रूपचन्द्र विष्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

रूपचन्द्र विष्ट नेपालको मकवानपुरलाई आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षाबादी, नारीवादी र जनबादी नेता थिए. रुदाने, जसरु, रापसरु र स्वरूपे आदि नामबाट पनि चिनिने उनी बाबु पदम बहादुर र आमा चित्रकुमारीबाट सम्भ्रान्त परिवारमा विक्रम सम्बत १९९० पौष २६मा जन्मेका थिए. विष्टले पारिवारीक विचार भन्दा फरक कम्युनिस्ट राजनीति स्कुले छदै गरे. विक्रम सम्बत २००७ देखि २०१० सम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे. २०१० देखि २०१७ सालसम्म किशान र मजदुरहरूको पार्टीमा क्रियाशील रहे, विशेष किर्तिपुर क्षेत्रमा. त्यसैगरी २०१७ देखि २०२६ सालसम्म बिद्यार्थी र किशान क्षेत्रमा रह्यो. १७ सालपछी २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहे र पछी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भए. तर उनको बिचार प्रजातन्त्रबादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहंदा समेत गिरफ्तार गरियो. पटक पटक गिरफ्तार भए पनि जनमुखी राजनतिमा पूर्ण प्रतिवद्द रहे. साधारण जीवन बाच्ने उनीले बिबाह गर्दा समेत उनीले चिया मात्र खुवाए. दुइ सन्तान भएका उनको पछी सम्बन्ध बिच्छेद भयो।

धेरै पटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ परेका बिष्टलाई तत्कालिन पञ्चायति सरकारले धेरै पटक जेल हालेको थियो. उनले बि ए र बि एल सम्म औपचारिक अध्ययान गरे र पछी सरकारको असहयोग रहेकोले भारतमा स्व-निर्वाशित भएर पूर्वीय दर्शनको अध्यनन गरे. नेपालमा त्यो समय उनि मारिएको शंका समेत गरिएको थियो . फर्केपछि मकवानपुर्को दामनमा प्राकृतिक बिज्ञानको ८ वर्ष स्व-अध्ययन गरे. उनि स्थानीय बिद्यालयमा प्रधानाध्यापक भएर र बिहान बेलुका प्रौढ शिक्षा समेत चलाए।[१]

कुनै दलसँग आबद्ध नरहेका विष्ट राजनीतिज्ञभन्दा पनि दार्शनिक, चिन्तक र समाजसुधारक हुन्। ०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका विष्ट फोटो होइन विचार राखेर निर्वाचन लड्थे। विष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी थिए। केही समय विष्टसँग जेलमा बसेका एमालेका नेता खड्ग ओली यसरी सम्झन्छन् विष्टलाई, 'उनी महान् मान्छे हुन्, जीवनका विशेषता जनशैली, राजनीतिको विशेषता जनमुखी यी रूपचन्द्रका विशेषता हुन्। [२]

सधैं जनता र चेतनाका कुरा गर्ने तथा दुःखी एवम् गरीब जनताको जीवनस्तरमा बाँच्न अभ्यास गर्ने भएकोले कतिपयले रूपचन्द्रलाई कम्युनिस्ट पनि भन्छन, तर खासमा उहाँ स्वतन्त्र चिन्तक, विचारक, दार्शनिक एवम् प्रजातन्त्रप्रति प्रतिबद्ध देशभक्त नेपाली थिए। [३] विसं ०२९/३० तिर जनमुखी नेता रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरू गरे। रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए। ‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो। यस आन्दोलनको सबभन्दा महत्त्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन। यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो- थाहा पा भाते ! जान् भाते ! बुझ् भाते ! थाहा आन्दोलनको मूल लक्ष्य थियो- चेतनाहीन प्रजाको चेतनासम्पन्न नागरिकमा रूपान्तणमार्फत राजनीतिक र सामाजिक जागरण (या विद्रोह)।

२०३८ र ४३ सालमा उनि राष्ट्रिय पञ्चायतमा हुँदा र पछी २०५६ साल आशार १७मा निधन हुदासम्म आफ्नो जनमुखी बिचार सम्प्रेषण गरे. यो त्यहि समय हो जब उनको थाहा आन्दोलनको दार्शनिक आयाम बाहिर आयो। [४] सायद रूपचन्द्र नै नेपालको पहिलो नेता थिए, जसले जनताको सूचनाको हकलाई व्यावहारिक रूपमा सम्मान गरेका थिए। दामन र पालुङ गाउँ पञ्चायतलाई मिलाएर रूपचन्द्रले गाउँ विकास समिति बनाएका थिए, जसको कार्यालयलाई विकास घर भनिन्थ्यो। रूपचन्द्रले विकास करको नियम चलाएका थिए। दामन र पालुङवासीले एक धार्नी आलु बेच्दा ५ पैसा विकास कर तिर्नुपथ्र्यो। आफूले तिरेको कर कहाँ खर्च भइरहेको छ, त्यसको प्रस्ट जानकारी पाउँथे उनीहरू। किनभने, दिनदिनै विकास-घरको सूचनापाटीमा विकास कर कहाँ खर्च भइरहेको छ, त्यसको हरहिसाब टाँसिएको हुन्थ्यो।[५] पञ्चायती शासनकालको अन्धकारमय समयमा शासकहरू मस्ती लुटिरहेका थिए भने जनता अबुझ खसीबोकाझैँ डोहोरिरहन्थे। उनीहरू शासकको स्वार्थको जालमा अल्झिएका थिए। एक हिसावले नबुझेर जनतालाई त्यही मज्जा लागेको थियो। आफ्नो हैसियत र सामथ्र्यबाट जनता अनविज्ञ थिए। केही जागरुक नेपालीहरू मुक्तिको द्वार खोजिरहन्थे। जसरी आफ्नो नाइटोको विनालाई चिन्न नसकेर र त्यसको वासनामा लोभिएर मृग रनवन डुल्दै विना खोज्छ, त्यसै गरी जागरुक नेपालीहरू रनवन डुल्दै थिए। ती अनगिन्ती नेपालीहरूमध्येका रूपचन्द्र विष्ट त्यस्ता नेपाली हुन् जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन्। श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन्। मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक बन्न सकेनन्। मकवानपुर जिल्लामा कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर पनि कृषिक्रान्तिका अभियन्ता मानिएनन्। आफ्नै र जनताको जनश्रमदानद्वारा पालुंगको जनकल्याण मावि बनाउँदा उनी शिक्षासेवी वा समाजसेवी कहलिएनन्। मात्र हन्डर खाए, राज्यस्तरबाट चोट पाए। बौद्धिक कहलिएका राजनितिज्ञहरूको सोचमा सन्की स्वभाव, तामसी र पागलपनले मात्तिएको व्यक्ति भन्ने दर्जा पाए। उनका हरेक क्रियाकलाप सत्यमा आधारित र जनकल्याणले ओतप्रोत भएका थिए। उनका विचारको हिजो पनि खाँचो थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ। उनी सदावहार राजनीतिज्ञ, दार्शनिक, कृषि अभियन्ता, समाजसेवी, शिक्षासेवी र जनप्रिय एवं सम्मानीय राजनेता हुन् भन्ने कुरा उनका निम्न क्रियाकलाप र विचारले पुष्टि गर्दछ।

१.केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अतियथार्थमुखी, कर्तव्यमुखीवाहेक, पछुवा, भगुवा सारा दोषी, जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि निस्वार्थ ?

उनको यो कवितांश ०३९ सालको स्थानीय चुनावको पर्चामा लेखिएको थियो। हामी यिनै पंक्तिलाई मूल्यांकन गर्दा पनि उनमा कवित्व भावना प्रशस्त पाउँछौँ। वैचारिक विशालता भेट्दछौँ। सत्यको पक्षमा वकालत गर्ने यस युगका विदुरका रूपमा उनलाई भेट्दछौँ।

२. पैसाबाट सत्यता, पदबाट इन्साफ, जातबाट जनहित, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, रन्डीबाट इमान, गुन्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र, पाइँन्छ भन्नेले लगाएछन् चितुवालाई बाख्राको गोठालो।

वि.सं. ०३९ सालकै पर्चामा छापिएको यो सदावहार कवितांशबाट समेत उनी सत्य बक्ने, प्रखर दूरदृष्टि भएका विचारक हुन् भन्ने कुरा सिद्ध हुन्छ। उनले पञ्चायती व्यवस्थालाई त्यही वेला चितुवाको संज्ञा दिएका छन्। व्यवस्थाले नै देश र जनतालाई खाएको कहिरन उतारेका छन्। खराव मन भएकाहरूबाट असल काम होला भनी सोच्नु दिवास्वप्ना भएको कुरा उल्लेख गरेका छन्।

३. पूरापूरी उनले तीन दशक थाहा आन्दोलन चलाए। यस आन्दोलनको मुख्य सार थियो,... निष्पक्ष सक्रियताको अभ्यास। अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनैतिक र सामाजिक जागरण ल्याउनु। पक्ष वा विपक्षमा उभिएर काम गर्न सजिलो हुन्छ तर त्यो निष्पक्ष हुँदैन। कुनै पनि सिद्धान्तको पक्ष वा विपक्षमा उभिएर काम गर्दा त्यसको अघि वा पछि ठूलो भीड एकत्रित हुन्छ। त्यसमा आग्रह वा पूर्वाग्रहले ओतप्रोत भई कार्य गर्नै पर्छ। यसो गर्दा आफ्नो विवेक गुमाएर मात्र कार्य सम्पादन गर्न सकिन्छ। यसो गर्दा पाइने प्रतिफल समेत निष्पक्ष हुँदैन। तसर्थ हामीले कुनै क्षेत्रमा रहेर कार्य गर्दा निष्पक्ष भएर आफ्नै विवेक र बरबुताले गर्न सक्यौँ भने त्यो सर्व स्वीकार्य सावित हुन्छ। सत्यको राजधानीमा देर हुन्छ तर अँधेर हुन्न। सत्य कुरालाई चाडै पचाउन वा अपनाउन नसकिएला तर कालान्तरमा त्यो सर्वत्र पुजनीय बन्दछ। सुकरातहरू, ओशोहरू, चाल्र्स डार्बिनहरू, तुलसीमेहरहरू शुरुमा कसैका आँखामा सत्य थिएनन्, अहिले उनीहरूलाई लोकले श्रद्धा गर्छ। लक्ष्मीप्रसादहरूले दरिद्र र राज्यद्वारा अपहेलित जीवन भोगेर मरे। अहिले उनीहरूकै जगमा उनीहरूकै नाम बेचेर लक्ष्मीपति बनेर राज्यबाट सम्मानित जीवन भोग्नेहरू धेरै छन्। तसर्थ रूपचन्द्र विष्ट दूरद्रष्टा थिए, वीर थिए, सत्य र न्यायका हिमशैल थिए भन्न हिच्किचाउने ठाउँ छँदै छैन्।

४. रूपचन्द्र विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए। उनी पर्चापम्पेलेटहरूमा तस्वीर हैन विचार लेख्थे। तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे। उनले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भनेनन्। मात्र विचार बाँडे। उनका विचारसँग सहमत हुनसक्नेलाई पनि स्वविवेकले चल्न भन्थे। तर सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापहरूको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाइ थियो। राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक बर्चस्व राख्न सक्ने महान् योद्धा थिए। उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए। उनको आवाजले मूर्तरूप भने उनको निधन पछि मात्र पायो।

५. श्रमिकको राजनीति पूँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महल (दरबार)ले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ। वास्तवमा जसलाई जेको खाँचो छ, त्यसलाई पाउन ऊ स्वयम् जाग्नुपर्छ। आमूल क्रान्ति ल्याउनुछ भने क्रान्तिकारीले स्वयम् अग्रसरता देखाउनुपर्छ। दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ। श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ। अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाई गर्नुपर्छ। श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँठाउँमा कठोर बन्नुपर्छ। जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ। होस सहितको जोसले काम गर्नुपर्छ।

६. हामी कसैका होइनौँ, कोही हाम्रा होइनन्। मात्र हामी सत्य र न्यायका र सत्य र न्याय हाम्रा लागि हुन्।

उनको यस कथनले मानव जीवनको कटुसत्यलाई ओकलेको छ। प्रकृतिमा हामी एक्लै आयौँ तर समूहमा बाँच्छौँ र धर्तीबाट विदाचाहिँ एक्लै हुन्छौँ। जो न्याय र सत्यमा अडिग भएर बाँच्यो उसको जीवन सार्थक हुन्छ। रूपचन्द्रको कथनी र करणीमा सामञ्जस्य गर्दै न्याय र सत्यको जगमा उभिन गरेको आह्वान् स्तुत्य छ।

७. सामान्यरूपले हेर्दा रूपचन्द्रका केही क्रियाकलाप अराजकजस्ता लाग्दछन्। यसका केही नमुना हेरौँ...उनी पञ्चायती व्यवस्थाविरोधी एजेण्डा बोकेर चुनाव जित्थे। चुनावी पर्चा सित्तैमा नदिएर बिक्री गर्थे। जनतालाई तिमीहरू भाते कुकुर हौ भनेर भोट माग्थे। ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उनले प्रयोग गरेका हुन्। ‘भाते कुकुर’ शब्दको अभिधा अर्थ खराब भए पनि यी शब्दले पुकारिने मानिस असल हुनेगर्थे। कुकाम गर्नेहरूले कहिल्यै यस खाले सम्बोधन पाएनन्। भ्रष्टचारीलाई उनी खुलेरै भ्रष्टचारी भन्थे, गद्दारलाई गद्दार नै भन्थे। छोराछोरीलाई नपढाउनेलाई श्रमसजायको दायरामा ल्याउँथे। अरूको कानले मागेको हैन आफ्नो मुखले रोजेको भाषा र भाकामा आफ्ना कुरा राख्न पाउनुपर्छ भनेर खुल्ला वाक्स्वतन्त्रताको वकालत गर्थे। पञ्चायतलाई शोषक, फटाहाहरूको अराजक व्यवस्था भन्थे। नेतानेतृ सम्माननीय हुन जनता जाननीय हुनुपर्छ भन्ने उनको मत छ। उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र सर्वसाधरण एवं शासकहरूसँग एकै किसिमको भाषा बोले। चाहे सर्वसाधरण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे। तपाईँ भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए। यसको कारण के थियो भने हामी सामु छँदा आदरसूचक सर्वनामको प्रयोग गर्छौँ तर उसको अनुपस्थितिमा अनादरसूचक सर्वनामको प्रयोग गछौँ। यसको कुप्रभाव पर्ला कि भनेर सहयोगीहरूले भन्दा उनी भन्थे...कसैलाई खुशी पार्न बोल्ने हैन। सत्य बोल्ने हो। उनी जसलाई जस्तो देख्यो त्यस्तै सम्बोधन गर्थे। कोही कालोधन सोहोर्न पल्केको छ भने उसलाई भ्रष्टचारीको विल्ला भिराइदिन्थे। उनी सबैलाई नाताले हैन नामले पुकार्थे। कसैले नाता लगाएमा मेरो नाम छैन, नामले पुकार् भन्थे। जसले पनि आफूले चाहेअनुरूपको वाक्स्वतन्त्रता जाहेर गर्न पाउनुपर्छ भन्थे। कतिपय प्रसंगमा कानूनी नजरबाट बचेर जनतालाई सूचित गर्ने काम फत्ते गराउन चाहन्थे। उनी सार्वजनिकरूपमै मानिसहरूलाई भन्थे...तँ एक अंगालो श्रीमती वा श्रीमान् र एक थाल भातमा जीवन फ्याकिराखेको छस्। पालुंगको जनकल्याण माविको निर्माणमा उनले सम्भ्रान्त परिवारकी पत्नी उमा शाहलाई आफू र अरू सरह ढुंगा बोकाएका थिए। यस्तै कारणले उनको वैवाहिक सम्बन्धविच्छेद पनि भयो। उनी राजनैतिक दलमा आवद्ध पनि थिएनन्, उनको आफ्नो दल पनि थिएन। उनी पूर्ण वाक्स्वतन्त्रताको पक्षमा उभिएका थिए। अरूले भनेका कतिपय कुरा उनी वेठीक भन्थे। तर आफूले चाहिँ आफू ठीक र संसार बेठीक भन्न पनि पाउनुपर्छ भन्थे। यसप्रकार उनी कतिपय ठाउँमा विवादास्पद व्यक्ति जस्ता पनि ठहरिएका छन्। उनका सार्वजनिक भएका धेरै कुराहरूमध्ये केही अन्धसमर्थन गर्ने खालका छन् तर केही कुराहरू रहस्यले भरिएका छन्। उनको निधन ०५६ साल असार ७ गते ताका केही सहयोगीवाहेक लगभग उनी एक्लो र विक्षिप्त मनोदशामै थिए। उनी राजा वा विदेशी दलाल वा त्यस्तै कुनै अपराधिक गिरोहका समर्थक वा कार्यकर्ता भएका भए सामान्यभन्दा सामान्य जीवन यापन र मरण स्वीकार्नु पदैनथ्यो होला। जे होस्, रूपचन्द्र विष्ट अराजकताले नछोएका पवित्र व्यक्ति भने थिएनन्। उनमा राम्रा नीतिको खानी थियो। नराम्रा लाग्ने कुरामा पनि सत्य र न्याय भने लुकेकै पाइन्छ। जीवनको वास्तविकता कतै न कतै लुकेकै पाइन्छ।

८. जनकल्याण माविको स्थापनाजस्ता प्रसंगहरूले पनि शिक्षाप्रतिको उनको अनुराग झल्कन्छ। सबै बाबुआमाले आफ्ना सन्ततीलाई अनिवार्यरूपले पढाउनुपर्छ भन्ने मान्यता उनको थियो। छोरा नपढाउने बाबुआमाले सजायस्वरूप जनश्रमदान गर्नुपर्ने र छोरी नपढाए दोब्बर सजाय भोग्नुपर्ने नियम बनाएका थिए। यस नियमले आजित भएका एक बुज्रुकले आफ्ना छोराछोरीलाई पढाए पनि वा नपढाए पनि तिमीलाई के मतलव भनेर रिस देखाए। यसको उत्तरमा रूपचन्द्रको मत थियो...नपढेर सन्तान बिग्रे डाका गर्न हाम्रो घर आउँछन्, मुलुकको अहितमा काम गर्छन्, अतः सन्तान तिम्रो भए पनि चासो हाम्रो हुन्छ। घाटा हामीलाई हुन्छ। हाम्रो गाउँठाउँमा डकैत र गद्दार मान्छे हुँदा के तिम्रोमात्र इज्जत गुम्छ कि हाम्रो पनि ? रूपचन्द्रको यस प्रश्नले ती बुजु्रकको मुख थुनिएको थियो। त्यसैले उनी भन्थे...छोराछोरी पढाउने बाबुआमा जिन्दावाद, छोराछोरी नपढाउने बाबुआमा मूर्दावाद.......।

९. उनको जीवनशैली बडो सरल थियो। २०५६ सालको संसदीय चुनावमा उनले जम्मा ८१ मत पाएर पनि उनी चुनावै चितेकोजस्तो गरी खुशी भएका थिए। उनको मत थियो...कम्तिमा सत्य र न्यायमा रहने एउटा क्षेत्रमा ८१ जना त भाते कुकुरहरू रहेछन्। यी सबै क्षेत्रमा यही दरमा भाते कुकुर हुने हुन् भने जनता सहजै जाननीय हुने थिए। (आफूलाई मत दिनेलाई त उनी भाते कुकुर भन्थे, यो विशेषण उनको नजरमा हामीले भन्ने गरेको माननीय वा सम्माननीय शब्दभन्दा कम महत्व राख्ने थिएन।) उनी श्रम नगरीकन रहनै सक्दैनथे। उनी सार्वजनिक हितको काममा सरिक रहन्थे, उनी सधैँ सत्य बोल्थे, ध्यान गर्थे, मूर्तिपूजाका विरोधी थिए। सधैँ सत्य कुरा अरूलाई जानकारी दिन्थे। उनी जनचेतनाका संवाहक र गरिव, दुःखीका पहरेदार भएर जीवन समर्पण गरेका एक जागरुक योद्धा हुन्। उनी भन्थे...एक दिनमा २८८ वटा ५ मिनेट हुन्छन्। मात्र तिमी ३ वटा ५ मिनेट खर्च गर। ५ मिनेट सत्य बोल, ५ मिनेट सत्य सोच (ध्यान गर) र ५ मिनेट सत्य अरूलाई थाहा देऊ। यस प्रकार दिनमा कम्तिमा १५ मिनेट खर्च गर भन्ने उनको भनाइ थियो।

१०. पञ्चायती व्यवस्थालाई महाडाकातन्त्र मान्ने रूपचन्द्रले जीवनको उत्तराद्र्धकालसम्म पनि एकै किसिमको धारमा उभिएर विचार फैल्याए। आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गकोझैँ अन्तेष्टी गर्न अह्राएका थिए। सहयोगीलाई आफ्नो मृत लासमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न समेत भनेका थिए। थाहा अभियान सफल पार्न युद्धकलाका राष्ट्रिय खेलाडी भतिजा रणसंग्राम विष्टको जति सहयोग लिए पनि उनलाई नाताको आधारमा जापान पठाउन सिफारिस गर्न उनी राजी भएनन्। भतिज रणसंग्राम योग्य भए पठाउन सिफारिस गर्छु, ऊभन्दा अरू नै योग्य भए उसैलाई पठाउन सिफारिस गर्छु भनेर सिफारिस पत्रमा लेखेका थिए। नाताको मोहले न्याय मर्न नदिने उनको हक्की स्वभावलाई यस घटनाले पनि पुष्टि गर्छ।

कलाकार लक्ष्मण भुजेलले लगातार ९ वर्षको समय लगाएर बनाएको उनको मूर्ति (शालिक)को अनावरण एनेकपा माओवादीका अध्यक्ष प्रचण्डद्वारा अनावरण भयो। आफ्नो मूर्ति नबनाउन बुद्ध, ओशोहरूले भने पनि उनीहरूका पथमार्गीहरूले मूर्ति बनाएरै छाडेका छन्। त्यसै गरी रूपचन्द्र मूर्ति विरोधी भए पनि अनुयायीहरूले उनको मूर्ति बनाएरै छाडे। हुन त महान् मान्छेले कहिल्यै पनि मेरो मूर्ति बनाऊ, मेरो पूजा गर, मलाई श्रद्धा गर, म जे भन्छु, आफ्नो विवेक गुमाएर मेरो पथमा हिँड भन्दैनन्। श्रद्धाले, स्मरणीय बनाउन मूर्ति (शालिक) बनाउनु अन्यथा भने होइन। जसको पनि ठीक विचारलाई समर्थन गर्दा हुन्छ। प्रवृत्तिले, कार्यशैलीले अनि सिद्धान्तले रूपचन्द्र बामपक्षधर रहेको देखिन्छ। पत्रकार वेदप्रकाश त्रिपाठीले रूपचन्द्रलाई कम्युनिष्टहरूले कोपभाजनमा पारेर निरास तुल्याएको चर्चा गर्न पनि छाडेका छैनन्। उनको मतमा केही कम्युनिष्टहरूले रूपचन्द्रलाई मृत्युपछि कम्युनिष्ट पार्न खोजे भनेर उनले आफ्नो संस्मरणमा आरोप पनि लगाएका छन्। तर उनी दलीय झण्डामुनि आएनन्। उनी माओ, लेलिन, महात्मा गान्धीहरूजस्ता प्रखर राजनीतिज्ञहरूको नीतिबाट भने प्रशस्त प्रभावित थिए। अर्काको सुखसयल र समुन्नतिमा जीवन अर्पण गर्नेलाई राजनैतिक दलको झण्डामुनि हैन राष्ट्रिय झण्डामुनि राख्दा नै उचित होला।

नेपालले चिन्न नसकेको महामानव भनेर पत्रकार वेदप्रकाश त्रिपाठीले रूपचन्द्रलाई चिनाउन खोज्छन् भने खगेन्द्र संग्रौला उनलाई मान्छेका रूपमा हैन एक छाताका रूपमा व्याख्या गर्दै भन्छन्....उनी चेतना र आदर्शका विशाल छाता थिए, त्यो छातामुनि ओत लाग्न मानिस त्यसै डोहोरिएर आउँथे।... रूपचन्द्रका अनुयायीहरू जो थिए, तिनले जनमुखी ‘थाहा’ पथको राम्ररी भेउ नै नपाएको अल्पज्ञानी बटुवाजस्तो अभिनय गरे। रूपचन्द्रले विदा लिएको एघार वर्ष लागेको छ। उनीबाट आजका जनता र नेतानेतृले ठूलो पाठ सिक्नु जरुरी छ। मरिचमानसिंह श्रेष्ठ, लोकेन्द्रबहादुर चन्दहरूले मंत्री, उपप्रधानमंत्री बन्न गरेको आग्रहलाई उनले ठाडै अस्वीकार गरेर हामीलाई पाठ पढाएका छन्। जनता जगाउन र देशको हित गर्न पद नै चाहिन्छ भन्ने छैन। पद बाहिर रहेर पनि मुलुक र जनताको समुन्नती गर्न सकिन्छ भन्ने उदाहरण उनी स्वयम् भएका छन्। हो, साँच्चै हामीले रूपचन्द्रको विशाल रूपलाई चिनेकै छैनौँ। अब पनि चिन्न भुल गयौँ भने हामी आफ्नै शब्द र लवजमा भाते कुकुर मात्र हैन गद्दार कुकुर कहलिन सक्छौँ। सब कुराको औचित्य हुन्छ र औचित्य छ पनि। राष्ट्रियताको सवालमा एकमत हुनु आवश्यक छ। राष्ट्रिय स्वाभिमानका लागि काम गरे नगरेको खबरदारी गर्न पार्टी र नेतानेतृको खाँचो छ। जनताले वैयक्तिक स्वार्थमा डुबेर मुलुकलाई धरासायी बनाओ भनेर भोट दिएका हैनन् नि। राजनैतिक कुरूपताको दर्शनार्थी बन्ने भूत सवार उनीमाथि भएको छैन। कसैको अपेक्षालाई तिरस्कार गर्ने मन पनि उनको होइन। उनी राजनीतिज्ञ बन्न रुचाएनन् तर देश र जनतालाई अग्रगामी पथमा लम्काउने नीतिको समर्थक भने जरुर भए। मिथिलाञ्चल पनि कला–संस्कृति, रहनसहन, पर्व मेलामा कोहीभन्दा कम छैन, सांस्कृतिक सम्पदाले धनी छ, समृद्धशाली छ। नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा मिथिलाञ्चलले ओगटेको छ। मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको निजी सम्पदा बनेको छ। विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ। जानकी मन्दिर, शखडेश्वरी भगवती मन्दिर, राजदेवी मन्दिर, कंकालनी मन्दिरजस्ता मन्दिरहरू विश्व हिन्दू धर्मावलम्बीकै पवित्र तीर्थस्थल हुन्। यस्ता अनेकन कुरा भए पनि मधेस अझै विकासको पथमा लम्कन सकेको छैन। जनता जाननीय नहुनु नै प्रमुख कारण हो। अतः मधेसले भोगेको पीडालाई कम गर्न मधेसले थाहा पाउनैपर्ने ‘थाहा आन्दोलन’को उपादेयीताको पाटो महत्वपूर्ण छ। सबैलाई चेतना भया........................................साभार् नन्दलाल आचर्य

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. http://www.youtube.com/watch?v=i8hODUIWCOk
  2. http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=219656
  3. http://www.ghatanarabichar.com/?p=366 देवप्रकाश त्रिपाठी, एक महामानवको सम्झनामा
  4. http://www.youtube.com/watch?v=imBkhdAmGVw
  5. http://www.rajans.com.np/2010/08/23/%E0%A4%9C%E0%A4%A8%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%80-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE-%E0%A4%B0%E0%A5%82%E0%A4%AA%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0-%E0%A4%B5%E0%A4%BF/