राजेश्वर देवकोटा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राजेश्वर देवकोटा (वि.सं. १९८६–२०७२) कवि, उपन्यासकार, निबन्धकार, एवम् राजनीतिक व्यक्तित्व हुन् । नेपाली साहित्यमा लामो समयसम्म क्रियाशील उपन्यासकार राजेश्वर देवकोटाका औपन्यासिक कृतिहरूका बारेमा नेपाली समालोचकहरूद्वारा अनेकौ लेख, अध्ययन र अनुसन्धान गर्ने कार्य भएका छन् । देवकोटाले कविता, निबन्ध, आधादर्जन विचार प्रधान उपन्यास र राजनीतिक लेख लेखेका भए पनि अधिकांश समीक्षकहरूले उनका उपन्यासलाई नै केन्द्र बनाएर विश्लेषण गरेका छन् तर जति उनले उपन्यासका क्षेत्रमा कलम चलाएर चर्चित हुनु पर्ने हो त्यति भएका छैनन्; उनी राजनीतिक पूर्वाग्रहका कारण राम्रा उपन्यास लेखेर पनि ओझेलमा परेका स्रष्टा रहेका छन् । विचार प्रधान उपन्यास लेख्ने र बिम्ब र प्रतीकका माध्यमबाट समाजको चित्रण गर्दै दार्शनिकता पनि अनुस्यूत गर्ने देवकोटाका उपन्यासमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ । पूर्वीय सांख्य दर्शनका कोणबाट उनका उपन्यासको विश्लेषण भएको छैन ।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म वि.सं. १९८६ सालको असोज २३ गते गोरखाको पण्डित गाउँ, लिगलिगमा पिता हरिभक्त र माता बसुन्धरा देवकोटाका पुत्रका रूपमा भएको हो। वि.सं. २००४ सालको जयतु संस्कृतम् आन्दोलनमा अगुवा भएपछि देश निकाला भए। अनि उनी राजनीतिमा प्रवेश गरे। वि.सं. २००७ सम्म राणा शासनविरुद्ध गोरखा क्षेत्रबाट नेतृत्त्व गरे। राजनीतिमा मन्त्री, सांसद्, राष्ट्रिय पञ्चायतका अध्यक्ष भए। फोक्सोको रोगबाट पीडित देवकोटाको २०७२ साल साउन २५ गते ८६ वर्षको उमेरमा बिहान साढे सात बजे बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो ।

साहित्य‍[सम्पादन गर्ने]

देवकोटाले वि.सं. २००४ मा दार्जीलिङबाट प्रकाशित हुने 'भारती'मा कविता छपाएर साहित्यमा प्रवेश गरेका हुन्। उनका लेखनहरू बालबालिका र विद्यार्थीकालागि, व्याकरण, तथा विश्वविद्यालयका पाठ्यक्रमहरूमा समावेश छन्। उनका विभिन्न पत्र-पत्रिकाहरूमा कथा, कविता, निबन्ध, लेख आदि प्रकाशित भएका छन्।

कृतिहरू[सम्पादन गर्ने]

स्नातकसम्म गरेका देवकोटाले उपन्यास, राजनीति आदिमा पुस्तकहरू लेखेका छन्। उनका कृतिहरूः
१. नेपाली व्याकरण (व्याकरण, वि.सं. २०१८)
२. असल पंचायतको लागि अनिवार्य पाठ (राजनीति, वि.सं. २०२४)
३. हाम्रा पुर्खाहरू (जीवनी, वि.सं.२०२४)साझा प्रकाशन https://ne.wikipedia.org/s/v6q
४. युगल काव्य (हास्यव्यङ्ग्य, वि.सं. २०३९)
५. आवर्तन (उपन्यास, वि.सं. २०४१)
६. द्वन्द्वको अवसान (उपन्यास, वि.सं. २०४२)
७. पूर्वकथा (उपन्यास, वि.सं. २०४३)
८. उत्सर्ग प्रेम (उपन्यास, वि.सं. २०४४)
९. एक राष्ट्रिय प्रस्ताव (राजनीति, वि.सं. २०४८)
१०. उदारवाद (राजनीति, वि.सं. २०४८)
११. उदारवाद २ (राजनीति, वि.सं. २०५४)
१२. पूर्णिमा (उपन्यास, वि.सं. २०५४)
१३. वैध क्रान्ति (राजनीति, वि.सं. २०५५)
१४. डबली (उपन्यास, वि.सं. २०५९)
१५. पाँच कथा (कथा, वि.सं. २०६७)
१६. महाराजको भूत (उपन्यास, वि.सं. २०६८)
१७. स्वन (कविता, वि.सं. २०६८)
१८. माया (स्मृतिग्रन्थ, वि.सं. २०६८)

पुरस्कार[सम्पादन गर्ने]

उत्सर्ग प्रेम नामक उपन्यास विधाको ग्रन्थका लागि मदन पुरस्कार २०४४ प्राप्त गरेका हुन्। उनले २०४३ सालमा पूर्वकथा उपन्यासका लागि साझा पुरस्कार पाए। नेपाली भाषा र साहित्यका क्षेत्रमा चिन्तनप्रधान निबन्ध, प्रबन्ध एवम् कविता र उपन्यास आदि विधामार्फत् उल्लेखनीय योगदान दिएकोमा उनलाई २०६७ सालको वेदनिधि पुरस्कार प्रदान गरिएको थियो। देवकोटाले भानु पुरस्कार पनि पाएका छन्।

विश्लेषण: भाग-१[सम्पादन गर्ने]

राजेश्वर देवकोटाको उपन्यास यात्रा र समीक्षाका बारेमा नेपाली साहित्यमा लामो समयसम्म नेपाली समालोचकहरूद्वारा अनेकौँ लेख, अध्ययन र अनुसन्धान गर्ने कार्य भएका छन् । देवकोटाले कविता, निबन्ध, आधाद दर्जन विचार प्रधान उपन्यास, र राजनीतिक लेख लेखेका भए पनि अधिकांश समीक्षकहरूले उनका उपन्यासलाई नै केन्द्र बनाएर विश्लेषण गरेका छन् तर जति उनले उपन्यासका क्षेत्रमा कलम चलाएर चर्चित हुनु पर्ने हो त्यति भएका छैनन् । उनी राजनीतिक पूर्वाग्रहका कारण राम्रा उपन्यास लेखेर पनि ओझेलमा परेका स्रष्टा रहेका छन् । विचार प्रधान उपन्यास लेख्ने र बिम्ब र प्रतीकका माध्यमबाट समाजको चित्रण गर्दै दार्शनिकता पनि अनुस्यूत गर्ने देवकोटाका उपन्यासमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ । पूर्वीय सांख्य दर्शनका कोणबाट उनका उपन्यासको विश्लेषण भएको छैन । त्यसैले प्रस्तावित शोधकार्य देवकोटाका उपन्यासमा सांख्य दर्शनको प्रभाव केलाउन केन्द्रित रहने छ । त्यसैले यस अध्ययनमा देवकोटाका उपन्यासलाई केन्द्रबिन्दु बनाएर लेखिएका सन्दर्भ कृतिहरूलाई मात्र ग्रहण गरिएको छ, जुन निम्नअनुसार रहेको छ :

सञ्जयले प्रकृति जति मात्रामा रहस्यमय र गहन छ त्यत्तिकै रूपमा त्यसलाई बुझ्न अल्पज्ञानले नसकिने विश्लेषण

आवर्तन(उपन्यास)[सम्पादन गर्ने]

उपन्यासकी सुन्दरीका माध्यमबाट अभिव्यक्त भएको बताएका छन् । प्रकृतिलाई भोग्या मान्दै प्रकृतिसँगकै उठबसले अन्य पदार्थभन्दा बढी आकर्षण भौतिक भोगविलासको साधनमा भइरहन्छ भन्ने मान्यता देवकोटाको रहेको सञ्जयको विश्लेषण छ । यस उपन्यासकी पात्र सुन्दरी प्रकृतिकै प्रतिरूप हुनाले अप्राकृतिक उपचारबाट नत उसका गोडा नै निका भएका छन् नत प्रकृतिमा आस्था नराख्ने पाँच प्रेमीहरू लोग्ने बन्न लायक हुन्छन् भन्दै सञ्जयले सुन्दरी र त्यसका प्रेमीहरूको प्रतीकात्मक औपन्यासिक स्थितिको विश्लेषण गरेका छन् । उनले पाँच प्रेमीहरूले सुन्दरीलाई रिझाउन गरेका प्रयत्न प्रकृतिका अगाडि क्षणस्थायी र नाशवान् भएको विश्लेषण गरेका छन् । सञ्जयले यस उपन्यासमा सांख्य दर्शनको प्रभाव रहेको बताएका छन् । उनले जीवन र प्रकृतिका बिच अनेक प्रश्न उत्तरित हुन बाँकी रहेका अवस्थामा त्यसतर्फको जिज्ञासा बढाउने विचारोत्तेजक उपन्यास रहेको मूल्याङ्कन गरेका छन् (सञ्जय, २०४२: १०८) ।

सञ्जयको प्रकृति गहन र रहस्यमय छ भन्ने विचार सांख्य दर्शनका कोणबाट अत्यन्तै सही विश्लेषण रहेको छ । प्रकृतिको अस्तित्व मानवको अस्तित्व रहँदासम्म मात्र सार्थक हुने उल्लेख गर्दै मानव र प्रकृतिबिच निकटतम सम्बन्ध रहेको प्रकाश पारेका छन् । प्रकृति भोग्य रहेको र त्यसको आकर्षण बढीभन्दा बढी भौतिकतासँग पनि सम्बन्धित रहेको प्रकृति र पुरुषका सन्दर्भबाट उपयुक्त विश्लेषण रहेको छ । टिपनटापन रूपमा उपन्यासको विश्लेषण गरिएको यस छोटो आलेखमा सांख्य दर्शनको प्रभावको विश्लेषण उचित ढङ्गबाट हुन सकेको छैन । त्यसैले उनको यो विश्लेषण अपूर्ण रहेको छ ।

कुमार बहादुर जोशीले देवकोटाका द्वन्द्वको अवसानमा महाभारतीय कथा र पात्र वरण गरी लेखिएको,

आवर्तन(उपन्यास)[सम्पादन गर्ने]

र उत्सर्ग प्रेम स्वैरकाल्पनिक विषयवस्तु अनि पूर्वकथामा इतिहासाभासी चेतसहित लेखेको बताएका छन् । यस्तो वास्तविक जीवनसँग प्रतीकात्मक रूपमा मात्र सामान्यीकरण गर्न सकिने नितान्त स्वैरकल्पनिक विषयवस्तु उपन्यासका लागि असम्भाव्य नभए पनि अत्यधिक मात्रामा प्रचलित विषयवस्तु मान्न नसकिने जोशीको धारणा रहेको छ (जोशी, २०४३: ३९) ।

देवकोटाका उपन्यासको विषयवस्तुमा विभिन्नता रहेको भन्ने जोशीको धारणा उचित रहेको छ । उनले देवकोटाका उपन्यासको वस्तु, पात्र र अन्य उपन्यासका प्राविधिक पक्षमाथि प्रकाश पारेका छन् । देवकोटाका उपन्यासको विषयवस्तु अत्यधिक स्वैरकल्पनाले ग्रस्त रहेको जोशीको अर्को विश्लेषण पनि औचित्पपूर्ण रहेको छ तर विचार प्रधान देवकोटाका उपन्यासमा कथावस्तुको गति र स्रोत सरल रेखामा मात्र खोज्नु उचित देखिन्न । त्यसैले जोशीको विश्लेषण दार्शनिक कोणका पक्षबाट अपूर्ण रहेको छ । देवीप्रसाद सुवेदीले सांख्य दर्शनले नारीलाई प्रकृति र पुरुषलाई जडका रूपमा व्याख्या गरेका छन् । उनले सृष्टिसञ्चालन प्रक्रियामा प्रकृतिलाई पुरुषको आवश्यकता पर्ने कुरा बताउँदै त्यस किसिमको दर्शनको प्रभाव देवकोटाका उपन्यासमा पनि रहेको बताएका छन् । अवर्तनकी सुन्दरीले आफ्नो संरक्षण दिनु, उत्सर्ग प्रेममा आनन्त आदिले आफ्नो गल्ति स्वीकार गरी सुरूपासमक्ष अनन्त शर्माको मुक्तिको कामना गर्नु, पूर्वकथामा पराले अपाङ्ग लोग्नेबाट सन्तानोत्पत्ति नहुने हँुदा सृष्टि प्रक्रियालाई थाम्न सहपतिका रूपमा पराक्रमलाई वरण गर्नु जस्ता कार्यले नारी पात्र सृष्टिका प्रतीकका रूपमा र पुरुषका संरक्षकका रूपमा देखा परेको बताएका छन् । सांख्य दर्शनले प्रकृतिलाई प्रमुख माने तापनि पुरुषसँगको पारस्परिक सम्पर्कबाट सृष्टि हुने कुरा उदाहरणसहित व्याख्या गरेका छन् । सुवेदीले देवकोटाका उपन्यासका पात्रको विश्लेषण गर्दै सांख्य दर्शनका आधारमा नारी पात्रलाई प्रधान र पुरुषलाई सहायक पात्रका रूपमा ग्रहण गरेको बताएका छन् । उनले देवकोटा उपन्यासको प्रमुख लक्ष सांख्य दर्शनको प्रतिपादन गर्नु नभएर विश्व राजनीतिक प्रतिस्पर्धासहित आफ्ना व्यक्तित्वका विविधतामध्ये राजनीतिक व्यक्तित्वका चाहना, चिन्तन मनन अनि अनुभवका पुञ्जलाई विचार सूत्रमा आबद्ध गराएर प्रतीकात्मक रूपमा अभिव्यञ्जित गर्नु रहेको विश्लेषण गरेका छन् (सुवेदी, २०४५: ०८) ।

विश्लेषण: भाग-२[सम्पादन गर्ने]

सुवेदीेको सांख्य दर्शन सम्बन्धी विश्लेषण त्रुटिपूर्ण रहेको छ । उनले नारीलाई प्रकृति र पुरुषलाई जड पदार्थ बताएका छन् । सांख्य दर्शनमा प्रकृति र पुरुषको चर्चा भिन्न किसिमले गरिएको छ । जसअनुसार प्रकृतिलाई जड, सृष्टिकर्ता, आजन्मा भएर पनि जन्मकर्ता, अविद्या रूपधारी माया, अव्यक्त, पुरुषद्वारा ज्ञेय, एक, नित्य र स्वतन्त्र सत्ताका रूपमा स्वीकार गरिएको छ । जसमा त्रिगुण (सत्व, रज, तम) एकैसाथ रहने र यीहरू त्रिगुण प्रकृतिका कार्य रहेका अनि प्रकृति त्रिगुणको करण रहेको सांख्य दर्शनको विचार रहेको छ । त्यस्तै पुरुषलाई चेतन वा अत्मतत्त्व, विषय नभएर विषयी, प्रकृतिको ज्ञाता र अनुभवकर्ता, शरीर, बुद्धि, अहङ्कार र मनभन्दा भिन्न, विलक्षण, चेतनद्रव्य र चैतन्यको गुणधर्मभन्दा पृथक् चैतन्य स्वरूप मानिएको छ । समस्त ज्ञान र अनुभवको अधिष्ठान (आधार) स्वत सिद्ध, स्वप्रकाश, कूटस्थ, नित्य र त्रिगुणरहित छ भनी व्याख्या गरिएको छ । साथै प्रकृतिालाई दृष्टिविहीन र पुरुषलाई फरक क्षमता भएको (लङ्गडा) व्यक्तिसँग तुलना गरिएको छ । यस परिचयले जहाँसम्म सुवेदीको पुरुष जड पदार्थ भन्ने विश्लेषण छ त्यो स्पष्ट रूपमा निराधार रहेको प्रमाणित हुन्छ । सुवेदीको विश्लेषणअनुसार नारीलाई प्रकृतिको प्रतीक मान्न सकिए पनि पुरुषलाई जड का रूपमा किमार्थ लिन सकिन्न । किनभने पुरुषको लक्षण नै चैतन्यस्वरूप हुनु हो । सृष्टिसञ्चालनका लागि प्रकृति र पुरुषको निकटता चाहिने भन्ने विश्लेषण सही रहेको छ । सृष्टिको सञ्चालनका लागि प्रकृति र पुरुषको निकटता र समन्वयको खाँचो रहेको हुन्छ । अधिकांश देवकोटाका उपन्यासमा नारी पात्र सृष्टिका प्रतीकका रूपमा रहेका र पुरुषको संरक्षकका रूपमा रहेको भन्ने सुवेदीको विश्लेषण आंशिक रूपमा सत्य रहेको छ । प्रकृतिलाई सृष्टिको प्रतीकका रूपमा स्वीकार गर्न सकिए पनि प्रकृतिले पुरुषको संरक्षण गर्नुपर्ने आवश्यकता रहँदैन । किनभने स्वतन्त्र सुख–दुःखबाट मुक्त एवम् उदासिन रहेको हुनाले उसलाई कसैको सांरक्षणको खाँचो आवश्यक पर्दैन । सांख्य दर्शनलाई स्पष्ट पार्नका लागि सुवेदीले जुन उदाहरण दिएका छन् त्यो अत्यन्तै प्रचलित र तर्कसङ्गत रहेको छ ।

सांख्य दर्शनका सिद्धान्तका आधारमा देवकोटाका नारी पात्रलाई प्रधान र पुरुष पात्रलाई सहायक पात्र भनी गरिएको विश्लेषण यस दर्शनका आधारमा सही र औचित्यपूर्ण रहेको छ । यस दर्शनमा प्रकृतिलाई मूलप्रकृति वा प्रधान प्रकृतिका रूपमा स्वाकार गरिएको छ । सृष्टि सञ्चालनमा सहायक मात्र हुने हँुदा दर्शनमा र प्राय उपन्यासमा पुरुष पात्रहरूको भूमिका सहायक रूपमा नै आएको पाइन्छ । देवकोटाले सांख्य दर्शनको प्रतिपादनका लागि उपन्यास लेखेनन् तर सांख्य दर्शनको प्रभाव देवकोटाका उपन्यासमा रहेको तथ्य सुवेदीले स्वीकार गरेका छन् । सुवेदीले सिमित मात्रमा नै भए पनि देवकोटाका उपन्यासको वैचारिक आधार पहिल्याउने प्रयास गरेका छन् । त्यति भएर पनि सांख्य दर्शनका आधारमा व्यापक तरिकाले देवकोटाका उपन्यासको विश्लेषण गरेका छैनन् । त्यसैले सांख्य दर्शनका कोणबाट सुवेदीको यस परिचर्चा अपूर्ण रहेको छ । राजहंसले देवकोटाले वर्तमान दशकका चार वर्ष लाागाएर चार ओटा उपन्यासको रचना गरेर नेपाली साहित्यका क्षेत्रमा आफ्नै वैशिष्ट्य स्थापना गरेको बताएका छन् । उनले देवकोटाको अगमनपूर्व विभिन्न धारामा उपन्यास लेखिदै आएको चिन्तन परम्परामा देवकोटा पुरानै भएर पनि नवीन कित्ताका उपन्यासकार ठहरिका छन् किनभने उनको रुचि प्रतीकात्मक पात्रको सिर्जना गरेर चिन्तन मनन प्रधान उपन्यासको लेखनमा रहेको तर्क प्रस्तुत गरेका छन् (राजहंस, २०४५ ः ०३) । राजहंसले तत्कालीन समयमा नयाँ प्रकाशित भएको र मदन पुरस्कार जितेर चर्चाको शिखरमा रहेको उत्सर्ग प्रेम उपन्यास र उपन्यासकारको सामान्य परिचय र विवरण सामन्य किसिमले नै प्रस्तुत गरेका छन् । उनले देवकोटाका उपन्यासमा चिन्तनको नवीनता रहेको बताए पनि कस्तो प्रकारको चिन्तन हो भन्ने विषयमा मौन रहेका छन् । त्यसैले उनको यस परिचयात्मक विश्लेषणको पनि सीमा रहेकाले अपूर्ण रहेको छ ।

विश्लेषण: भाग-३[सम्पादन गर्ने]

केशवराज पोखरेलले वि.सं. २०१८ सालदेखि राजनीतिमा र वि.सं. २००४ सालदेखि नेपाली भाषा साहित्य लेखनमा सक्रिय देवकोटा पूर्वीय दर्शन र पाश्चात्य साहित्यको विशुद्ध अध्ययनमा आफूलाई सधैँ संलग्न गराउने प्रतिभा भएको बताएका छन् । उनले प्रारम्भदेखि नै राजनीति र दार्शनिक चिन्तनमा लागेका देवकोटा मन्त्री र राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत भइसकेका उनका उपन्यासमा मूल रूपमा वैचारिकतालाई प्रयोग गरिएको विश्लेषण गरेका छन् । देवकोटाले नेपाली भाषा साहित्यामा निबन्ध, कथा, कविता, बालसाहित्य, हास्यव्यङ्ग्य, जीवनीलगायत साहित्येतर विधामा पनि कलम चलाएका छन् तापनि उनका समस्त साहित्यिक कृतिको मूल्याङ्कन गर्दा औपन्यासिक विधामा ख्याति आर्जेका छन् भन्ने पोखरेलको धारणा रहेको छ (पोखरेल, २०४६ ः ४९) । पोखरेलले राजनीतिमा सक्रिय देवकोटालाई साहित्यिकारका रूपमा परिचय गराएका छन् । उनले धेरै उपन्यास र अन्य साहित्यक कृतिक लेखेर पनि कम चर्चामा रहेका देवकोटाको जीवनी व्यक्तित्व र कृतित्वका बारेमा विश्लेषण गरेर देवकोटासम्बन्धी अध्ययनको क्षितीज उघारि दिएका छन् । त्यसका साथै देवकोटाका उपन्यासमा पूर्वीय दर्शनको गहिरो प्रभाव रहेको पनि विश्लेषण गरेका छन् । पूर्वीय दर्शनको गहिरो प्रभाव रहेको उल्लेख गरे पनि त्यसका बारेमा विश्लेषण गरेका छैनन् । त्यसैले सांख्य दर्शका कोणबाट विश्लेषण नगरिएको उनको यो अध्ययन अपुरो रहेको छ । खेम दाहालले द्वन्द्वको अवसान उपन्यासको विश्लेषण गर्दै यसमा राधेय र कृष्णको वैचारिक विविधताको द्वन्द्व रहेको बताएका छन् । आफ्ना मानवीय स्वतन्त्रताका खुट्किालामा टेकेर काम गर्न पाऊँ भन्ने मान्यता राधेयको रहेको र कृष्णको भूमिका ईश्वरीय शक्तिको आडमा रही मानव प्राणीलाई खेलौना बनाउने अभ्याससँग जोडिएको पनि उल्लेख गरेका छन् । स्वर्गमा पुगेर पाप पुण्यको भोग गर्नु भन्दा कर्तव्यधर्मको ख्याल गर्ने व्यक्तिले जीवनमा यथार्थको स्वाद भोगेको हुन्छ भन्ने विचारमा राधेय अडिग रहेको विश्लेषण दाहालले गरेका छन् । उनले जगन्नियन्ताको निर्देशन र विवेकमा नभई आफ्नो स्वविवेकमा काम गर्न पाउनु पर्ने, आफूले निर्णय गरेको स्वतन्त्र काम स्वतन्त्र रूपमा पूरा गर्ने विवेक मानवमा हुनु पर्ने कुरा उपन्यासको आशय रहेको पनि बताएका छन् । यो औपन्यासिक विशेषता कम भएको, प्रशस्त राजनीतिक प्रशिक्षणका आधारमा धरातल खडा भएको, प्रचीनताको झझल्को आलै रहेको र अर्वाचीनका जीवन सापेक्ष घटनाको वर्णन रहेको बताएका छन् । यो उपन्यास वर्तमानमा पनि त्यत्तिकै व्यावहारिक र जीवनोपयोगी रहेको विश्लेषण दाहालको रहेको छ (दाहाल, २०५० ः १३६) ।


दाहालको विश्लेषण उपन्यास तत्त्वलाई आधार बनाएर गरिएको छ । उनले संरचनात्मक तवरले उपन्यासको विश्लेषण गरेर कृतिको बोधगम्यता सुलभ बनाउने प्रयास गरेका छन् । उनले यस उपन्यासको वैचारिकता र त्यसको दर्शनिक पक्षमाथि थप विश्लेषण गरेका छैनन् । यस उपन्यासमा मानव (राधेय) र ईश्वर (कृष्ण)का बिच वैचारिक द्वन्द्व रहेको छ । कृष्णले आफ्ना आदेशमार्फत मानवीय स्वत्व हरण गर्न खोजेको र मानवमाथि एवम् उसकै विवेकमाथि शासन गर्न खोजिएको भन्ने व्याख्या मानवीय स्वतन्त्रताका पक्षबाट सही भए पनि ईश्वरीय सार्वभौमिकताका सन्दर्भमा अनुचित देखिएको छ । ईश्वरलाई पूर्वीय आचार्यहरूले जगन्नियन्ता वा अन्तर्यामी मानेका प्रशस्तै उदाहरण पाउन सकिने र पूर्वका दर्शनको मान्यता पनि ईश्वर नै सुप्रिम हो भन्ने रहेको हुनाले यस सन्दर्भबाट विश्लेषण गर्दा दाहलको व्याख्या त्रुटिपूर्ण रहेको छ । पृथ्वीमा जन्मिएपछि आफ्नो कर्तव्य पूरा गर्नु नै मानवीय मुक्ति रहेको उपन्यासको वैचारिकताप्रति दाहालको दृष्टि जान सकेको छैन । अतः विचार प्रवाह र पूर्वीय दर्शनका कोणबाट उनको विश्लेषण अपूर्ण रहेको छ । घटराज भट्टराईले राजेश्वर देवकोटाको परिचय र उनका कृतिको विवरण प्रस्तुत गर्दै पूर्वीय दर्शनलाई आत्मसात गरेर त्यसलाई उपन्यासमा चित्रण गर्न मन पराउने देवकोटा बालरचनाका फाँटमा पनि विशेष योगदान दिने व्यक्ति भएको बताएका छन् । उनले देवकोटालाई बहुमुखी प्रतिभाका धनी, राजनीतिज्ञ र साहित्यकार भनी परिचय दिएका छन् (भट्टराई, २०५१ ः ४०४) । देवकोटाको सामान्य परिचय दिइएको भट्टराईको यो परिचय पूर्वीय दर्शका कोणबाट अपूर्ण रहेको छ । केशव पोखरेलले विचार प्रबलताका व्याख्याका हिसाबले देवकोटाकै उत्तरवर्ती उपन्यासका तुलनामा उत्सर्ग प्रेम प्रमुख कृति रहेको बताएका छन् । उनले देवकोटाको उपन्यासकारिताको चर्चा गर्दै उपन्यास तत्त्वका आधारमा मूल्याङ्कन गरेका छन् । पोखरेलले वैचारिक वा दार्शनिक पक्षलाई समसामयिक शान्ति सङ्घर्षले जन्माएको घात प्रतिघातसँग समन्वय गरेर जुन वैचारिक द्वन्द्व प्रस्तुत गरिएको छ त्यो नै उत्सर्ग प्रेम को विशेषता रहेको बताएका छन् । उनले देवकोटाका उपन्यासमा प्रवृत्तिगत भिन्नता नदेखिए पनि लेखन परिपक्वताका साथ स्थूलताबाट सूक्षमतातिर उपन्यासकारिता अगाडि बढेको बताएका छन् । लेखन र पठनबाट नै मनलाई नियन्त्रित गर्न सकिन्छ भन्ने देवकोटाले आफ्ना औपन्यासिक कृतिमा समाजमा व्याप्त निराशा, कुण्ठा, आक्रोशका बिरुद्ध उत्साह, आशा र सौन्दर्यप्रेमको आकाङ्क्षा व्यक्त गरेको बताएका छन् । साथै देवकोटाले पूर्वीय वेदान्त दर्शनको निवृत्ति मार्गलाई भन्दा सांख्य दर्शनको प्रवृत्ति मार्गलाई आफ्ना औपन्यासिक कृतिमा स्थान दिइएको बताएका छन् (पोखरेल, २०५३ ः ८८) ।

विश्लेषण: भाग-४[सम्पादन गर्ने]

पोखरेलले देवकोटाका उपन्यासको उपन्यास तत्त्वका आधारमा विश्लेषण र मूल्याङ्कन गर्दै उत्सर्ग प्रेमलाई पहिलो र द्वन्द्वको अवसानलाई दोस्रो कोटीको उपन्यास भनेर मूल्याङ्कन गर्नु औचित्यपूर्ण रहेको छ । किनभने साहित्यिक मूल्यका हिसाबले उत्सर्ग प्रेम उपन्यासले देवकोटाका उपन्यासमध्ये सर्वाधिक महत्त्वको रहेको छ । दोस्रो महत्त्वको उपन्यास द्वन्द्वको अवसान ठहर्याएका छन् । वस्तवमा देवकोटाका उपन्यासको प्राण वैचारिकता रहेको हुनाले आख्यानात्मक रूपमा सबल द्वन्द्वको अवसान भन्दा वैचारिक रूपमा शक्तिशाली उत्सर्ग प्रेम नै उत्कृष्ट रहेको छ । शान्ति, समता, आशावादिता, पे्रम र उत्साह देवकोटाका उपन्यासको मुख्य सन्देश रहेको पोखरेलको ठम्याइ पनि उचित रहेको छ । देवकोटाले अँगालेको सांख्य दर्शनको प्रवृत्तिमार्गको सङ्केत गर्दै पोखरेलले त्यसको प्रभाव उपन्यासमा परेको बताए पनि सांख्य दर्शनका कोणबाट उपन्यासहरूको विश्लेषण गरेका छैनन् । तसर्थ पोखरेलको यो विश्लेषण अपूर्ण रहेको छ । सुलोचना खनालले भौतिक विज्ञानको गतिले प्रकृतिको गतिमा अवरोध खडा गर्नु हुँदैन, जीवनलाई प्रकृतिको गतिअनुरूप नै चलाउनु पर्छ, त्यसमा नै समाज र जीवनको चीरस्थायी अस्तित्व कायम हुन सक्छ, अपूर्ण भौतिक ज्ञानले विराट प्रकृतिको रहस्य बोध भएको मान्नु भ्रम मात्र हुने बताएकी छिन् । भौतिक विज्ञानले आफ्नो अस्तित्व देखाउने र भौतिकताको विकास गर्ने हो भने त्यो प्राकृतिक गतिअनुरूप भएर प्रस्तुत हुनुपर्ने खनालको धारणा रहेको छ (खनाल, २०५३ ः ९६) उनले प्रकृतिको स्वतन्त्रता र स्वत्वका लागि त्यसमाथि हस्तक्षेप गर्न नहुने धारण व्यक्त गरेकी छिन् । खनालले प्राकृतिक स्वतन्त्रता देवकोटाको आवर्तन उपन्यसकी पात्र सुन्दरीले खोजिरहेको कुरा पनि सही रहेको छ । प्रकृतिलाई स्वतन्त्र रूपमा चल्न दिइयो भने मात्र त्यस प्रकृतिको रहस्य बोध हुने खनालको तर्क पनि उचित छ । किनभने अपूर्ण भौतिक ज्ञानबाट प्रकृतिको रहस्य बोध हुन सक्दैन । प्रकृति विराट र विशाल भएको हुनाले भौतिकता त्याग गरी प्रकृतिमा सामेल हुनु पर्ने र त्यसैबाट वास्तविक आनन्द प्राप्त हुने खनालको धारणा पनि उचित छ तर भौतिक विज्ञान प्रकृतिलाई बुझ्न प्रकृतिकै विशेषता अनुरूप परिवर्तन हुनु पर्छ भन्ने खनालको धारण गलत रहेको छ । प्रकृति र भौतिकता फरक ध्रुवका पदार्थ भएको हुनाले प्रकृतिको गतिअनुरूप भौतिकता परिवर्तन हुन सक्दैन । त्यसैले खनालको विचारमा आंशिक सत्यता रहे पनि पूर्ण सत्यको निरूपणता पाइन्न । अत ः उनको यस अनुसन्धानमा सांख्य दर्शनका कोणबाट सीमा रहेका छन् । जयदेव भट्टराईले साहित्यकारको परिचय गराउने सन्दर्भमा राजेश्वर देवकोटाको जन्म, कृतित्व, सम्मान तथा पदक, रुचि र उनको विचार प्रस्तुत गरेका छन् (भट्टराई, २०५४ ः ३९८) ।


कृष्णहरि बराल र नेत्र एटमले देवकोटाको ‘आवर्तन’ उपन्यास आध्यात्मिक विचार र भौतिक उपलब्धि प्रकृतिका साहचर्यमा र निश्चित सीमासम्म मात्र स्वीकार्य हुन्छन् भन्दै सुन्दरीलाई भावना चिन्तन र विचारको प्रवाह तथा प्रकृतिको प्रतीकका रूपमा स्थापित गरिएको बताएका छन् । उनीहरूले ‘पूर्वकथा’ मा सुधा र वसुधाले लोग्ने नपुंसक भए पनि सिर्जनात्मक मूल कारकका रूपमा भूमिका खेलेका र ‘उत्सर्ग प्रेम’की नायिका सुरूपामा उत्साह र उत्सर्गको आभा फ्याँक्ने प्रकृतिको उच्छलन रहेको कुरा पनि विश्लेषण गरेका छन् । देवकोटाका उपन्यासमा नारीलाई सृष्टिकी मूल कारक मानेर प्रकृतिको उदारता, शालीनता र सिर्जनात्मकताको प्रतिपादन गर्ने साङ्ख्य दर्शनको प्रयोग देवकोटाका उपन्यासमा अत्याधिक गरिएको पनि व्याख्या गरेका छन् । उनीहरूले द्वन्द्वको अवसान उपन्यासको विश्लेषण गर्दै मानिसको आफ्नै अस्तित्व भएको हुनाले ईश्वरको अनुकरण गर्न खोजेमा ऊ घरको न घाटको हुने र राजनीतिक युद्ध कोरा सैद्धान्तिक मात्र नभई व्यावहारिक पनि हुन सकेमा मात्र त्यसले सफलता मिल्ने कृष्ण र कर्णका सापेक्षताबाट उपन्यासकारले प्रस्तुत गरेको बताएका छन् (बराल र एटम, २०५६ ः ३३२) । बराल र एटमको आवर्तन उपन्यासमा आध्यात्मिक विचार र भौतिक उपलब्धि प्रकृतिका साहचर्यमा निश्चित सीमासम्म मात्र स्वीकार्य भएको विश्लेषण उचित रहेको छ । उनीहरूले आवर्तन उपन्यासकी पात्र सुन्दरीलाई विचार र चिन्तनको प्रतीक एवम् प्रकृतिको प्रतीक रहेको विश्लेषण गरेका छन् । यस उपन्यासमा उपस्थित भएकी सुन्दरी सृष्टिकत्री एवम् पुरुषलाई सिर्जनात्मक कार्यमा सहयोग गर्ने पात्रका रूपमा उपस्थित भएकी छे । त्यसैले यी दुवै लेखकको यस विश्लेषण सटिक र सान्दर्भिक रहेको छ । पूर्वकथाका सुधा र वसुधाले नपुंसक लोग्नेलाई सिर्जनात्मक कार्यमा संलग्न गराएको सन्दर्भ सांख्य दर्शनका कोणबाट उदाहरणमा नै उपस्थापित मान्यतालाई अगाडि सारिएको छ । त्यस्तै उत्सर्ग प्रेमकी सुरूपालाई पनि प्रकृतिको प्रतीकका रूपमा विश्लेषण गर्नु र देवकोटाका उपन्यासमा सांख्य दर्शनको अत्यधिक प्रभाव रहेको विश्लेषण पनि देवकोटाका उपन्यासको विचार पहिल्याउने सही समालोचना रहेको छ । उनीहरूको यस विश्लेषणले देवकोटाको उपन्यासकारिता र उनका उपन्यासको वैचारिक आधार आंशिक रूपमा स्पष्ट भए पनि सांख्य दर्शनको वैचारिक आधारका बारेमा उनीहरूको विश्लेषणले सङ्केत मात्र गरेको छ । यस कोणबाट विश्लेषण हुन नसेको हुनाले यो व्याख्या पनि अधुरो रहेको छ ।

विश्लेषण: भाग-५[सम्पादन गर्ने]

कुमार बहादुर जोशीले देवकोटाको पूर्वकथा उपन्यासको विश्लेषण गर्दै मूलतः समाजिक र अंशतः राजनीतिक देखा पर्ने उक्त कृति घटना प्रधान नभई चरित्र प्रधान रहेको बताएका छन् । उनले चरित्रहरू सहज रूपमा विकसित हुन नपाई लेखकका कठपुतली भएको जिकिर गरेका छन् । यस उपन्यासमा लेखकको ध्यान कथावस्तु र चरित्रको सहजरूपमा विकासतर्फ भन्दा आफ्ना जीवनदर्शन र चिन्तनसँग लेखकका ती जीवन दर्शनको समुचित समन्वय हुन नसकेकाले झण्डै झण्डै समको चिसो चुल्होझैं दुर्घटित बन्न पुगेको जोशीको व्याख्या रहेको छ । कतिपय अविश्वसनीय घटनाहरूले गर्दा कमजोर बनेको कथावस्तु समुचित शिक्षादीक्षको अभावमा बौद्धिक मानसिक स्तर त्यति नभएका तथा विवेक भन्दा ज्यादा सहज प्राकृत अवेगद्वारा सञ्चालित पात्रहरूले लेखकका उच्च जीवन दर्शन र चिन्तनलाई धान्न नसकेका हुनाले प्रस्तुत उपन्यास दार्शनिकताले किचिएको बोझ बन्न पुगेको जोशीको मूल्याङ्कन छ । मौलिक चिन्तन र जीवन दर्शनले आधुनिक नेपाली उपन्यास परम्परामा नितान्त नवीन उपन्यास रहेको पनि जोशीको ठहर रहेको छ (जोशी, २०५८ ः ६०) ।

देवकोटाको यस उपन्यास घटना प्रधान हुनु, कथानकको विकास हुन नसक्नु, दर्शनको भारले पात्र निस्सासिनु भन्ने जोशीको विश्लेषण सही र वस्तुपरक रहेको छ । देवकोटाका उपन्यासमा चिन्तनका प्रखरता रहने भएका कारण पात्रहरू स्वभाविक रूपमा त्यसको बोझबाट मुक्त हुन सकेका छैनन् । अंशतः राजनीतिक र मौलिक विचारहरू यस उपन्यासमा रहेका भए पनि सांख्य दर्शनको वैचारिकताको प्रभावका बारेमा जोशी मौन रहेका छन् । अतः जोशीको यस समालोचना पनि सांख्य दर्शका कोणबाट अपूर्ण रहेको छ । कृष्णचन्द्रसिंह प्रधानले देवकोटाका उपन्यासहरू सामाजिक भएर पनि असामाजिक भान पर्ने, पौराणिक–दार्शनिक भएर पनि लौकिक लाग्ने अन प्रेमसँग सम्बन्धित भएर पनि असम्बन्धित लाग्ने खालका रहेको बतएका छन् । उनले देवकोटाका उपन्यास कथा सुनाउन लेखिएका नभएर आफूलाई लागेका तर भन्न नसकिएका अकथित सत्य उद्घाटित गर्ने मनोभावनाले नै प्रतीकात्मक सन्दर्भका माध्यमबाट वर्तमानमा विद्यमान राष्ट्रिय अन्तर्राष्ट्रिय यथार्थ वाहकका रूपमा रहेको बताएका छन् । उनले देवकोटाका उपन्यासका पात्रहरूको विश्लेषण गर्दै विभिन्न दर्शन वा विचारका पक्षधार पात्रहरू रहेको बताएका छन् । दर्शन र दल एउटै होइनन् तर पनि परोक्षमा दर्शनले दललाई, दलले दर्शनलाई सङ्केत गरेको हुन्छ । दर्शनबिनको राजनीति पीँध नभएको लोहेटा जस्तै हुने हुनाले विभिन्न विचार धारका राजनीति र दर्शन पृथक कुरा भएका तर गहिराइमा हेर्दा यी दुबै एकैजस्ता लाग्ने प्रधानको धारणा रहेको छ । देवकोटाका उपन्यासमा पनि प्रतीकात्मक रूपले पात्रहरू दलको प्रतिनिधित्व गरेको स्वीकार गरेका छन् (प्रधान, २०५९ ः १०६) । देवकोटाका उपन्यास असामाजिक, लौकिक र प्रेमपरक छन् भनी प्रधानले गरेको व्याख्या हदसम्म उचित रहेको छ किनकि देवकोटाले आफ्नो विचारको प्रवाह बगाउनका लागि विभिन्न प्रतीकात्मक पात्रहरूको चयन गरेका छन् । ति पात्रहरू लौकिक जीवनका जस्ता देखिएर पनि आन्तरिक रूपमा कुनै दर्शनको विचार बोक्ने प्रतीकका रूपमा उपस्थित भएका पाइन्छन् । दार्शनिकता झन् उनका उपन्यासको विशेषता नै रहेको पाइन्छ । त्यसैले देवकोटाले उपन्यास सुनाउनका लागि नभएर बोध गर्नका लागि लेखेका हुन् भन्ने प्रधानको धारणा रहेको छ । देवकोटाले आफ्ना कृतिलाई औपन्यासिक रूप दिनका लागि कारक तत्त्वका रूपमा वस्तु, चरित्र र उसका समस्या नभएर वस्तु, चरित्र र उसका गुण रहेको कुरा प्रधानको विश्लेषण उचित रहेको छ । देवकोटाका उपन्यासमा राजनीतिको गहिरो प्रभाव रहेकै कारण पात्रहरू झण्डा नै बोकेर हिँडेको पाइन्छि भन्ने प्रधानको विश्लेषण पनि औचित्यपूर्ण रहेको छ । देवकोटाका उपन्यासमा राजनीति र दर्शनको गहिरो प्रभाव रहेको बताउने प्रधान सांख्य दर्शनको कस्तो प्रभाव रहेको छ भन्ने कुरातर्फ बेखबर रहेका छन् । अतः उनको यो विश्लेषण पनि अपुरो रहेको छ ।

	कृष्ण प्रसाद दाहलले द्वन्द्वगत संरचनाका आधारमा सय वर्षका उपन्यासको चर्चा गर्दै देवकोटाको डबली उपन्यासको विश्लेषण गरेका छन् । उनले देवकोटाले आफ्ना उपन्यासमा द्वन्द्वको प्रयोग गरेएका र त्यासमा डबली उपन्यास पनि पर्ने बताएका छन् (दाहाल, २०६० ः ८७) । 

ठाकुर प्रसाद तिवारीले राजेश्वर देवकोटाले उपन्यासभित्र प्रयोग गरेको दर्शन कुनै काल्पनिक दर्शन वा पूर्वीय पौराणिक पृष्टभूमिमा आधारित दर्शन नभएर आफ्नै मौलिक दर्शन रहेको बताएका छन् । देवकोटाका उपन्यासमा मानवीय जीवन, समाजिक सन्दर्भ, भौतिक स्थिति र जीवन भागाइको सत्यबाट दर्शन प्रतिपादन भएको उल्लेख गरेका छन् । उत्सर्ग प्रेम मा प्रकृतिलाई सर्वोपरि महत्त्व दिइएको, प्रकृतिबाहेक स्थिर र शाश्वत सत्य अरु केही नभएको,प्रकृतिका विपरीत गएर प्रकृतिलाई छेकथुन गरेर अप्राकृतिक बन्नु आफैमा पतन हुनु हो भन्ने विचार देवकोटाका उपन्यासमा रहेको धारणा तिवारीको रहेको छ (तिवारी, २०६१ ः ६६) । तिवारीले देवकोटाको उत्सर्ग प्रेम उपन्यसको उपन्यासका उपकरणका अधारमा र विचार प्रतिपादनका आधारमा विश्लेषण गरेका छन् । उनले देवकोटाका उपन्यासमा मौलिक दर्शनको प्रयोग गरिएको बताएका छन् जुन आंंशि रूपमा सत्य भए पनि पूर्ण सत्य होइन । किनभने उनका उपन्यासको निष्कर्ष त्यस्तो देखिएको छैन । देवकोटा आफैले आफू सांख्य दर्शनबाट प्रभावित भएको स्वीकार गरेका (हेर्नुस्, युगसंवाद २०४५, असोज, पृ.२३) छन् । देवकोटाले स्पष्ट रूपमा “मलाई पूर्वीय सांख्य दर्शन मन पर्छ । यस दर्शनमा प्रकृतिप्रति जुन भरोसा राखिएको छ, त्यो राम्रो पक्ष हो”, भन्दै देवकोटाले आफू पूर्वीय सांख्य दर्शनबाट प्रभावित भएको स्पष्ट पारेका छन् । देवकोटाको यस भनाइ र उनका उपन्यासको कथ्यकाबिच तालमेल रहेको पाइन्छ । त्यसैले तिवारीको विचार यसैबाट स्वतः खण्डित हुन्छ । उनको अर्को कथन “प्रकृतिको शाश्वतता र नित्यता उत्सर्ग प्रेम उपन्यासमा पाइन्छ” भन्ने रहेको छ । तिवारीको यो विश्लेषण संख्य दर्शनका कोणबाट उचित रहेको छ । तिवारी यस उपन्यासमा विभिन्न विचारको विश्लेषण गरे पनि सांख्य दर्शनको वैचारिक पक्षका सम्बन्धमा मौन रहेका छन् । त्यसैले उनको यो शोध पनि अपूर्ण रहेको छ । हरि प्रसाद गौतमले देवकोटाका दोस्रो चरणका उपन्यासको विश्लेषण उपन्यासका उपकरणका आधारमा गरेका छन् । उनले देवकोटाको सामान्य परिचयसहित पूर्वकथा, उत्सर्ग प्रेम र पूर्णिमा उपन्यासको विश्लेषण गरेका छन् । उनले देवकोटाका उपन्यासको मूल ढुकढुकी नै वैचारिकता रहेको बताएका छन् । विचारको प्रतिपादनका लागि देवकोटाका उपन्यास लेखिएको हुनाले उनका उपन्यासमा सामाजिक यथार्थमाथि त्यति ध्यान नदिइएको बताएका छन् । उनले पूर्वकथा उपन्यासमा नपुंसकताका बिरुद्ध सृजनाको क्रान्तिकारी कदम चाल्नुपर्छ भन्ने वैचारिकता रहेको बताएका छन् भने उत्सर्ग प्रेम मा प्रेम र सृष्टिका लागिल जीवन उत्सर्ग गर्ने बानीको महत्ता स्थापित गरिएको बताएका छन् । पूर्णिमा उपन्यासमा आशा र विश्वासका साथ कर्मशील जीवन विताउने नायिका पूर्णिम ाबनेर वैचारिक उपन्यासकारका रूपमा देवकोटा चिनिएको गौतमको विश्लेषण रहेको छ । उनले देवकोटाका उपन्यासको उपन्यास–उपकरणका आधारमा विश्लेषण गरेका छन् । गौतमले देवकोटाका उपन्यासमा सांख्य दर्शनको प्रभाव पनि रहेको बताएका छन् (गौतम, २०६१ ः १०५) । गौतमको उपन्यास उपकरणका आधारमा गरिएको यो विश्लेषणले देवकोटाका उपन्यसको सामान्य सौन्दर्य प्रकाशित गर्न सके पनि वैचारिक दृष्टिले अपूर्ण रहेको छ । उनले तीनओटा उपन्यासको विश्लेषण गरेर पनि कुनै सैद्धान्तिक आधार लिएका छैनन् । गौतमले देवकोटाका उपन्यासको मूल ढुकढुकी विचार रहेको व्याख्या गरे पनि त्यो विचारको आधार के हो भन्ने उल्लेख गरेका छैनन् । त्यसैले बिना सिद्धान्तका अधारमा गरिएको यस शोध अपूर्ण रहेको छ । देवकोटाका उपन्यासमा सांख्य दर्शन छ भन्ने संकेत गौतमले गरे पनि त्यसको व्यापक र गहन विश्लेषण गरेका छैनन् । पूर्वीय दर्शनका कोणबाट गौतमको यो विश्लेषण अपूर्ण रहेको छ ।

विश्लेषण: भाग-६[सम्पादन गर्ने]

हिरामणि शर्मा पौड्यालले राजेश्वर देवकोटाका अवर्तन, द्वन्द्वको अवसान, पूर्वकथा र उत्सर्ग प्रेम जस्ता उपन्यासहरूलाई पनि वैचरिक उपन्यासको कोटिमा राख्न सकिने बताएका छन् । उनले अध्यात्मवादी भाववादी चिन्तन नै देवकोटाका उपन्यासको दार्शनिक आधार भएकाले तिनलाई आदर्शवादी उपन्यासका घेरामा पार्न सकिने विचार व्यक्त गरेका छन् (पौड्याल, २०६१ ः १३) । पौड्यालले देवकोटाका उपन्यासको विश्लेषण गर्ने लक्ष नभई समालोचनाको इतिहास केलाउने सन्दर्भमा चर्चा गरेका हुनाले यो विश्लेषण अपूर्ण रहेको छ । चेत बहादुर कुँवरले देवकोटाको परिचयसहित मदनपुरस्कार पाएपछिका धारणा उल्लेख गरेका छन् । अन्य कुरा शब्दान्तरले उही रहेका छन् (कुँवर, २०६२ ः १४५) । अनिरुद्ध तिमसिनाले द्वन्द्वको अवसान उपन्यासमा महाभारत कालीन मिथकीय कथावस्तुलाई पुनव्र्याख्याका साथ समसामयिक सचेतनता समेत समावेश गरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने चेष्टा गरिएको बताबएका छन् । उपन्यासकारले कर्ण (राधेय) का सन्दर्भमा गरेको नवीन व्याख्याले व्यासको सोचाइको स्थापनामा परिवर्तन देखा परेको छ भने कृष्ण र भीष्मको पुराकथात्मक सोचाइमा पनि विपर्यासका साथ व्याख्या प्रस्तुत गरिएको छ भन्ने तिमिसिनाको विचार रहेको छ । मानिस अदृश्य शक्ति ईश्वर वा नियतिको घेराबाट मुक्त र स्वअस्तित्ववान् हुनुपर्छ भन्ने विचारलाई स्थापित गर्ने प्रयास गरिएको छ । मानिसका चरित्र र क्रियाकलाप मानिसकै स्तरमा रहेका हुन्छन् अनि तिनकै आधारबाट मूल्याङ्कन गरिनुपर्छ, तिनलाई ईश्वरीय दृष्टिबाट मूल्य दिन समय सापेक्ष, स्थिति सापेक्ष हुँदैन भन्ने कुरा उनले विश्लेषण गरेका छन् (तिमिसिना, २०६२ ः ३२३) । तिमिसिनाको महाभारतकालीन मिथकीय कथावस्तुलाई समसामयिक चेतनासँग गाँसिएर द्वन्द्वको अवसान उपन्यासको रचना भएको विश्लेषण यथार्थ रहेको छ । देवकोटाले महाभारतीय आख्यानलाई वस्तुका रूपमा ग्रहण गरी त्यसलाई समसामयिक जीवन चेतनासँग सम्बन्धित तुल्याएका छन् । त्यही मुख्य आधारलाई तिमिसिनाले समातेर उपन्यासको संरचनात्मक कोणबाट विश्लेषण गरेका छन् । राधेयको नवीन व्याख्याले व्यासको सोचइको स्थापनामा परिवर्तन गरिदिएको भन्ने उनको टिप्पणी रहेको छ । मानवीय स्वतन्त्रता यस उपन्यासको मूल मन्त्र रहेको स्वीकार गर्न सकिए पनि ईश्वरीय नियतिको घेराबाट मानिसलाई मुक्त गर्न सकिन्न । ईश्वरको सत्ता यत्र तत्र सर्वत्र रहेकै कारण उनको यस विश्लेषण त्रुटिपूर्ण रहेको छ । त्यसैले पूर्वीय दर्शनका कोणबाट उनको यस विश्लेषण अपूर्ण रहेको छ । राजेन्द्र सुवेदीले राजेश्वर देवकोटाका उपन्यासलाई आदर्शोन्मुख यथार्थवादी कित्तामा समावेश गरेका छन् (सुवेदी, २०६२ ः १८२) ।

दुर्गा बहादुर घर्तीले मनोविश्लेषणात्म नेपाली उपन्यासका पात्रहरूको विश्लेषण गर्ने सन्दर्भमा डबली उपन्यासको चर्चा गरेका छन् । मान्छेका ज्ञान र बौद्धिकता अर्जित कुरा हुन्, धर्मशास्त्र र सिद्धान्तका आडमा देखा पर्ने आत्मसंयम कृत्रिम र आत्मवञ्चना मात्र हुन्, मान्छेको वस्तविक अभिलाषा उसको अन्तश्चेतनामा निहित हुन्छ र स्वतन्त्रत रूपमा त्यसले अभिव्यक्ति पाएपछि मात्र मान्छेले वास्तविक सुख प्राप्त गर्न सक्तछ भन्ने धारणा यस उपन्यासमा प्रस्तुत गर्न खोजिएको हुनाले मनोविश्लेषणको सिद्धान्त अनुरूप छ भन्ने घर्तीको विश्लेषण रहेको छ । उनले यस उपन्यासमा विभिन्न पक्षका पात्रका माध्यमबाट मान्छेका नैसर्गिक इच्छाका स्वरूप प्रस्तुत गरिएको बताएका छन् । घर्तीले पात्रहरू आदर्श, बुद्धि र विवेकको कठोर नियन्त्रणबाट मुक्त भएर सहजता र स्वाभाविकतातर्फ फर्किएको चर्चा गरेका छन् (घर्ती, २०६७ ः १७१) । मानवका ज्ञान र बौद्धिकता आर्जित कुरा हुन्, यस उपन्यासका पात्रहरू आदर्श, बुद्धि र विवेकको कठोर नियन्त्रबाट मुक्त भएर सहजातर्फ फर्किएको भन्ने घर्तीका विश्लेषण उचित रहेको छ । साथै यस उपन्यास मनोवैज्ञानिक नभए पनि केही मात्रमा मनोविश्लेषणको प्रयोग गरिएको छ भन्ने उनको विश्लेषण पनि औचित्यपूर्ण रहेको छ । घर्तीले मनोविश्लेषणका कोणबाट मात्र यस उपन्यासको चर्चा गरेका हुनाले पूर्वीय दर्शनका कोणबाट उनको यस विश्लेषण अपूर्ण रहेको छ । सुलोचना खनालले आवर्तन उपन्याको कथ्यको चर्चा गर्दै संसारमा कला विज्ञान सिमित वस्तु र ज्ञान र अध्यात्म असिमित वस्तु रहेका हुनाले असिमित अध्यात्म नै श्रेष्ठ रहेको बताएकी छिन् । उनले सुन्दरीका पाँचै प्रेमी मानिसका एक एक इन्द्रियझैँ श्रेष्ठ रहेको र तिनीहरूको विवाह हुन नसकेको बताएकी छिन् । अविवाहितको अर्थ ती इन्द्रियमा सांख्य दर्शनमा प्रतिपादित मन र बुद्धिको संलग्नता हुन नसकेको स्थिति रहेको बताएकी छिन् । सही निर्णय दिन नसक्ने सुन्दरी सांख्य दर्शनकी बुद्धिकी प्रतीक र राम्रो वस्तु देख्ने बित्तिकै पछि लाग्ने अस्थिर सुन्दरीको पति मनको प्रतीक जस्ता देखिन्छन् भन्ने खनालको विश्लेषण रहेको छ । पतिबिना पत्नीको कुनै महत्त्व हुन नसक्ने सुन्दरीको धारणा प्रस्तुत गर्दै प्रकृतिको गतिसँग एकाकार भएर प्रस्तुत हुन चाहने उसको स्वभावले यो सांख्य दर्शनमा भोग्या प्रकृति र भोक्ता पुरुषका प्रतीकजस्ता देखिन्छन् भन्ने खनालको धारणा रहेको छ । चरित्रको प्रतीकात्मकताको व्याप्ति अध्यात्म दर्शनका तहसम्म देखिन्छ र अध्यात्म दर्शनको श्रेष्ठता सिद्ध गर्नु पनि यस उपन्यासको उद्देश्यभित्रै पर्ने कुरा खनालको समीक्षा रहेको छ (खनाल, २०६८ ः १४६) । प्रकृतिको गतिअनुरूप चल्न नसक्ने भौतिकता भन्दा आध्यात्मिकता श्रेष्ठ रहेको भन्ने खनालको धारणा उचित रहेको छ । यस धारणालाई पुष्टि गर्दै खनालले उपन्यासबाट उदाहरण पनि प्रस्तुत गरेकी छिन् । जसले उनको विचारको समर्थन गरेको छ । सांख्य दर्शनका कोणबाट सुन्दरीको र उसका लोग्नेको प्रतीकात्मक व्याख्या नवीन रहेको छ । छोटै भए पनि खनालको यस व्याख्याले देवकोटाका उपन्यामा पूर्वका दर्शनको प्रखर प्रभाव रहेको प्रमाणित गर्दछन् । यस विश्लेषणले प्रकृतिलाई भोग्या र पुरुषलाई भोक्ताका रूपमा स्वीकार गरेको औचित्यपूर्ण रहेको छ । यति भएर पनि सांख्य दर्शनको गहिराइ र देवकोटाका सम्पूर्ण उपन्यासको विश्लेषण हुन बाँकी हुनुले यस विश्लेषणको सिमितता प्रमाणित गर्दछ । विष्णु प्रसाद पौडेलले देवकोटाको नवीन उपन्यास डबलीको विश्लेषण उपन्यासका उपकरणका आधारमा गरेका छन् । उनले देवकोटाको परिचयसहित यस उपन्यासको संरचनागत अध्ययन गरेका छन् । औन्यासिक चरित्रहरूको वैचारिक अभिव्यक्तिलाई प्रखुता दिइएको हुनाले पात्रहरूका विचारको प्रकटीकरण नै उपन्यासको कथानक विकासको प्रमुख कारण रहेको पौडेलको विश्लेषण रहेको छ । उनीद्वारा चरित्रहरू बढी मात्रामा संवादात्मक अभिव्यक्तिमा तल्लीन भएका कारण उपन्यासको कथानक क्षीण भएको व्याख्या गरिएको छ । तेस्रो सहस्राब्दीलाई आतङ्क मुक्त गर्ने डबली को अवधारणा प्रमुख पात्रहरू पवन र उर्वी शालीन सौन्दर्यद्वारा अभिभूत गर्ने पर्वतीय गाउँ, जर्ज, इस्माइल, पादरी र मौलवीहरू, कालेको महादेश तथा पूर्वकी गोरी र अफ्रिकाली काले वा अरबकुमारी र पूर्वेली पुरुषको विवाह सन्दर्भ प्रतीकात्मक रहेको पौडेलको निक्र्योल रहेको छ । यस उपन्यासले बहुलबादी चिन्तनको स्वरूपलाई देखाउँदै आवाजहरूको कोलाहलमा सबैले आफ्ने पहिचान खोज्नु पर्ने अवधारणा अभिव्यक्त गरेको उनको विश्लेषण रहेको छ । यो उपन्यास शान्ति र सौहाद्रता फैलाएर वैमनस्य र हिंसा हटाउनु पर्ने उदात्त भावनाले अभिप्रेरित रहेको र संसारबाट धार्मिक अन्धता हटाएर भेदभाव रहित शान्त समाजको कामना गर्नका लागि लेखिएको पौडेलको विश्लेषण रहेको छ । यस उपन्यासमा बुद्ध धर्मको शान्त र समन्वयककारी चेत पनि रहेको उनको ठम्याइ रहेको छ (पौडेल, २०६८ ः ८१) । भएका कारण कथानकको विकास क्षीाण रूपमा भएको विश्लेषण सही र औचित्यपूर्ण रहेको छ । देवकोटाको यस उपन्यासमा पात्रहरू कथानकको गतिअनुसार परिचालित नभएर आफ्ना विचार अभिव्यक्तिका लागि नयाँ नयाँ विषयमा वादविवाद गरेका देखिन्छन् । देवकोटाले बिसौं शताब्दीपछिको तेस्रो शताब्दी समतामूलक हुनेतर्फ संकेत गरेका छन् । त्यति बेला धर्म र विभिन्न समुदायबाट विभाजित मानव समुदाय संसारका सवै मानिस बन्धुबान्धवका रूपमा विकसित भई समन्वयात्मक समाजको निर्माण हुने देवकोटाको धारणा रहेको छ । यस उपन्यासमा शाक्यका प्रवचनबाट संसारमा शान्तिको सन्देश फैलाउन सहयोग पुर्याइएकातर्फ पनि देवकोटाको संकेत रहेको छ । बुद्ध दर्शन र गीताको कर्मयोगका कोणबाट देवकोटाको उपन्यास विश्लेषण गर्न सकिने भए पनि पौडेलले उल्लेख मात्र गरेका छन् । उनले देवकोटाका उपन्यासमा बौद्धिक र सौन्दर्यपक्षको वकालत गर्ने पात्रहरू रहेको उल्लेख गरे पनि कस्तो बौद्धिकता र सौन्दर्य रहेको छ भन्ने उल्लेख गरिएका छैनन् । उपन्यासका हरेक पक्ष केलाएर बोधगम्यताका लागि सजिलो बनाइए पनि पूर्वीय दर्शनका कोणबाट यस उपन्यसको विश्लेषयण गरेका छैनन् । त्यसैले पौडेलको यो समालोचना अपूर्ण रहेको छ ।

विश्लेषण: भाग-७[सम्पादन गर्ने]

भूमिराज बस्ताकोटीले पौराणिक आख्यानबाट वस्तु लिँदै अनि त्यसलाई फरक ढङ्गले हेरेर रुढ परम्परालाई नकार गरिएको एउटा सुन्दर उपन्यासका द्वन्द्वको अवसान रहेको बताएका छन् । भगवत् स्वरूप मानिएका कृष्णप्रति सन्देह व्यक्त गर्दै अनि राधेय (कर्ण) भएकै कारण अपमानित भएका कर्णलाई नायक बनाउँदै उपन्यासैभरि ईश्वरीय सत्ताको नकार गरेर मानवीय अस्तित्वको वकालत गरिएको, उपेक्षितलाई उच्च मूल्य दिइएको उपन्यासका रूपमा यसलाई विश्लेषण गर्न सकिने उनको तर्क रहेको छ । (वस्ताकोटी, २०६८ ः १५०) । वस्ताकोटीले पौराणिक वस्तुलाई उपन्यासले ग्रहण गरेर त्यसलाई फरक ढङ्गले नियाल्ने प्रयास गरिएको विश्लेषण गर्नु उचित रहेको छ । परम्परागत मूल्य र मान्यतालाई अस्वीकार गरिएको सुन्दर उपन्यास भनेर द्वन्द्वको अवसान को मूल्याङ्कन गर्नु र मानवीय मूल्यलाई सर्वोपरि महत्त्व दिइएको छ भनेर विश्लेषण गर्नु विनिर्माणवादी कोणबाट उचित भए पनि पूर्वीय दर्शनका कोणबाट हेर्दा औचित्यहीन देखिएको छ । कर्म नै मानवीय व्यावहारिक जीवनको आधार हो यसैले मानवलाई बन्धन र मोक्ष दिलाउँछ भन्ने जुन पूर्वको धारणा छ त्यस विचार प्रत्यारोपण यस उपन्यासमा गरिएको छ । त्यसैले यस विचारसँग वस्ताकोटीको यो आलेख असम्बन्धित देखिएको हुनाले पूर्वीय दर्शनका आधारमा अपुरो रहेको छ । खगेन्द्र प्रसाद लुइटेलले नेपली उपन्यासको इतिहास लेखनका क्रममा देवकोटाको परिचय, विशेषता र उपन्यासको विश्लेषण गरेका छन् । उनले आवर्तनलाई प्राकृतिक र मानवतावादी, द्वन्द्वको अवसानलाई पौराणिक र मनोविश्लेषणात्मक यथार्थवादी, पूर्वकथालाई दार्शनिक र आशावादिताको नमुना, उत्सर्ग प्रेमलाई सांख्य दर्शनबाट प्रभावित र अस्तित्ववादी, पूर्णिमालाई बौद्धिक र उज्ज्वल भविष्यको कामना भएको, एवम् डबली उपन्यासलाई मनोविश्लेषणात्मक र समता मूलक समाजको स्थापनामा केन्द्रित भनी विश्लेषण गरेका छन् (लुइटेल, २०६९ ः ...) ।

उनले उपन्यासको इतिहास लेखनका क्रममा देवकोटाका उपन्यासको टिपोट मात्र गरेको पाइन्छ । उपन्यसहरूको गहन अध्यन गरी तिनको निष्कर्ष स्थापना गर्नु भन्दा पनि परिचय मात्र प्रस्तुत गर्नु उनको लक्ष देखिन्छ । यस अर्थमा उनको यो छोटो सान्दर्भिक विश्लेषण सांख्य दर्शनका कोणबाट अपुरो रहेको छ । नारायण चालिसेले महाभारतको आख्यानलाई पुनर्सिजन गरी लेखिएको द्वन्द्वको अवसान (२०४२) मा कर्मवादी दर्शनको व्याख्या गरिएको बताएका छन् । सृष्टिमा जन्म आफैमा द्वन्द्व हो, मृत्यु त्यो द्वन्द्वको अवसान हो, त्यही नै मुक्ति हो भन्ने दार्शनिक भाव यस उपन्यासमा व्यञ्जित भएको कुरा दार्शनिक आधारमा विश्लेषण गरेका छन् (चालिसे, २०६९ ः ११३) । नारायण चालिसेले राजेश्वर देवकोटाको यस उपन्यासको परिचर्चा विश्वेश्वर प्रसाद कोइरालका उपन्यासको पूर्वीयदर्शनका आधारमा विश्लेषण गर्ने सन्दर्भमा गरेका हुन् । देवकोटाका उपन्यासको विश्लेषण गर्नै नभई कृतिगत सान्दर्भ दिने क्रममा यस उपन्यासका बारेमा टिप्पणी गरेका हुन् । उनले यस उपन्यासलाई महाभारतीय आख्यानलाई पुनर्सिर्जन गरि लेखिएको र यस उपन्यासमा कर्मवादी दर्शनको व्याख्या गरिको विश्लेषण गर्नु उचित भए पनि त्यससम्बन्धि विस्तृत व्याख्या नगरेर सङ्केत मात्र गरेर आफ्नो काम सम्पादनमा लागेका चालिसेको यो सानो टिप्पणी अपूर्ण रहेको प्रमाणित हुन्छ । विष्णु प्रसाद पौडेलले विभन्न शीर्षकमा देवकोटाका उपन्यासको चर्चा गरेका छन् । उनले उपन्यासकार राजेश्वर देवकोटाको पहिलो उपन्यास ‘आवर्तन’ ( २०४१) परम्परित नेपाली उपन्यासहरू भन्दा भिन्न किसिमको संरचना र कथ्य लिएर देखा परेको र यसमा फ्रेट्यागीय पिरामिड शैलीमा उल्लेखित एउटै सर्वाधिक महत्त्वको चरम घटना नभई एक भन्दा बढी घटनाक्रमहरू रहेको बताएका छन् । यसले गर्दा समवेदनाको एउटा तोड सृजना गरेर त्यो मत्थर हुन नपाउँदै अर्को उत्तिकै चर्को तोड सृजना गरेको छ । फेरि–फेरि पनि यही क्रम आवृत्त गरिरहने प्रवृत्ति कथानकको मध्य भागमा देखिएको विश्लेषण गरेका छन् । नदीका कतिपय यस्ता विशेषतायुक्त र खतरनाक भूमरीलाई यसले सम्झाउँछ जहाँ नदीको प्रवाह एकै ठाउँमा भन्दा बढी पटक फन्को मारिमारी कुनै वस्तुलाई डुबाउँदै निकाल्दै अगाडि बढ्छ र गन्तव्य पैल्याउँछ भन्दै यस उपन्यासको कथानक शिल्पका बारेमा व्याख्या प्रस्तुत गरेका छन् (पौडेल, २०६९ ः १००) । द्वन्द्वको अवसान उपन्यासको उद्देश्य हाम्रो परम्परित रुढ आस्थालाई आलोच्य पारामा हेरेर वर्तमान समयका स्वाधीन र समर्थवान् मानवका लागि अभिप्रेरित चरित्र स्वाधीन हुनु छ भन्ने नवीन व्याख्या दिनु रहेको बताएका छन् । उपन्यासका ठाउँठाउँमा देखिने यस्ता प्रसङ्गको आकर्षक प्रस्तुतिले एकातिर मूल रचना महाभारतको विषयगत उद्देश्य र उपन्यासको विषयगत उद्देश्यको अन्तरलाई देखाउँछ भने अर्कोतिर उपन्यासको विषयवस्तु प्रतिपादनमा पनि मौलिकता देखाउँछ भन्ने पौडेलको मत रहेको छ । यस मौलिकतामा नै उपन्यासको मूल्य सुरक्षित भएको र यसभित्र अहिलेको उत्तर आधुनिक विनिर्माणको अवधारणा राम्रैसँग अनुस्यूत रहेको देख्न पाइने कुरा पनि संकेत गरेका छन् । महाभारतीय आख्यानलाई समय सापेक्ष अस्तित्ववादी चेतनासहित विनिर्मित गर्नु यसको सिर्जनात्मक प्राप्ति रहेको पौडेलको मूल्याङ्कन रहेको छ (पृष्ठ ११७) । पूर्णिमा (२०५४) राजेश्वर देवकोटाको पाँचौ औपन्यासिक रचना हो भनी पौडेलले परिचय दिएका छन् । उनले विचार वा चिन्तन प्रधान यस उपन्यासको थालनी ईश्वरको अस्तित्व सकार्ने र नकार्ने विषयमा केन्द्रित रहेर भएको कुरा बताएका छन् । वर्तमान विकृतिलाई रम्य कल्पनाले चिरफार गर्दै त्यसका आधारमा भविष्यको बयान गरेर भावी जीवन र समाजप्रति पूर्ण आशा प्रदर्शनयुक्त, समानतामा आधारित त्रुटिरहित भावी समाजको कल्पना गर्ने काम यस उपन्यासले गरेको उनको ठम्याइ रहेको छ । यस उपन्यासमा पूर्णिमाले प्रतिष्ठापन केन्द्र खोलेर २५ वर्षसम्म एकत्वका साथ जुन समाजको निर्माण गरेकी छे त्यो वर्तमान नभएर भविष्यको निर्णयात्मक आकांक्षा रहेको पौडेलको विश्लेषण रहेको छ । उनले प्रस्तुत उपन्यासले आफ्नो समयको अस्तव्यस्त समाजलाई टेकेर भविष्यको उचित मार्ग औंल्याएको स्वीकर गरेका छन् (पृष्ठ ः १२४) ।पौडेलले देवकोटाका औपन्यासिक प्रवृत्तिहरू केलाउँदै उनका उपन्यसका बरेमा विभिन्न विचार प्रस्तुत गरेका छन् । प्रकृति, मानवजीवन कला र भौतिक विज्ञान जस्ता कुरालाई उनको पहिलो उपन्यास आवर्तन ले वैचारिक ढङ्गमा प्रस्तुत गर्न खोजेको उनको विश्लेषण छ । यसमा प्रकृतिको गति र रहस्यात्मकता माथि प्रकाश पार्दै अन्ततः प्रकृतिको गतिसँगै जीवनलाई समायोजन गरेर हिँड्नु पर्छ भन्ने निष्कर्ष रहेको बताएका छन् । दोस्रो उपन्यास द्वन्द्वको अवसान मानिस स्वतन्त्र रूपमा आफ्नै इन्द्रियद्वारा सञ्चालित हुनुपर्छ भन्ने कुरा प्रस्तुत गरेर मानव जीवनका मूल्य निरुपित गर्ने काम भएको विचार व्यक्त गरेका छन् । तेस्रो पूर्वकथा ले विभिन्न बिडम्बनामा जेलिएको मानवजीवन र नारीको मातृत्वको आकांक्षाबाट उत्पन्न नयाँ समाजको निरूपण गरेको विश्लेषण गरेका छन् । चांैथो उत्सर्ग प्रेम ले जीवन के हो भन्ने प्रश्नको उत्तर खोज्ने काम गरेको पौडेलको ठम्याइ छ । पाँचौं पूर्णिमा उपन्यासमा मानवको सेवामुखी समतावादी वैचारिकता स्थापना भएको उल्लेख छ भने छैटौं डबली मा धर्मले विभाजित मानव समाजको कुरूपता नियाल्दै धर्मका नाममा भिœयाइएको मानव मानव बीचको शत्रुताको अन्त्यको कामना गरिएको र बुद्ध धर्मको सहिष्णु र समन्वयकारी दृष्टि चेतलाई पनि संश्लेषण गरिएको छ गरिएको उनको विचार रहेको छ । देवकोटाका उपन्यासमा वैचारिकता, तार्किकता, द्वन्द्वात्मकता, स्वैरकाल्पनिकता, प्रतीकात्मकता, प्रयोगशीलता, व्याङ्ग्यात्मकता, सुखात्मकता, प्रकृतिप्रति आत्मीयता, भाषामा सुक्तिमयता, चरित्रको प्रधानता, ऐतिहासिकता, पौराणिकता आदि विशेषता रहेको विचार प्रस्तुत गरेका छन् (पृष्ठ ः ...)। पौडेलले नेपाली भाषा साहित्यका क्षेत्रमा साधानारत राजेश्वर देवकोटाका बारेमा धेरै अध्ययन गरेर न्याय गरेका छन् । किनभने देवकोटाले राम्र उपन्यास लेखेर पनि राजनीतिक पूर्वाग्रहका कारण उनका बारेमा अपेक्षित शोधखोज भएको पाइँदैन । नले देवकोटाका उपन्यासको मूल्य र त्यस भित्र रहेको सौन्दर्य केलाएका छन् । अवर्तन, द्वन्द्वको अवसान र पूर्णिमा उपन्यासको कथानकको बुनोट, उपन्यासको मुख्य कथन र देवकोटाका उपन्यासगत प्रवृत्ति केलाएर गहन तरिकाले देवकोटाका उपन्यास सम्वन्धि विचार बाहिर ल्याएका छन् । उनले पूर्वकथा, उत्सर्ग प्रेम, पूर्णिमा र आवर्तन जस्ता विचार प्रधान उपन्यासमा पूर्वीय सांख्य दर्शनको प्रभाव रहेको पनि सङ्केत गरेका छन् । पछिल्लो डबली उपन्यासमा धर्मले विभाजित मानव समाजको चित्रण गर्दै धर्मका नाममा भिœयाइएको मानव मानव बीचको शत्रुता अन्त्य हुनुपर्ने भन्ने बुद्ध दर्शनको समन्वयकारी दृष्टि छ भन्नु पनि उनको विश्लेषणको शक्ति रहेको छ तर पौडेलले यी उपन्यासहरूको पूर्वीय सांख्य दर्शनका कोणबाट अध्ययन नगरी सन्दर्भगत रूपमा मात्र चर्चा गरेका हुन् । त्यसैले सांख्य दर्शनका कोणबाट उनको यो विश्लेषण अपुरो रहेको स्पष्ट हुन्छ । यसरी विविध उल्लिखित सन्दर्भले राजेश्वर देवकोटाका उपन्यासको सांख्य दर्शनका कोणबाहेक अन्य कोणबाट व्याख्या गरिएका भए पनि सांख्य दर्शनका कोणबाट व्याख्या हुन बाँकी रहेको देखिन्छ । यस पूर्वका सम्पूर्ण शोधहरू मूल रूपमा कुनै एक उपन्यासमा मात्र केन्द्रित रहेका र तिनमा पनि सांख्य दर्शनका आधारमा विश्लेषण नभएका देखिन्छन् । अतः यस शोधपत्र राजेश्वर देवकोटाका उपन्यासहरूको सांख्य दर्शनका सैद्धान्तिक अधारमा अध्ययन र विश्लेषण गरी नेपाली उपन्यास परम्परामा उनले पुर्याएको योगदान मूल्याङ्कन हुनु आवश्यक रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  • कुँवर, चेत बहादुर (२०६२), पुरस्कार जगदम्बाश्री तथा मदन पुरस्कारद्वारा सम्मानित व्यक्तिहरू, ललितपुर ः साझा प्रकाशन
  • खनाल, सुलोचना (२०५३),
  • राजेश्वर देवकोटाका औपन्यासिक कृतिहरूको अध्ययन, अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध, पोखरा: पृथ्वीनारायण क्याम्पस । .................. (२०६८), *‘आवर्तन’ उपन्यासमा प्रयुक्त कथ्य, अवधारण भदौ २.१ । (पृ.१४३–४७) गौतम,
  • हरिप्रशाद (२०६१), राजेश्वर देवकोटाका दोस्रो चरणका औपन्यासिक कृतिहरूको अध्ययन, अप्रकाशित शोध प्रबन्ध, पोखरा ः पृथ्वीनारायण क्याम्पस ।
  • घर्ती, दुर्गाबहादुर (२०६७), मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान, ललितपुर ः साझा प्रकाशन । *चालिसे, नारायण (२०६९), प्रथम सं. पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपन्यास, दाङ ः वी.पी. चिन्तन केन्द्र ।
  • जोशी, कुमार बहादुर (२०४३),
  • पुस्तक समीक्षा, जनज्योति, ज्येष्ठ, ५.४९ । (पृ.३९–४१) .......................... (२०५८),
  • सिर्जना र विवेचना, काठमाडौं ः साझा प्रकाशन । *तिमिसिना, अनिरुद्ध (२०६२),
  • यथार्थवादी नेपाली समालोचना, पोखरा ः गण्डकी साहित्य सङ्गम ।
  • तिवारी, ठाकुर प्रसाद (२०६१), राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यास एक अध्ययन, अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध, पोखरा पृथ्वीनारायण क्याम्पस ।
  • दाहाल, कृष्ण प्रसाद (२०६०), नेपाली उपन्यास शतवार्षिकी (स्मारिका), काठमाडौं ः नेपाल प्रज्ञाप्रतिष्ठान । (पृ.८७) दहाल,
  • खेम (२०५०), दृढप्रतिज्ञा र यसको कार्यान्वयनमा पर्ने बाधा हाँक एवं समस्याको सङ्गम ‘द्वन्द्वको अवसान’ उपन्यास, समाकालीन साहित्य, २४.१२ । (पृ.१३६–३९)
  • प्रधान, कृष्णचन्द्रसिंह (२०५८), पाँचौं सं. साझा समालोचना, ललितपुरः साझा प्रकाशन । ............................(२०५९)
  • ‘उत्सर्ग प्रेम’ एक परिकल्पना एक संकेत, कृति आलोकन, ललितपुर ः साझा प्रकाशन ।
  • पोखरेल, केशवराज (२०४६), साहित्यकार राजेश्वर देवकोटाको जीवनी, व्यक्तित्व र कृतित्वको निरूपण, अप्रकाशित स्नातकोत्तर शोध प्रबन्ध, कीर्तिपुर ः त्रिभुवन विश्वविद्यालय । ....................(२०५३), *राजेश्वर देवकोटाको उपन्याकारिता, गरिमा, फागुन, १५.३ । (पृ.८८–९२) पौडेल, विष्णु प्रसाद (२०६८), ‘डबली’ उपन्यासको अध्ययन, अप्रकाशित शोध प्रबन्ध, पोखरा ः पृथ्वीनारायण क्याम्पस ।
  • पौडेल, विष्णु प्रसाद (डा.) (२०६९), समकालीन नेपाली साहित्य चिन्तन र उपन्यास समालोचना, पोखरा ः सुलोचना खनाल
  • बराल, कृष्णहरि र एटम, नेत्र (२०५८) दोस्रो सं. उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुरः साझा प्रकाशन ।
  • बस्ताकोटी, भूमिराज (२०६८), भद्रकाली प्राज्ञ मञ्च, १. १ । (पृ.१५०–१५३)
  • भट्टराई, घटराज (२०५१), प्रतिभै प्रतिभा र साहित्य, दो.सं., काठमाडौं ः एकता बुक्स डिस्टिब्युटर्स प्रा.लि.
  • भट्टराई, जयदेव (२०५४), साहित्यकार परिचय र अभिव्यक्ति, काठमाडौं ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान *राजहंस, (२०४५), नयाँ कृति, गोरखापत्र, मंसिर ११, काठमाडौ ः गोरखापत्र संस्थान । (पृ.४)
  • लुइटेल, खगेन्द्र प्रसाद (२०६९), नेपाली उपन्यासको इतिहास, काठमाडौं ः नेपाल प्रज्ञाप्रतिष्ठान ।
  • शर्मा पौड्याल, हिरामणि (२०६१), समालोचनाको बाटोमा, दो.सं., ललितपुर ः साझा प्रकाशन ।
  • सञ्जय, (२०४२), ‘आवर्तन’ वैचारिक उपन्यास, गरिमा, जेष्ठ ३. ६.। (पृ.१०६–१०८) ।
  • सुवेदी, देवीप्रसाद (२०४५), ‘उत्सर्ग प्रेम’को दर्शनिक पक्ष, गोरखापत्र, माघ ८, । पृ.०८) ..................... (२०४५),
  • मदनपुरस्कार विजेता देवकोटासँग केही क्षण, युगसंवाद, असोज २०, १.१६ । (पृ.३२)
  • सुवेदी, राजेन्द्र (२०६२), नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति, दो.सं., ललितपुर ः साझा प्रकाशन ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]