रस सम्प्रदाय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रस-सिद्धान्तका आदि प्रवर्तक आचार्य भरतमुनिद्वारा प्रणीत नाट्यसूत्रका परवर्ती व्याख्याता र आचार्हरूले चारवटा रस-सिद्धान्तहरूलाई विकसित गरे। ती हुन्- उत्पत्तिवाद, अनुमितिवाद, भुक्तिवाद र अभिव्यक्तिवाद। आचार्य भरतमुनिको सूत्र- विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पत्तिःमा प्रयुक्त निष्पत्ति शब्दको चारवटा भिन्नभिन्न व्याख्या गर्ने व्याख्याताहरू क्रमशः भट्टलोल्लट(उत्पत्तिवाद),श्रीशङ्कुक(अनुमितिवाद), भट्टनायक(भुक्तिवाद) र अभिनवगुप्त(अभिव्यक्तिवाद) हुन्।


आचार्य भट्टलोल्लट[सम्पादन गर्ने]

आचार्य अभिनवगुप्तले अभिनवभारतीनामक ग्रन्थमा भट्ट लोल्लटको उल्लेख भरतमुनिको नाट्यसूत्रको आदरणीय टीकाकार आचार्यका रूपमा गरेको पाइन्छ। यिनको जन्मकाल तथा ग्रन्थ आदि अप्राप्य छन्। अभिनवभारती, ध्वन्यालोक आदिमा यीसँग सम्बन्धित केही फुटकर विचारहरू प्राप्त हुन्छन्, जुन विचारबाट यिनको विद्वत्ता र सिद्धान्तका बारेमा जानकारी प्राप्त हुन्छ। काव्यप्रकाश नामक ग्रन्थको सङ्केत टीका र श्रीशङ्कुक आदि आचार्यद्वारा यिनको खण्डन गरिएको हुँदा यी श्रीशङ्कुकभन्दा पूववर्ती हुन् भन्ने अनुमान गर्न सकिन्छ। श्रीशङ्कुकको समय ईश्वी सन् ८५० मानिन्छ, त्यसैले यिनको समय पनि त्यसै बिन्दुको छेउछाउ अर्थात् नवौं शताव्दीका प्रथम चरणतिर ठहरिन्छ। यी काश्मीरका थिए।

भरतमुनिको रसपरक सिद्धान्तको व्याख्या गर्ने सर्वप्रथम विद्वान् भट्टलोल्लट नै हुन्। रसनिष्पत्तिका बारेमा यिनको स्वतन्त्र मत साहित्यजगत्मा प्रख्यात छ। यी मीमांसक र अभिधावादी थिए। यिनको मतमा शब्दको प्रत्येक अर्थको प्रतिपत्ति अभिधाबाट ठीक त्यसरी नै हुन्छ, जसरी एउटै बाणले कवचलाई छेड्दै शरीरभित्र प्रवेश गरी प्राण हरण गर्दछ। यिनको दृष्टिमा महाकाव्यको मुख्य रस र त्यसका विभिन्न अङ्गमा पूर्ण सामञ्जस्य हुनु आवश्यक छ। यी रसको स्थिति रामादि अनुकार्य पात्रहरूमा हुन्छ भन्दछन्, नटहरू र सहृदयहरूमा हुँदैन भन्दछन्। औचित्यसमर्थक आचार्यहरूमा यिनको महत्वपूर्ण स्थान छ। यिनको कथनानुसार अर्थसमुदायको अन्त्य हुँदैन, तर काव्यमा रसपूर्ण अर्थको निबन्ध हुन्छ, नीरसको होइन। कुनै पनि सरस वर्णनमा यदि प्राकृत रससँग सामञ्जस्य छैन वा राख्दैन भने त्यसको विस्तार गर्ने आवश्यकता छैन भन्छन्, यिनी। महाकाव्यमा यमक र चित्रकाव्यको निबन्धन कविको अभिमानको परिचायक हुनसक्छ, त्यसले काव्यको मुख्य रसको अभिव्यञ्जना गर्दैन।

अलङ्कार सम्प्रदायका अर्का अनुयायी आचार्य उद्भटले भरतमुनिद्वारा निर्दिष्ट स्थायीभाव, विभाव, अनुभाव र व्यभिचारीजस्ता चारवटा वृत्तिभन्दा भिन्न न्यायवृत्ति, अन्यायवृत्ति, र फलवृत्तिको प्रतिपादन गरेको प्रसङ्ग उल्लेख गर्दै भट्टलोल्लटले उद्भटको तीव्र आलोचना गर्दै उनीद्वारा निरूपित न्यायवृत्ति, अन्यायवृत्ति, र फलवृत्तिलाई स्वीकारेको देखिंदैन र उनको त्यस व्याख्यालाई कल्पनामात्र ठहर्याउँदछन्। यिनले शकलीगर्भ नामक नाट्यशास्त्रका अर्का आचार्यको पनि खण्डन गरेका छन्। शकलीगर्भले उद्भटका तीनवटा वृत्तिको त खण्डन गरेका छन् तर भरतमुनिको वृत्ति चतुष्टयीलाई मान्दै "आत्मसंवित्ति" नामको एउटा पाँचौं वृत्तिको सिर्जना गरेका छन्।

भट्ट लोल्लटका तीनवटा पद्यलाई राजशेखर, हेमचन्द्र तथा नमिसाधुले उद्धृत गरेका छन्, जुन पद्य औचित्यविचारका दृष्टिले महत्वपूर्ण मानिन्छन्। राजशेखरले यी पद्यलाई काव्यमीमांसामा इति आपराजिति: यदाह भनी भट्टलोल्लटलाई आपराजितिको नामले उद्धृत गरेका छन् र हेमचन्द्रले काव्यानुशासनमा यिनैमध्ये दुई पद्य उद्धृत गरी भट्टलोल्लटकै नामको सङ्केत गरेका छन्। यसबाट के थाहा पाइन्छ भने यिनको एउटा नाम आपराजिति पनि थियो। सम्भवत: यी अपराजितका पुत्र थिए। ध्वन्यालोकको टीकामा यिनलाई प्रभाकर भनिएको पाइन्छ - भाट्टं प्राभाकरं वैयाकरणं च पक्षं सूचयति

उत्पत्तिवाद ( आचार्य भट्टलोल्लटको रससूत्रसम्बद्ध व्याख्या)[सम्पादन गर्ने]

आचार्य भट्टलोल्लटको रससूत्रसम्बद्ध व्याख्यालाई उत्पत्तिवाद भन्ने गरिन्छ। आचार्य भट्टलोल्लटले आचार्य भरतका उपर्युक्त सूत्रमा आएको संयोग शब्दको तीन किसिमका अर्थ पहिल्याएका छन् - विभावको संयोगले उत्पाद्य-उत्पादक सम्बन्ध, अनुभावको संयोगले गम्य-गमक भाव सम्बन्ध र व्यभिचारी भावको संयोगले पोष्य-पोषक भाव सम्बन्ध। यी तीनैवटा अर्थका सन्दर्भमा निष्पत्ति शब्दको पनि तीनवटै अर्थ बताइएको छ - स्थायिभावहरूसँग विभावहरूको संयोग हुँदा उत्पाद्य-उत्पादक भाव सम्बन्धद्वारा रसको निष्पत्ति अर्थात उत्पत्ति हुन्छ, अनुभावहरूको संयोग हुँदा गम्य-गमक भावको सम्बन्ध हुने हुँदा रसको निष्पत्ति अर्थात् प्रतीति हुन्छ र व्यभिचारी भावहरूको संयोग हुँदा पोष्य-पोषक भावको सम्बन्धबाट रस-निष्पत्ति अर्थात् रसको पुष्टि हुन्छ। यसलाई तलको तालिकामा स्पष्ट्याइएको छ-

(१) स्थायिभाव र विभाव - उत्पाद्य-उत्पादक सम्बन्धद्वारा रसको उत्पत्ति

(२) स्थायिभाव र अनुभाव - गम्य-गमक सम्बन्धद्वारा रसको प्रतीति

(३) स्थायिभाव र व्यभिचारिभाव - पोष्य-पोषक सम्बन्धद्वारा रसको पुष्टि

आचार्य मम्मटले आचार्य भट्टलोल्लटको मत सङ्क्षेपमा यसरी उल्लेख गरेका छन् –

विभावैर्ललनोद्यानादिभिरालम्बनोद्दीपनकारणैः रत्यादिको भावो जनितः, अनुभावैः कटाक्षभुजाक्षेपप्रभृतिभिः कार्यैः प्रतीतियोग्यः कृतः, व्यभिचारिभिर्निर्वेदादिभिः सहकारिभिरूपचितो मुख्यया वृत्त्या रामादावनुकार्ये तद्रूपतानुसन्धानान्नर्त्तकेSपि प्रतीयमानो रस इति भट्टलोल्लटप्रभृतयः। अर्थात् भट्टलोल्लट आदि आचार्य-अनुसार ललना (स्त्री-यहाँ नायिका) आलम्बन विभाव एवं उद्यान आदि उद्दीपन विभावहरूका कारण रति आदि उत्पन्न हुन्छ, भाव, कटाक्ष, भुजाक्षेप आदि कार्यभूत अनुभावहरूबाट प्रतीति योग्य र सहकारी-रूप निर्वेद आदि व्यभिचारीभावद्वारा पुष्ट गरिएको, मुख्य रूपले अनुकार्यरूप राम आदिमा र तिनको रूपको अनुकरण गर्नाले नटमा प्रतीयमान (रति आदि स्थायीभाव) रस निष्पन्न हुन्छ।

उपर्युक्त विवरणका आधारमा आचार्य भट्टलोल्लटको यस मतका विषयमा निम्नलिखित कुराहरू स्थापित हुन पुग्छ :-

१. विभावलाई रति आदि स्थायी भावहरू सक्रिय तुल्याउने कारण मानिएको छ।

२. अनुभावलाई कार्यभूत मानिएको छ।

३. व्यभिचारीभावलाई स्थायी भाव सक्रिय बनाउन सहायक (सहकारी) भनिएको छ।

४. स्थायीभावको विभावसँग उत्पाद्य-उत्पादक सम्बन्ध, अनुभावसँग गम्य-गमक सम्बन्ध र व्यभिचारी भावसँग पोष्य-पोषक सम्बन्धद्वारा रसको उत्पत्ति, प्रतीति र पुष्टि हुन्छ।

५. त्यस रसको उत्पत्ति, प्रतीति और पुष्टि अनुकार्यरूप राम आदिमा हुन्छ, राम आदिको अनुकरण गर्नाले नट(अभिनेता)मा रस प्रतीयमान (आरोपित) हुने गर्दछ।

आचार्य भट्टलोल्लट एकजना मीमासंक हुन्, त्यसैले यहाँ यसलाई यदि उत्तर-मीमांसा (वेदान्त)का दृष्टिले अवलोकन गर्ने हो भने डोरीमा सर्पको भ्रम उत्पन्न हुनाले सर्पको अभावमा पनि सर्पको प्रतीतिले भय स्थायीभावको उत्पत्ति हुन्छ। यसरी नै राम आदिको अभिनय गर्ने नट (अभिनेता)को अभिनयलाई देखेर तिनमा राम आदिको भावको आरोपण हुनाले भावक(पाठक, दर्शक, श्रोता आदि सामाजिक)मा रसको उत्पत्ति, प्रतीति र पुष्टि हुन्छ।

आचार्य श्रीशङ्कुक[सम्पादन गर्ने]

आचार्य श्रीशङ्कुकले रसको उपस्थिति सहृदय वा सामाजिकमा हुन्छ भनी प्रमाणित गरेका छन्। राजतरङ्गिणी नामक ग्रन्थमा उल्लेख भएअनुसार श्रीशङ्कुक पनि काश्मीरी विद्वान् थिए र अजितापीडनामक राजको शासनकालमा यी विद्यमान थिए। यी न्याय दर्शनका आचार्य हुन्। यिनले भुवनाभ्युदय नामक महाकाव्यको रचना गरेका थिए, जसमा मम्मट र उत्पलको भयङ्कर युद्धको वर्णन गरेका छन्, जुन युद्धमा मारिएका योद्धाहरूको शवले वितस्ता नदीको प्रवाह रोकिएको प्रसङ्ग उल्लेख गरिएको छ। राजतरंगिणीका रचनाकारले यिनलाई कवि बुधमन: सिन्धुशशाङ्क: भनेका छन्। श्रीशङ्कुकको समय ईश्वीसन् ८५० तिर मानिन्छ। शार्ङ्गधरपद्धतिजल्हणको सूक्तिमुक्तावलीमा श्रीशङ्कुकलाई मयूरको पुत्र भनिएको छ। विक्रमादित्यका सभाका नवरत्नहरूमा पनि एउटा शङ्कु वा शङ्कुक नाम प्राप्त हुन्छ, तर यी दुबै नाम भरत नाट्यशास्त्रका व्याख्याता, रसनिरूपणमा अनुमितिवादका प्रतिष्ठापक एवं भुवनाभ्युदय महाकाव्यका रचयिता श्रीशङ्कुक होइनन् फरक हुन्।

अनुमितिवाद ( आचार्य श्रीशङ्कुकको रससूत्रसम्बद्ध व्याख्या)[सम्पादन गर्ने]

श्रीशङ्कुक भरतमुनिको नाट्यशास्त्रका अर्का विशिष्ट व्याख्याता हुन्। हुन त यिनको व्याख्या मूल रूपमा प्राप्त छैन, तर अभिनवभारतीमा त्यसको उल्लेख छ। भरतमुनिको रससूत्रलाई यिनले जुन व्याख्या गरेका छन् त्यो अनुमितिवाद नामले प्रसिद्ध छ। सहृदयमा रसानुभव नमान्ने सिद्धान्त भट्ट लोल्लटको उत्पत्तिवादको खण्डन यिनैले सर्वप्रथम गरेका हुन्। यी नटमा राम आदिको चित्रतुरग न्यायको माध्यमबाट रसलाई अनुमेय (अनुमान द्वारा बोध्य) मान्दछन्। यिनले विभाव आदि साधन र रसरूप साध्यमा अनुमाप्यअनुमापक भावको कल्पना गरेका छन् र रसको आस्वादन अनुमान द्वारा अनुमेय वा अनुमितिगम्य बताएका छन्। यिनले रसको उपस्थिति सहृदय वा भावक (पाठक, दर्शक, श्रोता आदि सामाजिक)मा हुन्छ भन्ने मानेका छन्। चित्रतुरगादि न्यायबमोजिम यिनले गरेको विवेचनाअनुसार नट साँच्चै राम त होइन, त्यो त चित्रमा अङ्कित घोडा जस्तै हो। जसरी घोडाको चित्रलाई देखेर त्यसको अनुभव हुन्छ, त्यसरी नै नटको अभिनयात्मक रूपलाई देखेर सहृदयमा अनुभूति हुन्छ।

यिनको सिद्धान्तका आधारमा रसका सम्बन्धमा निम्नलिखित तथ्य उपस्थित हुन्छ -

चित्रतुरग न्यायको अर्थ हुन्छ - घोडाको चित्रलाई देखेर घोडाको अनुमान गर्नु। यी अनुमानगत प्रतीतिलाई न सत्य भन्न सकिन्छ, न मिथ्या, न संशयग्रस्त र न सादृश्यरूपी नै मान्न सकिन्छ। त्यसैले यस प्रतीतिलाई ती चारवटा बुद्धिगत सम्यक, मिथ्या, संशय र सादृश्य प्रतीतिहरूभन्दा भिन्न र विलक्षण भनिएको हो। यसरी नै नट (अभिनेता)मा रामादि बुद्धि सम्यक, मिथ्या, संशय र सादृश्यभन्दा बाहेक बेग्लै हुन्छ। यसअतिरिक्त अनुमितिवादमा राम-सीता आदि विभावको अनुभाव र व्यभिचारी भावको संयोगले नटादिको अभिनयले लिङ्गादिको अनुमान हुन्छ, तर ती लिङ्गादि यथार्थ हुंदैनन् र न त स्मित, कटाक्ष आदि अनुभाव नै बास्तविक हुन्छन्। अर्थात् चित्रतुरगन्यायका आधारमा सीता-रामरूपी नटमा यथार्थ स्मित, कटाक्ष आदि छैन, जसरी यथार्थरूपमा साक्षात् राम-सीतामा थियो होला। यी सबै कृत्रिम हुन्। त्यसैले यसरी एउटा अनुमानित रसको प्रतीति हुन्छ। यिनी नाटयशास्त्रको सूत्रमा प्रयुक्त संयोग शब्दको अर्थ गम्य-गमक भाव-सम्बन्ध मान्दछन्। उक्त अनुमानित रसको प्रतीतिको आधार पनि भावक हुँदैन, तर भावकलाई केवल त्यसको अनुमान हुन्छ। सामान्यतया अनुमानादि प्रमाणबाट हुने ज्ञान परोक्षज्ञान मानिन्छ, किनभने प्रत्यक्ष प्रमाणद्वारा नै अपरोक्षको प्रतीति हुन्छ। तर रसको अनुमान अन्य अनुमानभन्दा भिन्न र अपरोक्ष हुन्छ। त्यसै कारणले त्यस अनुमित रसलाई भावकले आस्वादन गर्दछ। यिनको भावकले गर्ने रसास्वादनसम्बद्ध धारणा भावकको वासना र रस-प्रतीतिमा विलक्षण अपरोक्ष कल्पना हो, किनभने अनुमानित रस न त कृत्रिम रामादि नटहरूमा हुन्छ र न त भावकमा, यो त वासनाको कारणले भावकले त्यसको अनुमान गर्दछ।

आचार्य भट्टनायक[सम्पादन गर्ने]

आचार्य भट्टनायक मूलतः मीमांसक हुन् र यिनको समय ईशाको दसौं शताब्दी मानिन्छ। यी आनन्दवर्द्धनभन्दा पछिका हुन्। काव्यशास्त्रमा यिनको एउटा मात्र ग्रन्थ ‘हृदयदर्पण’ छ, तर त्यो पनि अनुपलब्ध छ। यी ध्वनि-सम्प्रदायका कट्टर विरोधी हुन्। एउटा मीमांसकका निमित्त वेद नै परम प्रमाण हो र उसका लागि सबै किसिमको अर्थ अभिधार्थमा नै अन्तर्भाव हुन्छ। त्यसैले आचार्य आनन्दवर्द्धनद्वारा ‘ध्वन्यालोक’मा प्रतिपादित ध्वनिसिद्धान्त अति नै सशक्त ढङ्गले यिनले आफ्नो पुस्तक हृदयदर्पणमा विरोध गरेका छन्। जबकि यिनको मतको खण्डन आचार्य अभिनवगुप्तले ध्वन्यालोकमा लोचननामक टीका लेख्दा त्यति नै सशक्त रूपले गरेको देखिन्छ। यस तथ्यबाट थाहा पाइन्छ, आचार्य भट्टनायक आचार्य अभिनवगुप्तभन्दा पहिलेका हुन्। ईशाको एघारौं शताब्दीका आचार्य महिमभट्ट पनि आचार्य भट्टनायक जस्तै एक जना मीमांसक थिए। उनले आफ्नो ग्रन्थ व्यक्तिविवेकमा आचार्य भट्टनायकद्वारा रचित हृदयदर्पण प्राप्त गर्न नसकेको पीडाको उल्लेख गरेका छन्। उनी भन्दछन् - अहिलेसम्म हृदयदर्पण नामक ग्रन्थलाई देख्दै नदेखी मेरी बुद्धिरूपी नायिका अलङ्कार सज्जामा लागेकी छ, यसले कसरी थाहा पाओस् अलङ्कार सज्जामा कुनै दोष छ वा छैन?, अर्थात् उक्त ग्रन्थको अभावमा मेरो आफ्नो ग्रन्थ व्यक्तिविवेकमा भएका कमजोरी कसरी पत्तो पाउने होला। उक्त विवरणबाट एघारौं शताब्दीअघि नै हृदयदर्पण अनुपलब्ध छ वा कारणवश व्यक्तिविवेककार आचार्य महिमभट्टले यो ग्रन्थ फेला पार्न सकेनन्। हुन त यीभन्दा पहिला कै आचार्य अभिनवगुप्तले हृदयदर्पणको अध्ययन गर्ने अनुकूलता प्राप्त गरेका थिए, नत्र उनीबाट आचार्य भट्टनायकद्वारा प्रतिपादित सिद्धान्तको खण्डन हुनेथिएन। हृदयदर्पण ध्वनिविरोधी सिद्धान्त र रसनिष्पति सम्बन्धी सिद्धान्तको अधिकारिक ग्रन्थ मानिन्छ। यी दुईवटै विषयमा आचार्य भट्टनायकको दृष्टिकोण नौलो थियो। त्यसो त आचार्य अभिनवगुप्तले यिनका ध्वनिविरोधी सिद्धान्तको ध्वन्यालोकको लोचन टीकामा र रसनिष्पत्तिसम्बद्ध सिद्धान्तको आचार्य भरतमुनिको नाट्यशास्त्रको टीका अभिनवभारतीमा जोडदार ढङ्गले खण्डन गरेका छन्। काव्यप्रकाशकार आचार्य मम्मटले पनि आचार्य भट्टनायकको मतलाई आदरपूर्वक उल्लेख गरेका छन्।

आचार्य भट्टनायकको रसनिष्पत्ति सम्बन्धी सिद्धान्तको उल्लेख आचार्य मम्मटले आफ्नो काव्यप्रकाशमा गरेका छन्। भट्टनायकको मतमा व्यापार तीन किसिमको हुन्छ – अभिधा व्यापार, भावकत्व व्यापार र भोजकत्व व्यापार। अभिधा व्यापारबाट काव्यको सामान्य अर्थको ज्ञान हुन्छ, भावकत्व व्यापारबाट सीता-राम आदिको स्वरूपको साधारणीकरण हुन्छ र भोजकत्वव्यापारबाट भावक(पाठक, दर्शक वा श्रोता)लाई रसको अनुभूति हुन्छ। आचार्य भट्टनायकको यस सिद्धान्तलाई प्रतिपादन गर्ने दुईवटा श्लोकहररू आचार्य जयरथद्वारा गरिएको आचार्य रूप्यकको अलङ्कारसर्वस्वनामक ग्रन्थको टीकामा र आचार्य हेमचन्द्रद्वारा लिखित काव्यनुशासनविवेक नामक टीकामा उद्धृत गरिएको छ। ती दुईवटा श्लोक हुन् -

अभिधा भावना चान्या तद्भोगीकृतिरेव च।

अभिधाधामतां याँदै शब्दार्थालङ्कृती ततः।।

भावनाभाव्य एषोऽपि शृंगारादिगणो मतः।

तद्भोगीकृतिरूपेण व्याप्यते सिद्धिमान्नरः।।

भुक्तिवाद ( आचार्य भट्टनायकको रससूत्रसम्बद्ध व्याख्या)[सम्पादन गर्ने]

आचार्य भट्टनायक द्वारा प्रतिपादित रसानुभूतिको सिद्धान्त अतीव महत्वपूर्ण छ। यिनी रसलाई परब्रह्मानन्द स्वादतुल्य मान्दछन्- अभिधातो द्वितीयेनांशेन भावकत्वव्यापारेण भाव्यमानो रसोSनुभवस्मृत्यादिविलक्षणेन रजस्तमोनुवेध वैचित्र्यबलाद्धृदिविस्तारविकासलक्षणेन सत्त्वोद्रेकः स्वप्रकाशानन्दमयनिजसंविद्विश्रांतिलक्षणेन परब्रह्मास्वादसविधेन भोगेन परं भुज्यते इति। उनले साङ्ख्यदर्शनका आधारमा रसानुभूतिको जुन मार्गलाई प्रतिपादन गरे त्यसलाई पूर्वीय काव्यशास्त्रमा भुक्तिवादको संज्ञा दिइएको छ। साङ्ख्यदर्शन-अनुसार सुख र दुख अन्तःकरण (मन, बुद्धि, चित्त र अहंकार)का विषय हुन्, आत्माको होइन। व्यक्तिको चित्तको आफ्नो अन्तःकरणसित सम्बन्ध हुनेहुनाले त्यसलाई सुख, दुख आदिको अनुभूति उपाधिगत रूपले प्राप्त हुन्छ। त्यसरी नै दर्शकमा उपस्थित नहुने रसलाई, उसले आफू स्वयंलाई रसको भोक्ता ठान्दछ। यसै कारण यिनको यस मतलाई भुक्तिवाद भनिएको हो। उनका मतमा रसको निष्पत्ति न त अनुकार्य (अनुकरणीय) राम आदिमा हुन्छ र न अनुकर्त्ता नट (अभिनेता) आदिमा, यी दुबै पक्ष तटस्थ र उदासीन हुन्छन्, अतएव रसको अनुभूति तिनलाई हुँदैन, रसको अनुभूति त केवल भावक(पाठक, दर्शक वा श्रोता)लाई मात्र हुन्छ। जबकि आचार्य भट्टलोल्लटको मतमा रसको अनुभूति मुख्यरूपले तटस्थ राम आदिमा र गौण रूपले तटस्थ नट आदिमा हुन्छ, तर भावक (पाठक, दर्शक वा श्रोता) रसानुभूतिरहित हुन्छ। त्यसैले भट्टलोल्लटको उत्पत्तिवादमा यस किसिमको विसंगति प्राप्त हुन्छ। उता आचार्य श्रीशङ्कुक तटस्थ नट आदिमा रसको अनुमान द्वारा प्रतीति र संस्कारवश (वासनाका कारण) भावक(पाठक, दर्शक वा श्रोता)द्वारा त्यसको आस्वादन हुने बताउँदछन्।

आचार्य भट्टनायक आफ्नो सिद्धान्त भुक्तिवाद स्थापनाका क्रममा शब्दको अभिधा र लक्षणा शक्ति व्यापारका अतिरिक्त भावकत्वभोजकत्व नामका अन्य दुईवटा व्यापारलाई पनि मान्दछन्। उनको मत छ - नायक-नायिकाको प्रेमकथाको सम्बन्ध व्यक्तिविशेषसँग हुन्छ, त्यसैले अभिधा र लक्षणा शक्तिबाट निस्कने अर्थ शब्दको भावकत्व शक्तिद्वारा परिष्कृत भएर भावक(पाठक, दर्शक वा श्रोता)का लागि भोजकत्व शक्ति वा व्यापारका माध्यमले उपभोग्य हुन्छ। अर्को शब्दमा भावकत्व शक्तिबाट काव्यार्थ वा रसको साधारणीकरण हुन्छ र भोजकत्व व्यापारबाट त्यसको आस्वादन भावक(पाठक, दर्शक वा श्रोता)लाई हुन्छ। काव्यप्रकाशमा आचार्य भट्टनायकका मतलाई उल्लेख गर्दै आचार्य मम्मट लेख्दछन्- न ताटस्थ्येन नात्मगतत्वेन रसः प्रतीयते, नोत्पदयते, नाभिव्यज्यते अपितु काव्ये नाट्य चाभिधातो द्वितीयेन विभावादिसाधारणीकरणात्मना भावकत्वव्यापारेण भाव्यमानः स्थायी, सत्त्वोद्रेक-प्रकाशानन्दमयसंविद्विश्रान्तिसतत्त्वेन भोगेन भुज्यते इति भट्टनायकः।

आचार्य भट्टनायकले एउटै वाक्यमा आफ्ना पूर्ववर्ती आचार्यहरू भट्टलोल्लट तथा श्रीशङ्कुक र समसामयिक आचार्य अभिनवगुप्त तीनैजनाको मतलाई न प्रतीति हुन्छ, न उत्पत्ति हुन्छ र न अभिव्यक्ति नै हुन्छ भनेर खण्डन गरेका छन्। यिनको मतानुसार रस केवल अनुभूतिस्वरूप हो। काव्य अथवा नाटकमा अभिधा तथा लक्षणाभन्दा भिन्न विभावादिको साधारणीकरण-स्वरूप भावकत्व नामक व्यापारद्वारा साधारणीकृत स्थायीभाव सत्त्वोद्रेकद्वारा प्रकाश र आनन्दमय अनुभूतिसमान संविदविश्रान्तियुक्त(आफ्नो चेतनत्व र बोधले विश्राम लिएको अवस्था) हुनाले भोग द्वारा आस्वाद्य हुन्छ। अर्को शब्दमा शब्दको अभिधा व्यापारबाट भावक(पाठक, दर्शक वा श्रोता)ले अर्थ बुझ्दछ र आफूसामु प्रस्तुत भएको प्रसङ्गको विशेष स्थितिको ज्ञान हासिल गर्दछ, भावकत्व व्यापारद्वारा विभावादिको साधारणीकरण हुन्छ, जसबाट भावको पात्रगत-बोध समाप्त हुन्छ, भावक(पाठक, दर्शक वा श्रोता)को मनोवृत्ति वा वासना प्रस्तुत विभावादिका कारण निर्वैयक्तिक हुन जान्छ, अर्थात आलम्बन र उद्दीपनको दर्शक वा पाठकको व्यक्तिगत अनुभूतिमा तादात्म्य हुन जानाले त्यसको वैयक्तिक भावना समाप्त हुन पुग्छ। यसरी विभावादि साधारणीकरण हुँदा भावक(पाठक, दर्शक वा श्रोता)मा तमोगुण र रजोगुण शान्त हुन पुग्छ, अनि उसमा सत्त्वको उद्रेक हुन्छ, जसबाट ऊ प्रकाशयुक्त र आनन्दयुक्त भएर रसको अनुभूति गर्दछ। यही भोजकत्वको स्थिति हो।

आचार्य अभिनवगुप्त[सम्पादन गर्ने]

अभिनवगुप्तको जन्म भारतको कश्मीरमा ईशाको दसौं शताब्दीको मध्यभागमा भएको थियो (लगभग ९५० ई.देखि ९६० ई.का बीचमा)। यिनले अफ्नो मूल निवास र परिवार आदिका विषयमा ’तन्त्रलोक’ नामक ग्रन्थमा केही विवरण उल्लेख गरेका छन्। जसअनुसार यिनका पूर्वज गंगा र यमुनाको मध्यवर्ती क्षेत्र कान्यकुब्ज( हालको भारत, उत्तरप्रदेशको कन्नौज)का निवासी थिए। यिनको जन्मभन्दा २०० वर्ष पहिले अविगुप्त नामक एकजना अत्यन्त प्रसिद्ध विद्वान् कन्नौजका तत्कालीन राजा यशोवर्माका राज्याश्रित थिए। कश्मीर नरेश ललितादित्यले कन्नौजका अधिपति यशोवर्मालाई पराजित गरे र अविगुप्तलाई ठूला आदरका साथ आफ्नो राज्य कश्मीर लिएर गए र भौतिक सुखसुविधा प्रदान गरेर सम्मनित गरे। यिनै अविगुप्तका वंशमा आचार्य अभिनवगुप्तको जन्म भएको थियो। यिनी बाल्यकालमा निकै बाठा र चञ्चल थिए। यिनी आफ्ना सहपाठीलाई असाध्यै दुःख दिन्थे। यिनको यस प्रवृत्तिका कारण यिनका गुरूले यिनको नाम अभिनव गुप्तपाद राखी दिएका थिए। अभिनवगुप्तस्य कृतिः सेयं यस्योदिता गुरूभिराख्या। गुप्तपादको अर्थ सर्प हुन्छ। यिनको जीवन त्यति सुखमय देखिंदैन। बाल्यावस्थामा नै यिनले मातृवियोग सहनु पर्यो, जुन पीडा यिनले लामो समयसम्म सम्झिए। आमाको वात्सल्यबाट वञ्चित भएको केही समयपछि यिनका पिताले पनि सन्यास ग्रहण गरे। मातापिता दुबैजनाको वियोगले यिनको जीवनको दिशा नै परिवर्तित भयो, परिणामतः साहित्यका सरस विषयमा अनासक्त भई शिवभक्ति र दर्शनशास्त्रको अध्ययनमा उनी प्रवृत्त भए। उनले आजीवन ब्रह्मचर्य व्रतको पालन गरे र उनको जीवनको अन्त्य पनि तिनको कठिन साधनाअनुरूप नै भयो। अन्तिम समयमा ती कश्मीरमा श्रीनगर र गुलमार्गका माझमा पर्ने भैरव नामक नदीका किनारमा मगम नामक स्थानमा बसे। यहाँको वातावरण र प्रकृति धेरै रमणीय थियो। आफ्नो अन्तिम समयमा यिनले त्यहाँ रहेको प्रसिद्ध भैरव गुफामा प्रवेश गरे, त्यसपछि यिनी बाहिर निस्किएर आएनन्, त्यस महायात्रामा यिनका १२०० शिष्य यिनीसँगै थिए।

अभिनवगुप्तको कुल आफ्नो विद्या, विद्वता र तान्त्रिक साधनाका निमित्त कश्मीरमा निकै प्रसिद्ध थियो। यिनको पितामहको नाम वराहगुप्त र पिताको नरसिंहगुप्त थियो। यिनका पितालाई चुखुल वा चुखुलक पनि भनिन्थ्यो, यो उनको घरायसी नाम थियो। अभिनवगुप्तमा ज्ञानको तीव्र पिपासा थियो, ज्ञानतृप्तिका निमित्त यिनले कश्मीरबाहिर जालन्धरको यात्रा गरे र त्यहाँ अर्धत्र्यम्बक मतका प्रधान आचार्य शम्भुनाथसित कौलिक मतका सिद्धान्त र उपासनातत्त्वको अनुशीलन गरे। उनले आफ्ना गुरूको नाम निर्देशन त गरेका छैनन् तर तिनीहरूसँग अध्ययन गरेका शास्त्रको चाहिँ उलेख गरेका छन्। यिनले व्याकरणको अध्ययन आफ्ना नरसिंहगुप्तसित, ब्रह्मविद्याको भूतिराजसित, क्रम र त्रिक्दर्शनको लक्ष्मणगुप्तसित, ध्वनिको भट्टेन्द्रराजसित एवं नाट्यशास्त्रको अध्ययन भट्टतोत (वा भट्टतौत) सित गरेको प्रसङ्ग बताएका छन्। यिनले आफ्ना गुरूको सङ्ख्या बीससम्म पुर्याएको देखिन्छ।

अभिनवगुप्त तन्त्रशास्त्र, साहित्य र दर्शनका प्रौढ आचार्य थिए र यी तीनवटै विषयमा यिनले ५० वटाभन्दा पनि धेरै मौलिक ग्रन्थ, टीका र स्तोत्रको रचना गरेको देखिन्छ। अभिरुचिको आधारमा यिनको सुदीर्घ जीवन तीन कालखण्डमा विभाजन गर्न सकिन्छ। जीवनको प्रारम्भमा अभिनवगुप्तले तन्त्रशास्त्रको गहन अनुशीलन गरे र उपलब्ध प्राचीन तन्त्रग्रन्थका आधारमा यिनले अद्वैतपरक व्याख्या गरी जनमानसमा व्याप्त भ्रान्त सिद्धान्तलाई निराकरण गर्न सफल भए। यिनको अध्ययनको मध्य बिन्दु आलङ्कारिक काल हो। अलङ्कारग्रन्थको अनुशीलन र प्रणयन यस समयावधिको वैशिष्ट्य हो। यस कालखण्डमा उनका तीनवटा प्रौढ रचनाहरू उपलब्ध छन्- काव्यकौतुकविवरण, ध्वन्यालोकलोचन र अभिनवभारती। काव्यकौतुक अभिनवगुप्तका नाट्यशास्त्रका गुरू भट्टतौतको अनुपलब्ध प्रख्यात कृति हो, जसको विवरण पनि सङ्केतित मात्र छ, उपलब्ध छैन। लोचन आनन्दवर्द्धनको ध्वन्यालोकको प्रौढ व्याख्यानग्रन्थ हो र अभिनवभारती, भरतमुनिको नाट्यशास्त्रको पूर्ण ग्रन्थको पाण्डित्यपूर्ण व्याख्या हो। यो नाट्यशास्त्रको एउटामात्र टीका हो। अभिनवगुप्तको जीवनको उत्तरार्द्ध काल उनको पाण्डित्यको उत्कर्षको युग हो, यसलाई उनको दार्शनि अवधारणाको युग मानिन्छ। अभिनवगुप्तको व्यक्तित्व असाध्यै रहस्यमय मानिन्छ। यिनले रससिद्धान्तको मनोवैज्ञानिक व्याख्या (अभिव्यञ्जनावाद) गरेर अलङ्कारशास्त्रलाई दर्शनको उच्चता दिलाए।

अभिव्यक्तिवाद (आचार्य अभिनवगुप्तको रससूत्रसम्बद्ध व्याख्या)[सम्पादन गर्ने]

अभिव्यक्तिवादलाई अभिव्यञ्जनावाद पनि भनिन्छ, यो आचार्य अभिनवगुप्तको मत हो। यद्यपि यस मतको उठान आचार्य भट्टनायकको मत भुक्तिवादसँगसँगै भएको मानिन्छ, किनभने यी दुबैले एकअर्काका मतको खण्डनमण्डन गरेका छन्। यसरी अभिनवगुप्त र भट्टनायक दुबैजना समकालिक हुन् भन्ने अनुमान पनि गर्न सकिन्छ। आचार्य अभिनवगुप्त दार्शनिक र साहित्यप्रेमी दुबै थिए। यिनले अभिव्यक्तिवाद आचार्य आनन्दवर्द्धनको सिद्धान्त ध्वनिलाई आधार मानेर प्रतिस्ठापित गरेका हुन्। हुन त यसको निष्पत्तिका सन्दर्भमा अभिव्यक्ति शब्द यिनले आचार्य भरतमुनिको नाट्यशास्त्रबाट नै ग्रहण गरेका हुन्- एवमेते काव्यरसाभिव्यक्तिहेतवः एकोनपञ्चाशद्भावाः प्रत्यवगन्तव्याः एभ्यश्च सामान्यगुणयोगेन रसाः निष्पद्यन्ते।

आचार्य अभिनवगुप्तका अनुसार दर्शक वा पाठकका अन्तःकरणमा रहेको स्थायीभाव नै रसानुभूतिको साधन हो, किनभने मनको संवेग वा वासना रति आदि स्थायीभाव संस्कार रूपमा भावक(दर्शक, श्रोता वा पाठक)को अन्तर्वृत्तिमा रहने गर्दछ। त्यही स्थायीभाव विभावादिको उपस्थितिमा साधारणीकृत हुन गई सक्रिय हुन्छ, जसबाट भावक(दर्शक, श्रोता वा पाठक)ले रसको आस्वादन वा अनुभव गर्दछ। उनले नाट्यसूत्रको अभिनवभारती' नामक आफ्नो टीकामा रसोत्पत्तिका विवेचनाको केन्द्र भावक(दर्शक, श्रोता वा पाठक)को रसानुभूति नै हो भन्ने मानेका छन्। उनले आचार्य भट्टनायकद्वारा प्रयुक्त दुई व्यापार(भावकत्व र भोजकत्व) लाई काल्पनिक मान्दै तिनको प्रामाणिकतामा प्रश्नचिह्न तेर्स्याएका छन्। काव्यप्रकाशमा आचार्य अभिनवगुप्तको मतलाई यी शब्दमा अभिव्यक्ति गरिएको छ - लोकमा प्रमदा आदिबाट स्थायीभावको अनुमानमा निपुण सहृदयको, काव्य तथा नाटकमा कारणत्व आदि छोडेर विभावन आदि व्यापारले युक्त हुनाले विभावादि शब्दद्वारा व्यवहार्य तिनै (प्रमदा आदि रूप कारण, कार्य, सहकारी)बाट यो मेरै हो वा शत्रुको नै होवा तटस्थको नै हो अथवा यो मेरो नै होइन, न शत्रुकै होन तटस्थकै हो आदि सम्बन्धविशेषको स्वीकार वा परिहार गर्ने निश्चय गरिनुको कारण साधारण रूपले प्रतीत हुने विभावादिबाट नै अभिव्यक्त हुने र सामाजिक(भावक : दर्शक, श्रोता वा पाठक)मा वासना रूपमा अवस्थित रति आदि स्थायीभाव प्रमातृभावमा अवस्थित भएर पनि साधारण उपायको बलले त्यसै वेला परिमित प्रमातृभाव नष्ट हुन जानाले वेद्यान्तरको सम्पर्कद्वारा शून्य र अपरिमित प्रमातृभाव जसमा उदित भएकोछ, त्यस्तो सामाजिक(भावक : दर्शक, श्रोता वा पाठक)द्वारा समस्त भावकका साथ समान ढङ्गले आत्मतुल्य अभिन्न हुँदाहुँदै पनि, आस्वादको विषय भएर, केवल आस्वादस्वरूप, विभावादिको उपस्थिति पर्यन्त रहने, पानकरसन्यायबमोजिम आस्वाद्यमान, साक्षात् प्रतीत भए झैं, हृदयमा प्रतीत भए झैं, समस्त अंगलाई आलिङ्गन गर्दो झैं, अन्य सबै वस्तुलाई तिरोभूत गर्दो झैं, ब्रह्म-साक्षात्कारकै अनुभव गराउँदो झैं अलौकिक चमत्कृति उत्पन्न गर्ने श्रृङ्गारादि रस हुने गर्दछ।(लोके प्रमदादिभिः स्थाय्यनुमानेSभ्यासपाटववतां काव्ये नाट्ये च तैरेव कारणत्वादिपरिहारेण विभावनादिव्यापारत्त्वादलौकिकविभादिशब्दव्यावहार्य्यैर्ममैवैते, शत्रोरेवैते, तटस्थस्यैवैते, न ममैवैते, न शत्रोरेवैते, न तटस्थस्यैवैते, इति सम्बन्धविशेषस्वीकारपरिहारनियमानध्यवसायात् सादारण्येन प्रतीतैरभि- व्यक्तः सामाजिकानां वासनात्मकतया स्थितः स्थायी रत्यादिको नियतप्रमातृगतत्वेन स्थितोSपि साधारणोपायबलात् तत्कालविगलितपरिमितप्रमातृभाववशोन्मिषितवेद्यान्तरसम्पर्कशून्यापरिमितभावेन प्रमात्रा सकलसहृदयसंवादभाजा साधारण्येन स्वाकार इवाभिन्नोSपि गोचरीकृतश्चर्व्यमाणतैकप्राणः, विभावादिजीवितावधिः, पानकरसन्यायेन चर्व्यमाणः पुर इव परिस्फुरन्, हृदयमिवप्रविशन्, सर्वाङ्गीणमिवालिङ्गन्, अन्त्यसर्वमिव तिरोदधद्, ब्रह्मास्वादमिवानुभावयन्,)

आचार्य मम्मटले आचार्य अभिनवगुप्तको उक्त मताङ्कित नाट्यसूत्रको टीका अभिनवभारतीबाट जस्ताको तस्तै उद्धृत गरेका छन्। आचार्य अभिनवगुप्तका उद्धृत यी विचार संश्लिष्ट छन्। यी भोजकत्वलाई रसको स्वभाव मान्दछन् र भावकत्वलाई भावको विशेषता, आचार्य भरतमुनिका अनुसार काव्यको अर्थलाई प्रकट गर्ने तत्त्व भाव हो (काव्यार्थान् भावयन्ति इति भावाः)। यसकारण भावकत्व र भोजकत्व व्यापारको कल्पनालाई अभिनवगुप्त सङ्गतिपूर्ण मान्दैनन्। आचार्य अभिनवगुप्तको प्रस्तुत अभिव्यक्तिवाद वा अभिव्यञ्जनावादबाट निम्न तथ्य उजागर हुन्छ -

१. यी शब्दको अर्थप्रकाशन र साधारणीकरणको मूल कारण व्यञ्जनाको विभावना व्यापारलाई र रसलाई व्यङ्ग्य मान्दछन्।

२. स्थायीभाव व्यङ्ग्य हो र विभावादि व्यङ्जक हो, त्यस्तै व्यञ्जक-व्यङ्ग्य सम्बन्ध नै यिनको संयोग हो।

३. व्यञ्जनाको विभावना व्यापारबाट विभाव र स्थायीभावको साधारणीकरण हुन्छ, साधारणीकरण र सामाजिक(भावक : दर्शक, श्रोता वा पाठक)का अन्तःकरणस्थित वासनाको संवाद हुन्छ, अर्थात नायक आदि अनुकार्यको भावले सहृदय वा सामाजिक(भावक : दर्शक, श्रोता वा पाठक)का अन्तःकरणमा स्थित वासनारूपी भावलाई जागृत तुल्याउँदछ।

४. उपर्युक्त अवस्थामा सामाजिक(भावक : दर्शक, श्रोता वा पाठक)को सुषुप्त स्थायीभाव निर्वैयक्तिक हुन पुग्नाले ब्रह्मको आस्वादनतुल्य आनन्दलाई आस्वादन गर्न सक्षम हुन्छ।

५. यस्तो अलौकिक चमत्कार उत्पन्न गर्ने श्रृङ्गारादि रस हो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]