सामग्रीमा जानुहोस्

वनझाँक्री र बनझँक्रिनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बनझाँक्री र बनझाँक्रिनी
भारतको सिक्किम, गान्तोकमा रहेको बनझाँक्री र उनको चेलाको मूर्ति
प्राणीको जानकारी
समुहकाल्पनिक प्राणी
उप-समूहआत्मा
समान जीवहरूयती
परिवारसूर्य
लोककथाकिराँत
उत्पत्ति
देशनेपाल, सिक्किम, दार्जीलिङ, कालिम्पोङ
वासस्थानजङ्गल

बनझाँक्री र बनझाँक्रिनी नेपालका किराँत समुदायका साथै भारतको सिक्किम, दार्जीलिङकालिम्पोङ क्षेत्रको झाँक्री परम्परामा पुजिने देवताहरू हुन्। उनीहरू एक दम्पती हुन् र सम्भवतः एउटै शक्तिका दुई फरक स्वरूप हुन्।[] उनीहरू जङ्गलका अलौकिक झाँक्री हुन्। नेपाली भाषामा 'वन' को अर्थ जङ्गल, 'झाँक्री' को अर्थ तान्त्रिक गुरु र 'झाँक्रिनी' को अर्थ महिला झाँक्री हुन्छ। बनझाँक्रिनीलाई लेमलेमेय नामले पनि चिनिन्छ।

बनझाँक्री होचो कदका, वनमान्छे जस्तो देखिने र सूर्यका वंशज मानिने एक चतुर देवता हुन्।[] उनका कान ठूला हुन्छन् र खुट्टाका औँलाहरू पछाडितर्फ फर्किएका हुन्छन्। अनुहार र हत्केला बाहेक उनको पूरै शरीर लामो र जटा जस्तो कपालले ढाकिएको हुन्छ,[] र उनले सुनको ढ्याङ्ग्रो बजाउँछन्।[] ढ्याङ्ग्रो नेपाली झाँक्रीहरूले बजाउने एक विशेष प्रकारको बाजा हो।

बनझाँक्रीले भविष्यमा महान् झाँक्री बन्न सक्ने क्षमता भएका मानव बालबालिकाहरूलाई अपहरण गरेर तालिमका लागि आफ्नो ओडारमा लैजान्छन्। त्यहाँ ती बालबालिकाहरू बनझाँक्रिनीबाट खाइने डरमा हुन्छन्। बनझाँक्रिनी भालु र मानिसको मिश्रित रूप जस्तो देखिन्छिन्; उनको टाउकोमा लामो कपाल, लामा र झुण्डिएका स्तनहरू, र पछाडि फर्किएका खुट्टाहरू हुन्छन्। उनलाई प्रायः क्रूर र रक्तपिपासुको रूपमा वर्णन गरिन्छ। उनले साङ्केतिक रूपमा सुनको हँसिया बोकेकी हुन्छिन्।[][]

यद्यपि बनझाँक्रीले केटाकेटीहरूलाई लैजान्छन्, तर उनले यसो खराब नियतले गर्दैनन्। बनझाँक्रिनीको कठिन परीक्षामा सफल हुने बालबालिकाहरूलाई मात्र उनले झाँक्री विद्या सिकाउँछन्। जब ती बालबालिकाहरू तालिम पुरा गरेर घर फर्कन्छन्, उनीहरू मानिसबाट तालिम लिएका झाँक्रीहरू भन्दा धेरै शक्तिशाली हुने विश्वास गरिन्छ।

यती जस्तै बनझाँक्री र बनझाँक्रिनीलाई यो भौतिक संसारमा पनि देख्न सकिने विश्वास गरिन्छ। यद्यपि, केवल शक्तिशाली झाँक्रीहरूले मात्र उनीहरूलाई देख्न सक्छन्। यती मानिस भन्दा धेरै अग्लो हुन्छ भने बनझाँक्री करिब १ देखि १.५ मिटर (३ देखि ५ फिट) सम्मको मात्र हुन्छ।[]

मानवशास्त्री होमायुन सिड्कीका अनुसार बनझाँक्री एक थेरिएनथ्रोप अर्थात् मानिसबाट जनावरको रूप बदल्न सक्ने पौराणिक प्राणी हुन्।[][]

कतिपय किंवदन्ती अनुसार वनमा धेरै बनझाँक्री र बनझाँक्रिनीहरू हुन्छन्। जे भए पनि, नेपालका झाँक्रीहरूले मूल बनझाँक्रीलाई नै नेपाली झाँक्री विद्याको संस्थापक मान्छन्। बनझाँक्रीलाई जङ्गलको देवता र महान् गुरुको रूपमा सम्मान र पूजा गरिन्छ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ Pratt, Christina (२००७), An Encyclopedia of Shamanism, One: A–M, न्यु योर्क: Rosen Publishing, पृ: 54–55, आइएसबिएन 978-1-4042-1040-0, ओसिएलसी 71778910 
  2. २.० २.१ २.२ Peters, L. G. (१९९७), "The 'Calling', the Yeti, and the Ban Jhakri ('Forest Shaman') in Nepalese Shamanism", Journal of Transpersonal Psychology (Association for Transpersonal Psychology) 29 (1): 51–52। 
  3. ३.० ३.१ ३.२ Sidky, Homayun (२००८), "Ban-Jhākri: Supernatural Abductions and Shamanic Initiation", Haunted by the Archaic Shaman: Himalayan Jhākris and the Discourse on Shamanism, Lexington Books, पृ: 150–151, आइएसबिएन 9780739126219, ओसिएलसी 191206807, ३ जनवरी २०१४-को मूल सङ्ग्रहित|archiveurl= |url= आवश्यक (सहायता), अन्तिम पहुँच ३ जनवरी २०१३ 
  4. "Dr. Homayun Sidky", www.miamioh.edu (en-USमा), मूलबाट २०२०-१०-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०७-०७