्कृत गरिहाल्नु पर्छ भन्ने कुराको प्राञ्जल कट्टर विरोधी देखिन्छन्। पुरस्कार पाउन विभिन्न शक्तिकेन्द्रमा धाउने प्रवृत्तिप्रति उनले आफ्ना गजलमार्फत् खरो व्यङ्ग्य प्रहार गरेका छन्। उनले वि.सं. २०५० सालमा आयोजित सिद्धिचरण गीत सङ्गति गायन प्रतियोगितामा गीतरचना तर्फ तृतीय पुरस्कार प्राप्त गरेको पाइन्छ। गजललेखनतर्फ वसुन्धरा मान–प्रतिष्ठानद्वारा स्थापित ‘गजलश्री’ सम्मानद्वारा वि.सं. २०६० सालमा सम्मानित भएका थिए। त्यसैगरी वि.सं. २०६३ सालमा सुदूरपश्चिमाञ्चल गजल मञ्च कैलालीद्वारा सम्मान तथा अभिनन्दित भएका थिए। त्यसैगरी वि.सं. २०६६ सालमा मकवानपुर गजल मञ्चद्वारा सम्मानित भएका हुन्।

अविस्मरणीय सुखदुःका क्षणहरू[सम्पादन गर्ने]

मानिस स्वभावैले लाभ हुँदा खुशी र हानी हुँद दुःखी हुन्छ। यो मानिसको सामान्य प्रवृत्ति हो। रवि प्राञ्जल भने यसभन्दा माथि उठेर कुनै लाभहानीलाई सुखदुःखको मूल कडी मान्दैनन्। उनले आफ्नो जीवनमा प्रशस्त आरोह अवरोहहरू पार गरिसकेका हुँदा समग्र जीवन नै सङ्घर्षमय र दुःखपूर्ण छ भन्ने उनको ठम्याइ हुँदा उनी दुःखभित्र सुखको अनुभूति प्राप्त गर्ने प्रयास गर्नु नै बुद्धिमानी हो भन्ने ठान्दछन्। यसका अतिरिक्त शास्त्रीय सङ्गीत सिक्दासिक्दै घाँटीको चिरफार गर्नुपर्दाको क्षणलाई दुःखद क्षण एवम् उनको प्रथम रचना र कृति प्रथम पटक प्रकाशन हुँदाको क्षण र सर्वश्रेष्ठ पाण्डुलिपी पुरस्कारको सदस्यका हैसियतले वि.सं. २०५० सालको पाण्डुलिपी पुरस्कार प्रसिद्ध लेखिका पारिजातलाई प्रदान गर्न पाउँदाको समयलाई स्मरणीय र सुखद क्षण भएको बताउँछन्।

रवि प्राञ्जलको व्यक्तित्व[सम्पादन गर्ने]

रवि प्राञ्जलले साहित्यका विभिन्न फाँटमा कलम चलाएर आफूलाई साहित्यिक व्यक्तित्वका रूपमा चिनाएका छन्। उनका साहित्यिक व्यक्तित्वलाई निम्न उपशीर्षकमा अध्ययन गर्न सकिन्छ।

गजलकार व्यक्तित्व[सम्पादन गर्ने]

रवि प्राञ्जल वि.सं. २०३७ सालमा गजलशैलीको गीति कविता ‘हाहाकार पर्खन्छ मान्छे’ लिएर ‘प्राङ्गण’ साप्ताहिक साहित्यिक पत्रिकामार्फत सर्वप्रथम देखापर्छन्। हालसम्म उनले छोटा र मझौला गरी १४० भन्दा बढी गजलहरू लेखिसकेको पाइन्छ। जिन्दगीलाई खोतल्दै यसका आकूलव्याकूलता र अभावलाई प्रस्तुत गर्ने यिनका गजल तत्कालीन नेपाली समाजको यथार्थ चित्रण गर्न सफल छन्। समग्र मानिसको जीवन नै पीडादायी भएको र यस पीडामा मल्हमपट्टी लगाउने मानिसको अभाव भएको एवं वर्तमान समाजका मान्छे अभावैअभावमा आफ्नो जीवन व्यतीत गरिरहेको कुरा पनि उनका गजलका पाइन्छ। समाजका विविध खाले भोगाईलाई गजलका रूपमा अभिव्यक्त गर्न उनी सफल देखिन्छन्। वर्तमानमा मान्छे कुण्ठित जिन्दगी बाँचिरहेको र सामाजिक, आर्थिक विसङ्गति तथा असन्तुलनका कारण मान्छे कुण्ठित जिन्दगी जिउन बाध्य छ प्राञ्जलका गजलमा यिनै अतृप्ति तथा अप्राप्तिद्वारा सृजित समष्टि भावलाई वैयक्तिक या व्यष्टि रूपमा अभिव्यक्त गरेको हुन्छ।

प्राञ्जल वि.सं. २०४२-०४३ सालदेखि समकालीन गजलकारद्वय मनु ब्राजाकी तथा ललिजन रावलका गजलहरू पढेपछि पूर्णतः गजललेखनमा समर्पित भएको बुझिन्छ। वि.सं. २०५३ साल पश्चात् गजललेखनमा कमी आएको भए तापनि वर्तमान समयमा भने उनले गजललाई नै आफ्नो कर्मक्षेत्र बनाउने कोशिस गरिरहेको पाइन्छ।

मनु ब्राजाकीले प्राञ्जलको गजल व्यक्तित्वलाई यसरी प्रस्तुत गरेका छन् – ‘रविले गजलविधाको खिसिट्युरी गर्नेहरूलाई झापु दिएका छन्। गजलविधालाई अक्षम र सुरासुन्दरी वर्णनको भाववाहक मात्र हो भनेर व्यङ्ग्य गर्नेहरूलाई नेपाली गजलको सक्षमताको परिचय दिएका छन् र वर्तमान जीवनमा देखा परिरहेका विसङ्गतिलाई उनले सटिक उदाहरण, कलात्मक विन्यास र लयात्मक मर्मस्पर्शिताका साथ प्रकट गरेका छन्।’ त्यसैगरी डा. हिमांसु थापाले – ‘गजलमा सैद्धान्तिक अध्ययनको क्रियात्मक निर्वाह भएको र गजलको स्वरूप र विकासमा विविधता र प्रयोगधर्मिता पाइन्छ भनेका छन्।’ त्यसैगरी ललिजन रावल भन्दछन् – ‘नेपाली गजल आज जसरी समृद्धितिर उन्मुख हुँदै गइरहेको छ, त्यसमा रवि प्राञ्जलको पनि योगदान रहेको छ।’ यसरी विभिन्न गजलकार एवं साहित्यकारहरूले प्राञ्जलको गजलव्यक्तित्वलाई केलाएको पाइन्छ।

प्राञ्जल एक सचेत गजलकार हुन् भन्ने कुरा उनको गजलसम्बन्धी दृष्टिकोणबाट पनि थाहा हुन्छ। गजललाई गेयात्मक दृष्टिले हेर्ने र यसको प्रमुख गुण पनि गेयात्मकतालाई मान्ने मान्छेहरूको बाहुल्य रहेको वर्तमान अवस्थामा उनका गजलहरू पनि गेयात्मकता एवम् लयात्मकताले परिपूर्ण छन्। उनको गजलसम्बन्धी दृष्टिकोण यसप्रकार रहेको छ –‘गजल एउटा स्वतन्त्र काव्यविधा हो, जसमा गेयता अनिवार्य हुन्छ र निश्चित द्वन्द्व वा मात्राका आधारमा समान ध्वन्यात्मक तुकयुक्त भई लाक्षणिक अभिव्यञ्जनाद्वारा प्रतीकात्मक रूपमा प्रस्तुत भई प्रत्येक सेरमा भावको पूर्णता दर्साउन सक्षम हुन्छ।’

प्राञ्जलले वि.सं. २०४७ सालमा ‘घामका झुल्काहरू’ प्रथम गीतगजलसङ्ग्रह प्रकाशित गरेपछि वि.सं. २०४८ सालमा ‘तारिदेऊ न माझी दाइ’ र वि.सं. २०५२ सालमा ‘उही बाढी उही भेल’ गजलसङ्ग्रह प्रकशित गरेका छन्। यी तीन सङ्ग्रहमा ‘घामका झुल्काहरू’ गीतगजलसङ्ग्रह हो भने ‘तारिदेऊ न माझी दाइ’ र ‘उही बाढी उही भेल’ भने विशुद्ध गजलसङ्ग्रह हुन्।

यसरी रवि प्राञ्जलमा वि.सं. २०४७-०४८ सालमा गजललेखनमा बाढी नै आएको देखिन्छ। प्राञ्जलका अधिकांश गजलहरू छोटा र सहज छन्। पढ्दा सजिलै बुझ्न सकिन्छ। प्राञ्जलले साहित्यको अरू विधामा आफूलाई स्थापित गराए पनि मूलतः उनी गजलकार हुन्। प्राञ्जल, मनु ब्राजाकी, विजय सुब्बा, ध्रुव मधुकर्मी, सनतकुमार वस्तीजस्ता समकालीन गजलकारहरूका बीच एक जागरुक गजलकारका रूपमा देखिन्छन्।

गीतकार व्यक्तित्व[सम्पादन गर्ने]

रवि प्राञ्जलले कविता, कथा, र गजलमात्र होइन, गीत पनि उत्तिकै मात्रामा लेखेको पाइन्छ। उनले आफ्नो स्नातकसम्मको अध्ययन पूरा गरी गीत, कविताको रचना गर्दै आएको देखिन्छ। वि.सं. २०३८ सालदेखि भक्तराज आचार्य, प्रेमध्वज प्रधान, अरूण लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ, मीरा राणा, दीपतारा, ताम्राकार र नरेन्द्र प्यासीजस्ता ख्यातिप्राप्त कलाकारहरूका स्वरमा रेडियो नेपालमा आधुनिक गीत तथा राष्ट्रिय गीतहरू रेकर्ड गरेको बुझिन्छ।१६ उनका गीतहरूमा माया प्रेमका सम्बन्धि कुराका अतिरिक्त सामाजिक विषयवस्तु, समाजका विविध भोगाइका साथै कतै कतै विद्रोहको स्वर पनि पाइन्छ। जीवनका विभिन्न आरोह-अवरोहलाई उनले गीत मार्फत् व्यक्त गरेका छन्।

‘गेय कविता नै गीत हो’ भन्ने मान्यता प्रकट गर्ने प्राञ्जलले गीत सम्बन्धि आफ्नो दृष्टिकोण सहित आफूलाई एक सचेत गीतकार व्यक्तित्वको रूपामा उभ्याउन खोजेको पाइन्छ। वि.सं. २०४३ सालमा आयोजित भिडियो चलचित्र महोत्सवमा प्रस्तुत गरिएको ‘‘हारजित’’ चलचित्रभित्र रहेका सम्पूर्ण गीतहरूको रचना प्राञ्जलबाटै भएको बुझिन्छ। म्युजिक नेपालले हालसम्म पनि उक्त चलचित्रको गीती एल्बम सार्वजनिक रूपमा विक्री वितरण गरिरहेको छ। यसका अतिरिक्त उनको अर्को एउटा आधुनिक गीत तथा गजलको सँगालो ‘आगत’ एल्बम पनि बजारमा सर्वत्र उपलब्ध छ। यस एल्बममा भक्तराज आचार्य, सतीश महर्जन, किरण प्रधान, प्रेमध्वज प्रधान आदिले स्वर दिएका छन्। यसरी कवि प्राञ्जल गजलकार, कथाकार साथै गीतकारका रूपमा पनि उत्तिकै सक्रिय देखिन्छन्। १७

कवि व्यक्तित्व[सम्पादन गर्ने]

कविताबाट साहित्यिक यात्रा सुरु गर्ने प्राञ्जलले आफ्ना कविताहरू ‘आँसुका फूलहरू’ नामक कवितासङ्ग्रहमा सङ्कलन गरी प्रथम प्रकाशित कृतिका रूपमा प्रस्तुत गरेका छन्। प्रारम्भिक चरणमा कविता लेखे तापनि त्यस विधासँग निकटतम सम्बन्ध भएको विधाका रूपमा गजल लेखेर यस क्षेत्रमा स्थापित हुने प्रयासमा लागेका देखिन्छन्। रवि प्राञ्जलले कवितासम्बन्धि दृष्टिकोणलाई यसरी प्रस्तुत गरेका छन्। ‘कविता शब्दहरूको जञ्जाल मात्र नभई मानवीय अनुभूतिको एकसरो रूप पनि हो। अनुभूतिको कलात्मक अभिव्यक्ति नै कविता हो, केही न्यून गेयतायुक्त रचनालाई पनि कविता भनिन्छ’’।१८ यसप्रकार कवितामा गेयता हुनुपर्छ। गाउन नमिल्ने कविता,कविता नभई त्यो नाममा मात्र सीमित कविता बन्न जाने कुरा प्राञ्जलको कवितासम्बन्धि दृष्टिकोणबाट प्रष्ट हुन्छ। अग्रज साहित्यकारहरूका कृतिहरूको अध्ययन र साथीहरूसँगको सहयात्रालाई प्रारम्भिक सृजनाको प्रेरणा मान्ने प्राञ्जलले आफ्ना कवितामा वर्तमान समय र जीवनका भोगाइ एवं समाजमा व्याप्त विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गर्दै कविता लेख्ने गरेको बुझिन्छ। ‘‘उनका कविताको अध्ययनले पाठकलाई आजको युगको वास्तविक पक्षसँग परिचित गराउन केही हदसम्म मात्र भए पनि सक्षम हुने विश्वास’’ उनका समकालीन साथी सचिन उपाध्याय बताउँछन्।

आयामका दृष्टिले कवितालाई मुक्तक, फुटकर कविता, लघुकाव्य, खण्डकाव्य, महाकाव्य आदि श्रेणीमा विभाजन गरिएको छ। प्राञ्जलले मुक्तक र लघु आयतन सम्मका फुटकर कविता लेखेको पाइन्छ। एक समय मुक्तक कविताको होड नै चलेको अवस्थामा उनी पनि मुक्तक कवितातर्फ आकर्षित भएको बुझिन्छ।

प्राञ्जलले वि.सं. २०३३-०३४ सालदेखि वि.सं. २०४१ सालसम्म लेखेका कविताहरूलाई ‘‘आँसुका फूलहरू’’ कवितासङ्ग्रहमा सङ्कलन गरेका छन्। यो सङ्ग्रहभित्र २८ ओटा कविताहरू समाविष्ट छन्। ती कविताहरूमा सामाजिक, राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्य गरेको पाइन्छ। पञ्चायती शासनकालमा बोल्न समेत विचार गर्नुपर्ने अवस्थामा उनले ‘‘हाहाकार पर्खन्छ मान्छे’’ शीर्षकको कविता वि.सं.२०३६ सालमा ‘प्राङ्गण’ पत्रिकामा छपाएर पञ्चायती व्यवस्थाका हिमायतीहरूलाई नै चुनौती दिएको पाइन्छ।२० प्राञ्जलका केही कविता गद्य शैलीका भए पनि उनमा समसामयिक यथार्थलाई रोचक, सटिक, हृदयस्पर्शी ढङ्गबाट प्रस्तुत गर्ने खुबी रहेको देखिन्छ।

यसरी प्राञ्जलका कविता संरचना, लय र काव्यतत्त्व आदिका दृष्टिले सबल देखिन्छन्। भावगाम्भीर्यताका दृष्टिले पनि उनका कविता कमजोर छैनन्। यसप्रकार नेपाली साहित्यको फुटकर कविताको क्षेत्रमा प्राञ्जलको कवि व्यत्तित्व स्थापित भएको देखिन्छ।

कथाकार व्यक्तित्त्व[सम्पादन गर्ने]

वि.सं. २०३५ सालमा ‘मातृभूमि’ साप्ताहिक पत्रिकामा उनको प्रथम कथा प्रकाशित भएको देखिन्छ। यसपछि उनका कथाहरू विभिन्न समयमा ‘रूपारेखा’, ‘मधुमास’, ‘तन्नेरी’ आदि साप्ताहिक, मासिक, त्रैमासिक तथा साहित्यिक पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । प्राञ्जलका कथाले सामाजिक विषयवस्तुलाई ग्रहण गर्दै समयले जिन्दगीलाई आफ्नो वशमा पारेको र समयका अगाडि मान्छे आज्ञाकारी बालक झैँ भएको कुरा प्रस्तुत गरेको बुझिन्छ। उनी आफ्ना कथामा वर्तमानमा बढ्दै गइरहेको अमानवीय स्वार्थीपन, आडम्बर, विसङ्गति, रुढीवादी प्रवृत्ति, थिचोमिचोको व्यवहार आदिलाई उदाङ्गो पार्दै समाजमा व्याप्त विकृति र विसङ्गतिप्रति ठाडो प्रहार गर्न चुकेका छैनन्। प्राञ्जलको ‘रित्तो बट्टा’ कथा पढ्दा उनी प्रगतिशील कथाकारका रूपमा देखा पर्दछन्। प्राञ्जल एक सचेत कथाकार हुन् भन्ने कुरा उनको कथा सम्बन्धि दृष्टिकोणबाट स्पष्ट बुझिन्छ –

‘‘कथा जीवनको कुनै एक पक्षको झलक हो, त्यसलाई चरित्र, संवाद, भाषाशैली जस्ता आवश्यक तत्त्वका माध्यमबाट प्रस्तुत गरिन्छ’।

यस प्रकार प्राञ्जल कथामा जीवनको सम्पूर्ण झलक नभई कुनै एक क्षणको झलक हुने कुरामा ढुक्क छन्। सुरुमा उनले कविता लेख्न थालेपनि कवितामा भन्दा कथामा आफ्नो भावना अभिव्यक्त गर्न सजिलो हुने र कथालेखनमा कुनै शास्त्रीय अनुशासन नहुने हुनाले उनी त्यसतर्फ आकर्षित भएको पाइन्छ। हाम्रो समाजभित्र अनेकौँ समस्या, आफ्नै संस्कृति र रीतिरिवाज छन् साथै समाजमै गुम्सेर बसेका अलिखित भावनाहरूलाई पनि प्राञ्जलले विषय बनाएको पाइन्छ। प्राञ्जलका कथाहरू सङ्ख्याका दृष्टिकोणले थोरै र आकारमा सानै भए तापनि थोरैमा पूर्ण हुनु नै उनको कथाको विशेषता बन्न पुगेको छ। कथातत्त्व र शिल्पका दृष्टिले उनका कथाहरू सबल देखिन्छन्। नेपाली कथाकारिताको क्षेत्रमा पनि उनी उत्तिकै सफल देखिन्छन्।

सङ्गीतकार व्यक्तित्व[सम्पादन गर्ने]

प्राञ्जललाई सानैदेखि साङ्गीतिक क्षेत्रमा लगाव भए पनि ३४-३५ वर्षको उमेरमा पुगेर मात्र त्यस क्षेत्रमा क्रियाशील रूपले प्रवेश गरेको देखिन्छ। उनले शास्त्रीय सङ्गीतका साथै सी.बी. क्षेत्रीसँग पाश्चात्य स्टाफ नोटेशनमा गीतार सिक्दा सिक्दै दुर्भाग्यवश घाँटीको स्वरयन्त्रमा गाँठो पलाएर वि.सं. २०५६ साल असारमा घाँटीको चिरफार गर्नुपरेको बताउँछन्। घाँटीको चिरफार पश्चात् ‘प्रयाग सङ्गीत इलाहवाद’को गायनतर्फको जुनियर डिप्लोमा परीक्षा बीचैमा त्याग्नुपर्दाको क्षण उनलाई अत्यन्तै नरमाइलो लागेको कुरा उनी बताउँछन्। यति भएतापनि सङ्गीततर्फको रुचिमा भने कुनै परिवर्तन आएको देखिन्न। प्राञ्जलले घरमा राखेका सङ्गीत सम्बन्धी वाद्य सामग्रीहरू हार्मोनियम, तबला, बाँसुरी, भ्वाइलिन आदिले सङ्गीतप्रतिको विशेष आस्था झल्काएको पाइन्छ। प्राञ्जलले उत्कृष्ट साहित्यकारका स्तरीय रचनाहरूलाई सङ्गीतबद्ध गरी रेकर्ड गराउँदै गरेको र रेडियो कार्यक्रमहरूमा यिनका गीतहरू प्रसारण भइरहेको सुनिन्छ। उनले सङ्गीतको प्रमुख अङ्ग ‘तालवादन’को सैद्धान्तिक तथा व्यावहारिक शिक्षा वरिष्ठ शास्त्रीय सङ्गीतज्ञ होमनाथ उपाध्यायसँग लिएका हुन्। यसरी प्राञ्जलको साङ्गीतिक यात्रामा विविध बाधा–व्यवधान आइलागेर आफूले सोचेजति प्रगति गर्न नसके पनि उनी एक सङ्गीतकार व्यक्तित्वका रूपमा समेत परिचित हुन पुगेका छन्।

सम्पादक र प्रकाशक व्यक्तित्व[सम्पादन गर्ने]

साहित्यका विभिन्न विधामा संलग्न रहनुका साथै प्राञ्जलले विभिन्न पत्रपत्रिकाको सम्पादक र प्रकाशकको काम गरेको देखिन्छ। उनले वि.सं. २०३८ सालदेखि वि.सं. २०४० सालसम्म ‘मधुमास’ साहित्यिक पत्रिकाको सम्पादन गर्ने क्रममा कर्मचारी सञ्चयकोष, कर्मचारी सङ्घद्वारा प्रकाशित ‘सोपान’ नामक साहित्यिक पत्रिकाको सम्पादन गरेको बुझिन्छ। प्राञ्जल सम्पादकका साथसाथै प्रकाशकका रूपमा समेत यस क्षेत्रमा क्रियाशील रहेका देखिन्छन्। यसका अतिरिक्त ‘तन्नेरी’,‘लाकुरी’, ‘रूपारेखा’, ‘पारिजात’ आदि साहित्यिक, साप्ताहिक, मासिक एवं त्रैमासिक पत्रपत्रिकामा उनको संलग्नता रहेको बुझिन्छ।

यस प्रकार प्राञ्जल कथाकार, गजलकार, कवि, गीतकार, सङ्गीतकार व्यक्तित्वका साथसाथै पत्रकार व्यक्तित्वका रूपमा समेत परिचित देखिन्छन्। पत्रकारिता सम्बन्धि प्राञ्जलको सम्पर्क केही पूर्ववर्ती साहित्यकार र समकालीन पत्रकारहरूसँग भएको जानकारी पाइन्छ।

कलाकार व्यक्तित्व[सम्पादन गर्ने]

रवि प्राञ्जलको व्यक्तित्वका अन्य पाटाहरू सँगसँगै कलाकर्मी व्यत्तित्व पनि उत्तिकै उल्लेखनीय देखिन्छ। साहित्यसृजनाका साथै अभिनयमा पनि रुचि राख्ने प्राञ्जलले वि.सं. २०४६ सालमा नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘नमस्ते’को करिब एक दर्जन श्रृङ्खलामा अभिनय गरेको र नमस्तेको पटकथा पनि उनैले लेखेको बुझिन्छ। यसभन्दा अगि वि.सं. २०४३ सालमा भिडियो चलचित्र ‘हारजित’मा वकील पात्र भई छोटो अभिनय गर्नुका साथै विभिन्न कार्यक्रममा अभिनय गरेर लोकप्रियता हाँसिल गर्ने रहर जनाएता पनि आफ्नो पारिवारिक दायित्वबोध एवं विभिन्न कारणले गर्दा उनको त्यो सपना, सपनामै सीमित हुन गएको देखिन्छ।

यसरी प्राञ्जलले अभिनयको क्षेत्रमा पनि हात हालेर यस क्षेत्रमा जे–जति समयसम्म उनको रुचि रह्यो त्यस समयसम्म उनी सफल देखिन्छन्।

समाजसेवी व्यक्तित्व[सम्पादन गर्ने]

साहित्यकार र राजनीति समाजसँग नजीक हुन्छ र साहित्य र राजनीतिक व्यक्तित्व पनि। रवि प्राञ्जल पनि समाजसँग नजीक छन्। उनको सामाजिक व्यक्तित्व पनि अत्यन्त सफा छ। मानिस सामाजिक प्राणी भएकाले ऊ समाजबाट अलग्गिएर बस्न सक्दैन। ऊ प्रत्यक्ष होस् वा अप्रत्यक्ष जताबाट भए पनि समाजसँग सम्बन्धित रहेको हुन्छ। अरू दृष्टिकोणबाट समाजसेवामा संलग्न हुन नसके पनि साहित्य क्षेत्रबाट प्राञ्जलले समाज र देशलाई सहयोग पु-याएका छन्। साहित्यले समाजको चेतना विकासमा र देशको सौन्दर्यतालाई प्रकाश पारेको हुन्छ। प्राञ्जल ‘ज्योतिष विज्ञान सेवा समिति’को सदस्य एवं किराँतेश्वर सङ्गीताश्रमको संरक्षक भएको बुझिन्छ। प्राञ्जल कुनै पनि क्रिया तथा वचनलाई गम्भीरतापूर्वक लिने हुँदा सतही विचार तथा दृष्टिकोण राख्नेसँग हतपति घुलमिल हुन सक्दैनन्। उनको चिन्तन, ध्यान, गीतसङ्गीततर्फ भएकाले समाजमा कतै असर पर्छ कि ? भन्ने दुखेसो उनी व्यक्त गर्दछन्। यद्यपि प्राञ्जल दीन दुःखीहरूलाई आफ्नो दिल खोलेर सहयोग गर्न सदैव तयार रहेको बताउँछन्।

रवि प्राञ्जलको कृतित्व[सम्पादन गर्ने]

कुनै पनि रचनाकारको कृतिले दिन खोजेको वा भन्न खोजेको कुरा नै कृतित्व हो। कृतिकारको प्रतिभा, बौद्धिकता आदिबाट कृतित्व थाहा पाइन्छ। समग्रमा भन्दा कृतित्व नै साहित्यकारको प्रवृत्ति एवं विशेषता हो र यही नै साहित्यकारको असली पहिचान हो। प्राञ्जलको कृतित्वलाई पहिल्याउन उनका प्रकाशित कृतिहरूको प्रकाशन विवरण आवश्यक मानिन्छ। उनका प्रकाशित कृतिहरू निम्नलिखित छन्।

गजल[सम्पादन गर्ने]

  1. ‘तारिदेऊ न माझीदाइ’ गजलसङ्ग्रह, २०४७,
  2. ‘उही बाढी उही भेल’ गजलसंग्रह, २०५२,
  3. गजल, ‘तन्नेरी’, वर्ष १८ अङ्क २, वि.सं.२०५३ असोज– मार्ग, पृ. ३०
  4. गजल, ‘गरिमा’, वर्ष १९, अङ्क४, पूर्णाङ्क २२० वि.सं. २०५७, पृ. ५७

गीत–गजल[सम्पादन गर्ने]

  1. ‘हारजित’, भिडियो चलचित्रका सम्पूर्ण गीतहरूको रचना, वि.सं. २०४२
  2. ‘घामका झुल्काहरू’, गीत गजलसङ्ग्रह, वि.सं. २०४७
  3. मेचीदेखि, ‘आगत’, एल्बम स्वर, भक्तराज आचार्य, वि.सं. २०५६
  4. चलायो मनको, ‘आगत’, एल्बम स्वर, सतीश महर्जन, वि.सं. २०५६
  5. सागर किनारा, ‘आगत’ एल्बम स्वर, किरण प्रधान, वि.सं २०५६
  6. तारा टिपूँ, ‘आगत’ एल्बम स्वर, प्रेमध्वज प्रधान, वि.सं. २०५६
  7. सबै बेहोसी, ‘आगत’ एल्बम स्वर, भक्तराज आचार्य, वि.सं. २०५६
  8. सपना फुलेन ‘आगत’ एल्बम स्वर, भक्तराज आचार्य, वि.सं. २०५६
  9. आँखाभरि, ‘आगत’ एल्बम स्वर, विनोद ढुङ्गाना, वि.सं. २०५६
  10. सपनीमा, ‘आगत’ एल्बम स्वर, मीरा राणा, वि.सं. २०५६

कथा[सम्पादन गर्ने]

  1. सारङ्गी, ‘मधुमास’, वर्ष १, अङ्क १, वि.सं. २०३८
  2. टुक्रिएका सपनाहरू,‘रूपरेखा’, वि.सं. २०३८
  3. रित्तो बट्टा, ‘तन्नेरी’, वर्ष १३, अङ्क २, वि.सं. २०४८ श्रावण, पृ.६

कविता[सम्पादन गर्ने]

  1. सन्ध्या प्रभात, ‘संरक्षक’, वि.सं. २०३५
  2. मेरो जीवन, ‘संरक्षक’, वि.सं. २०३५, कात्तिक १९
  3. मेरो अर्चना–मेरो प्राप्ति, ‘लाँकुरी’, वि.सं. २०३६
  4. पोखिएका आँसुहरू, ‘संरक्षक’, वि.सं. २०३६
  5. ट्युब स्टेशनमा एक साँझ
  6. अबोध माग्ने, ‘जागृति’, वि.सं. २०३६
  7. साँचीराखूँ जस्तो लाग्छ,‘प्राङ्गण’, वर्ष २, अङ्क १.२ मङ्सिर वैशाख, वि.सं.२०३७, पृ.७४
  8. जिन्दगीका गोरेटाहरू, ‘पारिजात’, वि.सं. २०३७
  9. हाहाकार पर्खन्छ मान्छे, ‘प्राङ्गण’, वि.सं. २०३७
  10. जिन्दगी, ‘लाँकुरी’, वि.सं. २०३७
  11. जीवन खण्डहरू, ‘स्मारिका’ वि.सं. २०३८
  12. भिन्नता, ‘स्मारिका’, वि.सं.२०३८
  13. दुइ थोपा आँसु–कटुवालप्रति,‘ममता’, वि.सं. २०३८
  14. आत्महत्या गर्नखोज्नेलाई, ‘स्मारिका’, वि.सं. २०३८
  15. ‘आँसुका फूलहरू’ कवितासङ्ग्रह, कान्तिपुरी प्रिन्टिङ्ग प्रेस, वि.सं. २०४१
  16. किनाराहरूमा म, ‘गोरखापत्र’, वर्ष ९२, अङ्क २५५ वि.सं.२०४९ मङ्सिर २७ गते
  17. आकाश, ‘बगर’, वर्ष १२ पूर्णाङ्क ४२ वि.सं. २०५० फागुन चैत्र पृ.६९
  18. घर ‘वीमा २७औँ वार्षिकोत्सव स्मारिका’ वि.सं. २०५१ फागुन पृ.४८
  19. हिउँ, ‘गरिमा’, वर्ष १३, अङ्क ७ पूर्णाङ्क १५१ असार वि.सं. २०५२ पृ.८६

यहाँ उल्लिखित कविताहरूमध्ये ‘मेरो अर्चना–मेरो प्राप्ति, पोखिएका आँसुहरू, अबोध माग्ने, जिन्दगीका गोरेटाहरू, हाहाकार पर्खन्छ मान्छे, जिन्दगी, जीवनखण्डहरू, भिन्नता, दुई थोपा आँसु कटुवालप्रति, आत्महत्या गर्न खोज्नेलाई’ चाहिँ ‘आँसुका फूलहरू’ कवितासङ्ग्रहमा सङ्कलित छन् भने बाँकी अरू कविताहरूका प्रकाशन विवरण प्राप्त भए पनि सङ्ग्रहका रूपमा कतै पनि देखिँदैनन्।

नेपाली गजल परम्परामा रवि प्राञ्जल एक चर्चित नाम हो। आजका अनेकौँ गजलकारहरूको माझमा आफ्नो छुट्टै उचाइका साथ प्रष्ट परिचय बनाउन सफल प्राञ्जल गजलको पुनर्जागरण कालदेखि नै सिर्जनारत गजलस्रष्टा हुन्। यिनका जीवन भोगाइका भावात्मक अनुभूति मुख्यतः गजलमा पोखेका छन् र ती पाठकको मन छुने तथा गहिरो प्रभाव पार्ने सार्वजनिक भाव बनेका छन्। गजल आजको बढी उत्पादनशील र बहुपठित विधा हो। गजललाई यस रूपमा स्थापित गर्नेहरूमा ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनु ब्राजाकी, बूँद राना आदि गजलकारहरूसँगै प्राञ्जलको महत्त्वपूर्ण योगदान रहेको पाइन्छ। प्राञ्जलका गजलमा पाइने विविध पक्षहरूलाई यसरी निम्नलिखित बुँदाहरूमा प्रस्तुत गर्न सकिन्छ।

यथार्थवादी गजलकार[सम्पादन गर्ने]

कुनै पनि वस्तु वा विषयका बारेमा ढाकछोप वा बढाइँ चढाइ नगरेर जस्ताको तस्तै रूपमा, खसोखास रूपमा, वास्तविक रूपमा अथवा तथ्यपरक रूपमा अभिव्यक्त गर्ने र गर्न प्रेरित गर्ने पाश्चात्य–जगतमा विकसित कला र साहित्यसम्बद्ध दार्शनिक सिद्धान्त नै यथार्थवाद हो। यो दर्शनलाई अँगालेर लेख्ने प्रवृत्तिलाई नै यथार्थवादिता भनिन्छ।

गजलकार रवि प्राञ्जलका कृतिमा पनि यथार्थवादको विशेष प्रभाव देखिन्छ। कल्पनालाई र भावनालाई भन्दा पनि यथार्थवादिहरू समाज जस्तो छ, त्यसलाई त्यस्तै रूपमा अभिव्यक्त गर्दछन्।

कतै भने पेट भित्रै आगो बलि रह्यो

कतै भने मात लागी मान्छे ढली रह्यो ॥ (गजल २९)

धनी र गरीब बिचको पर्खाल अझै पनि हाम्रो समाजमा जिवितै छ, धनी धनकै सिरानीमा सुत्छ गरीबले न धन देख्छ न सुत्न सक्छ सपना देख्ने त परको कुरो भोका पेटको कटु यथार्थलाई गजलकार यसरी माथिको सेर मार्फत व्यक्त गर्छन्।

सामाजिक यथार्थका प्रयोक्ता[सम्पादन गर्ने]

रवि प्राञ्जल सामाजिक गजलकारका रूपमा सुपरिचित देखिन्छन्। उनका गजलहरूमा समाजका कुराहरूलाई समेटेर व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको पाइन्छ। समाज र देश निर्माणमा खटेका नेताहारु कुर्सिले किचिएपछि फटाहा र जालीमात्र बढेर उत्पन्न भएको जटिलतालाई बुझाउने उनको एउटा गजलको अंशलाई हेरौँ –

कुर्सीले नै किचिएछ मान्छेको अस्तित्व,

स्वाभिमानी मानिसको गन्ध कहाँ होला ?

कानाहरू खेल खेल्छन्, अन्धा ताली पिट्छन्,

यस्तो खेल राहनीतिको अन्त कहाँ होला ? (गजल ३३)

प्राञ्जलले आफ्ना गजलहरूमा शोषित, पीडित र पछाडि परेकाहरूप्रति पक्षधरलाई व्यक्त गरेका छन्। सामाजिकताको विषयका बारेमा विजय सुब्बा भन्छन्–‘‘रवि प्राञ्जल गजलको परम्परागत माया–प्रीतिको विषय बन्धनबाट उहिल्यै फुकेर राजनीतिक, सामाजिक र मान्छेभित्रको विकृति र विसङ्गति विरुद्ध जुधिरहेका, देश र जनताप्रति जिम्मेवार योद्धा हुन्। उनलाई वर्तमान गजलसाहित्यको अग्रपङ्क्तिमा मात्र भेटिन्छ”।

यसरी समाजमा भएका विकृति र विसङ्गति यथार्थलाई समाजमा रहेका सम्पूर्ण कुराहरूलाई समेटेर सरल र सहज भाषामा लययुक्त बनाएर गजल निर्माण गरेका छन्। तसर्थ प्राञ्जललाई सामाजिक गजलकार भन्न सकिन्छ।

प्रगतिवादी गजलकार[सम्पादन गर्ने]

समाजमा व्याप्त अन्याय अत्याचार, थिचोमिचोबाट सोझा–साझा जनताले मुक्ति पाउनुपर्छ, समानता र हक अधिकारपूर्ण जीवन जिउन पाउनुपर्छ भन्ने विद्रोहात्मक स्वरहरू उराल्नु नै प्रगतिवादिता हो। वस्तुगत सत्यका रूपमा रहेका आर्थिक विसमता, असमानता, अन्याय, अत्याचार, थिचोमिचो आदिलाई हटाई आर्थिक समानता, वर्गीय समानता, उत्पादक र उत्पादित वस्तुका साझा अधिकार, न्याय, सदाचार आदिका पक्षमा विशेष चासो राख्ने प्रगतिशील विचारलाई प्रगतिवाद भनिन्छ।

यस सिद्धान्त अनुसार साहित्यकार रवि प्राञ्जलका कृतिमा प्रगतिवादको प्रभाव स्पष्ट देखिन्छ –

घृणा कसैले गरेर के भो ?

आँखा कसैले तरेर के भो ?

अझै छन् बाकीं असंख्य तारा

त्यो एउटा तारा झरेर के भो ?? (गजल ४६)

स्वाभिमान, आत्मसम्मान र आफ्नो बेग्लै शान बनाउन चाहनेहरू भक्तको आस्थामा बाँच्ने निमुखा भगवानसंग भीख माग्दैनन्। आफ्नो पाखुरी र पौरखमा निर्भर हुन्छन्। कसैको दासतालाई स्विकार्नु भन्दा ज्यान बलिदान गर्न उद्यत रहन्छन्। विना दोष अन्यायमा पर्नु र सजाएको भागी हुनुभन्दा ठाडोप्रतिकारमा उत्रन्छन्। यो नै प्रगतिवादिता हो।जुन कुराका लागि प्राञ्जलका रचनामा प्राप्त गर्न सकिन्छ।

लयात्मक सचेतता[सम्पादन गर्ने]

लय गजलको एउटा महत्त्वपूर्ण अङ्ग हो। प्राञ्जल प्राय जसो लयात्मक सयोजनद्वारा हृदयको गहिराइलाई छुन सक्ने किसिमका गजलकार हुन्। आफ्ना तथा अन्य गजलकारहरूका गजलमा सङ्गीत दिइसकेका, सङ्गीतको अध्ययन र अभ्यास दुबैबाट खारिएका स्रष्टा प्राञ्जल श्रुतिमधुरता र लयात्मक मीठासको सञ्चरण गर्न बढी चनाखो देखिन्छन्। उनले रचना गरेका मध्ये बहरबद्ध गजल एउटा मात्र पाइएको छ भने अन्य सबै गजलहरू नेपालीमा प्रचलित गिति लयमा छन्। उनका शृङ्गारिक गजलहरू कोमल शब्दद्वारा सुललित बनेका छन्। वर्णहरूको पनि एकरूपता र उचित संयोजनले गर्दा उनका ती गजलहरू बढी गेय छन्।

गजल मुख्यतः गाउनका लागि नै लेखिन्छ तर नेपाली गजलहरू गाउनका लागि उपयुक्त छैनन् भन्नेहरूको सङ्ख्या पनि धेरै छ। यस्तो अवस्थामा प्राञ्जलका गजलहरूमा लय, चेतनाको मूल्याङ्कन गर्दै ललिजन रावल लेख्छन् –‘‘गजलमा लयलाई आत्मसाथ गर्न नसकेर लयहीन गजल लेखिरहेका गजलकारका बीच रवि प्राञ्जल लययुक्त गजल लेखिरहेका छन्। नेपाली गजलको पुनर्जागरण कालपछिका मौखिक पहिचान बोकेका एक प्रतिभाशाली गजलकारका रूपामा रवि प्राञ्जल सुपरिचित छन्’’।

हिजो सम्म तिम्रो पालि, आज मेरो पालि।

सुकेको यो पालुवामा चढ्यो हरियाली ॥ (गजल १६)

यसरी प्राञ्जलका गजलमा लयात्मकताको प्रभाव निकै देखिन्छ। तसर्थ गजल लेख्ने क्रममा लयलाई आत्मसाथ गर्दै गजल लेखेका छन्। त्यसो हुनाले प्राञ्जल लययुक्त गजल लेख्ने गजलकार हुन्।

देशप्रेमी गजलकार[सम्पादन गर्ने]

देशमा जब शासनसत्ताको लागि झगडा गर्ने नेताहरूलाई सुरक्षाका निम्ति खटिएका देशका जनताहरूले सधैँ मर्का मात्र पाइरहेका छन्। उनीहरूले आफ्नो देश राम्रो होस् र देशको व्यवस्थाबाट सबै खुसी रहुन् भन्ने आशा राख्छन्। तर ती नेताहरू आफ्नो स्वार्थ पूरा भएपछि जनतालाई हेर्दा पनि हेर्दैनन्।

रिट्ठे दाइ र कुम्ले बाको भोट बिर्सियौ कि ?

माटो छोइ गरेको अठोट बिर्सियौ कि ? (गजल ४९)

गजल मार्फत देश प्रतिको जिम्वेवारी बहन गर्न प्राञ्जल पछि परेका छैनन्।

व्यङ्ग्यात्मक प्रस्तुति[सम्पादन गर्ने]

पूर्वीय साहित्य शास्त्रानुसार व्यञ्जनाले युक्त रचनालाई व्यङ्ग्य भनिन्छ। प्राचीन परिभाषानुसार पाठक वा दर्शकले अनुभूतिगर्ने अर्थ नै व्यङ्ग्य हो तर समसामयिक अर्थमा भने व्यङ्ग्यले नीति नियमको पालना नगर्ने, भ्रष्टाचारमा लिप्त, स्वार्थपूर्तिका लागि मरिमेट्ने शासक र सामाजिक रूपमा बदनाम व्यक्तिहरूलाई साहित्यमार्फत् कटाक्ष गर्नु, उसको शैलीप्रतिको कलात्मक विद्रोह गर्नु र यस्ता कुकार्य न दोहो-याउन सचेत बनाउनुलाई व्यङ्ग्य भनिन्छ। सन्दर्भ अनुकूलका बिम्ब र प्रतीकको प्रयोग गरी आलङ्कारिक ढङ्गबाट व्यक्ति वा प्रवृत्तिप्रति व्यङ्ग्य गर्न भने कुनै पनि व्यङ्ग्य गजल चुकेका छैनन्। उनले आफ्नो रचनामार्फत् व्यक्तिलाई, समाजलाई, परम्परालाई, रुढीवादलाई, अन्धविश्वासलाई र भ्रष्टाचारलगायतका दुष्प्रवृत्तिलाई व्यङ्ग्य गरेका छन्। व्यङ्ग्यले पूर्ण यो गजललाई हेर्न सकिन्छ –

पानी सरी पिइरह्यौ पसिना यो हाम्रो,

अझै पनि मुख तिम्रो तीतो भएन कि ? (गजल ३७)

समाज र देश प्रति खेलवाड गर्ने न एताका न उताका (नेता) भनाउदाहरूलाई हाम्रो पसिना खाईसक्दा पनि अझै पेट भरिएन? मुख तीतो भएन? भन्दै व्यङ्ग्य गरेका छन्। यही प्रसंगको उनको अर्को गजल यस्तो छ-

प्रजातन्त्र आ छ,

जे गरे नि भा छ। (गजल २०)

प्रजातन्त्र आयो भन्दैमा तथानाम गर्दै हिड्नेहरू प्रतिको व्यङ्ग्य यो सेरमा प्रस्तुत भएको छ।यसरी सरसर्ती हेर्दा पनि प्राञ्जललाई व्यङ्ग्यले भरिपूर्ण गजल लेख्ने गजलकारका रूपमा लिन सकिन्छ।

शृङ्गारिक गजलकार[सम्पादन गर्ने]

गजल शब्दको चलनचल्तीको अर्थ प्रेमिकासँगको वार्तालाप हो। नेपाली भाषामा गजललेखन सुरु हुँदा प्रेमिकासँगको वार्तालाप अर्थात् शृङ्गारिकताले पूर्ण रूपामा आश्रय पायो र अहिले पनि गजलमा शृङ्गारिकता हुनुपर्छ भन्नेहरूको उपस्थिति बाक्लै छ र गजल भन्ने बित्तिकै शृङ्गारिकता र विलासिता हो भनेर नाक खुम्च्याउने प्रगतिवादीहरू निकै छन्। यो परिस्थितिमा धेरै जसो रचनामा प्राञ्जलले शृङ्गारिकता पूर्ण रूपले नभए तापनि केही अंशका रूपमा प्रस्तुत सङ्ग्रहमा देखिन्छन्। रवि प्राञ्जलका गजलमा श्लील र शिष्ट शृङ्गारिक अभिव्यक्ति देखिन्छ। क्षुद्र शब्द र उत्ताउलो अभिव्यक्ति नभएका उनको गजलहरूमा संयमित शृङ्गारिक भाव पाइन्छ।उनले शृङ्गारिक भावले गजललाई चखिलो बनाएका छन् भने त्यही समाजको एक न एक पक्षको उद्घाटन गरी गजललाई मार्मिक पनि बनाएका छन्। प्रेमिका संगको बिछोडमा बेदनाले पनि सिस्नुले झैँ पोल्ने गरेको बियोग शृङ्गार रहेको यो गजलको सेर हेरौँ –

सियो जस्तै सम्झनाले घोचिरहन्छ यो मन।

सिस्नु सरी बेदनाले पोलिरहन्छ यो मन ॥

यसरी रवि प्राञ्जलका गजलमा शिष्ट शृङ्गारिकता पाइन्छ।समाजदेखि देखावटी प्रेमभन्दा पनि भावनात्मक प्रेम राम्रो हुन्छ र देखावटी प्रेमभन्दा भावनात्मक प्रेम सदियौ सम्म जीवित रहन्छ भन्ने कुरा गजलमा पाइन्छ। प्राञ्जलको गजलसङ्ग्रहमा शृङ्गारिकता व्यङ्ग्यभावमा प्रस्तुत भएको देखिन्छ। उनको शृङ्गारिकताले भरिपूर्ण गजल निकै रोचक देखिन्छन्। त्यसकारण शृङ्गारिक गजलकारका रूपमा पनि प्राञ्जललाई लिन सकिन्छ।

निष्कर्ष[सम्पादन गर्ने]

समाजका कुशक वक्ता बनेर साहित्य लेख्ने अनि समाजमा रहेका तिता मिठा यथार्थलाई टपक्क टिपेर प्रस्तुत गर्ने गजलकार रवि प्राञ्जल नेपाली साहित्यको पारिचहित नाम हो। खास गरी कविको संस्कार, दार्शनिक पक्ष, परिवेश, समाज, व्यक्तिगत जीवन र जीवनसम्बद्ध विचारहरू उनका रचनामा प्रतिबिम्बित भएका हुन्छन्। ती प्रतिबिम्बित कुराहरू र तिनले उजागर गर्न खोजेको पक्षलाई नै कृतिको विशेषता अथवा कृतित्व भनिन्छ। यसै आधारमा माथिका बूँदाहरूमा रहेका कृतित्वको चर्चा गरियो। उक्त बूँदाका अतिरिक्त पनि रविका कृतिका विशेषताहरू छन्। एउटै सानो रचनाद्वारा पनि धेरै विषयवस्तुको उजागर गर्न सक्नु नै साहित्यको विशेषता हो। यसर्थमा भन्नुपर्दा प्राञ्जलका कृतिले पनि समाजमा धेरै पक्षका आवाज उठाएका छन्।

कुनै पनि कृत्रिमता, अनुकरणात्मकता, पछ्यौटेपना जस्ता कुराहरूलाई नपछ्याएर आफ्नै विशिष्ट पहिचान सहित अभिव्यक्त भावना प्राञ्जलका कृतिमा पाइने विशिष्ट पक्ष हो। विधागत सिद्धान्तको पालना गरिकन रचना गरिएका हुनाले सबैखाले रचनामा परिष्कृत मीठास पाइनु प्राञ्जलका कृतिहरूको अर्को विशेषता हो। लयात्मकता, गेयात्मकता, अलङ्कार बिम्बप्रतीकको समुचित र स्वाभाविक प्रयोग अनि आन्तरिक भावसंरचनाका आधारमा अत्यन्त आह्लादकारी लाग्नु उनका कृतिका छुट्टै विशेषता हुन्।

वस्तुतः विकृति र विसङ्गतिको विरोध, सुधारको प्रयास, अन्याय, अत्याचार, शोषण र दमनप्रति विद्रोह, नयाँ युग र परिवर्तनको पक्षधरता, असहाय वर्गप्रति सहानुभूति, अन्धविश्वासप्रति तीब्र आलोचना, राजनीतिक दुरावस्था र कुर्सीको खिचातानीप्रति तीब्र असन्तुष्टि, सिद्धान्त र नैतिकताको विचलनप्रति व्यङ्ग्य, निराशाप्रति घृणा, जीवनप्रति पूर्ण आशावादिता, काव्यिक संरचनामा सचेतता, छन्द, अलङ्कार, बिम्बप्रतीक आदिको समुचित प्रयोगधर्मिताजस्ता कुराहरू नै रवि प्राञ्जलका कृतिगत वैशिष्ट्य हुन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]