रोशन शेरचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा. रोशन शेरचन
रोशन
जन्म२०२४ साल पौष १८
तातोपानी, म्याग्दी नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षाविद्यावारिधि (वातावरणीय विज्ञान)
पेशालेखन, स्वतन्त्र परामर्शदाता(जैविकविविधता, वनविज्ञान र पर्यटन)
चिनारीको कारणनिबन्ध, कविता
उल्लेखनीय कार्य
धोवीघाट एक्सप्रेस, चम्पारन व्लुज, सरुभक्तहरू, मस्तिष्कहरूको मृत्यु, शब्दहरूको देश
गृहनगरमुस्ताङ जिल्ला
जीवनसाथीअमृता पौडेल
सन्तानरिदिमा शेरचन
मातापिताबसन्त शेरचन र भगवती शेरचन
पुरस्कारसमता काव्य सम्मान, नीलकण्ठ स्मृति पुरस्कार

कविता विधामा स्थापित भइसकेका रोशन शेरचन[१] कवितामा विचारलाई राम्रोसँग सम्प्रेषण गर्न नसकिएको र कविताले पाठकसँग खासै अन्तरक्रिया नगरेका कारण निबन्ध विधातिर फड्को मारेका[२] समकालीन निबन्ध साहित्यका एक शक्तिशाली हस्ताक्षर हुन्।[३] सचेतताका साथ निबन्धलेखनमा लागेका उनको जन्म वि. सं. २०२४ साल पौष १८ गते तातोपानी, म्याग्दीमा बुबा बसन्त शेरचन र आमा भगवती शेरचनको कोखबाट भएको हो। सामाजिक न्यायमुखीकरण उनको निबन्धमा मुखरित हुने प्रमुख स्वर हो भने विचारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने सक्ने उनको अर्को खुवी हो।[४] दार्शनिक चेतनाका हिसाबले अब्बल निबन्ध लेख्ने शेरचन एक अध्ययनशील व्यक्ति हुन्।[५] मध्यमवर्गीय परिवारमा जन्मिएका उनका 'शब्दहरूको देश' कविता सङ्ग्रह, 'सरूभक्तहरू' लामो कविता सङ्ग्रह तथा 'मस्तिष्कहरूको मृत्यु', 'चम्पारण व्लुज' र 'धोवीघाट एक्सप्रेस' निबन्ध सङ्ग्रहहरू प्रकाशित भइसकेका छन्। वातावरणीय विज्ञानमा विधावारिधी गरेका उनी वि.सं. २०५३ सालमा राष्ट्रिय साहित्य सम्मेलन, दमौली, तनहुँमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पहिलोपटक पुरस्कृत भएका थिए। पोखरेली युवा संस्कृति परिवारद्वारा समता काव्य सम्मान र वि. सं. २०७५ मा नीलकण्ठ स्मृति पुरस्कार प्राप्त गरिसकेका उनी हाल कान्तिपुर दैनिकमा 'व्लुज' का स्तम्भकार हुन्। 'चेभिनिङ् अल्मुनाइ एशोसिएसन'[६]का महासचिव रहिसकेका उनी सेल्फ हेल्थ फरेष्टी अवेरनेस क्याम्पसाहित्य सञ्जाल नेपालमा समेत संलग्न थिए।




प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  • शब्दहरूको देश (कविता सङ्ग्रह, वि. सं. २०५३)[७]
  • सरूभक्तहरू (लामो कविता सङ्ग्रह, वि. सं. २०५६)[८]
  • मस्तिष्कहरूको मृत्यु (निबन्ध सङ्ग्रह, वि. सं. २०५८)[९]
  • चम्पारन ब्लुज (निबन्ध सङ्ग्रह, वि. सं. २०६८)[१०]
  • धोबीघाट एक्स्प्रेस (निबन्ध सङ्ग्रह, वि. सं. २०७०)[११]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

स्थायी घर मुस्ताङ जिल्लाको कोवाङ् भए पनि उनको जन्म भने हालको म्याग्दी जिल्लाको तातोपानीमा भएको हो। जाडो छल्न आमा त्यतिबेलाको मुस्ताङ जिल्लाको तातोपानी झरेको बेला वि. सं. २०२४ पौष १८ गते उनको जन्म भएको थियो। उनका एक भाइ उज्जवल शेरचन र एक बहिनी सलमा शेरचन छन्। उनको बुबा बसन्त शेरचन त्यतिबेला शिक्षक थिए। जीवन निर्वाहको क्रममा भारतको गोरखपुरमा होटल सञ्चालन गरेका बाबा आमासँग तीन वर्षको उमेरमा उनी केही समय त्यहाँ बसे। उनको बाल्यकाल म्याग्दीको तातोपानी, मुस्ताङको कोवाङ्, भारतको गोरखपुर, रूपन्देहीको भैरहवाकास्कीको पोखरामा बितेको पाइन्छ। यसरी उनको बाल्यकाल विभिन्न स्थानमा बित्नुमा उनको परिवार व्यवसायका लागि विभिन्न स्थानमा स्थान्तरण हुनु नै थियो।

शिक्षादीक्षा[सम्पादन गर्नुहोस्]

रोशन शेरचनले अक्षराम्भ भारतको गोरखपुरस्थित अमर सिंह विद्यालयमा गरेका हुन्। एक वर्षजति त्यहाँ पढेर उनी रूपन्देहीको भैरहवामा आए। एक वर्षजति भैरहवाको बालमन्दिरमा अध्ययन गरेपछि कास्कीको पोखराको गण्डकी वोर्डिङ् स्कुलमा कक्षा १ देखि कक्षा ७ सम्म अध्ययन गरे। त्यसपछि रूपन्देहीको भैरहवास्थित भैरहवा माध्यामिक विद्यालयमा भर्ना भए र उनले त्यहीँबाट वि. सं. २०४० मा प्रथम श्रेणीमा एसएलसी परीक्षा उतीर्ण गरे। एसएलसीपछि उनी जीव विज्ञान विषय पढ्नका लागि त्रिचन्द्र कलेजमा भर्ना भए। जीव विज्ञानमा उनको मन रम्न सकेन र उनी फरेष्टी पढ्नका लागि वनविज्ञान अध्ययन संस्थान, हेटौडा पुगे। वि. सं. २०४४ सालमा उनले प्रथम श्रेणीमा आइएससी कोर्ष उतीर्ण गरे। त्यसपछि उनी केही वर्ष रेन्जर जागिरमा अल्मलिए। वि. सं. २०४७ मा विएस्सी पढ्नका लागि वन विज्ञान अध्ययन संस्थान, पोखरामा भर्ना भए। वि. सं. २०५० सालमा प्रथम श्रेणीमा स्नातक तह उतीर्ण गरेपश्चात् उनी जागिरमा लागे। सन् २००३/२००४ मा उनी स्नातकोत्तर अध्ययनका लागि एडिनवर्ग युनिभर्सिटीमा[१२] रिसोर्स म्यानेजमेन्ट अध्ययनका लागि बेलायत गए। उनले वातावरणीय विज्ञानमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट वि. सं. २०७५ विद्यावारिधि गरेका छन्। यसका अतिरिक्त उनले राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन पनि पूरा गरेका छन्।

वैवाहिक जीवन[सम्पादन गर्नुहोस्]

कास्की, पोखराकी अमृता पौडेलसँग वि. सं. २०५६ साल माघ १९ गते अन्तरजातीय विवाह गरेका उनीहरूको वि. सं. २०६१ साल चैत्र २६ गते छोरी रिदिमा शेरचनको जन्म भयो। हाल उनी सपरिवार लाजिम्पाट, काठमाडौँमा स्थायीरूपमा बसोबास गर्दछन्।

पेसागत जीवन[सम्पादन गर्नुहोस्]

रोशन शेरचनको पहिलो जागिरे अनुभव आइएससीपछि वि. सं. २०४५ मा लाङ्टाङ राष्ट्रिय निकुञ्जमा रेञ्जरको रूपमा भयो। त्यसपछि क्षेत्रीय वन निर्देशनालय, पोखरा, पहाडी वन परियोजना थानकोट, काठमाडौँ गरी २ वर्ष बिताएपछि स्नातक तह अध्ययनमा लागे। स्नातक तह उतीर्ण गरेपछि उनी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा जागिरे भए। मुस्ताङ, कास्की, म्याग्दीलमजुङ गरी उनले १३ वर्ष त्यस संस्थामा बिताए। त्यसपश्चात् उनी सन् २००६ देखि २००९ सम्म 'एक्सन एड नेपाल' र सन् २००९ देखि २०१२ सम्म 'डब्लुडब्लुएफ नेपाल'मा कार्यरत् रहे। त्यसपछि उनी पूर्णकालीन जागिरे जीवन छाडेर विद्यावारिधि गर्न लागे। हालः उनी स्वतन्त्र परामर्शदाताका रूपमा कार्यरत् छन्। घुम्न मन पराउने उनी जागिरका सिलसिलामा नेपालका ६५ भन्दा बढी जिल्लाहरूमा पुगिसकेका छन्।

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

निबन्ध विधामा स्थापित रोशन शेरचनको साहित्यिक यात्रा ४ कक्षादेखि कविता विधाबाट सुरू हुन्छ। गण्डकी वोर्डिङ् स्कुल, पोखराको होस्टलमा बसेका अन्तर्मुखी स्वभावका उनी सानैदेखि स्कुलको पुस्तकालयमा धेरै समय बिताउँथे। गुरुहरूको प्रेरणा, पुस्तकालयमा पुस्तकहरूसँग बिताएका पलहरू, होस्टल बस्दाखेरीको न्यास्रो नै उनलाई साहित्यमा डोर्‍याउने कडी हुन्। सानैमा विजारोपण भएको उनको साहित्यिक बीजले मौलाउन लामो समय कुर्नु पर्‍यो। तर उनको साहित्यिक यात्राले मलजल पाएको चाहिँ वि. सं. २०५०/०५१ तिर वनविज्ञान अध्ययन संस्थान, पोखराको अध्ययनको क्रममा भित्तेपत्रिका प्रकाशनको क्रममा र सरुभक्त, तीर्थ श्रेष्ठ, विनोद गौचन आदि कवि लेखकहरूको सङ्गतपश्चात् नै हो। पोखरेली युवा साँस्कृतिक परिवारमा नियमित कविता वाचन गर्न थालेपछि उनको कविताले लहराउने मौका पायो। वि. सं. २०५३ मा दमौली, तनहुँमा आयोजित साहित्य सम्मेलनमा सान्त्वना पुरस्कार जितेका उनको त्यही वर्ष 'शब्दहरूको देश' कविता सङ्ग्रह प्रकाशित भएको थियो। सरुभक्तको नेतृत्वमा वि. सं. २०५३ देखि थालिएको संरक्षण कवितायात्रामा वि. सं. २०५४/०५५ मा जोडिएपछि उनलाई कविताप्रति अझै साहित्यप्रतिको अभिरूची सामाजिक दायित्व र जिम्मेवारीपूर्ण कर्म हो भन्ने अनुभूति हुन थाल्यो। लामोसमय सरुभक्तलाई नजिकबाट नियालेका उनले 'सरुभक्तहरू' लामो कवितासङ्ग्रह वि. सं. २०५७ सालमा प्रकाशित गरे। कविताका यी दुई कृति प्रकाशित गरिसकेपछि कविताप्रति उनी टाढिँदै गए। कवितामा विचारलाई राम्रोसँग सम्प्रेषण गर्न नसकिएको र पाठकसँग खासै अन्तरक्रिया गर्न नसकिएको कारणले कविताबाट उनको लेखन निबन्धतिर मोडियो।[१३] सामाजिक न्याय उनको निबन्धको प्रमुख विशेषता हो भने, विचारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने सक्ने उनको खुवी हो।[१४] दार्शनिक चेतना उनको निबन्धमा मुखरित हुने प्रतिनिधि स्वर हो। उनी धेरै दार्शनिक तथा लेखकहरूको विचारसँग प्रभावित भए।[१५] हर्मन हेस्से[१६], इभान तुर्गनेभ[१७], रोबर्ट एम पिरसिग[१८], आर के नारायण[१९], ज्याक केरूवाक[२०], एलेन गिन्सवर्ग[२१], एलबेर कामू[२२], एल्डो लियोपल्ड[२३], रिचर्ड डकिन्स[२४], म्यालकम ग्लाडवेल[२५], जोन स्टेनबेक[२६], चेकोभ[२७], प्रेमचंद[२८], ओरान पामुक[२९] आदि उनका मनपर्ने विदेशी लेखकहरू हुन्। उनको यो प्रभाव एकै व्यक्तिमा केन्द्रित रहेन। नेपाली लेखक तथा साहित्यकारहरूमा पनि पहिले उनी सरुभक्तको 'शून्यवाद'सँग नजिक रहे। केही वर्षपछि 'माफ गर्नु सरुभक्त दाइ, म शून्यवादी हुन सकिनँ।' भन्ने निबन्ध प्रकाशित गरेर सरुभक्तको शून्यवादसँग टाढिए।[३०] केही समय उनले ईश्वर बल्लभ र तेस्रो आयामको अध्ययनमा बिताए। ईश्वर बल्लभका अतिरिक्त उनी लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, शङ्कर लामिछाने, पारिजात, मनु ब्राजाकी, नारायण ढकाल, ध.च.गोतामे, भूपि शेरचन, खगेन्द्र सङ्ग्रौला, श्यामल, श्रवण मुकारुङ आदि लेखकहरूबाट प्रभावित छन्।[३१][३२] उनी यी व्यक्तित्वहरूबाट प्रेरणा लिने तर आफू हिँड्ने बाटो आफैँले बनाउन पर्छ भन्नेमा प्रतिवद्ध छन्।[३३] उनको पछिल्लो निबन्धसङ्ग्रहहरू 'चम्पारन व्लुज'[३४] र 'धोवीघाट एक्सप्रेस'[३५] आत्मकेन्द्रतर्फबाट समाज, मानवकेन्द्रीत दुःखहरूको अन्वेषण र सामाजिक रूपान्तरणतर्फ उन्मुख छ।[३६] पछिल्लो समय जैविक विविधता र प्रकृति संरक्षणलाई साहित्यको विषयवस्तु बनाउन उनी अग्रसर देखिन्छन्।

रोशन शेरचनका पत्रपत्रिकामा प्रकाशित निबन्धहरू[सम्पादन गर्नुहोस्]

रोशन शेरचनका पत्रपत्रिकामा प्रकाशित अनुवाद[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. निबन्ध- म कविता किन लेख्छु?-अनलाइनखबर डटकम
  2. चम्पारन ब्लुजः जीवनको भाष्य प्रस्तुत निबन्धहरू-मझेरी डटकम
  3. “मदन पुरस्कारले अन्याय गरेको छ”-सौर्यअनलाइन डटकम
  4. संशयमा निबन्ध -अन्नपूर्णपोष्ट डटकम
  5. ‘क्रुजिङ हाइट’ मा रोशनको उडान-इकान्तिपुर डटकम
  6. चेभेनिङ्ग डटओराजी
  7. मदनपुरस्कार डटओराजी
  8. बडीलाइनमा एक कवि-झननयाँ नयाँपत्रिकाडेली डटकम
  9. मदनपुरस्कार डटओराजी
  10. ‘चम्पारन ब्लुज’ माथि अन्तरक्रिया सम्पन्न-समकालीनसाहित्य डटकम
  11. ‘धोबीघाट एक्सप्रेस’ भित्रका निबन्धमा निर्बन्ध विचरण-इचितवनपोष्ट डटकम
  12. University of Edinburgh
  13. 'कविताले पाठकसँग कम्युनिकेट गरेन'-नागरिकन्युज डटकम वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२६ मिति
  14. धोबीघाट एक्सप्रेस’ भित्रका निबन्धमा निर्बन्ध विचरण -इचितवनपोष्ट डटकम
  15. रोशनको चम्पारन ब्लुज-कान्तिपुरडेली डटकम
  16. Hermann_Hesse
  17. Ivan Turgenev
  18. Robert M. Pirsig
  19. आर के नारायण
  20. Jack Kerouac
  21. Allen Ginsberg
  22. Albert Camus
  23. Aldo Leopold
  24. Richard Dawkins
  25. Malcolm Gladwell
  26. John Steinbeck
  27. Anton Chekhov
  28. प्रेमचंद
  29. Orhan Pamuk
  30. ‘क्रुजिङ हाइट’ मा रोशनको उडान-इकान्तिपुर डटकम
  31. पुस्तक वार्ता : रोशन शेरचन लेखक-कान्तिपुरडेली डटकम
  32. धोबीघाट एक्सप्रेस : आत्मकथ्य-कान्तिपुरडेली डटकम
  33. निबन्धका दुई दशक-मझेरी डटकम
  34. चम्पारन ब्लुजः जीवनको भाष्य प्रस्तुत निबन्धहरू-मझेरी डटकम
  35. पाठकको अदालतमा रोशन शेरचन-कालिकाएफएम डटकम डटनपि[dead link]
  36. शब्दचित्रमा चम्पारन ब्लुज-कान्तिपुरडेली डटकम

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]