वणशङ्कर नेपियर सि.ओ.३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वणशङ्कर नेपियर सि.ओ.३
वैज्ञानिक वर्गीकरण
वंश:
Pennisetum

वणशङ्कर नेपियर सि.ओ.३, (विकासी नेपियर सि.ओ.३ वा सि.ओ.३ घाँस) अधिक मात्रामा फैलिने नेपियर प्रजाति अन्तर्गत पर्ने एक प्रकारको बहुवर्षे घाँस हो।[१] यस प्रजातिको घाँसलाई नेपियर घाँस र पेनिसेटम अमेरिकानम प्रजातिको नेपियेर घाँसद्वारा विकसित गरिएको हो। विकासी नेपियर अधिकतम उत्पादन दिने घाँस हो। खास गरी गाँज बढी हाल्ने, भाङ्गीने, हरियो घाँसको उत्पादद बढी हुने, छिटो छिटो पलाउने, डाँठको अनुपातमा पात बढी हुने क्रुड प्रोटिन बढी हुने, रोग तथा कीरा सहन गर्न सक्ने र प्रतिकुल अवस्थामा पनि अरू घाँसको तुलनामा बढी उत्पादन दिने क्षमता भएकोले यस घाँसबाट औषत हरियो घाँस प्रति बोट ४ देखि ८ किग्रा काटाई अथवा २५०-३५० टन हेक्टर वर्ष स्थानिय स्तरमा उत्पादन भएको पाइएको छ। यो घाँसलाई गानो फोरेर वा नेपियर जस्तै डाँठ काटेर रोपण गर्न पनि सकिन्छ।[२] यस घाँसलाई लगाएको ४-५ वर्ष सम्म वहुवर्षे घाँसको रूपमा प्रयोग गर्न सकिन्छ। यो घाँस चाडै पलाउने क्षमता भएकोले लगाएको ३०-४५ दिन भित्र घाँस काट्न मिल्ने अवस्थामा पुग्दछ। बढी उत्पादन लिनको लागि घाँस वालिको व्यवस्थापनमा प्रयाप्त ध्यान दिँदै मल खादको उचित प्रयोग, सिँचाइको प्रबन्ध, सहि उचाइमा घाँस काट्ने, घाँस काट्ने अन्तराल उपयुक्त समयमा गर्ने जसले गर्दा उत्पादन बढी हुने र यसबाट अधिकतम फाइदा लिन सकिन्छ।[३] यस प्रजातिको घाँसलाई सहि समयमा काटियो भने यसबाट सुब्बा पदार्थ १८ -२० प्रतिशत, क्रुड प्राटिन १५-१६ प्रतिशत, खरानी तत्व ९.८ देखि १२८ प्रतिशत, क्रुड फाइबर ३४-३७ प्रतिशत पाइन्छ। सि.ओ नेपियर जातका अन्य घाँसहरूको तुलनामा यो घाँसबाट अरूको भन्दा अधिक उत्पादन लिन सकिन्छ।[४]

विवरण[सम्पादन गर्नुहोस्]

यस घाँसको विकास सन् १९९७ मा भारतको तामिलनाडु राज्यमा स्थित कृषि विश्व विद्यालय कोयम्बाटुरमा भएको हो भने यस घाँसलाई अत्यान्त उच्च कोटीमा राखिएको छ। पछि पशुपालन विभाग, सरकार तमिलनाडुका किसानहरूले यस घाँसलाई लोकप्रिय बनाउन गतिविधिहरू लिएका छन्।[५] यो बज्रा (पेनिसेटम अमेरिकनम एल) र साधारण नेपियर (पेनिसेटम) को बिच एक अन्तर-विशिष्ट विकासी प्रजातिको घाँस हो।

हावापानी तथा माटो[सम्पादन गर्नुहोस्]

अन्य नेपियरको घाँस हुने ठाउँमा विकासी नेपियर सि.ओ ३ लाई लगाउन सकिन्छ। यस घाँसको अधिक उत्पादनका लागि १५०० मिलिमिटर भन्दा बढी वार्षिक औषत वर्षात हुने ठाउँमा उपयुक्त हुन्छ। यस घाँसलाई मलिलो र गहिरो खालको माटो उपयुक्त हुन्छ भने यस घाँस बढ्नको लागि २५-४० डिग्री सेल्सियस तापक्रम र पारीलो स्थान राम्रो हुन्छ।[६] यो घाँसले तुषारो सहन गर्न नसक्ने भएकालु यस घाँसलाई तराई देखि मध्य पहाडी भेकसम्म सफलता पूवर्क खेती गर्न सकिन्छ। १५०० मिटर भन्दा माथिको पहाडी क्षेत्रमा यो घाँस खेती गर्न उपयुक्त हुँदैन। सि.ओ ३ वणशङ्कर घाँस भएकोले यसको उत्पादन हुँदैन।[७] त्यसैले यस घाँसको प्रसारण विरुवा र यसको डाँठबाट गर्नु पर्दछ। गाँज फोरेर वा डाँठ काटेर यसलाई लगाउनु उपयुक्त हुन्छ जसले गर्दा वंशानुगत शुद्धता राख्नमा सहयोग पुग्दछ। रोप्नका लागि डाँठ वा गाँज नयाँ हुनु पर्दछ। गाँज रोप्दा २-३ वटा विरुवा बढीमा २ वटा आँख्ला भएको हुनु पर्दछ। डाँठबाट घाँस लगाउदा झाङबाट काट्ना साथ सके सम्म ताजा डाँठ रोपी हाल्नु पर्दछ जसले गर्दा डाँठमा नयाँ आउने जरा र नयाँ पलाउने मुनाहरूलाई पोषण तत्व प्रसस्त पुग्दछ।[८]


खेती गर्ने तरिका[सम्पादन गर्नुहोस्]

यस प्रजातिको नेपियर घाँसलाई वर्षातको समयमा रोप्नु पर्दछ। २-४ पटक वर्षा भई माटोमा प्रसस्त चिस्यान भएपछि यसलाई रोप्नु उपयुक्त हुन्छ। मे र जुन महिनामा नेपियर घाँस लगाउन उपयुक्त हुन्छ।[९] माटोको उवर्राशक्तिको आधारमा एक विरुवाबाट अर्को विरुवाको दुरी ६०-९० सेमी र एक लहराबाट अर्को लहरा बीचको दुरी ९०-१२० सेमी राख्न सकिन्छ। नेपियर रोप्दा २-३ वटा आख्ला हुनु पर्दछ। एक आला जमिन मुनी एक आख्ला जमिनको सतहमा र एक आख्ला जमिन भन्दा माथि रहने गरी छड्के पारेर रोप्नु पर्दछ। नेपियर रोप्नु भन्दा पहिला जमिनको तयारी खनजोत गरी जमिनको उर्वराको आधारमा मल राख्ने प्रबन्ध मिलाउनु पर्दछ।[१०] यस प्रजातिको नेपियर घाँस लगाउन १०-१२ इन्च गहिराइमा खनजोत गर्नु पर्दछ। त्यस पछि मात्र घाँस रोप्ने तयारीमा लाग्नु पर्दछ। नेपियर घाँसलाई दुई तरिकाबाट लगाउन सकिन्छ। खाडल खनी नेपियर घाँस रोप्ने क्रममा ३० सेमी लम्बाइ, चौडाइ र उचाइ भएको खाडल खनेर खाडल खन्दा माथिल्लो सतहको मलिलो माटो पहिला छट्याएर राख्ने र त्यस माटोलाई राम्रोसँग कहिएको कम्पोष्ट गोठेमल २ के जी मा मिसाई खाडल पुर्ने खाडल पुर्दा पहिला चोटी १५ सेमी मात्र पुर्ने र गाँज रोपेपछि बाँकी भाग पुरि विरुवाको वरिपरी राम्रोसँग थिच्नु पर्दछ। राम्रोसँग नथिच्दा विरुवा हल्लिन्छ र चाँडै सर्न सक्दैन।[११]

मलको प्रयोग[सम्पादन गर्नुहोस्]

बढी घाँस उत्पादनको लागि नियमित रूपमा मलखादको प्रयोग गर्नु पर्दछ। यो घाँसले बढी उत्पादन दिने हुँदा यसलाई पोषण तत्व पनि बढी आवश्वयक पर्दछ। बढी उत्पादन लिनको लागि प्रत्येक कटाइपछि, नाइट्रोजन मलको प्रयोग गर्नु पर्दछ। यस घाँसमा रासायनिक मलको रूपमा नाइट्रोजन, फोसफरस र पोटासको प्रयोगले अधिकतम उत्पादन लिन सहयोग पुग्दछ।[१२] ३६० टन हेक्टर प्रति वर्ष हरियो घाँस उत्पादनको लागि प्राङ्गारिक मल १५ टन प्रति हेक्टर वा १.५ किग्रा प्रति विरुवाको दरले प्रयोग गर्नु पर्दछ। त्यस्तै गरी बढी उत्पादनको लागि रासायनिक मल पनि प्रयोग गर्नु पर्दछ। घाँस रोप्ने समयमा ९० किग्रा नाइट्रोजन ,६० किग्रा, फसफोरस र ६० किग्रा पोटास प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्दछ। पहिलो घाँस कटाइ पछि नाइट्रोजन ४५ किग्रा, फसफोरस १३२ किग्रा, पोटास १६५ किग्रा प्रयोग गर्नु राम्रो हुन्छ।[१३] दोस्रो कटाइदेखि नाइट्रोजन ४५ किग्रा प्रति हेक्टरका दरले प्रत्येक कटाइ पछि प्रयोग गर्नु पर्दछ।

उत्पादन तथा घाँस काट्ने[सम्पादन गर्नुहोस्]

व्यवस्थित तरिकाबाट लगाइएको घाँस रोपेको ६० दिन पछि पहिलो कटाइ लिन सकिन्छ। त्यसपछि भने ३० देखि ४५ दिनको फरकमा घाँसलाई काट्न सकिन्छ।[१४] घाँसलाई छिप्पीन दिनुहुँदैन यसले गर्दा पोषण तत्वमा कमि आउँछ। सकेसम्म नेपियर घाँस काट्दा जमिन नजिकबमटट काट्नु पर्दछ जसले गर्दा पुनः घाँस पलाउनसहयोग गर्दछ। यसको प्रति झाङबाट ५ देखि ८ किग्रासम्म हरियो घाँस उत्पादन लिन सकिन्छ।[१५] यस घाँसको औषत उत्पादन ३०० मेट्रिक टन हेक्टर हरियो घाँस उत्पादन लिन सकिन्छ भने अधिकतम ३७५ मे टन हेक्टर भएको छ।

पौष्टिक तत्वहरू[सम्पादन गर्नुहोस्]

घाँसमा निहित पौष्टिक तत्वको आधारमा घरपालुवा जनवारहरूलाई पोषण तत्व प्राप्त हुने गर्दछ।[१६] सघन रूपमा खेती गरिएको अवस्थामा यस प्रजातिको नेपियस घाँसले प्रयाप्त मात्रामा घरपालुवा जनावरहरूलाई खुवाउन सकेको खण्डमा सबे आवश्यक पोषण तत्व प्राप्त गर्न सक्दछ।[१७] सि.ओ.३ र एन वि २१ दुवै नेपियर वणशङ्कर घाँस हुन्।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "विकासी नेपियर घाँस सिओ३ को जानकारी"। इन्डिया इङ्ग। सङ्ग्रह मिति ३१ मे २०२० 
  2. "Hybrid Napier Grass Cultivation as a Sustainable Self Employment for Livestock Farming"। Maralika। सङ्ग्रह मिति ३१ मे २०२० 
  3. "Fodder and Grass vareties"। bharathidairyfarm। सङ्ग्रह मिति ३१ मे २०२० 
  4. "वणशङ्कर नेपियर घाँस सिओ३"। सङ्ग्रह मिति ३१ मे २०२० 
  5. "विकासी नेपियर घाँस सिओ३ को जानकारी तथा घाँस उत्पादन"। एग्री टेक। सङ्ग्रह मिति ३१ मे २०२० 
  6. "What is co3 hybrid grass?"। www.answers.com। सङ्ग्रह मिति ३१ मे २०२० 
  7. "विकासी नेपियर घाँस सिओ३ र सिओ४ को जानकारी"युट्युब। सङ्ग्रह मिति ३१ मे २०२० 
  8. "विकासी नेपियर घाँस सिओ३"। युट्युब। सङ्ग्रह मिति ३१ मे २०२० 
  9. "What are C3 and C4 Native Grass?"। सङ्ग्रह मिति ३१ मे २०२० 
  10. "How Long After Grass Starts Growing Can You Cut It?"। होम गाइड। सङ्ग्रह मिति ३१ मे २०२० 
  11. "CO-4 grass used as fodder increases milk yield considerably"। द हिन्दु। सङ्ग्रह मिति ३१ मे २०२० 
  12. "Hybrid Napier (Pennisetum perpureum X Pennisetum americarnum) VAR. CO-3: a resourceful fodder grass for dairy development in Sri Lanka"। रिसर्च गेट। सङ्ग्रह मिति ३१ मे २०२० 
  13. "Types of Grass for Cattle Grazing"। गन आउट डोर्स। सङ्ग्रह मिति ३१ मे २०२० 
  14. "विकासी नेपियर घाँस सिओ३ को जानकारी"। लङ्का बाई सेल। सङ्ग्रह मिति ३१ मे २०२० 
  15. "Fodder production"। भेट फार्म सर्भिस। सङ्ग्रह मिति ३१ मे २०२० 
  16. "harvesting utilization and conservation"। नाफिस। सङ्ग्रह मिति ३१ मे २०२० 
  17. "नेपियर सिओ३"। जेएएस। सङ्ग्रह मिति ३१ मे २०२०