लिपुलेक भञ्ज्याङ
| लिपुलेक भञ्ज्याङ | |
|---|---|
| उन्नतांश | १६७८० फिट (५,११५ मी)[१] |
| स्थान | भारतको उत्तराखण्ड र चीनको तिब्बत स्वायत्त क्षेत्र बीचको सीमा[२] |
| शृङ्खला | हिमालय |
| निर्देशाङ्कहरू | ३०°१३′५८″N ८१°०१′४३″E / 30.2329°N 81.0285°E |
| लिपुलेक भञ्ज्याङ | |||||||
|---|---|---|---|---|---|---|---|
| सरलीकृत चिनियाँ | 里普列克山口 | ||||||
| परम्परागत चिनियाँ | 里普列克山口 | ||||||
| |||||||
लिपुलेक भञ्ज्याङ वा च्याङ ला (चिनियाँ: 强拉山口; पिनयिन: qiáng lā shānkǒu) भारतको उत्तराखण्ड र चीनको तिब्बत स्वायत्त क्षेत्र बीचको सीमामा पर्ने एक हिमाली भञ्ज्याङ हो।[२] यो क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु नजिकै अवस्थित छ। नेपालले यस भञ्ज्याङको दक्षिणी भागमा पर्ने कालापानी क्षेत्रमाथि आफ्नो निरन्तर दाबी गर्दै आएको छ, जुन ब्रिटिस औपनिवेशिक कालदेखि नै भारतीय प्रशासनको अधीनमा रहेको छ।[३][४] यो भञ्ज्याङ तिब्बतको व्यापारिक सहर ताक्लाकोट नजिकै पर्छ र प्राचीन कालदेखि नै भारत र तिब्बतबीच आवतजावत गर्ने व्यापारी, तीर्थयात्री र सन्यासीहरूले यसको प्रयोग गर्दै आएका छन्। यो भञ्ज्याङ कैलाश पर्वत र मानसरोवर जाने तीर्थयात्रीहरूले पनि प्रयोग गर्छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]
लिपुलेक भञ्ज्याङ ऐतिहासिक रूपमा कुमाउँका भोटियाहरूले भारत-तिब्बत सीमा व्यापारका लागि प्रयोग गर्ने भञ्ज्याङहरूमध्ये एक थियो। सीमा क्षेत्रमा रहेका भोटिया उपत्यकाहरू—गोरी, दारमा, चौदास र ब्याँस—प्रत्येकका तिब्बत जाने आफ्नै नाकाहरू थिए। तीमध्ये चौदासी (महाकाली नदी उपत्यका) र ब्याँसीहरू (कुटी र तिङ्कर उपत्यकाका बासिन्दा) ले लिपुलेक भञ्ज्याङ प्रयोग गर्थे।[५] लिपुलेकलाई यी भञ्ज्याङहरूमध्ये सबैभन्दा "प्रसिद्ध" मानिन्थ्यो किनभने यो तिब्बती व्यापारिक केन्द्र पुरान (ताक्लाकोट) सँग सबैभन्दा नजिक छ र यसले हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको तीर्थस्थल कैलाश पर्वतमा सिधै पुर्याउँछ।[६]
सन् १७९१ मा नेपाली गोर्खा राज्यले कुमाउँ जितेर सम्पूर्ण क्षेत्र आफ्नो कब्जामा लिएको थियो। ब्रिटिस औपनिवेशिक शासनसँगको सीमा तनावका कारण नेपाल अङ्ग्रेज युद्ध (सन् १८१४–१८१६) भएको थियो। अङ्ग्रेजहरूले नेपालीहरूलाई कुमाउँबाट धपाएर महाकाली नदीलाई कुमाउँ र नेपालबीचको सिमाना कायम गरेका थिए जसलाई पछि सुगौली सन्धिले पुष्टि गरेको थियो।
यद्यपि, हिमालयको माथिल्लो भेगमा "काली नदी" भन्नाले कुन मुहानलाई बुझाउँछ भन्ने विषय विवादको कारण बनेको थियो। सुरुमा, अङ्ग्रेजहरूले पश्चिममा कुटी उपत्यका, पूर्वमा तिङ्कर उपत्यका र लिपुलेक भञ्ज्याङ जाने कालापानी उपत्यकालाई कुमाउँकै भागका रूपमा राखेका थिए। यी तीन उपत्यकाहरूले काली नदीका तीनवटा मुहानहरू बोकेका छन् र त्यहाँ ब्याँसीहरूको बसोबास छ। नेपालको विरोधपछि ब्रिटिस गभर्नर-जनरलले स्थानीय बासिन्दा र ब्रिटिस सर्वेक्षक (डब्लु. जे. वेब) सँग सोधपुछ गर्दै कालापानी उपत्यकाबाट बग्ने नदी नै मुख्य काली नदी भएको निर्णय गरेका थिए। सोही अनुसार पूर्वको टिङ्कर उपत्यका नेपाललाई हस्तान्तरण गरिएको थियो।[७][८]
यस व्यवस्थाले लिपुलेक भञ्ज्याङलाई कुमाऊँ, नेपाल र तिब्बत बीचको त्रिदेशीय बिन्दु बनाउने थियो। यद्यपि, सन् १८६५ को आसपास अङ्ग्रेजहरूले सिमानालाई कालापानी खोलाको सट्टा त्यसको 'जलाधार' क्षेत्रमा सारेका थिए।[९] यसले कालापानी उपत्यकाको पूर्वमा रहेको करिब ३५ वर्ग किलोमिटर क्षेत्र, जुन अहिले कालापानी क्षेत्रका रूपमा चिनिन्छ, ब्रिटिस भारतको भाग बनेको थियो। यससँगै नेपाल, भारत र चीनबीचको त्रिदेशीय बिन्दु तिङ्कर भञ्ज्याङ नजिक सरेको थियो र लिपुलेक भञ्ज्याङ ब्रिटिस भारतको आन्तरिक बिन्दु बनेको थियो। यद्यपि, यो परिवर्तनका बारेमा कुनै आधिकारिक पत्राचार उपलब्ध छैन।
सन् १९५४ मा भारतले चीनसँग सीमा व्यापार सम्झौता गर्दा लिपुलेक भञ्ज्याङलाई व्यापार र तीर्थयात्राका लागि प्रयोग गर्न सकिने नाकाको रूपमा उल्लेख गरेको थियो। सन् १९५६ मा कालापानीमा एउटा राज्य प्रहरी चौकी स्थापना गरिएको थियो। सन् १९६१ मा नेपालले चीनसँग सीमा सम्झौता गर्दा तीन देशको त्रिदेशीय बिन्दु तिङ्कर भञ्ज्याङ नजिक रहेको स्वीकार गर्दै त्यहाँ १ नम्बरको सीमा स्तम्भ राखिएको थियो।
सन् १९६२ को भारत-चीन युद्ध पछि भारतले लिपुलेक भञ्ज्याङ बन्द गरिएको थियो। त्यसपछि कुमाऊँका ब्यासीहरूले तिब्बतसँगको व्यापारका लागि टिङ्कर भञ्ज्याङ प्रयोग गर्न थालेका थिए। सन् १९९१ मा भारत र चीन लिपुलेक नाका पुनः खोल्न सहमत हुँदै यस नाकाबाट हुने व्यापार विस्तारै बढ्दै गएको थियो।[१०]
पर्यटन
[सम्पादन गर्नुहोस्]यो भञ्ज्याङले भारतको पिथौरागढ जिल्लालाई चीनको तिब्बत स्वायत्त क्षेत्रसँग जोड्दछ र यो भारतको क्षेत्रभित्रको अन्तिम विन्दु हो। हिन्दुहरूको पवित्र तीर्थयात्रा 'कैलाश मानसरोवर यात्रा' यही भञ्ज्याङ हुँदै कैलाश पर्वत र मानसरोवर तालसम्म पुग्छन्। लिपुलेक भञ्ज्याङ तिब्बतको पुरानो व्यापारिक सहर पुरान (ताक्लाकोट) नजिकैको च्याङ लोबोचाहेलासँग जोडिएको छ।
सन् २०२४ मा, उत्तराखण्ड सरकारले यस भञ्ज्याङको पश्चिमी भागमा एउटा दृश्यावलोकन विन्दु पहिचान गरेको छ, जसलाई "पुरानो लिपुलेक चुचुरो" (३०°१४′५६″N ८१°०१′२५″E / 30.2488°N 81.0237°E) नाम दिइएको छ। यहाँबाट कैलाश पर्वत स्पष्ट रूपमा देख्न सकिन्छ।[११]
नेपालको दाबी
[सम्पादन गर्नुहोस्]यस भञ्ज्याङको दक्षिणी भाग, जसलाई कालापानी क्षेत्र भनिन्छ, त्यसमाथि नेपालको दाबी सन् १८१६ मा तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिमा आधारित छ। उक्त सन्धिले महाकाली नदी (जसलाई भारतमा काली वा शारदा नदी पनि भनिन्छ) लाई दुई देशबीचको सिमाना निर्धारण गरेको थियो। भारतको दाबी अनुसार यो नदी कालापानी गाउँबाट सुरु हुन्छ, जहाँ यसका सबै सहायक नदीहरू मिसिन्छन्। तर, नेपालको दाबी अनुसार यो नदी लिपुलेक भञ्ज्याङबाट सुरु हुन्छ।[१२]
सन् १८६५ को आसपास अङ्ग्रेजहरूले कालापानी नजिकैको सिमाना नदीको सट्टा कालापानी नदीको 'जलाधार' मा सारेका थिए, जसका कारण अहिले कालापानी क्षेत्र भनिने भूभागमा उनीहरूले दाबी गरेको ऐतिहासिक अभिलेखहरूले देखाउँछ।[९] यो अङ्ग्रेजहरूको त्यस अडानसँग मिल्दोजुल्दो छ जसले काली नदी कालापानीका मुहानहरूबाट मात्र सुरु हुने मान्दथ्यो,[१३] जसको अर्थ सुगौली सन्धि ती मुहानहरूभन्दा माथिको क्षेत्रमा लागू हुँदैन भन्ने हुन्थ्यो।[१४]
सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणपछि, भारत र चीन लिपुलेकमा व्यापारिक केन्द्र खोल्न सहमत भएका थिए, जसमा नेपालले कडा आपत्ति जनाएको थियो।[३][४] नेपाली संसद्ले 'यसले विवादित क्षेत्रमा नेपालको सार्वभौम अधिकारको उल्लङ्घन गरेको' बताएको थियो।[१५] नेपालले अहिले यस मुद्दालाई भारतसँग कूटनीतिक माध्यमबाट समाधान गर्ने उद्देश्य राखेको छ।[१६]

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Walton, Almora District Gazetteer (1911), p. 229.
- 1 2 Ling, L.H.M.; Abdenur, Adriana Erthal; Banerjee, Payal (१९ सेप्टेम्बर २०१६), India China: Rethinking Borders and Security, University of Michigan Press, पृ: 49–50, आइएसबिएन 978-0-472-13006-1।
- 1 2 "Resolve Lipu-Lekh Pass dispute: House panel to govt", Republica, २८ जुन २०१८।
- 1 2 Lipulekh dispute: UCPN (M) writes to PM Koirala, Indian PM Modi & Chinese Prez Xi, The Kathmandu Post, 9 July 2015.
- ↑ Bergmann, Christoph (२०१६), Journal of Historical Geography 51।
- ↑ Chatterjee, Bishwa B. (जनवरी १९७६), India International Centre Quarterly।
- ↑ Atkinson, Himalayan Gazetteer, Vol. 2, Part 2 (1981), pp. 679–680.
- ↑ Hoon, Vineeta (१९९६), Sage Publications, पृ: ७६।
|title=रितो (सहायता) - 1 2 Manandhar, Mangal Siddhi (जुन २००१), "Nepal-India Boundary Issue: River Kali as International Boundary", Tribhuvan University Journal।
- ↑ Kurian, Nimmi (२०१६), "Prospects for Sino-Indian Trans-border Economic Linkages", International Studies 42।
- ↑ How Uttarakhand Is Providing "Closer Darshan" To Kailash-Mansarovar Pilgrims, NDTV News, 29 June 2023.
- ↑ India, Nepal and the Kalapani issue, Decan Herald, 19 November 2019.
- ↑ Atkinson, Himalayan Gazetteer, Vol. 3, Part 2 (1981), pp. 381–382
- ↑ Gupta, The Context of New-Nepal (2009): "India holds that the river Kali begins from the meeting point of the Lipu Gad with the stream from Kalapani springs." (p. 63)
- ↑ Nepal objects to India-China trade pact via Lipu-Lekh Pass, The Economic Times, 9 June 2015.
- ↑ "Post-J&K map ache spreads to Nepal", Telegraph India, ८ नोभेम्बर २०१९।
