सामग्रीमा जानुहोस्

रावणानुग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रावणानुग्रह
रावणानुग्रह, तिरुवन्नामलै
आबद्धशैव धर्म
अस्त्रत्रिशूल
रानीपार्वती

रावणानुग्रह वा रावणानुग्रह-मूर्ति ("रावणप्रति कृपा दर्शाउने स्वरूप"[]) हिन्दु देवता शिवको एक परोपकारी पक्ष हो। यसमा शिव आफ्नी पत्नी पार्वतीका साथ आफ्नो निवास स्थान कैलाश पर्वतमा विराजमान भएको देखाइन्छ जबकि लङ्काका राक्षसका राजा रावणले त्यस पर्वतलाई उखेल्ने प्रयास गरिरहेका हुन्छन्। हिन्दु धर्मग्रन्थका अनुसार, रावणले एकपटक कैलाश पर्वत उठाउने प्रयास गरेका हुन्छन् तर शिवले आफ्नो खुट्टाको बुढी औँलाले पर्वतलाई थिचेर रावणलाई त्यसको मुनि थुनिदिन्छन्। हजार वर्षसम्म कैदमा रहेका रावणले शिवको स्तुतिमा भजन गाए (शिव ताण्डव स्तोत्र), जसबाट प्रसन्न भएर शिवले अन्ततः अपराजित तरबार (चन्द्रहास) र पूजा गर्नका लागि एक शक्तिशाली लिङ्गको वरदान दिन्छन्। भारतीय कलामा यो विषयवस्तु निकै लोकप्रिय छ र यो गुप्त-पल्लव युग (ई.सं. ३००–६००) देखि नै पाइँदै आएको छ।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

हिन्दु धर्मग्रन्थ रामायणको उत्तरकाण्ड मा उल्लेख भएअनुसार: दस टाउका र बीस हात भएका शक्तिशाली राक्षस राजा रावणले आफ्ना सौतेनी भाइ तथा धनका देवता कुबेरको सहर अलका (जुन कैलाश पर्वत नजिकै थियो) लाई जितेर लुटेका थिए। विजयपछि, रावण कुबेरबाटै खोसिएको पुष्पक विमान मा चढेर लङ्का फर्किरहेको बेला उनले एउटा सुन्दर ठाउँ देख्छन्। यद्यपि, विमान त्यस ठाउँको माथिबाट उड्न सकेन। रावणले त्यहाँ शिवका वाहन नन्दीश्वर लाई भेटे र आफ्नो विमान अगाडि बढ्न नसक्नुको कारण सोध्छन्। नन्दीले रावणलाई त्यस पर्वतमा शिवपार्वती बसोबास गर्ने र त्यहाँबाट कसैलाई पनि जान अनुमति नभएको जानकारी दिन्छन्। रावणले शिव र नन्दीको उपहास गर्छथ्। आफ्नो स्वामीको अपमानबाट क्रोधित भएर नन्दीले रावणलाई वानरहरूले विनाश गर्नेछन् भनी श्राप दिन्छन्। बदलामा, नन्दीको श्राप र अगाडि बढ्न नसकेको झोँकमा रावणले कैलाशलाई नै उखेल्ने निर्णय गर्छन्। उनले आफ्ना बीस वटा हात कैलाश मुनि राखे र पर्वत उठाउन थाल्छन्। कैलाश हल्लिन थालेपछि त्रसित पार्वतीले शिवलाई अँगालो हाल्छिन् यद्यपि, सर्वज्ञानी शिवलाई यो सबै रावणको हर्कत हो भन्ने पहिल्यै थाहा पाउँछन् र उनले आफ्नो खुट्टाको बुढी औँलाले पर्वतलाई थिचिदिएपछि रावण त्यसमुनि थुनिन पुग्छन्। रावण पीडाले जोडले चिच्याए। आफ्ना मन्त्रीहरूको सल्लाहमा रावणले हजार वर्षसम्म शिवको स्तुतिमा भजन गाउँछन्। अन्ततः, शिवले रावणलाई क्षमा दिई उनलाई एक अपराजित तरबार (चन्द्रहास) पनि प्रदान गर्छन्। रावण जोडले चिच्याएको हुनाले उनको नाम "रावण" राखिएको हुन्छ – जसको अर्थ "चिच्याउने" वा "रुने" हुन्छ।[][]

तामिल शैव ग्रन्थ तेवारम मा उल्लेख भएअनुसार,[] रावणले आफ्नो एउटा टाउको काटेर त्यसबाट वीणा बनाएका हुन्छन्। उनले आफ्नै नसाहरूलाई तारको रूपमा प्रयोग गरेर शिवको प्रशंसामा गीत गाउन थाल्छन्। त्यो गीत नै ''शिव ताण्डव स्तोत्रम्'' थियो। प्रसन्न भएका शिवले रावणलाई लङ्कामा पूजा गर्नका लागि एक शक्तिशाली लिङ्ग, 'आत्मलिङ्ग' प्रदान गर्छन् तर त्यो लिङ्ग पृथ्वीमा जहाँ राखिन्छ, त्यो सधैँका लागि त्यहीँ रहनेछ भन्ने सर्त पनि हुन्छ। शिवका पुत्र गणेशको सहयोगमा देवताहरूले एउटा योजना बनाए र रावणलाई झुक्याएर त्यो लिङ्ग गणेशको हातमा दिन लगाए, जसले तुरुन्तै त्यसलाई जमिनमा राखिदिन्छन्। गोकर्णको महाबलेश्वर मन्दिर त्यही स्थान हो जहाँ आत्मलिङ्ग स्थापना भएको थियो।[]


प्रतिमा लक्षण

[सम्पादन गर्नुहोस्]
बान्टे श्रीमा रावणानुग्रह दृश्यको एक विस्तृत चित्रण। बहु-तहको कैलाशमा धेरै ऋषिमुनि र देवीदेवताहरू देखाइएका छन् भने सबैभन्दा तल्लो तहमा जनावरहरू त्रसित भएर भागिरहेका छन्। पर्वतको शिखरमा, शान्त शिव र उनको काखमा डराएकी पार्वती बसेका छन्।

रावणानुग्रहको चित्रणमा, माथिल्लो भागमा शिव र पार्वती कैलाश पर्वतमा बसेको देखाइन्छ भने तल्लो भागमा रावणले पर्वत उठाइरहेको देखाइन्छ। माथिल्लो भागमा, मुख्य आकृतिको रूपमा चार हात भएका शिव र उनको बायाँ तर्फ पार्वती हुन्छिन्, जसले आफ्ना दुवै हातले श्रीमान्लाई अङ्गालो हालेर टाँसिएको देखाइन्छ।[] शिव शान्त मुद्रामा छन् र आफ्नी त्रसित पत्नीलाई सान्त्वना दिँदै एक वा दुई हातले अँगालो हालेका हुन्छन्।[] शिवले जटा-मुकुट (जटाले बनेको शिरपोस) लगाएका हुन्छन् भने पार्वतीको कपाल जुरो बनाएर बाँधिएको हुन्छ। शिवले आफ्नो एउटा माथिल्लो हातमा त्रिशूल समातेका हुन्छन् र तल्लो दाहिने हातले अभयमुद्रा प्रदर्शन गर्छन्। यो दम्पती कमलको आसनमा वा खुट्टालाई कमलको पीठमा राखेर बसेको हुन सक्छ। कतिपय अवस्थामा पार्वती शिवको बायाँ काखमा बसेकी हुन्छिन्। कहिलेकाहीँ शिवले उनलाई मायालु ढङ्गले चिउँडोमा छोएको देखाइन्छ।[]

शिव र पार्वती माथि बसेको बेला रावणले कैलाश मुनि आफ्नो शिर-वीणा राख्दै।

कैलाश पर्वतलाई विभिन्न तरिकाले चित्रण गरिएको हुन्छ—ढुङ्गाको सामान्य थुप्रोदेखि लिएर एक जटिल बहु-तहको संरचनासम्म। बहु-तहको चित्रणमा, विभिन्न तहहरूमा कैलाशका बासिन्दाहरू जस्तै देवीदेवता, सेवक, ऋषिमुनि र जनावरहरू देखाइन्छ, जबकि शिव र पार्वती पर्वतको सबैभन्दा माथि विराजमान हुन्छन्।[][] अन्यथा, शिवका पुरुष सेवकहरू र पार्वतीका महिला सेवकहरूका साथै शिवका पुड्का अनुयायी गणहरूले कैलाशमा दिव्य दम्पतीलाई घेरेको देखाइन्छ। आकाशमा उडिरहेका अन्य देवताहरूले शिव र पार्वतीको स्तुति गरिरहेको पनि चित्रण गर्न सकिन्छ।[] उल्लेखनीय चित्रणहरूमा दम्पतीका दुई छोराहरू—हात्तीको टाउको भएका बुद्धिका देवता गणेश र युद्धका देवता कार्तिकेय; शिवको वाहन नन्दी र पार्वतीको सिंह समावेश हुन्छन्। कतिपय अवस्थामा, पर्वत हल्लिएकोले डराएर भागिरहेका जनावर र सेवकहरू देखाइन्छ। कतिपय अवस्थामा, त्यहाँका बासिन्दाहरूले हतियार र ढुङ्गाले रावणलाई आक्रमण गरिरहेको देखाइन्छ।[]

रावणलाई एक बलियो मानिसको रूपमा चित्रण गरिन्छ, जसले आफ्नो पूरै शक्ति लगाएर पर्वत उठाइरहेको हुन्छ। रावणलाई सामान्यतया दश टाउको भएको देखाइन्छ; यद्यपि, उनलाई थोरै टाउको वा एउटै टाउकोको रूपमा पनि चित्रण गर्न सकिन्छ। गधाको टाउकोलाई उनको दसौँ टाउकोको रूपमा पनि देखाउन सकिन्छ। उनको अनुहारमा पीडा वा हतासाको भाव हुन सक्छ। रावणलाई बहु-हात भएको देखाइन्छ; यद्यपि, हातको सङ्ख्या निश्चित हुँदैन र २० वटासम्म हुन सक्छ। सामान्यतया, उनका पछिल्ला वा माथिल्ला हातहरूले पर्वतलाई थामेका हुन्छन् भने तल्लो हातहरूले सहाराका लागि भुइँ वा घुँडामा टेकेका हुन्छन्, वा हतियार समातेका हुन्छन्।[] उनले कहिलेकाहीँ ठुलो तरबार (चन्द्रहास) समातेका हुन्छन्, जसले शिवद्वारा प्रदान गरिएको दिव्य तरबारलाई बुझाउँछ।[] अन्य हतियारहरूमा ढाल, धनुष, बाण र वज्र समावेश हुन्छन्। रावण कतिपय अवस्थामा खुम्चिएर बसेको वा घुँडा टेकेको मुद्रामा देखाइन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Dallapiccola, Anna L. (२००३), "Ravananugrahamurti", Dictionary of Hindu Lore and Legend, Thames & Hudson, आइएसबिएन 978-0-500-51088-9
  2. Brown, Robert L. (१९९१), Ganesh: Studies of an Asian God, Albany: State University of New York, पृ: 181, आइएसबिएन 0-7914-0657-1
  3. Rao pp.217–8
  4. Kala pp.37–8
  5. www.wisdomlib.org (२०२०-०६-२४), "Ravana-anugraha-murti (depiction of the Ravana) [Chapter 2.5]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०४
  6. Donaldson, Thomas Eugene (१९९५), Vyas, R. T., सम्पादक, Studies in Jaina Art and Iconography and Allied Subjects, Abhinav Publications, पृ: 170, आइएसबिएन 9788170173168
  7. 1 2 3 4 5 6 Kala pp. 38–42
  8. 1 2 3 4 Rao pp. 218–20