लक्ष्मीनारायण
| लक्ष्मी-नारायण | |
|---|---|
| |
११औँ शताब्दीको लक्ष्मी-नारायणको मूर्ति | |
| देवनागरी | लक्ष्मी-नारायण |
| आबद्ध | |
| वासस्थान | वैकुण्ठ |
| अस्त्र | पाञ्चजन्य, कौमोदकी, सुदर्शन चक्र, शारङ्ग, नन्दक |
| प्रतीक | पद्म |
| वाहन | गरुड |
| धर्मग्रन्थहरू | |
लक्ष्मी नारायण वा लक्ष्मी नारायणन् हिन्दु देवता विष्णु (जसलाई नारायण पनि भनिन्छ) र उनकी पत्नी लक्ष्मीको संयुक्त स्वरूप हो। उनीहरूलाई परम्परागत रूपमा उनीहरूको निवास स्थान वैकुण्ठमा देखाइन्छ। धन र समृद्धिकी देवी लक्ष्मी, विष्णुको साथमा उभिएकी हुन्छिन्, जसले पाञ्चजन्य (शङ्ख), कौमोदकी (गदा), पद्म (कमल) र सुदर्शन चक्र धारण गरेका हुन्छन्। लक्ष्मी नारायणको अर्को चित्रणमा लक्ष्मीलाई नारायणको सेवामा देखाइन्छ, जहाँ नारायण क्षीर सागर (दूधको सागर) मा तैरिरहेको शेषनागमा शयन गरिरहेका हुन्छन्।[२]
पौराणिक कथाहरू
[सम्पादन]विभिन्न पुराणहरूमा उल्लेख गरिएको सबैभन्दा महत्त्वपूर्ण लक्ष्मी नारायण सम्बन्धी कथा समुद्र मन्थन हो। यस कथामा, भगवान विष्णुले देवता र असुरहरूलाई क्षीर सागर मन्थन गर्न मद्दत पुऱ्याउन आफ्नो कुर्म (कछुवा) अवतार धारण गर्छन्। मन्थनका क्रममा प्राप्त भएका धेरै रत्नहरूमध्ये एकको रूपमा लक्ष्मीको उत्पत्ति हुन्छ। देवताहरूले विष्णुलाई उनीसँग विवाह गर्न अनुरोध गर्छन्, र यसरी उनको मङ्गलमय शक्ति र विष्णुको दिव्यताको मिलन भई ब्रह्माण्डको व्यवस्था पुनर्स्थापित हुन्छ।[३]
विष्णु पुराण ले यस पौराणिक कथालाई यसरी वर्णन गर्दछ:[४]
त्यस दूध (सागर) बाट जीवन्त सौन्दर्यकी देवी श्री (लक्ष्मी) को उत्पत्ति भयो, जो हातमा कमल लिएर फुलिरहेको कमलको फूलमा उभिएकी थिइन् ... दिव्य माला र वस्त्रहरू पहिरिएकी, स्नान गरेकी र गहनाहरूले सजिएकी उनी, सबै देवताहरूले हेरिरहेकै समयमा हरिको छातीमा गइन्। हे मैत्रेय, हरिको छातीमा विश्राम गरिरहँदा, लक्ष्मीले देवताहरूलाई केवल हेरेरै तत्काल परम आनन्दको अनुभूति गराइन्।
— विष्णु पुराण, श्लोक १.९.१००; १०६; १०७

तिरुमलाको पौराणिक कथा अनुसार, एकपटक ऋषि भृगुलाई कुन देवताको नाममा यज्ञ समर्पित गर्ने भनेर छनोट गर्न पठाइएको थियो। ब्रह्मा, इन्द्र र शिवलाई अस्विकार गरिसकेपछि उनी वैकुण्ठ पुग्छन् जहाँ उनले लक्ष्मीलाई शेषनागमा शयन गरिरहेका विष्णुको खुट्टा मिचिरहेको देख्छन्। यो दृश्य देखेर क्रुद्ध भएका भृगुले विष्णुको छातीमा लात्तीले प्रहार गर्छन्। तर शान्त स्वभावका विष्णुले ऋषिको खुट्टामा चोट लाग्यो कि भनेर चिन्ता व्यक्त गर्दै उनलाई सम्मानका साथ स्वागत गर्छन्। यसबाट प्रसन्न भई भृगुले यज्ञ विष्णुलाई नै अर्पण गर्नुपर्ने निर्णय त गर्छन् तर आफ्नो निवास स्थान मानिने विष्णुको छातीमा प्रहार हुँदा र आफ्नो पतिले सो अपमानको प्रतिरोध नगर्दा लक्ष्मी अत्यन्तै क्रोधित हुन्छिन्। उनी चोल वंशका राजाकी छोरी पद्मावतीको रूपमा पृथ्वीमा अवतरण गरिन्, र उनका पतिले पनि श्रीनिवासको रूप धारण गर्छन्। अन्ततः श्रीनिवासले पद्मावतीलाई फेला पारी उनीसँग पुन: विवाह गरे र उनी तिरुमलाको मुख्य देवताको रूपमा पुजिन थाल्छन्।[५]
परम्पराहरू
[सम्पादन]श्री वैष्णव सम्प्रदाय
[सम्पादन]
श्री वैष्णव सम्प्रदायमा, नारायणलाई सर्वोच्च देवता र उनकी पत्नी लक्ष्मीलाई सर्वोच्च देवीको रूपमा पूजा गरिन्छ। लक्ष्मीलाई मुक्तिको स्रोत मानिन्छ र नारायणसम्म पुग्नका लागि अनुयायीहरूले उनलाई पुज्ने गर्छन्। यस सम्प्रदायको नामको उत्पत्ति पनि देवी आफैँसँग जोडिएको छ, जसलाई 'श्री' पनि भनिन्छ।[७] यस परम्पराका विभिन्न उप-शाखाहरूमा भक्तहरूले विष्णु वा लक्ष्मीका विशिष्ट रूपहरू वा दुवैलाई सँगै पूजा गर्छन्, जस्तै नारायण वा लक्ष्मी, लक्ष्मी नारायण, राम वा सीता, सीता राम, र अन्य।[८] उनीहरूले आफ्नो शरीरमा लगाउने पवित्र चिन्ह ऊर्ध्व पुण्ड्रलाई विष्णुको सेतो खुट्टा र बीचको रातो रेखालाई लक्ष्मीको प्रतीक मानिन्छ।[९]
स्वामीनारायण सम्प्रदाय
[सम्पादन]स्वामीनारायण सम्प्रदायको वैष्णव परम्परामा, मुरलीधर कृष्णलाई उनकी पत्नी राधासँग पूजा गरिन्छ र उनीहरूलाई संयुक्त रूपमा राधा कृष्ण भनिन्छ। तर, कृष्णको चार हात भएको रूपलाई शिक्षापत्री ग्रन्थमा नारायणको रूपमा चिनिन्छ र उनलाई उनकी पत्नी लक्ष्मीसँगै पूजा गरिन्छ। यस स्वरूपलाई लक्ष्मी नारायण भनिन्छ।[१०] यस सम्प्रदायका संस्थापक स्वामीनारायणले गुजरातको वडताल र गढडामा राधा कृष्ण र लक्ष्मी नारायणका मूर्तिहरू स्थापना गरेका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Religion and the Global Money Markets: Exploring the Influence of Christianity, Islam, Judaism and Hinduism, Springer, १८ अगस्ट २०२२, आइएसबिएन 9783031044168, मूलबाट ८ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२२।
- ↑ Ellwood, Robert (२००७), Encyclopedia of World Religions, New York: Infobase Publishing, पृ: 468, आइएसबिएन 978-0-8160-6141-9।
- ↑ Pintchman, Tracy (२००५-०८-१८), Guests at God's Wedding: Celebrating Kartik among the Women of Benares (अङ्ग्रेजीमा), State University of New York Press, पृ: 49, आइएसबिएन 978-0-7914-8256-8, मूलबाट २०२४-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०९-१४।
- ↑ Dimmitt, Cornelia; Buitenen, Johannes Adrianus Bernardus (१९७८-०६-१५), Classical Hindu Mythology: A Reader in the Sanskrit Puranas (अङ्ग्रेजीमा), Temple University Press, पृ: 61, आइएसबिएन 978-0-87722-122-7, मूलबाट २०२४-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०१-२९।
- ↑ Varadpande, Manohar Laxman (२००९), Mythology of Vishnu and His Incarnations (अङ्ग्रेजीमा), Gyan Publishing House, पृ: 187, आइएसबिएन 978-81-212-1016-4, मूलबाट २०२४-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०९-१४।
- ↑ Jagadeesan, N. (१९८९), Collected Papers on Tamil Vaishnavism (अङ्ग्रेजीमा), Ennes Publications, पृ: 104।
- ↑ Ramakrishnananda, Swami (२०२२-०४-०७), Life of Sri Ramanuja (अङ्ग्रेजीमा), Sri Ramakrishna Math, पृ: 447, मूलबाट २०२४-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०९-१४।
- ↑ Murdoch, John (१९०४), The Religious Sects of the Hindus (अङ्ग्रेजीमा), Christian Literature Society for India, पृ: 21, मूलबाट २०२४-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०९-१४।
- ↑ Murdoch, John (१९०४), The Religious Sects of the Hindus (अङ्ग्रेजीमा), Christian Literature Society for India, पृ: 23, मूलबाट २०२४-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०९-१४।
- ↑ "Shikshapatri, verse 109 by Swaminarayan", मूलबाट २०१२-०२-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०५-०६।