राजेन्द्र रिजाल
राजेन्द्र रिजाल -- गीतकार
जन्म:- २०१० आषाढ २२ गते
शङ्करपुर बिराटनगर मोरङ नेपाल
बुबा:- नगेन्द्र प्रसाद रिजाल (पुर्व प्रधानमन्त्री)
आमा:- आशालता देवी रिजाल
श्रीमती:- प्रभा रिजाल
सन्तान:- ३ छोरी(श्रध्दा,आस्था र सेवा ) र १ छोरा (गजेन्द्र मोख्य रिजाल)
राजेन्द्र रिजाल बरिष्ठ नेपाली गीतकार हुन्। उनको जन्म वि.सं. २०१० आषाढ २२ गते मोरङ जिल्लाको बिराटनगर शङ्करपुरमा भएको थियो। पुर्व प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजाल र आशालता देवी रिजालका ७ सन्तान मध्य उनी माहिला छोरा हुन्। बिराटनगरमा उनलाई सबैले राम भनेर बोलाउने गर्थे। राजेन्द्रको वाल्यकालको केही समय बिराटनगरमा बित्यो। उनी ६ बर्षको हुँदा उनका आमाबुबा काठमाडौँ आएसँगै उनी पनि काठमाडौँ आए। राजेन्द्रको पारिवारिक वातावरण भने राजनीतिक थियो तर उनका बुवा उनलाई डाक्टर भएको हेर्न चाहन्थे।
उनलाई उनका आमाबुवाले अध्ययनका लागी गोदावरी स्थित सेन्ट जेभियर्स स्कूलमा भर्ना गरिदिनुभयो। उनी स्कुलको पढाईमा मध्यम वर्गका बिद्यार्थीमा पर्दथे। उनी पढ्ने स्कुलमा हरेक शुक्रबार अतिरिक्त कृयाकलाप वादविवाद, कविता वाचन, नाटकमा उनको सहभागिता राम्रै हुन्थ्यो। अतिरिक्त कृयाकलापको नाटकमा अभिनय गर्दा घाइते पनि भएका थिए, नाटकमा घोडा चढेर सन्देश दिनुपर्ने थियो। घोडा चढ्ने अभ्यास गर्दैगर्दा घोडाले लात्ती हानेर उनलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो। त्यसपछी कैंयौं दिन अस्पतालमा र महिनौ घरको ओछ्यानमा बिताएका थिए। त्यसको सिधा असर उनको पढाईमा पर्न गयो त्यसपछि उनको स्कुल पनि फेरियो। पछि उनी किर्तीपुरको ल्याव्रोटरी स्कुलमा भर्ना भए। सोही स्कुलबाट उनले वि.सं. २०२४ मा उनले प्रवेशिका परीक्षा (एसएलसी)उत्तीर्ण गरे। प्रवेशिका परीक्षा उत्तिर्ण गरेसँगै राजेन्द्र उच्च शिक्षाका लागी २०२४ सालमै दार्जिलिङ गए।
दार्जिलिङमा उनी सेन्ट जोसेफ कलेजमा भर्ना भए। उनले आर्ट्स बिषयलाई रोजेका थिए भने कलेजमा उनको भेट बरिष्ठ कलाकार निर शाह सँग भयो। एक बर्ष दार्जिलिङमा पढेर राजेन्द्र बिराटनगर फर्किए र त्यतै बसेर पढ्न थाले। पछि उनले बाँकी पढाई काठमाडौंको त्रिचन्द्र कलेजबाट पुरा गरे। कलाकार निर शाह पनि त्रिचन्द्र कलेज नै पढ्थे। दार्जिलिङमा भएको चिनजान त्रिचन्द्र कलेजमा आइपुग्दा मित्रतामा परिणत भैसकेको थियो। निर शाहको सङ्गतले राजेन्द्रको बिस्तारै गीत संगीतमा झुकाव बढ्न थाल्यो। उमेर पनि तेस्तै, युवाअवस्थामा मनमा उठेका भावहरूलाई उनले अक्षरको प्रवाहमा कापीको साधा पन्नामा उतार्न थाले। उनको लेखनबाट निर शाह पनि जानकार थिए। राजेन्द्रको लेखनबाट प्रभावित निर शाहले राजेन्द्रलाई गीत रेकर्ड गर्न सल्लाह दिए।
निर शाहको सल्लाहमा पहिलोपटक वि.सं. २०३१ सालमा सिके रसाइलीको सङ्गीत तथा मनोहर पाण्डेको स्वरमा राजेन्द्रको "पुजी देउ मेरा प्रेमका लहरहरु लाई" बोलको गीत रेडियो नेपालको स्टुडियोमा रेकर्ड भयो। गीत रेकर्ड भएर बज्न थालेसँगै राजेन्द्र रिजाल पनि गीतकारको रुपमा चिनिए । राजेन्द्र भाग्यमानी गीतकारमा पर्छन् उनको पहलो गीत तेती साह्रै नचले पनि दोस्रो गीत गाउनका लागी स्वरसम्राट नारायणगोपाल राजी भए। त्यसो त राजेन्द्र र नारायण गोपालको चिनजान गीतसङ्गीतकै क्रममा भएको थियो। राजेन्द्र नारायण गोपाललाई दाई भनेर सम्बोधन गर्दथे। उनिहरु बिच गहिरो आत्मियता थियो तर छानेर गाउने गायक नारायणगोपाल सम्बन्धको आडमा जस्तो सुकै गीत नगाउने ब्यक्तिमा पर्दथे। राजेन्द्रले गीतको बारेमा प्रष्ट्याउँदै भने आफुले रचना गरेको गीत आफ्नो वास्तविक जीवनको एउटा पाटो रहेको बताए, राजेन्द्रले उक्त गीत आफ्नो बिबाहमा जीवनसाथीलाई स्वयम्बरको माला लगाएपछि गीतको सृजना गरेका थिए। राजेन्द्रको यो कुरा सुनेपछि केही हरफ पढेर नारायण गोपाल गीत गाउन राजी भएका थिए। राजेन्द्रको शब्द सिके रसाइलीको सङ्गीत तथा नारायण गोपालको स्वरमा वि.सं. २०३२ सालमा रेकर्ड भएको उक्त गीत राजेन्द्रको जीवनमा टर्निङ प्वाइन्ट बन्न सफल भयो र गीत थियो "प्रेमको माला पहिर्याई दिएँ सम्हाली राख यसलाई"। यो गीतपछी राजेन्द्रले पछाडी फर्केर हेर्नै परेन। दोश्रो गीतबाट नै नसोचेको सफलता पाएका राजेन्द्रलाई गीत संगीतको नशा लागिसकेको थियो। उनी अझै अरु गीतहरु रेकर्ड गराउन चाहन्थे। त्यसबेला अभिनेता भुवन केसी र राजेन्द्र छिमेकी थिए। त्यतिबेला भुवन पनि गायनमा नै थिए। सहकार्य गर्ने क्रममा नै भुवनले राजेन्द्र र शम्भुजित बास्कोटाको भेट गराइदिए। शम्भुजित सँगको भेटपछि राजेन्द्र रिजालको शब्द शम्भुजित बास्कोटाको सङ्गीत र बरिष्ठ गायक दिपक खरेल प्रकाश श्रेष्ठको एउटा समुह नै बन्यो। उक्त समुहबाट थुप्रै कालजयी गीत संगीत सृजना भए। यसैबीच राजेन्द्रको शब्दमा गायक प्रकाश श्रेष्ठको जीवनको पहिलो गीत "छेकिएर छिकिन्नन् हिमालका टाकुराहरु" रेकर्ड भएको थियो। यसैक्रममा राजेन्द्रको शब्दमा अभिनेता भुवन केसीको स्वरमा "तिम्रो चिठ्ठीले" पनि रेकर्ड भयो। त्यस्तै दिपक खरेलको स्वरमा "प्रतिक्षा गर मेरी मायालु" यो गीत पनि त्यहि समयमा रेकर्ड भएको थियो ।
राजेन्द्रले एकपछि अर्काे सफल गीतहरू नेपाली सांगीतिक क्षेत्रमा पस्किरहेका थिए। जुन गीतहरुले उनको साङ्गीतिक उचाईमा एकपछि अर्काे इटा थप्ने काम भइरहेको थियो। गीतहरुको लोकप्रियता सँगै उनको शब्दहरूको माग पनि बढ्न थाल्यो। यसैबीच गायक अरूण थापा पनि राजेन्द्रको शब्दमा आफ्नो स्वर भर्न चाहान्थे। एकदिन अरुण थापा राजेन्द्रलाई भेट्न बत्तिसपुतली स्थित राजेन्द्रको घरमा पुगे। राजेन्द्र र अरुणको चिनजान पहिले नै बिराटनगरमा भएको थियो। थापाले आफ्ना लागी पनि गीत लेखिदन राजेन्द्र समक्ष अनुरोध गरे। त्यसो त राजेन्द्र पनि अरुण थापाको स्वरबाट निकै प्रभावीत थिए। राजेन्द्रले अरुणको स्वरलाई ध्यानमा राखेर एउटा गीत तयार पारे, करिब एक महिनापछि अरुण राजेन्द्रकहाँ गीत लिन आए। थापालाई राजेन्द्रको गीत खुब मन पर्याे। लोकलयमा आधारित गीत रहेकाले उनीहरुले सङ्गीतका लागी बरिष्ठ लोक गायक राम थापालाई रोजे। बिक्रम सम्बत् २०३४ सालमा रेकर्ड भएर त्यो गीत रेडियो नेपालबाट बज्न थाल्यो। राजेन्द्र रिजालको शब्द,राम थापाको सङ्गीत र अरुण थापाको स्वरमा रहेको उक्त गीत थियो "ऋतुहरुमा तिमी हरियाली बसन्त हौ" यो गीतले नचिताएको सफलता पायो। गीतकार, सङ्गितकार र गायक तिनैजनाको यो गीतले नयाँ उचाई बनाइदियो। किनभने यो गीतलाई नेपाली श्रोताहरुले अत्यधिक रुचाइदिए। बिबिसीले विश्वका उत्कृष्ठ दश गीतहरु सार्वजनिक गर्ने क्रममा यो गीत सातौँ स्थानमा पर्न सफल रहेको थियो, यो सम्पुर्ण नेपालीहरुको लागी गौरवको कुरा हो। राजेन्द्र रिजालको भनाईमा गीतकार हरुले रचना गरेका गीत केही काल्पनिक हुन्छन् त केही वास्तविक। प्रकृति प्रेमी राजेन्द्र गाउँ गाउँमा पुग्ने क्रममा कलम नचलाई बस्न सकेनन्। माया प्रेम बिछोडका गीत लेख्न खप्पिस राजेन्द्रले राष्ट्रिय प्रेमले ओतप्रोत गीत पनि लेखेका छन्। राजेन्द्रको शब्द, शम्भुजित बास्कोटाको सङ्गीत र दीपक खरेलको स्वरमा रहेको "यो कर्मभूमीको आँगनमा" बोलको गीत आज पनि उत्तिकै कालजयी छ । जसलाई नयाँ पुस्ताका गायक गायिका सन्तोष लामा र मिलन नेवार अमात्यले पुनः रेकर्ड गराएका छन्। राजेन्द्र रिजाल गीत रचनामा सङ्ख्यामा भन्दा गुणात्मकमा बिश्वास गर्छन्। गीत रचनाको सङ्ख्या बढाउने काम उनले कहिल्यै गरेनन् न त उनले प्रचारवाजी नै कहिले रुचाए। अरुण थापा स्मृति सम्मान,नारायण गोपाल स्मृति सम्मान लगायत थुप्रै पुरस्कार तथा सम्मान पाएका छन्।
केही गीतहरु ----
गीत
[सम्पादन गर्नुहोस्]- ऋतुहरुमा तिमी / राजेन्द्र रिजाल
- छेकेर छेकिन्नन् हिमालका टाकुराहरू / राजेन्द्र रिजाल
- तिम्रो घुम्टोभित्र / राजेन्द्र रिजाल
- तिम्रो चिठ्ठीले / राजेन्द्र रिजाल
- धेरै धेरै प्रयास गरेँ / राजेन्द्र रिजाल
- पुजिदेऊ मेरा प्रेमका लहरहरूलाई / राजेन्द्र रिजाल
- प्रतीक्षा गर मेरी मायालु / राजेन्द्र रिजाल
- प्रेमको माला / राजेन्द्र रिजाल
- प्रेमको मूल्य / राजेन्द्र रिजाल
- भाग्यका पानाहरू / राजेन्द्र रिजाल
- यो कर्मभूमिको आँगनमा / राजेन्द्र रिजाल
- यो बुझ्नै नसक्ने मानिस / राजेन्द्र रिजाल
- यो सफा हृदयभित्र / राजेन्द्र रिजाल