रेडियो ध्रुवतारा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो ध्रुवतारा
Dtfmlogo.jpg
रेडियो ध्रुवताराको लोगो
प्रशारण क्षेत्र:दैलेख, (नेपाल)
आवृति८९.८ मेगाहर्ज
प्रथम प्रशारण मितिवि.सं. २०६७ आषाड ६ गते
प्रकार:मनोरञ्जन, सूचना, शिक्षा
भाषा:नेपाली, खाम, मगर
स्वामित्व:ध्रुवतारा संचार सहकारी संस्था
वेबसाइटdtfm.org

रेडियो ध्रुवतारा दैलेखको ना.न.पाबाट प्रसारण हुँदै आएको एक एफ.एम. रोडियो हो। यो रेडियो एफ.एम. बैण्डको ८९.८ मेघाहर्जबाट प्रसारण हुन्छ। यसको प्रसारण नेपालको मध्य तथा सुदूर पश्चिमका अधिकांश जिल्लाहरूमा सुन्न सकिन्छ।

स्थापना[सम्पादन गर्ने]

दैलेख जिल्लाको इतिहासमा छोटो समयमा नै आफ्नो स्थान ओगट्न सफल भएको रेडियो ध्रुवतारा सामुदायीक एफ. एम.ले पिछडिएका र सूचनाबाट बंचित जनसमुदाय तथा जनताको अधिकार जनता कै आवाजको रुपमा बोल्ने सञ्चार माध्यमको स्थापना गर्ने उदेश्य अनुरुप वि.सं. २०६६ साउन २८ गतेका दिनमा बसेको यस संस्थाको पहिलो भेला र २०६६ साउन २९ गते बसेको दोश्रो भेलाको निर्णय अनुसार दैलेख जिल्लामा एक सञ्चार सहकारी संस्था दर्ता गरी यसको उदेश्य अनुरुप रही सामुदायीक रेडियो सञ्चालन गर्ने निर्णय भएपछी वि.सं. २०६६ भाद्र १२ गते ध्रुवतारा सहकारी संस्था लिमिटेडलाई विधीवत रुपमा डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता गरी यस संस्थाको स्थापना गरिएको हो । [१] सयौं फूलका थुङ्गा मिलेर एक पवित्र माला बने झैं दैलेखका हरेक पिछडिएका र अधिकारबाट पछाडी परेका हरेक वस्तीहरूको वस्तुस्थितीलाई अवलोकन गरी अग्रजहरूबाट पाएको प्रेरणालाई एक साधनको रुपमा प्रयोग गर्दै वि.सं. २०६६ साल कात्तिक ९ गते सूचना तथा सञ्चार मन्त्रालयबाट ध्रुवतारा सञ्चार सहकारी संस्थाको मातहतमा रही ध्रुवतारा सामुदायीक एफ एम को इजाजत प्राप्त भएपछी वि.सं. २०६६ पुष ९ गतेका दिनदेखी विविध रुपमा संस्था स्थापना भइ अनौपचारीक रुपमा दैनिक ८ घण्टाका दरले परिक्षण प्रसारण सुरु गरिएको थियो । [१] त्यसपछी वि.सं २०६६ माघ २८ गतेका दिनमा दैलेख जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमद्वारा औपचारीक रुपमा उद्घाटन गरे पश्चात यो रेडियोको प्रसारण समय दैनिक ८ घण्टाबाट बढाएर दैनिक १३ घण्टा गराइएको थियो । त्यसैले यो सेवामा आधारित सञ्चारलाई आधार बनाएर पिछडिएका वस्तीहरूको आर्थिक, सामाजिक र सांकृतिक जस्ता क्षेत्रको विकास गर्ने उदेश्यले स्थापना गरिएको सहकारी संस्थाद्वारा संचालित रेडियो हो । [१]

कार्य क्षेत्र[सम्पादन गर्ने]

ध्रुवतारा सहकारी संस्था लिमिटेडको कार्य क्षेत्र दैलेख जिल्ला भरी रहेको हुँदा नारायण नगरपालिका लगायत जिल्लाका सबै गा.वि.स. तथा नगरपालिकामा बसोवास गर्ने जुनसुकै व्यक्तिले पनि यस संस्थामा आवद्ध हुनको लागी न्युनतम शेयर खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । [१] यो रेडियोबाट बिहान देखी राती सम्म संस्कृतीको प्रतिक मानिने बाँसुरीको धुनसँगै सत्य तथ्य सन्देशमुलक समाचारको साथ, लोक संस्कृती बचाइ राख्न बज्छ दिन रात । यो हो पश्चिम नेपालको आवाज रेडियो ध्रुवतारा एफ एम ८९.८ मेगाहर्ज भन्ने आवाज सुन्न सकिन्छ ।

रेडियोको विवरण[सम्पादन गर्ने]

विहान ५ बदेदेखि ११ बजेसम्म र साँझ ३ बजेदेखि १० बजेसम्म नियमीत प्रसारणको सेवा दिने रेडियो ध्रुवताराको स्टेशनमा ३ जना महिला कर्मचारी र ७ जना पुरुष कर्मचारी गरेर जम्मा १० जना कर्मचारीहरू रहेका छन् । यसैगरि स्थानिय रुपमा सहयोग गर्ने सहयोगी संवाददाताहरू दैलेख जिल्लाका ४९ गा.वि.स. र २ वटा नगरपालिकाबाट जम्मा ५५ वटा संवाददाता रहेका छन् भने बाँके, सुर्खेत, कालिकोट, जाजरकोट, अछाम, जुम्ला, रोल्पा, रुकुम, दाङ, कैलाली, बर्दियासल्यान समेतका १२ जिल्लाहरूमा प्रत्यक जिल्लाका १-१ जना जिल्ला संवाददाता गरेर १२ जना जिल्ला संवाददाताहरू रहेका छन् । [१] सामुदायिक रेडियो सम्बन्धी जानकार तथा रेडियोका बारेमा वर्षौं वर्ष अध्यायन गरेका विशेषज्ञहरूको भनाई अनुसार यो रेडियोको क्षमता १००० वाट छ र यसको प्रसारण पश्चिम नेपालका करिब ३० वटा जिल्लामा रहेका भु-भागहरूमा सुन्न सकिन्छ । यसका साथै यो रेडियोका बारेमा सामान्य विवरण यस प्रकार रहेको छ[१]

क्र.सं. मिति विवरण प्रमाण पत्र विवरण
वि.सं. २०६६ भाद्र १२ सहकारी कार्यालयमा ध्रुवतारा सहकारी संस्था लिमिटेडको नाममा दर्ता भएको दर्ता नं. ८/२०६६/०६७
वि.सं. २०६६ कार्तिक ९ सूचना तथा सञ्चार मन्त्रालयबाट इजाजत पाएको इजाजत पत्र नं. ३९३/२०६६/०६७
वि.सं. २०६६ पौष ९ प्रविधी परिक्षण प्रसारण सुरू भएको -
२०६६ माघ २८ सूचना तथा सञ्चार मन्त्रालयबाट स्थलगत अनुगमन तथा रेडियोको औपचारीक उद्घाटन -
वि.सं. २०६७ असार नियमित प्रसारणको अनुमती पाएको -

सञ्चालनको प्रक्रिया[सम्पादन गर्ने]

समुदायमा लुकेर रहेका हरेक घटना, समाचार तथा सूचनालाई जनताको प्रत्यक्ष कानमा पुगाउने, सूचनाको मालिक भइ उन्नत समाजको निर्माण तथा आत्म निर्भर, स्वाभलम्बी, स्वायत्व र सभ्य समाजको निर्माण गर्ने उदेश्य बोकेको रेडियो ध्रुवताराको सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मा ध्रुवतारा सामुदायीक संस्था लिमिटेड दैलेखको रहेका छ । १००० वाट क्षमताको ट्रांसमिटरबाट दैनिक १८ घण्टाको नियमित प्रसारणबाट विभिन्न कार्यक्रमहरूको प्रसारण दैलेख, जाजरकोट, सल्याण, प्युठान, रुकुम, रोल्पा, अछाम, कालीकोट, जुम्ला, मुगु, डोल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी लगायत पश्चिम नेपालका २५ जिल्लाका आसपासका क्षेत्रहरूमा वसोवास गर्ने करिब ८० लाख मानिसहरूले सुन्ने गर्दछन् । [१] रेडियो सञ्चालको लागि यो संस्थाले १०० जनाको सञ्चालक समिति बनाउने व्यवस्था गरेको छ । सञ्चालक समितिमा २५ जना महिला सदस्यहरू रहने र ७५ जना पुरुष सदस्यहरू रहने व्यवस्था रहेको छ । १०० जना सदस्यहरूमा २५ जना संस्थापक सदस्य, ९ जना आजिवन सदस्य, ६६ जना साधारण सदस्य रहने व्यवस्था रहेको छ । माथि उल्लेखित १०० जना सदस्यहरू विभिन्न जाती र समुदायबाट छानिने व्यवस्था रहेको छ जसमा १५ जना सदस्य जनजातीबाट राखिन्छ, २५ जना सदस्य दलित समुदायबाट राखिन्छ, २५ जना सदस्य ब्राह्मण समुदायबाट र ३५ जना सदस्य क्षेत्री समुदायका रहन्छ । [१] यसका साथै रेडियो ध्रुवताराले दैलेख जिल्लाका प्रत्यक गा.वि.स. तथा नगरपालिकाहरूमा एक-एकवटा रेडियो स्रोता क्लब गठन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बमोजिम हाल विभिन्न गा.वि.स.हरूमा २० वटा रेडियो स्रोता क्लब गठन भैसकेका छन् भने बाँकीका गा.वि.स.हरूमा पनि स्रोता क्लब गठन हुने प्रक्रियामा छन् ।[१]

सहयोगी तथा साझेदारी संस्थाहरू[सम्पादन गर्ने]

सुर्खेत देखी ६८ कि.मी. उत्तर तथा समुन्द्र सतहदेखी १,४५० मिटर उचाइँमा रहेको दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका-१ पुरानो बजार स्थित रेडियो ध्रुवतारालाई विभिन्न गा.वि.स.मा गठन गरिएका स्रोता क्लब लगायत विभिन्न संघ संस्थाहरूले सहयोग गर्दै आएका छन् । सामुदायीक रेडियो प्रसारक संघ, कम्युनिकेसन कार्नर इक्वेल एक्सेस, जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष तथा सदस्यहरू लगायत सहकारी संस्थाका प्रतिनिधीहरू, दैलेख जिल्ला स्थित राजनितिक दलका प्रमुख एवं प्रतिनिधीहरू, कानुनी सल्लाहकार लगायत आफ्नो ठाउँबाट सहयोग गर्ने सम्पुर्ण जिल्लावासीहरू यस संस्थाका सहयोगीहरू रहेको छन् ।[१] ध्रुवतारा सहकारी संस्थाद्वारा सञ्चालन भएको रेडियो ध्रुवतारा सामुदायीक एफ एमलाई सरकारी तथा गैह्र सरकारी संस्थाहरूद्वारा सचेतना मुलक कार्यक्रमहरूको साझेदारी रहेको छ । जस्तै :- केयर नेपाल सामुदायीक सहयोग कार्यक्रमको आर्थिक सहयोगमा रहेको रेडियो कार्यक्रम परिवर्तन , जिल्ला वन कार्यालय दैलेखको आर्थिक सहयोगमा रहेको रेडियो कार्यक्रम हाम्रो वन, बि.बि.सी. नेपाली सेवा, सामुदायीक रेडियो प्रसारक संघद्वारा प्रसारित साझा खबर तथा हाम्रो नेपाल राम्रो नेपाल उज्यालो 90 नेटवर्कद्वारा प्रसारीत कार्यक्रम इक्वेल एक्सेस एन्टेना फाउन्डेसन काठमाडौं दलित स्वाबलम्भी समाज दैलेखले सञ्चालन गरेको दलित तथा पिछडिएका वर्गहरूको आवाजलाई बुलन्द गर्ने रेडियो कार्यक्रम दबिएको आवाज लगायत संघ संस्थाहरूले सहयोग गरेका हुनाले यि संघ संस्थाहरूले यो रेडियोसँग साझेदारीको सहयोग गरीरहेका छन् । [१]

लक्ष[सम्पादन गर्ने]

रेडियो ध्रुवतारा सामुदायिक एफ एमले निम्न अनुसारका लक्षहरू लिएर आफ्नो प्रसारण सेवा अगाडि बढाएको देखिन्छ। [१]

  • समुदायको खाँचोलाई पहिचान गरि सोही अनुशारको व्यवहारीक शिक्षा तथा यथार्थ सूचना एवं भरपुर मनोरञ्जन प्रदान गर्ने ।
  • समाजमा रहेका मुल्य र मान्यतालाई स्थापित गराइ शान्त र सुदृढ समाजको निर्माण गर्ने ।
  • स्थानिय भाषा, कला, धर्म, संस्कृती लगायत लोपोन्मुख जाति तथा संस्कृतीको संरक्षण वृद्धीको पक्षमा जनवकालत गर्ने र जन चेतनामा जोड दिने ।
  • शिक्षा, स्वास्थे, रोजगार, पर्यटन, कृषि लगायतका क्षेत्रमा दैलेख जिल्लाको पहिचान गराइ दैलेख जिल्लाको विकास दुर दृष्टी समाज सामु पुगाउने र नयाँ नेपालको निर्माण गर्ने ।
  • विभिन्न जातजाति, पेसा, धर्मका आधारमा उहिलेदेखी समाज निर्माणमा टेवा पुगाउँदै आएका योगदानको सफलताको कथा जनताको घर आगनसम्म प्रसारण गरी श्रम प्रति आस्था र सम्मान जगाउने ।
  • अन्धविश्वास, छुवाछुत, बोक्सी, धामी, झाँक्री, छाउपडी जस्ता कुरितीको अन्त्य गरी मानव मर्यादाको पक्षमा कार्यक्रम प्रसारण गर्ने ।
  • समुदायलाई प्रजातन्त्र, मानव अधिकार, विकेन्द्रिकरण, स्वायत्व शासन, विकास, निती निर्माण र जनसहभागिता, पारदर्शी, स्वामित्व बोध र स्वामित्व ग्रहणको बारेमा जानकारी गराउने ।
  • महिला सशक्तीकरण, लैंगिक समानता, बाल अधिकार र वृद्धहरूको मर्यादाको पक्षमा कार्यक्रम प्रसारण गर्ने ।
  • अनावस्यक द्वन्द्व, हत्या र आतंकबाट समाजलाई मुक्त राखेर शान्ती, सद्भाव र मेलमिलापबाट समाजमा द्वन्द्व न्युनिकरण गर्ने ।
  • समुदायबाट सिक्ने र सिकेका कुरा समुदायलाई नै सिकाउने ।
  • विभिन्न जातजाती र धर्मावलम्वीहरूलाई सहअस्तित्व कायम राख्न उत्साहित गर्ने ।
  • पिछडीएका वर्ग समुदायलाई उत्थानकोलागी सक्षम सशक्तिकरण दिगो विकास जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • स्थानिय समुदायलाई आम सञ्चारमा पहुँच पुगाउने, स्थानिय सञ्चारको विकास गर्न उल्लेखनिय योगदान पुगाउने ।
  • स्थानिय समुदायलाई आफ्नो भाषा, संस्कृती, साहित्य, कला र सभ्यताको विकास तथा संरक्षण गर्न ठोस पहल गर्ने ।
  • जनताहरूको जिवनोस्तर विकास गर्न सच्चा र सहि सूचना सञ्चारको महत्व दर्शाउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने र त्यस्ता कार्यक्रमहरूको उपयोग गर्न प्रोत्साहित गर्ने ।
  • स्थानिय समुदायहरूलाई स्थानिय तहमा प्राप्त हुने सुविधाहरूको उपयोग गरी तिनीहरूको व्याक्तित्व विकासमा योगदान पुगाउने ।
  • समाजमा व्याप्त रहेको कुरिती, कुसंस्कार, भ्रष्टाचार जस्ता खराब पक्षहरेको उन्मुलन गर्न जनसमुदायलाई चेतना एवं उत्साहित गर्ने ।
  • निती निर्माता, सरकार र सर्वसाधारण जनता वीचको सञ्चारको कमिलाई पुरा गर्न सहयोगी भुमिका निर्वाह गर्ने ।
  • समुदाय र समुदायमा रहनेहरूको वीच सूचना सञ्चार पद्धतीको विकास गर्ने एवं त्यसको महत्वको प्रचार प्रसार गर्ने ।
  • समुदायको लागी काम गर्ने सरकारी निकाय सामुदायिक सङ्गठन आदीलाई अन्तरक्रिया र विकास निर्माण आदीको काम गर्न सजिलो हुने वातावरण निर्माण गर्ने ।
  • समुदायको लागी काम गर्न सजिलो हुने सौहार्द्धपूर्ण वातावरणको सृजना गर्ने ।
  • स्थानिय समुदायको सर्वाङ्गिण विकास गर्न वास्तविक कार्य रुप दिने योगदान पुगाउने ।
  • दैलेख जिल्लामा रहेको ऐतिहासिक र पर्यटकिय महत्वका क्षेत्रहरूको बारेमा जनचेतना जगाउने ।
  • स्थानिय स्तरमा प्रचलित रिती रिवाज, परम्परागत ज्ञान सिपको संरक्षण र सम्वर्द्धन गर्ने ।
  • स्थानिय वासीलाई सामाजिक मुल्य र मान्यताको बारेमा सजग गराउने ।
  • स्थानिय समुदायको आर्थिक विकासका लागी उन्नत पशुपालन र खेती किसानको बारेमा चेतना जगाउने र त्यस्ता कार्यहरू गर्न आवस्यक सहयोग गर्ने ।
  • गरिबी रेखामुनी रहेका जनतालाई स्वास्थ्ये र शिक्षा प्रदान गर्ने ।
  • ग्रामिण विकास एवं प्रवर्द्धन गर्न स्थानिय समुदायलाई उत्साहित गर्ने ।
  • सरकारी साधन र श्रोतको उचित सदुपयो गर्न सरकारी पक्षलाई जनता प्रति जवाफदेही बनाउन रचनात्मक कार्यहरू सञ्चालन गर्ने ।
  • राज्यको पुनर्संरचनाको बारेमा सर्वसाधारण जनतालाई आवस्यक ज्ञान सिप प्रदान गरी राज्य पुनर्संरचना गर्न आवस्यक सहयोग गर्ने ।

समुदायको विकासको लागी गरिने कार्यक्रम[सम्पादन गर्ने]

मानविय विचारको नयाँ निर्माण र सामाजीक विकासमा यस सामुदायीक रेडियोले विशेष पहल गरेको छ । जसमा चेतनाको विकास र सही संसचनाको निर्माण नभएसम्म यो समाज अगाडि बढ्न सक्दैन भन्ने धारणाका साथै आजको युगमा फैलाउने भरपर्दो माध्यम भनेको सञ्चार हो । त्यसैले यो रेडियोले आफ्नो तरंगबाट फ्याक्ने र जनताको चेतना बढाउने जन समुदायको विकास कार्यमा जोड दिएको छ । चेतनशिल विचारको सहमती र सहकार्यले समुदायको विकास हुन थालेको पाइन्छ । समुदायको विकासको लागी यो रेडियोका सैद्धान्तिक आधारहरू निम्न प्रकार रहेका छन्। [१]

  • सेवामुखी सङ्गठनसँगै रेडियो सामुदायीक स्वामित्व र सहभागिता अभिवृद्धी ।
  • समुदाय र यसको विश्वासको आधारमा संस्थागत र दिगो विकास ।
  • स्थानिय अवसरमा समानता र सामाजिक न्याय मानव अधिकारको रक्षाका साथै प्रजातान्त्रीक सशक्तीकरण ।
  • विकासको क्रममा अगाडि बढेका संघ संस्थाहरूसँग सहकार्य र हातेमालो ।
  • धार्मीक, आर्थिक, लैङ्गीक र जातिय समानतामा जोड दिने ।
  • जन वकालत र समुदाय सशक्तीकरण ।
  • सामाजिक सहमती र आत्म निर्भरता ।

रेडियोले लक्षित गरेका कार्यक्रमहरू[सम्पादन गर्ने]

यस सामुदायिक रेडियो प्रसारण क्षेत्र भित्रका आर्थिक सामाजिक तथा मानविय दृष्टीले पछाडी परेका वर्गलाई विशेष जोड दिने भनेर रेडियो ध्रुवतारा सामुदायिक एफ एमले निम्न कार्यक्रमहरूलाई लक्षित गरेको छ ।[१]

  • गुणस्तरिय कार्यक्रमहरू प्रसारण गर्ने ।
  • रेडियोलाई साधन, श्रोत र प्रविधीले समुदायलाई आर्थिक सांस्कृतिक र सामाजीक रुपले बलियो बनाई संस्थागत विकास गर्ने ।
  • रेडियोमा समुदायको सहभागिता र स्वामित्व बढाउने ।
  • रेडियो जनचाँसो र जिवनसँगीको रुपमा समुदायले ग्रहण गर्ने विषय समेटेर स्रोता सङ्ख्या बढाउने ।
  • स्थानिय विकासमा योगदान पुगाउने ।
  • स्रोत व्याक्ती र वैकल्पिक जनशक्तीको तयारीसँगै प्राविधिक सुविधाको विकास गर्ने ।
  • सामुदायिक रेडियो तालिम केन्द्रको स्थापना र विकास गर्ने ।
  • आम सञ्चारमा संलग्न व्याक्ति, संघ, सङ्गठन, संस्थामा संवन्ध विस्तार गर्ने ।
  • रेडियो सहकर्मीहरू तथा गा.वि.स. सम्वाददाता नगर सम्वाददाताहरूको क्षमता वृद्धी गरिनुका साथै सुविध क्रमशः बढाउँदै लैजाने ।
  • प्रसारण समय, क्षेत्र, क्षमता र प्रविधी क्रमशः वृद्धी गर्दै लैजाने र विभिन्न भाषाका कार्यक्रमहरूको प्रसारण गर्ने ।
  • दिगो विकास गर्ने संघ संस्थाको साझेदारीमा कार्यक्रम उत्पादन र प्रसारण गर्ने ।
  • रेडियोसँग सम्बन्धित स्रोता र संगी समुहको र व्यवस्थापन र परिचालन गरी आजिवन सङ्ख्याको र साधारण सदस्य बढाउने र सम्बन्ध सुधार गर्ने ।

आर्थिक श्रोत[सम्पादन गर्ने]

भ्याएका क्षेत्रमा सञ्चारमा व्यापारिक विज्ञापनको महत्वबारे अझैं पनि चेतना नभएको कारण यसबाट प्राप्त श्रोत थोरै रहेको छ । अवलोकन भ्रमण शुल्क, सामाजिक सन्देश, गा.वि.स. नगरपालिका र जि.वि.स. दैलेखबाट प्राप्त अनुदान, सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरूसँगको साझेदारीमा उत्पादित चेतना मुलक रेडियो कार्यक्रमहरू प्रसारणबाट हुने आय, सामुदायिक वनहरूबाट प्राप्त हुने अनुदान सहयोग, रेडियोबाट उत्पादित कार्यक्रम, लोकगित र सन्देशका क्यासेट एल्बम विक्रि वितरण सदस्यता शुल्क र स्टुडियो बाहिर गरिने अतिरिक्त कार्यक्रमहरू (धार्मीक तथा सांस्कृतिक कार्यक्रमहरू) को प्रत्यक्ष प्रसारणबाट जम्मा हुन आएको आय आदी स्रोतबाट रेडियो ध्रुवतारा एफ एमको आर्थिक कारोबार चलेको छ।[१]

अहिले सम्म भए गरेका कामहरू[सम्पादन गर्ने]

रेडियो ध्रुवतारा एफ एमको स्थापना कालदेखी अहिले सम्म स्रोताहरूको मन जित्नको लागी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस सामुदायिक रेडियोले निम्न अनुसार कामहरू सफलता पूर्वक सम्पन्न गरेको छ ।[१]

  • आफ्नै निती नियमको निर्माण ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमहरूसँग सम्पर्क र कार्यक्रम प्रसारण ।
  • रेडियोसंगी स्रोता क्लबको निर्माण ।
  • कार्यक्रमहरूको गुणस्तरमा क्रमिक विकास ।
  • स्थानिय रुपमा सहयोग गर्ने सहयोगी संवाददाताहरूलाई दिइने सेवा र सुविधाको सुधार ।
  • रेडियोमा सामुदायिक सहभागिता स्वामित्त र सम्पर्कमा क्रमशः विस्तार ।
  • सामुदायिक आवस्यकताको पहिचान ।
  • रेडियो सञ्जालको विकास ।
  • स्रोताको रेडियो सुन्ने बानीको विकास ।
  • गा.वि.स. र नगरपालिकामा रेडियो जनशक्तीको विस्तार ।
  • सम्वन्धित वर्गकै सयमसेवकहरूको उत्पिडित र अल्पसंख्यक जनजातीसँग सम्वन्धित कार्यक्रमहरूको उत्पादन र प्रसारण ।
  • दोहोरो सञ्चार प्रक्रियाको प्रारम्भ ।
  • रेडियो समुदायको विश्वासिलो जिवनसाथी बनाउने प्रयास ।
  • घरेलु हिंसा तथा महिला विरुद्ध हुने हिंसाको बारेमा प्रत्यक्ष बहस सञ्चालन ।
  • जनचेतनाको विकास ।
  • रेडियो जनशक्ती र दक्षताको विकास ।
  • प्रजातन्त्र र मानव अधिकार सम्वन्धी कार्यक्रमको सञ्चालन ।
  • सामाजीक विभेद, भ्रम, अन्धविस्वास र कुसंस्कारको न्युनिकरण ।
  • सामाजिक एवं सांस्कृतिक एकताको सुदृढीकरण ।
  • जनवकालतको अभ्यास ।
  • संस्थागत विकासको प्रारम्भ ।

प्रसारण गरिने कार्यक्रमहरू[सम्पादन गर्ने]

समुदायको विकास गर्ने क्रममा सबैभन्दा पहिले मानविय क्षमतामा भर पर्दछ । त्यो क्षमताको विकास गर्ने सञ्चारले एकमात्र भुमिका खेलेको पाइन्छ । यसैलाई ध्यानमा राखेर रेडियो ध्रुवताराले विविध चेतना मुलक कार्यक्रमहरू प्रसारण गर्दछ । यस सङ्गठन भित्रका पत्रकार तथा तालिम प्राप्त रेडियोकर्मीहरूले समुदायसँग मिलेर काम गर्ने हँदा समुदाय भित्रका श्रमीक देखी निती निर्माण तहसम्म सबै वर्गका आवाज समेटेर कार्यक्रमहरू तयार गर्दछन् । सबै कार्यक्रमहरू स्रोता प्रति जवाफदेही हुन्छन् । कार्यक्रममा अन्तरवार्ता स्थलगत रिपोर्ट, टेलिफोन वार्ता, जिल्लामा हुने विभिन्न धार्मिक संस्कृतिक कार्यक्रम, उद्योग व्यापार, स्थानिय चाडपर्व, मेला र भेलाको प्रत्यक्ष प्रसारण गरिन्छ । स्रोता नै न्यायधीस हुन् भन्ने ध्यानमा राखेर रेडियो प्रतिनिधी समूह, शिक्षक, विद्यार्थी, किसान, सामाजिक प्रतिष्ठान एवं सिप क्षमता अनुभव भएका नौलो कुरालाई महत्व दिइ थोरैलाई धेरैमा जानकारी गराइन्छ । सूचना र शिक्षामुलक कार्यक्रमहरूको लागी करिब ६०% समय छुट्ट्याइएको छ । मनोरञ्जनात्मक कार्यक्रहरूको लागि करिब ४०% समय छुट्टाइएको छ । कार्यक्रमहरूलाई निम्नानुशार बाँडिएको छ । [१]

  1. शिक्षा मुलक कार्यक्रहरू:- धर्म, संस्कृति, साहित्य, कृषी, वन, वातावरण, बाल, महिला, प्रौढ, युवा, सम्बन्धी कार्यक्रम, स्वास्थे, सरसफाइ, शिक्षा, व्यवसाय, रोजगारी, खेलकुद, लैङ्गिक मुद्दाहरू, उत्पिडीत, दलित र आदीवासी जनजातिसँग सम्बन्धित आर्थिक तथा सामाजिक कार्यक्रहरू महिला सशक्तिकरण, प्रजातन्त्र, मानव अधिकार, सुशासन, द्वन्द्व न्यनिकरण र ताजा जन सरोकारका कार्यक्रमहरू ।
  2. सूचनामुलक कार्यक्रमहरू :- स्थानिय समचार, तत्कालैका घटनाहरू, रेडियो रिपोर्ट, रेडियो नेपालको नेपाली समचार, काठमाडौंका ताजा रिपोर्टहरूको सिधै दैनिक प्रसारण, विकास कार्यक्रम, बसयात्रा समय तालिका, हस्पिटलहरूका रोगीहरूको भर्ना र उपचार, दैनिक तरकारी तथा फलफूल बजार मुल्य, दैनिक औपचारीक सभा समारोह र भेलाको जानकारी सार्वजनिक सूचना, सामाजिक संदेश, मानिस वा सामान हराएको र भेटाएको जानकारी, प्राकृतिक प्रकोप, दुर्घटना, जन्म, मृत्यु, शुभकामना जस्ता कार्यक्रमहरू ।
  3. मनोरञ्जनात्मक कार्यक्रमहरू:- स्थानिय देउडा, लोकगित, संगितका साथै विभिन्न भाषाका गितहरू र रेडियो नाटक जस्ता कार्यक्रमहरूबाट स्रोताहरूलाई मनोरञ्ज गराइन्छ।

हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ सञ्चारकर्मी खगेन्द्र राना मगर (रेडियो ध्रुवतारा सामुदायीक एफ एम)