रस (काव्य शास्त्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


विषय प्रवेश[सम्पादन गर्ने]

[१] एउटा प्रसिद्ध वैदिक सूक्ति छ - रसौ वै स:। अर्थात् ती परमात्मा नै रसरूपी आनन्द हुन्। रस संस्कृत भाषाको 'रस्' धातुमा 'अ'प्रत्यय गाँसिएर व्युत्पन्न शब्द हो। यसको व्युत्पत्तिगत अर्थ स्वाद ग्रहण गर मिल्ने पदार्थ तत्त्व हो। रसक प्रायोगिक क्षेत्र विविध छन्, दार्शनिक सन्दर्भमा विभिन्न किसिमले रस प्रयुक्त हुन्छ, त्यहाँ यसलाई पदार्थको गुणका रूपमा प्रयोग गरिएको पाइन्छ, आयुर्वेदमा रसलाई अमिलो, पिरो, तीतो, टर्रो, गुलियो नुनिलो आदि छ किसिमका स्वादका रूपमा चर्चा गरिन्छ, व्यावहारिक परिप्रेक्ष्यमा रुचि र सन्तुष्टिका सन्दर्भमा यसको प्रयोग हुन्छ भने खाद्यपदार्थका प्रसङ्गमा झोलिलो तरल पदार्थको द्योतन रसले गर्दछ। यी विभिन्न प्रायोगिक सन्दर्भमा रसको प्रयोग भए पनि यो विशेषतः साहित्यिक सन्दर्भमा बढी प्रयुक्त छ।

रस, छन्द, अलङ्कार, ध्वनि अदि पूर्वीय काव्यशास्त्रका अनिवार्य र निर्विकल्प अवयव हुन् । काव्य चिन्तनको पूर्वीय परम्परामा रस सिद्धान्त सर्वाधिक चर्चित र पुरानो सिद्धान्त मानिन्छ। वेदमा ब्रह्मको चर्चाका क्रममा रस सब्दको उल्लेख गरिए तापनि, राजशेखर, कृतिधर आदि केही आचार्यले नन्दीकेशरबाट रसको आविश्कार भएको भने तापनि रसका आधिकारिक र प्रामाणिक अधिष्ठाता भरतमुनि हुन्। उनले नाट्यशास्त्रको विवेचनाका क्रममा व्यक्त गरेको रससूत्र नै रस सिद्धान्तको आधारतत्त्व हो। श्रव्यकाव्य पढ्दा वा सुन्दा एवं दृश्यकाव्य हेर्दा वा सुन्दा जुन अलौकिक आनन्द प्राप्त हुन्छ, त्यसैलाई काव्यमा रस भन्ने गरिन्छ। रसद्वारा जुन भावको अनुभूति हुनपुग्छ त्यसलाई रसको स्थायीभाव भन्ने गरिन्छ। रसको अर्थ हो - निचोड, सारतत्त्व वा मुख्यभाव। काव्यमा जुन आनन्द प्राप्ति हुन्छ, बास्तवमा त्यही नै काव्यको रस हो। काव्य रसास्वादनबाट प्राप्त आनन्द अर्थात् रस लौकिक नभएर अलौकिक वा आत्मिक हुन्छ। रस पूर्वानुभूति होइन, यो त तात्कालिक अनुभव हो। यद्यपि काव्य, नाटक वा सिनेमामा प्रस्तुत हुने विषयवस्तुको जानकारी पहिले नै हुनसक्छ, ज्ञात वा देखेसुनेको हुनसक्छ, तैपनि काव्य, नाटक वा सिनेमा हेर्दा केही नौलोपनको आभास र अनुभूति हुन्छ, नयाँ आस्वादनले पुराना अनुभूति हराउँदै जान्छ, तात्कालिक अनुभूतिमात्र चरममा पुगे झैं लाग्दछ। रसको यही अपूर्व रूप अप्रमेय र अनिर्वचनीय मानिन्छ। रस काव्यको आत्मा हो र रसिलो वाक्य नै काव्य हो [२]। रमणीय र आलङ्कारिक कव्यत्वको अनुभूति जसले मानव हृदयमा कुनै न कुनै भावलाई वा संवेदनालाई जागृत गराउन सक्छ त्यो नै रस हो। अथवा, भनौं साहित्यबाट प्राप्त हुने मानसिक सन्तुष्टिको नाम नै रस हो। रस अन्त:करणको त्यो शक्ति हो, जसका बलले इन्द्रियहरू क्रियाशील हुन्छन्, मनले कल्पना गर्दछ, स्वप्नका अनुभूति स्मृतिका रूपमा जीवन्त रहन्छन्। रस आनन्दको प्रतीक हो र यही आनन्द नै विशालताको र विराटपनको अनुभव पनि हो। यो आनन्द नै अन्य समस्त अनुभवको अतिक्रमण पनि हो। व्यक्तिविशेष इन्द्रिय-संयम हुनसक्छ र ऊ विषयविमुख पनि बन्न सक्छ, तर उसले ती विषयप्रतिका भाव पन्साउन सक्दैन। रसका रूपमा जुन वस्तुको निष्पत्ति हुन्छ, त्यही बास्तवमा भाव हो। रसानुभूति भएपछि भाव रहंदैन, केवल रसमात्र शेष रहन्छ, भावना रूपान्तरित हुन्छ।

साहित्यमा शास्त्रीय रूपमा रसको विवेचना गर्ने प्रथम आचार्य भरतमुनि(ईशाको दोस्रो शताब्दी )लाई मानिन्छ। उनले काव्यको आवश्यक तत्वक रूपमा रसको प्रतिष्ठा गर्दै श्रृङ्गार, हास्य, रौद्र, करुण, वीर, अद्भुत, बीभत्स र भयानक आदि आठवटा भेदलाई स्पष्टतः उल्लेख गरेका छन् तथा विद्वानहरू उनैले शान्त नामक नवौं रसलाई पनि स्वीकृति दिएको बताउँदछन्। यिनै हुन्- नवरस। उनले आफ्नो नाट्यशास्त्रमा रसोत्पत्ति विषयको चर्चालाई यसरी सूत्रबद्ध गरेको पाइन्छ-विभाव, अनुभाव र सञ्चारीभावको संयोगले यी विभिन्न रसको निष्पत्ति हुन्छ। हृदयको स्थायीभावले विभाव, अनुभाव र सञ्चारीभावको संयोग प्राप्त गर्दा रस रूप निष्पन्न हुन्छ। [३]। त्यसैले रसका चारवटा अङ्ग मानिन्छन्- स्थायीभाव, विभाव, अनुभाव र सञ्चारीभाव। प्रत्येक रसको स्थायी भाव बेग्लाबेग्लै छ। त्यसैको विभावादि संयोगले परिपूर्ण हुने निर्विघ्न-प्रतीति-ग्राह्य अवस्थालाई नै रस भनिन्छ। श्रृङ्गारको स्थायीभाव रति, हास्यको स्थायीभाव हास, रौद्रको स्थायीभाव क्रोध, करुणको स्थायीभाव शोक, वीरको स्थायीभाव उत्साह, अद्भुतको स्थायीभाव विस्मय, बीभत्सको स्थायीभाव जुगुप्सा, भयानकको स्थायीभाव भय तथा शान्तको स्थायीभाव शम वा निर्वेद मानिन्छ। भरतले आठवटा रसका देवता क्रमश: विष्णु, प्रमथ, रुद्र, यमराज, इन्द्र, ब्रह्मा, महाकाल तथा कालदेवलाई मानेका छन् र शान्त रसका देवता नारायण बताइन्छ। यस सूत्रको व्याख्या बुझ्न स्थायीभाव, विभाव, अनुभाव र व्यभिच्री भावको जानकारी हुनु आवश्यक छ।

स्थायीभाव[सम्पादन गर्ने]

भावनाको भण्डार मनमा अनगिन्ती संवेगात्मक भावहरू अनुभव, वासना एवं संस्कारका रूपमा सँगालिएका हुन्छन्। यी भावहरू धेरैजसो सुसुप्त अवस्थामा रहेका हुन्छन्। जुन भावहरू स्थायी रूपमा मनलाई आबद्ध गरेर रहेका हुन्छन्, ती स्थायी हुन्। अर्को शब्दमा सहृदयको अन्त:करणमा जुन मनोविकार वासना वा संस्कारका रूपमा सधैं रहिरहन्छ, जुन कहिल्यै दमित हुँदैन, त्यसैलाई स्थायीभाव भन्दछन्। स्थायीभाव मानवमनमा बीजका रूपमा चिरकालसम्म स्थिर र अविचलित भएर बसेको हुन्छ। यसलाई संस्कार अथवा भावनाको द्योतक मानिन्छ। स्थयीभाव यति समर्थ र बलियो हुन्छ, यसले अन्य भावलाई आफूमा विलीन गर्दछ। विशेषतः काव्य पढ्दा अथवा नाटक वा चलचित्र हेर्दा पाठक र दर्शकमा एक किसिमको आनन्दको अनुभव पनि हुन्छ। यही भाव रसरूपमा परिणत भएको हुन्छ। त्यही स्थायी भाव नै रस हो। भरतमुनिले स्थायीभावलाई आठवटा मानेका छन् भने उत्तरवर्ती धेरैजसो विद्वानहरूले यसलाई नौ वटा हुन्छ भनेका छन्। कालन्तरमा भक्ति र वात्सल्यलाई पनि छुट्टै रसका रूपमा मान्नेहरूले स्थायीभावलाई ११ वटासम्म पुर्याएको देखिन्छ। ती एघारवटा स्थायी भाव हुन्- रति, हास, शोक, उत्साह, क्रोध, भय, जुगुप्सा, विस्मय, निर्वेद, वात्सल्य और ईश्वर विषयक प्रेम।

विभाव[सम्पादन गर्ने]

भावहरूलाई उत्पन्न गर्ने अथवा बिउँझाउने सामग्रीलाई विभाव भनिन्छ। विभावको अर्थ हो, कारण। यसले स्थायीभावलाई आस्वाद्य तुल्याउँदछ। विभावलाई रसको उत्पत्तिमा आधारभूत तत्त्वका रूपमा लिइन्छ। विभाव दुई किसिमका हुन्छन्- आलम्बन विभाव र उद्दीपन विभाव। आलम्बन विभाव - जुन मुख्य भाव वा वस्तुका कारणले भावको उद्गम हुन्छ त्यसलाई आलम्बन भनिन्छ, वा जुन वस्तु देखेर त्यससम्बन्धी भावहरू उत्पन्न हुन्छन्, त्यस वस्तुलाई आलम्बन विभाव भन्दछन्। यस अन्तर्गत विषय र आश्रय पर्दछन्। चरित्र वा पात्रप्रति कुनै पात्रको भाव जागृत हुनुलाई विषय र जुन पात्रमा भाव जागृत हुन्छ त्यसलाई आश्रय भनिन्छ। उद्दीपन विभाव - स्थायी भावलाई जागरुकता प्रदान गर्ने सहायक कारणलाई उद्दीपन विभाव भनिन्छ। उदाहरणका रूपमा वीर रसको स्थायीभाव उत्साहका निम्ति सामुन्ने उभिएको शत्रु आलम्बन विभाव हो भने शत्रुसंगै रहने सेना व मतियार,युद्धका सरसामग्री, बाजगाजा, शत्रुका क्रियाकलाप दर्पोक्ति, गर्जना, तर्जना, शस्त्र संचालन आदि उद्दीपन विभाव हुन्। जुन कुरा देखेर व सुनेर भावहरू झन् उत्तेजित हुन पुग्छन्, त्यो उद्दीपन विभाव हो। त्यस्तै रामायणको कथामा रामका लागि सीता आलम्बन हुन् भने सीतसँग वनविहार अथवा खेलवाड गरेका ठाउँहरू र उनलाई सम्झाउने अन्य साधनहरू पनि शोक स्थायीभावका उद्दीपन हुन्। उद्दीपन विभाव पनि आलम्बनगत (विषयगत) र बाह्य (बर्हिगत) गरी दुई किसिमका हुन्छन्।

अनुभाव[सम्पादन गर्ने]

आलम्बन र उद्दीपन सामग्रीले भावको अनुभव भएपछि देखापर्ने चेष्टादि कार्यहरू अनुभाव हुन्, अथवा रति, हास, शोक आदि स्थायीभावलाई प्रकाशित वा व्यक्त गर्न लगाउने आश्रयको चेष्टा नै अनुभाव हो। यो चेष्टा भावजागृतिपछि आश्रयमा उत्पन्न हुने गर्दछ, त्यसैले यसलाई अनुभाव भनिएको हो। जुन वस्तुले भावको अनुगमन गर्दछ त्यसैको नाम हो, अनुभाव । आलम्बन एवं उद्दीपनका माध्यमबाट आ-आफ्ना कारणले उत्पन्न, भावलाई बाह्य रूपमा प्रकाशित गराउने जेजस्ता चेष्टाहरू हुन्छन्, तिनैलाई काव्य, नाटक आदिमा निबद्ध अनुभाव भन्ने गरिन्छ। जस्तै - विरहबाट व्याकुल नायकद्वारा सुँकसुँक्क गर्नु, मिलनका अवसरमा आँसु, पसिना, रोमाञ्चकता, अनुराग आदि उपस्थित हुनु, रिसाउँदा (क्रोध जागृत हुँदा) हातहतियार चलाउनु, कठोर वचन बोल्नु, आँखा राताराता पार्नु आदिलाई अनुभाव भन्दछन्। इच्छित र अनिच्छित गरी अनुभाव दुई किसिमको हुन्छ। इच्छित अनुभावलाई साधारण अनुभाव वा बाह्य अनुभाव र अनिच्छित अनुभावलाई सात्विक अनुभाव वा आन्तरिक अनुभाव पनि भनिन्छ। इच्छित अनुभाव चारकिसिमका(आङ्गिक, वाचिक, आहार्य र सात्विक) र अनिच्छित अनुभाव आठ किसिमका (स्तंभ, स्वेद, रोमांच, स्वरभंग, वेपथु (कम्प), वैवर्ण्य, अश्रु र प्रलय) हुन्छन्।

सञ्चारी भाव[सम्पादन गर्ने]

सञ्चारी शब्दको अर्थ हुन्छ - सँगसँगै हिंड्नु व सञ्चरणशील हुनु। सञ्चारी भाव स्थायीभावका साथमा सञ्चरित हुन्छ। सञ्चारी भावलाई व्यभिचारी भाव पनि भन्ने गरिन्छ। अनगिन्ती मनका संवेगहरू जुन क्षणक्षणमा देखिने र लोप हुने प्रवृत्तिका हुन्छन्, तिनीहरूलाई व्यभिचारी अथवा सञ्चारी भाव मानिन्छ, अथवा स्थायीभावलाई परिपुष्ट तुल्याउन थोरै समय उपस्थित भएर तुरुन्त विलुप्त हुने भावलाई व्यभिचारी भाव वा सञ्चारी भाव भन्दछन्। यिनीहरू पानीकातरङ झैं अस्थिर हुने हुनाले यिनले स्थायी भावलाई आस्वादन अवस्थामा पुर्याउन सहयोगमात्र गर्नसक्छन्। यस भावमा प्रत्येक स्थायीभावका साथमा त्यस अनुकूल भई हिंड्ने सामर्थ्य हुन्छ, त्यसैले यसलाई व्यभिचारी भाव समेत भनिएको हो। संचारी अर्थात् व्यभिचारी भाव ३३ किसिमको हुन्छ - निर्वेद, ग्लानि, शङ्का, असूया, मद, श्रम, आलस्य, दीनता, चिण्ता, मोह, स्मृति, धृति, व्रीडा, चापल्य, हर्ष, आवेग, जडता, गर्व, विषाद, औत्सुक्य, निद्रा, अपस्मार (छारेरोग), स्वप्न, प्रबोध, अमर्ष (असहनशीलता), अवहित्था (भावलाई दमन गर्नु), उग्रता, मति, व्याधि, उन्माद, मरण, त्रास र वितर्क। यसरी सामान्य रूपमा विभाव, अनुभाव र सञ्चारीभावलाई रसरूपी स्थायीभावका क्रमशः कारण, कार्य र सहकारी वा सहायक भाव मानिन्छ।

रसका प्रकार[सम्पादन गर्ने]

रसशास्त्रीहरूले मुख्यतः ९ किसिमका रसका प्रकार बताएका छन्। ती हुन्- श्रृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त।

श्रृङ्गार रस[सम्पादन गर्ने]

श्रृङ्गार रसले सबैलाई संवेदित तुल्याउन सक्दछ। त्यसैले यसलाई रसराज(रसको राजा) पनि भनिन्छ। यो स्त्रीपुरुषको पवित्र प्रेमबाट व्यक्त हुन्छ। यसलाई मुख्य रूपमा दुई किसिमको मानिएको छ - सम्भोग श्रृङ्गार र विप्रलम्भ श्रृङ्गार। यस रसको स्थायीभाव रति(परस्पर प्रेम) हो। नायकनायिका एकअर्काको रतिका निम्ति आलम्बन विभाव बन्दछन्। सम्भोग श्रृङ्गारमा एकान्त ठाउँ, कोइलीको स्वर, भोगविलासका सामग्रीहरू उद्दीपन विभाव बन्दछन् भने विप्रलम्भमा पहिले सम्भोगावस्थामा उपभोग गरिएका साधनहरू देख्नु र सम्झनु उद्दीपन विभाव बन्दछन्। सम्भोगमा प्रेमपूर्ण दृष्टि, कटाक्ष, पसिना आउनु आदि अनुभाव मानिन्छन् भने विप्रलम्भमा सम्भोगका लागि छट्पटाउनु, पिरोलिनु आदि नै अनुभाव बनेका हुन्छन्। लज्जादि सम्भोगका र उत्सुकता, चिन्ता आदि विप्रलम्भका सञ्चारी भाव हुन्। उदाहरण -

मन मिसिसकी गाला प्रीतिले टम्म जोडी

क्रमनियम दुबैले बोलीको चाल छोडी

बलपनि भलिभाँती बाहुलीले लिएछ

नसकी मनकथा त्यो रात सुत्तै गएछ॥ - [४](सम्भोग श्रृङ्गार)

आऊ प्रिये नगर बेर भनी मलाई

राखेर काखबीच हात दुबै समाई

ती लाल ओठ मुखनेर पुर्याउनु भो

लौ भन्न सक्दिन म ता अनि कुन्नी के भो ॥ - [५](सम्भोग श्रृङ्गार)

कहाँ श्री भगवान कृष्ण अधिराज् कहाँ सुदाम सखा

भक्तिले कनिका दिंदा उठिलिया कस्तो मजाको भन्या

तस्तै प्रीति सदा छ प्यारी मनमा तिम्रा उपर्मा पनि

ल्यौ ल्यौ औंठी म दिन्छु राख तिमीले मेरो निशान भनी॥ - [६](सम्भोग श्रृङ्गार)

लागे फर्कन स्वामि हेर सबका सम्झेर कान्ताकन

मेरैमात्र नफर्कने अझ पनि कस्तो कडा त्यो मन

बाटो हेर्दछु तैपनि म त सदा आए कि प्यारा भनी

पत्तै छैन कतै पनि निठुरको हा! गो त्यसै जोवनी॥ -[७](विप्रलम्भ श्रृङ्गार)

बाटो हेर्लिन् बिरह दिनका नित्य औंला गनेर

सुस्केरामैं मिरमिर हुनन् रात कोल्टो फिरेर

तिम्रै जस्तो म पनि दिनहुँ देख्छु संसारलाई

भन्ने मेरो खबर् लगिद्यौ कल्पँदी बैंसलाई ॥ - [८] (विप्रलम्भ श्रृङ्गार)

पर्खें, शब्द सुनें, बसें शयनमा लेटें, उठें, झोक्रिएँ

हेरें, मार्ग घुमें, चटक्क चुडिएँ, फर्केँ, सुकें, आत्तिएँ,

टोल्हाएँ, मनले, झलक्क समझेँ, झस्कें, कुनामा गएँ

निस्केँ, दृष्टि दिएँ, फिरें, धुरुधुरु रोएँ, म हा! के भएँ ॥ -[९] (विप्रलम्भ श्रृङ्गार)

वीर रस[सम्पादन गर्ने]

शत्रु वा प्रतिद्वन्द्वीको पराक्रम, उदारता, दानशीलताको प्रशंसा सुनेर आफूले पनि त्यस्तै कार्य गरेर यशस्वी हुने जुन उत्साह मनमा जाग्छ, त्यसबाट वीर रसको उत्पत्ति हुन्छ। यस रसको आलम्बन शत्रु वा प्रतिद्वन्द्वी हुन्छ भने युद्धदर्शन, वीरता प्रदर्शन आदि यसका उद्दीपन हुन्छन्। विपक्षीको तिरस्कार, अस्त्रप्रहार, कठोर वचन आदि यस रसका अनुभाव हुन् भने गर्व,धैर्य, रोमाञ्च आदि व्यभिचारी हुन्। उत्साह यस रसको स्थायीभाव हुन्छ। उदाहरण -

नेपाली हुँ कठिन गिरिमा चढ्नलाई सिपालु

वैरी नै होस् तर पनि म छु दिनमाथि दयालु

तातोतातो रगत रिपुको प्युन हर्दम तयार

मेरो यै नै प्रिय छ खुकुरी हेर भै होसियार ॥ [१०]

नेपालीका दिलदिल नयाँ ज्योति सल्काइदिन्छु

नौलो आशा नवरस नयाँ चाख पल्काइदिन्छु

पेली थोत्रा नियम युगको चक्र पल्टाइदिन्छु

हरो झन्डा अनि हिमचुलीमाथि झल्काइदिन्छु ॥ [११]

करुण रस[सम्पादन गर्ने]

आफ्नो प्यारो वस्तुको विनाश र अप्रिय वस्तुको प्राप्तिबाट करुण रसको उत्पत्ति हुन्छ। मनमा उर्लिएर आउनेशोक भाव नै करुण रसको स्थायी भाव हो। विनष्ट वस्तु आलम्बन र विनष्ट वस्तुको गुण र स्मरण वा स्मरण वा स्मरण गराउने चिजबिज उद्दीपन विभाव हुन्। रुनु, कराउनु आदि अनुभाव र मूर्च्छा, उन्माद, ग्लानि, चिन्ता आदि व्यभिचारी भाव भन्छन्। उदाहरण -

हाम्रा हर्ष र शोक मान, ममता, सन्तोष एकै थिए

एकै प्राण थियो र ज्यान दुईका सन्तान एकै थिए

बाँचु भिन्न भएर आज कसरी आधा मर्यो जीवनी

हाम्रो भेट हुँदैन हो कि सँगिनी धिक्कार कैल्यै पनि॥[११]

टोपी सिर्फ छ नाममात्र शिरमा जम्मै टुप्पी निस्कने

भोटो जीर्ण धुजाधुजा छ उसको छाती पिठ्युँ देखिने

धोती केवल चार अङ्गुल धरो, नङ्गा छ सर्वाङ्गमा

काम्यो लुगलुग त्यो गरीब बिचरा त्य्स्म दया गर्छ को? [१२]

हास्य रस[सम्पादन गर्ने]

अनौठा र विकृत आकार भएका चिजहरूले र अनौठा वर्णनहरूले हाम्रा मनमा एक किसिमको हांसोको भाव उत्पन्न हुन्छ, यही भाव साहित्यमा हास्य रसमा परिणत भएको हुन्छ। यस रसको स्थायीभाव हाँसो हो। अनौठा र विकृत आकार भएका चिज आलम्बन र विकृत एवं अनौठा किसिमका चेष्टाहरू उद्दीपन विभाव हुन्। हाँसो आउनु, आँखा केही चिम्लनु, मुख खुकुलिनु या विकृत हुनु आदि व्यभिचारी भाव हुन्। उदाहरण -

झुप्पा पुच्छरको पछिल्तिर ठूलो हल्लन्छ चारैतिर

खुट्टा चारवटा अनी खुर पनि लामू छ घाँटी फिर ।

खाई घाँस ऊ हग्छ आँपसरिका डल्लाहरू बर्बर

आऊ जाऊँ सबै मिलेर दगुरी त्यो जाइजाला पर॥ [१३]

कटि, कूच कसी हिंडन्या युवती

चलन्या पथमा नलजाई रति ।

सँगमा छ युवादल ओरिपरी

अमरावति कान्तिपुरी नगरी ॥ [१४]

ध्यायेत् सेतीं पहेलीं अलिअलि धमिलीं गेरु जस्तो च रातीं

नीलीं आकास जस्तीं मरकतमणिको झोल जस्तीं हरियीं

घ्याम्पा, गाग्रा र ठेकीं टिन, फटिअक, सिसीं आदिमा वास गर्दीं

गन्धाढ्यां फुर्तिमूर्तीं नवरसजननीं सम्झँदा रालभर्दीं ॥ [१५]

रौद्र रस[सम्पादन गर्ने]

शत्रुहरूको आफूप्रति अपमानजनक एवं अपराधपूर्ण क्रियाकलाप हाम्रा मनमा एक किसिमको बदलाको भाव उत्पन्न हुन्छ। त्यसलाई हामी क्रोध भन्दछौं। यही भाव रौद्र रसमा स्थायी भाव हुन्छ। यसमा शत्रु आलम्बन, उसका क्रियाकलाप उद्दीपन, राताराता आँखा बनाउनु, ओठ टोक्नु, दाह्रा किट्नु, हतियार उठाउनु आदि अनुभाव र गर्व, आवेग आदि व्यभिचारी भाव हुन्। उदाहरण-

खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्दछ

कायर पनि वीर हुन्छन्, वेग चल्छ जोसको

हाहाकार मच्छ यहाँ, पाप खुल्न थाल्दछ

एक जुगमा एक दिन एक चोटि आउँछ ॥ [१६]

भयानक रस[सम्पादन गर्ने]

भयप्रद जन्तु, घटना वा दृश्य देखेर मनमा जुन डरलाग्दो चित्तवृत्ति उत्पन्न हुन्छ, त्यसबाट भयानक रसको अभिव्यक्ति हुन्छ। भयानक जन्तु वा विषय यसको आलम्बन र भयङ्कर जन्तुका भयप्रद चेष्टा यसका उद्दीपन हुन्। गदगद स्वरले बोल्नु, पसिना काड्नु आदि यसका अनुभाव हुन् भने शङ्का, मूर्च्छा, मृत्यु आदि व्यभिचारी भाव हुन्। भय यस रसको स्थायीभाव हुन्छ। उदाहरण -

कालाग्निसरिको भयङ्कर स्वरूप् राम्को भयाथ्यो जसै

कामिन् पृथ्वि पनि भयङ्कर स्वरूप् देखिन् र राम्को तसै

रावण्का पनि चित्तमा भय पर्यो उल्का बहुतै भयो

क्या गर्छन् प्रभुले यहाँ भनी त्यहाँ सब् लोक् डराइ रह्यो ॥[१७]

रागेपाटे अतिशय ठूलो लौन नि बाघ आयो

झम्ट्यो गाई थरथर भएँ होस मेरो हरायो

कामे गोडा ढुकढुक मुटु ठाउँ नै छोड्न लाग्यो

भागौं हामी घरतिर छिटै साहिंलो फुत्त आयो ॥ [१८]

अद्भुत रस[सम्पादन गर्ने]

अलौकिक अथवा विचित्र वस्तु, दृश्य वा घटनालाई देख्दा वा सुन्दा उत्पन्न हुने विष्मयात्मक चित्तवृत्ति अद्भुत रस हो। अलौकिक वा अनौठो विषय व वस्तु यसको आलम्बन हुन्छ र त्यस अलौकिक विषय वा वस्तुको महिमा अथवा चमत्कार यसको उद्दीपन हुन्छ। पसिना, रोमाञ्च, आँखा फैलाउनु आदि यसका अनुभाव हुन् भने त्रास, जडता आदि यसका व्यभिचारी भाव हुन्। विस्मय वा आश्चर्य यस रसको स्थायीभाव हो। उदाहरण -

केही दूर् हनुमान् पुग्यापछि तहाँ एक् सिंहिका राक्षसी

छाया पक्री ऊ जन्तु खैंची बलले खान्थी जलैमा बसी

छाया पक्री ऊ तान्न लागि हनुमान् ज्युको गति बन्द भो

कस्ले बन्द गर्यो गति भनी दिशा दस्मा तसै दृष्टि गो ॥ [१७]

मुख खोलिदिँदा सब विश्व खुली

न त मट्टी मिली झलमल्ल बली

सब दिव्य चराचर छक्क परी

जननी स्तुति गर्दी भइन् विचरी ॥ [१९]

बीभत्स रस[सम्पादन गर्ने]

घृणित वस्तु वा व्यक्तिलाई देखेर उत्पन्न हुने चित्तवृत्ति बीभत्स रस हो। यसको आलम्बन दुर्गन्धित र घृणित वस्तु हुन्छ र उद्दीपन घृणालाई सम्बर्द्धित गर्ने तत्त्व हुन्छन्। थुक्नु, आँखा चिम्लनु, नाक थुन्नु आदि यसका अनुभव हुन् र आवेग, मूर्च्छा, व्याधि आदि यसका सञ्चारी भाव हुन्। घृणा यस रसको स्थायी भाव हो। उदाहरण -

खैरे कुक्कुर एक घाउ छ हरे! रोगी लुत्याहाकन

पालेको मलमा लुते पुछरको डोलाउ त्यो सज्जन

साह्रै भक्त भई, शिलाहरू खप्यो ढुङ्गामुढा बेस्सरी

फोरी खप्पर क्याक्ल्याङ् गरि पियो यो रक्त आफ्नै हरि!! [१९]

हाय! क्षतविक्षत धरा छ, रगत चुसने, हृदय लुछने

कामकै फलिफाप हुन्छ, खोइ! मानवता कहाँ छ? [१०]

शान्त रस[सम्पादन गर्ने]

शान्त रस संसार एक सपना हो, यहाँ भएका सबै प्राणी र चिजबिजहरू क्षणभङ्गुण र असार छन् भन्ने ज्ञानले हामीमा संसारप्रति एक किसिमको वितृष्णाको भाव उत्पन्न हुन्छ, यसि भावलाई निर्वेद अर्थात् वैराग्य भन्दछन्। यही वैराग्यको स्थिति नै शान्त रसमा स्थायीभाव बनेको हुन्छ। यसमा निस्सार संसार अथवा परमात्मा आलम्बन र पुण्यस्थान, तीर्थ, देवमन्दिर, साधुसज्जनको सङ्गत आदि उद्दीपन विभाव हुन्छन्। यस्ता विभावहरूबाट उत्पन्न भएको सात्विक रोमाञ्च, आँसु आदि अनुभाव र हर्ष, स्मृति, विरक्ति, पश्चात्ताप आदि सञ्चारी भाव हुन्। उदाहरण -

लायौ दृष्टि जता उतैतिर कठै! यो शृष्टि अस्पष्ट छ

पाऊ पक्ष कुनै विपक्षमय छन् चल्दा बडो कष्ट छ

खाली तर्कवितर्कका भुमरिमा घुम्दो छ यो जीवनी

मानूँ अर्जुन-भेद्ययन्त्रबिचको दुर्दर्श माछो बनी ॥ [९]

अति सुन्दर मानव जीवन यो

अझ सुन्दर पार्नु कसो गरि हो?

गरि काव्यसुधारस पान अरे

गर मानव जीवन सार्थक रे ॥ [२०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. 1प्रस्तुत लेख पिण्डेश्वर विद्यापीठको वार्षिक मुखपत्र 'प्रभा'को २०६८, चैत्र अङ्कमा प्रकाशित उप-प्राध्यापक कृष्णप्रसाद कोइरालाद्वारा लिखित रचनाको अंश हो।
  2. (वाक्यं रसात्मकं काव्यम् : विश्वनाथ)
  3. (विभावानुभावव्यभिचारिसंयोगाद्ररस निष्पत्ति: - भरतमुनि)
  4. कालीदास पराजुली
  5. राधानाथ शर्मा
  6. मोतीराम भट्ट
  7. सूक्तिसिन्धु
  8. दैवज्ञराज न्यौपाने
  9. ९.० ९.१ लेखनाथ पौड्याल
  10. १०.० १०.१ सिद्धिचरण श्रेष्ठ
  11. ११.० ११.१ माधवप्रसाद घिमिरे
  12. भीमनिधि तिवारी
  13. भवभूति:, उत्तररामचरितम्
  14. भैरव अर्याल
  15. दाताराम शर्मा
  16. गोपालप्रसाद रिमाल
  17. १७.० १७.१ भानुभक्त आचार्य
  18. मेदिनीप्रसाद शर्मा
  19. १९.० १९.१ लक्ष्मीप्रसाद देवकोटा
  20. धरणीधर कोइराला