सामग्रीमा जानुहोस्

लोचन भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोचन भट्टराई -- गायिका (छन्द गायिका)

२०४४ सालमा आधुनिक गीततर्फ प्रथम भएपछि निर्माण भएको लोचन भट्टराईको परिचय भने आधुनिक गायिका नै हो । यस अर्थमा पनि उनका आधुनिक गीत नै धेरै छन् ।

तर, जब २०५४ सालमा म्युजिक नेपालले भानुभक्तीय रामायणलाई छन्दमा वाचन गराउने काममा उनले धेरै श्लोक वाचन गरिन् । त्यसपछि भने उनलाई लामो समय गीत गाउँदै जाँदा जुन सुकै भाषामा गीत गाए पनि हामीले भाषागत रुपमा ठीक काम गरेका छौँ कि छैनौं भन्ने खोज्ने इच्छा लाग्यो । यसले छन्दलाई संगीतमा जोड्दै उनको अर्कै परिचय निर्माण भयो छन्द गायिका लोचन भट्टराई । तर, उनले आफूले कहिल्यै पनि संगीत भने गरिनन्।

आधुनिक त छँदैछ, २०४८ सालमा साँस्कृतिक संस्थानमा जागिर भएपछि सोरठी, तामाङ सेलो, झ्याउरे, चर्या लगायतका विविध साँस्कृतिक गीत गाए पनि पछिल्लो समय भने उनलाई छन्दको लत नै बसेको छ अर्थात् तानेको छ । अर्को अर्थमा भन्ने हो भने छन्दको मात नै लागेको छ । २०५४ सालमा छन्दमा काम गरेपछि पिंगल छन्द सूत्रले किन यहाँ यही नै हुनुपर्छ भनेर मापदण्ड बनायो भन्ने जिज्ञासा पनि उत्पन्न भयो उनलाई । उनलाई लाग्यो त्यो मापदण्ड बन्नुको पछाडि पक्कै पनि कारण छ । उनलाई त्यो कारण खोज्न मन लाग्यो । त्यसपछि उनले छन्दोहार भन्ने पुस्तक ल्याएर त्यसका सूत्रहरू हेर्न थालिन् । उनलाई के पनि लाग्यो भने यो रामायण वाचन गरेजस्तो वाचन गर्नका लागि मात्र बनेको होइन । यसको पछाडि ठूलो कारण हुनुपर्छ भन्ने लाग्यो उनलाई । त्यसपछि उनले खोज्ने क्रममा गाउँदै जाँदा ह्रस्व, दीर्घ, ह्रस्व, ह्रस्व, दीर्घ, विश्राम, दीर्घ हुने रहेछ । ताल बजाएर गाउँदै जाँदा छन्द अनुसार ताल पनि मिलेको पाइन् । अर्को छन्दमा त्यो ताल मिल्दैन । यसबाट उनले के निष्कर्ष निकालिन् भने पिंगल छन्द सूत्र भनेको भाषा शास्त्र मात्र होइन संगीत शास्त्र पनि रहेछ । संगीत नबुझेको मान्छेले त्यसरी सूत्र बनाउन सक्दैन । छन्द आफैँमा ताल हो । संगीतको ताल नबुझेको मान्छेले पक्कै पनि त्यो सूत्र तयार गर्न सक्दैन । भानुभक्तीय रामायण गाउनु अगाडि उनले हामीले कुनै पनि गीत गाउँदा लघु गुरु किन बिगार्ने भन्ने लागेको रहेछ । ह्रस्व, दीर्घ बिगारेर किन गाउने भन्ने उनको मनमा परेको रहेछ । तिऽऽऽऽऽमी भनेर किन गाउने ? तिमीऽऽऽऽ भनेर गाउँदा त शुद्ध पनि भयो । पऽऽऽऽऽनि किन गर्ने, एकैपटक पनि गरे भैगो ।नेपाली भाषा कथ्य र लेख्य स्पष्ट छ त्यसकारण पनि यसमा अलमल हुनुपर्ने कारण छैन । कथ्यमा जाँदा हलन्तको धेरै प्रयोग हुन्छ भने लेख्दा त्यस्तो हुँदैन । गीत गाउनलाई त झनै सजिलो छ देश् भन्दा हुन्छ, देश भन्नु पर्दैन । जुनसुकै चिजलाई संगीत गर्न सकिन्छ त्यो गीत भनेर लेखिएको हुनु पर्दैन । हामीले कथ्यमा मजाले उच्चारण गरेर गीत गाउन सकिन्छ भनेर उनले २०५८ सालमा भिम दर्शन रोकाको एल्बम ‘तारा नउदाएको आकाश’ गर्नुभयो । त्यसलाई मिडियाले राम्रो कभरेज गर्‍यो । त्यसपछि मुक्तकमा पनि संगीत हुँदो रहेछ भन्ने धेरैलाई लाग्यो । अनि धेरै साहित्यकारले उनलाई माया गर्न थाल्नु भयो । अब उनको रहर छन्दमा जाग्यो । त्यसपछि उनले छन्द भन्ने एल्बम गरिन् । छन्द कम्पोज गर्छु भन्दा धेरै गुरुहरुले उनलाई छन्द नगर, आधुनिक गीत गाउनेले छन्द नगर बिग्रन्छ भनेर भन्नुभयो । पहिले उनले कवि शिरोमणिको नैतिक दृष्टान्त जुन अनुष्टुप छन्द, ‘बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत’ लाई संगीत तथा रेकर्ड गरिन् । त्यसपछि उनले त्यसलाई कमल मणि दीक्षितलाई सुनाइन् । सुन्दै जाँदा उहाँ सँगसँगै गाउन थाल्नुभयो । त्यसपछि उहाँले पैसा जुटाउने काम मेरो अब तपाईँ रेकर्डमा लाग्नुस् भन्नुभयो । उनले गरेको त्यो छन्द एल्बमा आठ वटा कविताहरु छन् । जसमा महाकवि, कवि शिरोमणि, धरणीधर, भिमनिधि तिवारी आदि कविका कविता छन् । ब्लू स्टार होटलमा भएको ‘छन्द’को विमोचनलाई नेपाल टेलिभिजनले राम्रो स्थान दियो । त्यहाँबाट नै धेरै एल्बम पनि बिक्री भए । त्यसपछि उनले भद्र कुमारी घलेको गद्य कविताको एल्बम ‘प्रतिविम्ब’ गरिन्, पिताम्बर पियुषका कविताको ‘दिव्य चेतना’ भन्ने एल्बम गरिन्, कञ्चन पुडासैनीको पद्य कविताको ‘अन्तर ध्वनी’ भन्ने एल्बम गरिन्, इटहरीका एकजना कविको ‘वियोग’ भन्ने एल्बम गरिन् ।

यी एल्बमहरू गरिसकेपछि उनलाई दाहाल यज्ञनिधिले उनको कविताको एल्बम गर्न भन्नु भएको थियो । तर, काम गर्ने भन्दा भन्दै उहाँको असामयिक निधन भयो । अनि उहाँको कविता छानेर ‘खुल्ला आकाश’ भन्ने एल्बम पनि गरिन् । उनले हाम्रो पौराणिक कथा ‘सावित्री सत्यवान’ को पनि एउटा एल्बम गरेकी छन् ।

उनको स्वभाव जे कुरासँग पनि रमाउने खालको छ ।

मानिसहरु दु;ख भयो दिक्क लाग्यो भन्ने कुरा भनिरहेका हुन्छन् तर जीवनमा त्यो उनले कहिल्यै पनि लिइनन् । दाउराको भारी बोक्दा गर्दन कक्रेर दुखेको छ,  तालु  फुट्ला जस्तो भएको छ, खोला तर्दा खोलाको ढुंगामा खुट्टा ठोक्किएर घाउ भएर छर छरी रगत बगेर आँसु बर्बर झार्दै दिक्क मानेर घर आएको मानिस भारी घोप्ट्याएपछि तुरुन्तै चंगा ।’त्यसपछि घरमा मकै भुटेको छ कि, भात छ कि, च्याँख्ला छ कि खाएर काम गर्ने आफ्नो स्वभावलाई उनी गजब मान्छिन् । खानमा पनि उनलाई मिठो, नमिठो यो त्यो भन्ने केही छैन । उनी सानैदेखि अन्नको पनि एकदमै हिफाजत गर्ने मान्छे । अलिकति अन्न उब्जाउन पनि कति मेहनत पर्छ भन्ने कुरा पिण्डेश्वर क्याम्पसको जग्गामा उनले उब्जाएको एक एक दानाले दिएको शिक्षा हो । उनले पिण्डेश्वर क्याम्पसको जग्गामा उब्जाएको फर्सीको मुन्टा पनि बजारमा तथा घर घरमा लगेर धेरै बेचेकी छन् । उनको अर्को विशेषता भनेको हरेक चिजमा आफूले सकेसम्म निखार ल्याउनु हो । यो उनको आफूलाई आफ्नो मनपर्ने बानी हो । फर्सीको मुन्टा बेच्न लैजाँदा पनि डाँठ काटेर चट्ट पारेर केलाउँदा एउटा पनि खेर फाल्नु नपर्ने गरी लिएर जान्छिन् । घर लिप्दा पनि रातो माटोको लाइन तानेर सिधा भयो कि भएन भनेर हेरेर मिलाउँथिन् । उनी माटोले लिपेको त्यो सानो घरको सानो झ्यालमा पनि सानो टुक्रा कपडाको पर्दा बनाउँथिन् । यो सबका पछाडि सानैदेखि उनको आफ्नै मान्यता छ सुन्दरता खोज्न कहीँ जानु पर्दैन । जे चिजलाई पनि सुन्दर बनाउन सकिन्छ भन्ने उनको मान्यता छ । महल मात्र सुन्दर हुँदैन छाप्रोलाई पनि सुन्दर बनाउन सकिन्छ किनकि सुन्दरता आफैँभित्र छ। उनलाई लाग्छ जति दुःख भोगे पनि त्यसलाई दुःखका रुपमा उनले कहिल्यै पनि आफ्नो मन मस्तिष्कमा स्थान दिएकी छैनन् । त्यसैले आफूलाई कहिल्यै पनि दुःख भयो भन्ने उनले महशुश नै गरेकी छैनन् ।

गायनका सन्दर्भमा उनलाई के लाग्छ भने जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि उनलाई भगवानले गीत गाउने एउटा कला भने दिएर पठाउनु भएको छ । जसले उनी आफैं पालिनु र देशको पनि सेवा गर्नु भन्ने भगवानको आर्शिवाद थियो शायद भन्ने लाग्छ उनलाई ।

गरिवीले आक्रान्त उनको घरमा रेडियो हुने कुरो भएन । अनि टाढा कसैको घरमा रेडियोमा गीत बजेको सुन्यो भने त्यो उनलाई कण्ठ हुन्थ्यो अनि साथीभाइको माझमा सुनाइहाल्ने उनको सानै देखिको बानी थियो । गीत सुनेपछि साथीभाइले आहा कति राम्रो स्वर भनेर अरु गीत पनि गाउन प्रोत्साहित गर्थे । उनी घाँस काट्न जाँदा पनि पहिले मजाले गीत गाउँथिन् अनि मात्र घाँस काटेर घर आउने । दाउरा काट्न जाँदा पनि पहिले जंगल नै रन्काउने गरी गीत गाउने अनि मात्र दाउराको भारी लिएर आउँथिन् । उनलाई संगीत सिक्नुपर्छ, पढ्नुपर्छ भन्ने काठमाण्डौ आएपछि मात्र थाहा भएको हो । सायद् ! त्यो जंगलको प्राकृतिक रियाजले उनलाई त्यसको आवश्यकता महशुस गराएन । कुरो २०४४ सालको हो । उनी जागिर छोडेर घरमा छोरा हुर्काएर बसिरहेकी थिइन्। छोरा पनि ६ वर्षको भएर स्कूल जाने भैसकेका थिए । एक दिन उनका श्रीमानले तिमी पनि रेडियो नेपालमा आधुनिक गीत प्रतियोगिता भइरहेको छ त्यहाँ जाउ भनेर भने ।

उनको भाइको पनि स्वर राम्रो थियो । उनी रेष्टुरेण्टमा गजल गाउँथे । भाइको साथी थिए संगीतकार भुपेन्द्र रायमाझी । रायमाझीले दिदीको स्वर राम्रो छ त्यसैले प्रतियोगितामा गाउनु भने । बरु गीत आफूले दिने भने । नभन्दै उनी वि.सं.२०४४ सालमा रेडियो नेपालमा भएको आधुनिक गीत प्रतियोगितामा प्रथम भइन्। अब त्यसपछि उनका लागि नयाँ बाटो खुल्यो । वि.सं. २०४४ सालमा खुलेको बाटोमा उनी अहिलेसम्म पनि निरन्तर छिन्।त्यसबेलाको निर्णायकहरुमा नारायण गोपाल, मास्टर रत्नदास प्रकाश तथा फत्तेमान राजभण्डारी हुनुहुन्थ्यो । पछि नारायण गोपालले स्वर्णिम सन्ध्या गर्दा उनलाई गाउने अवसर दिनु भएको त्यसबेला सुनेको उनको स्वरको प्रभावका कारण रहेछ ।

रेडियो नेपालमा प्रथम भएपछि उहाँको व्यस्तता बढ्यो । त्यसबेला रेकर्डिङ रेडियो नेपालमा मात्र भए पनि धेरै संगीतकारले गाउनका लागि बोलाउन थाले । स्वर सम्राट नारायण गोपालसँग पनि उहाँ धेरै कार्यक्रममा जानुभयो । एकल साँझ कार्यक्रम पनि गर्नुभयो । निकै मिठो सुनिने उहाँको ठम्याइ छ । भाव सहितको लयमा हामीले संगीत बगाउन सकेका खण्डमा नेपाली भाषा तथा संगीत अन्य कुनै संगीत भन्दा कम नरहेको उहाँको बुझाइ छ । हाम्रो लेखन एकातिर, भाव अर्को तिर र अझ त्यसलाई शब्द फुटाएर अन्तै पुर्याइएको छ अनि कसरी सुनिन्छ सुमधुर संगीत उहाँको प्रश्न छ ।

२०४८ सालमा साँस्कृतिक संस्थानका महाप्रवन्धक रमेश ताम्राकारले उहाँको स्वर एकदमै मन पराएर जागिर खान बोलाउनु भयो । जागिर स्थायी पनि भयो र ५८ वर्ष उमेर हदका कारणले उहाँले २०७६ सालमा त्यहाँबाट अवकाश प्राप्त गर्नुभयो । नर्सिङ तथा साँस्कृतिक संस्थानका जागिर भन्दा पहिले उहाँले पिण्डेश्वर क्याम्पसमा टाइपिस्टको काम पनि गर्नुभएको थियो । संस्कृत पढाउने भएका कारण गुरु भन्ने चलन थियो क्याम्पसमा । त्यसबेला उहाँले क्याम्पसमा टीका प्रसाद वस्ती गुरुलाई गएर यहाँ टाइपिस्टको पद खालि रहेको र आफूले टाइपिङ सिकेका कारण जीवन धान्नै गाह्रो परेकोले जागिर दिनुस् भनेपछि उहाँले जागिर पाउनुभयो । टीका प्रसाद वस्ती गुरु साहित्यकार सनत कुमार वस्ती तथा शरद चन्द्र वस्तीको पिता हुनुहुन्छ । उहाँले त्यहाँ करारमा एक वर्ष जागिर खानुभयो । उहाँको तलब त्यस बेला एक सय १७ रुपैयाँ थियो । त्यो नै उहाँको पहिलो तलब थियो । त्यो पैसाले त्यसबेला दाल, चामल, तरकारी किनेर एउटा परिवारलाई खान पुग्थ्यो । उहाँले आफ्नो पहिलो तलबलाई यसरी स्मरण गर्नुभयो ।

आफ्नो समयमा धेरै निजी रेकर्डिङ स्टुडियो नभएका कारण पनि आफ्ना गीतहरु थोरै रहेको उहाँको बुझाई छ । रेडियो नेपाल तथा पछि खुलेको म्युजिक नेपाल र यस्तै अन्य रेकर्डिङ गरेर नौ सय गीत होलान् उहाँ भन्नुहुन्छ । छन्दमा लागेपछि गीतको संख्या बढाउने मोहबाट उहाँ टाढा हुनुहुन्छ ।

साथै हिन्दी गीत कस्तो सल ल ल बगेको मिठो हुन्छ तर नेपाली गीत मिठो हुँदैन भन्नेहरुलाई उहाँको जवाफ छ, हामीले हाम्रो भाषा बिगारेर राम्रोसँग गाउनै जानेका छैनौँ त कहाँ मिठो होस् ! हिन्दीमा शब्दहरु फुटाएर गाउनै पाइँदैन । त्यसैले सिंगो फूलको माला जस्तो छ । तर, नेपाली गीतहरु भने शब्द बिगारेर च्यात चुत पारेर गाउने हुँदा नमिठो सुनिएको उहाँको दाबी छ । हाम्रो नेपाली भाषाको बनावटमा नै आफ्नो ताल छ । फूल भन्दा त्यहाँ ताल छ । त्यहाँ के बज्ने कति मात्रा बज्ने भन्ने प्रष्ट छ । तिम्रो भन्दा कति मात्रा बज्ने पनि प्रष्ट छ । फूलमा एक मात्रा बज्छ भने तिम्रो मा दुई मात्रा बज्छ । पहिले संगीत गर्ने मान्छेले यो कुरा बुझ्नु पर्यो भन्ने उहाँको आग्रह सहितको चुनौति पनि छ । यदि यो चुनौति स्वीकार गरेका खण्डमा आगामी दिनमा नेपाली संगीतको अवश्य श्री वृद्धि हुनेछ । हाम्रो भाषा अभिव्यक्तीय भाषा हो । जुन कुरा हामी अभिव्यक्त गर्छौँ वास्तवमा संगीत त्यही हो उहाँ भन्नुहुन्छ । यसलाई बुझेर संगीत गर्न सकेका खण्डमा यो निकै मिठो सुनिने उहाँको ठम्याइ छ । भाव सहितको लयमा हामीले संगीत बगाउन सकेका खण्डमा नेपाली भाषा तथा संगीत अन्य कुनै संगीत भन्दा कम नरहेको उहाँको बुझाइ छ । हाम्रो लेखन एकातिर, भाव अर्को तिर र अझ त्यसलाई शब्द फुटाएर अन्तै पुर्याइएको छ अनि कसरी सुनिन्छ सुमधुर संगीत उहाँको प्रश्न छ । हामीले हाम्रा गीतहरु भाषागत रुपमा कसरी शुद्ध गाउने भनेर भावी पिँढीलाई एउटा ज्ञान दिन चाहनुहुन्छ उहाँ । स्वर र उमेरले साथ दिएसम्म आगामी दिनमा नेपाली कविताहरूलाई सकेसम्म संगीतवद्ध गरेर इतिहासमा एउटा सार्थक काम गर्ने विचारमा हुनुहुन्छ लोचन भट्टराई ।

जीवनी

उहाँहरु ताप्लेजुङको भट्टराई । उनको हजुरआमाको कान्छी बहिनी अर्थात कान्छी हजुरआमाको बिहे कालिम्पोङमा भएको हो । आफ्नो कान्छी बहिनी कालिम्पोङमा भएका कारण हजुरआमाले उनको बुबालाई कालिम्पोङमा आइएस्सी पढ्न पठाउनु भयो । त्यसबेला पढ्न जाने भनेकै बनारस थियो तर, उहाँको बुबाले बनारस पढ्न जान नमानेपछि कालिम्पोङ पठाइएको रहेछ । कालिम्पोङमा आइएस्सी सकाएपछि उनको बुबाले कलकत्ताको बर्धमान कलेजबाट इन्जिनियरिङ सकाउनु भयो । यो २०२० सालतिरको कुरा हो । पढ्न गएपछि बुबा र उहाँको जेठी आमाको दूरी बढ्यो । इन्जिनियरिङ सकाएपछि उनको बुबाले कालिम्पोङकै एकजना राना मगर केटी अर्थात उनको आमासँग प्रेम विवाह गर्नुभयो । त्यसबेला राना मगरसँग विवाह भएपछि उहाँको घरसँगको सम्बन्ध टुट्यो । यसकारण उनको जन्म पनि मामाघर अर्थात कालिम्पोङको किताममा भएको हो । उनका चार वर्ष मामाघरमै बिते । घरसँगको दूरी बढेकोले अब बुबालाई आफ्नै काम तथा घरबार बनाउनु पर्ने भयो । इन्जिनियरिङ पनि सकिएकाले त्यसपछि उहाँ हेटौंडाको जलविद्युत् केन्द्रमा काम गर्न थाल्नुभयो । त्यसबेला हेटौंडामा काम गरेका तस्विरहरु अहिले पनि सुरक्षित छन् उनीसँग ।

समय क्रममा सायद छोराको माया पलाएर होला उनको हजुरआमा नातिनातिना खोज्दै कालिम्पोङ पुग्नुभयो र उहाँलाई लिएर आउनु भयो । उनको भाई भने सानै थियो । त्यसै बेला दुर्घटनाका क्रममा उनको बुबाको दुःखद निधन भयो । यो २०२३ सालको कुरा हो । उनको बुबाले भाइको अनुहार हेर्न पाउनु भएन । उनको भाइ अर्थात गायक निशान भट्टराईले पनि बुबाको मुख नै देख्न पाउनु भएन । उनको भाइको पनि केही वर्ष अघि दुर्घटनामा काठमाण्डौको तीनकुनेमा निधन भयो । बुबाको निधनपछि उनको आमा तथा भाइ पनि ताप्लेजुङ आए । अनि सबै सँगै बस्न थाले । उनको एकजना फुपू धरान विजयपुरमा हुनुहुन्छ । उता ताप्लेजुङको घरमा कोही पनि पुरुष नभएपछि उनको धरान घर भएकी फुपूले अब उताको सबै बेचबिखन गरेर यता आओ भनेपछि उनीहरु धरान विजयपुरमा सरेको हो । पहाडबाट बसाइ सर्दा उनका फुपाजुले सबै सम्पत्ति हिनामिना गरेका कारण उनीहरुको जीवन भने कष्टप्रद हुन पुग्यो । खान, लाउन समेत धौ धौ हुन पुग्यो । उनले पनि जीवन यापनका लागि घाँस, दाउरा गरेर अरुको घरमा गएर भकारो सोरेर तथा आमाले पनि अरुका उखु, अम्बा घर घर लगेर बेचेर  उनीहरुलाई हुर्काइ, बढाइ र पढाइ गर्नु भएको हो । उनको प्रारम्भिक शिक्षा हाल दन्तकाली मन्दिरको पाटीमा अवस्थित पञ्चायत स्कूलमा भएको हो । उनले कखरा नै पाटीमा खरीले लेखेर गरेकी हुन् । पञ्चायत स्कूलमा उनको पाँच कक्षासम्मको पढाइ चल्यो । पाँच कक्षासम्मको पढाइ त्यस बेला निःशुल्क थियो । बस्नका लागि डेस्क बेञ्च थिएन । लेख्नका लागि सबैका कालो पाटी हुन्थे । उनको भने पाटी पनि थिएन । पाटी किन्ने पैसा थिएन । त्यसैले आमाले उमलाई खद्दरको झोलामा भुटेको मकै र काँचो मकै हालिदिनुहुन्थ्यो । भुटेको मकै खाजाका लागि थियो भने काँचो मकै लेख्नका लागि थियो । कालो पाटीमा सरले क, ख लेखेपछि उनले काँचो मकैले मिलाएर लेख्थिन् ।

पाँच कक्षापछि उनी श्री शारदा व्यावसायिक माध्यमिक विद्यालयमा पढ्न थालिन्।जुन बालिका मावि थियो । पैसा तिर्न सक्ने अवस्था थिएन । त्यसैले उनले सञ्चालक समितिको सिफारिसमा छात्रवृत्तिमा दश कक्षासम्म निःशुल्क बालिका माविमा नै पढिन्।

शारदा माविको भवन पनि राम्रो थियो भने बस्नलाई लामो डेस्क बेञ्च थियो । एउटा बेञ्चमा चार जना हुन्थे । कक्षा एकदेखि तीन कक्षासम्म नेपालीमात्र पढाइ हुन्थ्यो । चार कक्षामा गएपछि मात्र अंग्रेजी किताब पढ्नु पर्ने हुन्थ्यो । उनीसँग खाजा खाने पैसा हुँदैनथ्यो । अनि ६ कक्षादेखि दश कक्षासम्म उनलाई जयन्ती राजभण्डारी भन्ने साथीले खाजा खुवाइरहन्थिन्। उनले २०३७ सालमा एसएलसी पास गरिन् । पास त गरिन् तर, क्याम्पस पढ्ने पैसा थिएन । उनलाई क्याम्पस पढ्नका लागि भन्दा पनि आमा र भाइको पालनपोषणका लागि पैसा चाहिएको थियो । त्यस बेला विराटनगरमा नर्सिङ क्याम्पसमा भर्ना पाइयो भने उल्टै पैसा आउँथ्यो । उनले त्यहाँ पढ्ने अवसर प्राप्त गरिन् । दुई वर्षमा पढाइ सकेर उनी धरान पोष्टिंगका लागि काठमाण्डौ आइन्। त्यस बेला धरानमा उनको एउटा छाप्रो मात्र थियो घरका नाममा । बाँसको भाटाले बारेर अनि त्यसमाथि माटोले लिपेर र कमेरोले पोतेर उनले दुःख, सुख तीन कोठाको घर बनाइन्। यही बीचमा २०३९ साल माघमा उनको विवाह भयो । अनि उनको बसाई तथा जागिर दुवै काठमाडौँमा नै मिल्यो । उनी वीर अस्पतालमा काम गर्थिन् त्यतिखेर तर, त्यति संघर्ष गरेर खाएको जागिरमा उनको मन रमेन । मन नरम्नुको कारण थियो भर्खरै जन्मिएको छोरो । यो २०४२ सालको कुरा हो । उनलाई मान्छे खोजेर छोरा हेर्न राखेर जागिरमा जान उनलाई पटक्कै मन लागेन । छोरा भन्दा जागिर ठूलो होइन । त्यसैले जे जति हुन्छ त्यसैमा रमाएर भए पनि छोरा हेर्नुपर्छ भनेर उनले जागिर नै छोडिदिइन्।