वामन ग्रह
वामन ग्रह भनेको एक सानो ग्रह-पिण्ड हो जसले सूर्यलाई सिधै परिक्रमा गर्दछ। यो गुरुत्वाकर्षणका कारण गोलाकार हुन पर्याप्त पिण्ड भएको हुन्छ (अर्थात् हाइड्रोस्टेटिक सन्तुलनमा हुन्छ), तर यसले सौर्यमण्डलका अन्य आठवटा शास्त्रीय ग्रहहरूले जस्तो आफ्नो परिक्रमा मार्ग सफा गर्न सकेको हुँदैन। वामन ग्रहको प्रमुख नमुना यम हो जसलाई सन् २००६ मा "वामन" अवधारणा अपनाउनुअघि दशकौँसम्म ग्रहको रूपमा मानिन्थ्यो।
धेरै भूगर्भशास्त्रीहरूले वामन ग्रह र ग्रह-पिण्डका चन्द्रमाहरूलाई ग्रह नै मान्ने गर्छन्,[१] तर सन् २००६ देखि अन्तर्राष्ट्रिय खगोलीय सङ्घ र धेरै खगोलविद्हरूले तिनीहरूलाई ग्रहहरूको सूचीबाट बाहिर राखेका छन्।
वामन ग्रहहरू भौगर्भिक रूपमा सक्रिय हुन सक्छन्। यो कुरा सन् २०१५ मा सेेरेसमा पुगेको डन मिसन र यममा पुगेको न्यु होराइजन्स मिसनबाट प्रमाणित भएको छ। त्यसैले ग्रह भूगर्भशास्त्रीहरू यिनीहरूमा विशेष चासो राख्छन्।
खगोलविद्हरू कम्तिमा नौवटा सबैभन्दा ठूला उम्मेदवारहरू वामन ग्रह हुन् भन्ने कुरामा सहमत छन्। व्यासका आधारमा घट्दो क्रममा राख्दा: यम, एर्रिस, हउमेया, माकेमाके, गोङगोङ, कुवाओर, सेडना, सेरेस र ओर्कस पर्दछन्। दसौँ ठूलो उम्मेदवार 'सालासिया'को बारेमा अझै अन्योल छ, जसलाई एक सीमावर्ती अवस्था मान्न सकिन्छ। यी १० मध्ये, दुईवटा (यम र सेरेस) मा अन्तरिक्ष यान पुगिसकेका छन् र अन्य सातवटाका कम्तिमा एउटा ज्ञात चन्द्रमा छन् (एर्रिस, हउमेया, माकेमाके, गोङगोङ, कुवाओर, ओर्कस र सालासिया), जसले तिनीहरूको पिण्ड र घनत्व अनुमान गर्न मद्दत गर्दछ। पिण्ड र घनत्वलाई भू-भौतिक मोडेलहरूमा प्रयोग गरेर यी संसारहरूको प्रकृतिको बारेमा जान्न सकिन्छ। यीमध्ये सेडना मात्र एउटा यस्तो पिण्ड हो जहाँ न त अन्तरिक्ष यान पुगेको छ, न त यसको कुनै ज्ञात चन्द्रमा नै छ, जसले गर्दा यसको पिण्डको सही अनुमान लगाउन गाह्रो छ। केही खगोलविद्हरूले धेरै साना पिण्डहरूलाई पनि यसै सूचीमा समावेश गर्छन्,[२] तर ती वामन ग्रह नै हुन् भन्ने कुरामा सर्वसम्मति छैन।
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ कुनै पनि पिण्ड 'हाइड्रोस्टेटिक सन्तुलन' मा छ कि छैन भन्ने कुरा अन्तरिक्ष यानले प्रत्यक्ष भ्रमण नगरेसम्म पुष्टि गर्न सकिँदैन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Metzger, Philip T.; Grundy, W. M.; Sykes, Mark V. et al. (मार्च १, २०२२), "Moons Are Planets: Scientific Usefulness Versus Cultural Teleology in the Taxonomy of Planetary Science", Icarus (journal) 374, एआरएक्सआइभी:2110.15285, डिओआई:10.1016/j.icarus.2021.114768, बिबकोड:2022Icar..37414768M, अन्तिम पहुँच मे ३०, २०२२।
- ↑ "Dwarf planets are planets, too: Planetary pedagogy after New Horizons अभिलेखिकरण जुन २७, २०२१ वेब्याक मेसिन