वार्तालाप:हर्क गुरुङ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तलको पाठ http://www.ekantipur.com/nep/2069/6/7/full-story/355031.html बाट लिईको हो। केहि सामाग्री यसबाट लिएर लेखको गुण्स्तर सुधार गर्न सकिन्छ।

डा. गुरुङका कणर्ाली क्षेत्रको अध्ययन भ्रमणका लेखहरू विभिन्न अन्तर्राष्ट्रिय पब्लिेकसनमा छापिएका थिए । ती लेखहरूकै कारण तत्कालीन राजा महेन्द्रले उनलाई २०२४ मा केवल २९ वर्षकै उमेरमा राष्ट्रिय योजना आयोगको सदस्य बनाए । त्यसको तीन वर्षपछि उनी आयोगको उपाध्यक्ष बने । योजना आयोगमा पुगेको एक वर्षपछि उनले देशको समानुपातिक विकास गर्ने उद्देश्यले पाँच विकास क्षेत्रको अवधारणा ल्याए । उनले विकास क्षेत्रको अवधारणामा लेखेका थिए, 'हिमाल, पहाड र तराईलाई नजोडेसम्म विकास सम्भव छैन । प्रत्येक विकास क्षेत्रमा हिमाल, पहाड र तराईलाई जोड्ने राजमार्ग निर्माण गरिनुपर्छ । र, ती राजमार्गहरूमा पर्ने गरी हिमाल, पहाड र तराईमा विकास केन्द्रहरूको पनि विकास गरिनुपर्छ ।' तर उनको यो विकास केन्द्र स्थापना र राजमार्ग निर्माणको सुनौलो राजमार्ग सपना भने पूरा भएन । अहिले मुलुक पुनःसंरचनाको संघारमा छ । राज्य पुनःसंरचनाबारे दलहरूका एकमत छैन । तर यतिबेला पनि डा. गुरुङको पाँच विकास क्षेत्रको अवधारणा भने अझ सान्दर्भिकजस्तो बन्दै गइरहेको छ ।

नेपालको पर्यटन विकासका त मानक नै थिए डा. हर्क गुरुङ । बेलायतबाट अध्ययन पूरा गरेर नेपाल फर्किएपछि पनि उनले घुमफिरलाई निरन्तरता दिए । पर्यटनमा उत्तिकै चासो राख्ने तत्कालीन कुमार खड्गविक्रम शाह र उनको दोस्तीकै कारण २०२९ मा नेपाल पर्वतारोहण संघ स्थापना भयो । त्यसको दुई वर्षपछि नै सरकारले पर्यटन मन्त्रालय गठन गर्‍यो र डा. गुरुङ पर्यटन मन्त्रालयको बागडोर सम्हाल्न पुगे । उनकै पालामा पर्यटन ऐन, ट्राभल-ट्रेकिङ नियमावली बने । र, पर्यटन उद्योगलाई पनि नेपाली अर्थव्यवस्थाको महत्त्वपूर्ण अंगका रूपमा हेरिन थालियो ।

डा. हर्क गुरुङ आफ्नो जमानाका एक कुशल फुटबल खेलाडी पनि थिए । त्यसबेला तत्कालीन राजा महेन्द्रका साला सुशीलशमशेर राणाको विद्या व्यायाम क्लब थियो । त्यस्तै महावीर शमशेरको पनि महावीर क्लब थियो । उता भारतीय दूतावासमा कार्यरत र पूर्वभारतीय गोर्खाका सन्तानहरूको पनि ठमेल-११ भन्ने क्लब थियो । डा. गुरुङ ठमेल-११ बाट खेल्थे । डा. गुरुङ मन्त्री भएका बेला पनि आफैँ जर्सी र जुत्ता बोकेर फुटबल खेल्न आउने गरेको स्मरण गर्छन्, पूर्वफुटबल खेलाडी एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव राजबहादुर सिंह । डा. गुरुङलाई फुटबलमा कतिसम्म रुचि थियो भने उनले पछि उच्च पहाडी क्षेत्रमा बसोवास गर्नेहरूलाई लिएर छुट्टै 'हाइल्यान्डर क्लब' समेत गठन गरे ।

त्रिचन्द्र कलेजबाट आईए गरेपछि उनी पटना विश्वविद्यालयमा भर्ना भए । त्यहाँ पनि बिहारी विद्यार्थीहरूले खुब हेप्थे, नेपाली विद्यार्थीलाई । त्यो हेपाइको प्रतिरोध गर्न नेपाली छात्र परिषद्को गठन भएको थियो । उनी परिषद्को महासचिव बने । २०४९ तिर उनी एसियन एन्ड प्यासिफिक डेभलपमेन्ट सेन्टरको निर्देशक बनेर मलेसिया पुगे । त्यहाँ करिब पाँच वर्ष बिताउँदा उनले अनुभव गरे, 'देशको समग्र विकास गर्नु छ भने पहिला अल्पमतमा परेका र पिछडिएका जातिको उत्थान गर्नुपर्छ ।' यही सत्य बुझेकाले पछिल्लो समय उनी अल्पमत र आदिवासी जनजातिका एक सशक्त प्रवक्ता बनेका थिए । डा. पीताम्बर शर्माको शब्द सापटी लिएर भन्नुपर्दा 'डा. गुरुङ एक बहुआयामिक व्यक्तित्व थिए । विद्वान्, शिक्षक, विकास योजनाकार, मन्त्री, लेखक, सल्लाहकार, प्रशासक, घुमक्कड, फोटोग्राफर, चित्रकार, खेलाडी, पर्वतारोही, देशभक्त, अल्पमत तथा आदिवासी जनजाति अधिकारका सशक्त प्रवक्ता र रक्षक थिए ।' तर पनि डा. गुरुङको बौद्धिक जीवनका सबै पक्षमा समान रूपले पाइने एउटा साझा भाव थियो, 'राष्ट्रप्रेम' ।'

नौ वर्षको उमेरमा औपचारिक अध्ययन सुरु गरेर २६ वर्षकै उमेरमा पीएचडी गर्ने दुर्लभ इतिहास बनाएका डा. गुरुङ बितेको आज अर्थात् २३ सेप्टेम्बरमा छ वर्ष पूरा भएको छ । विश्व वन्यजन्तु कोषको एक कार्यक्रममा ताप्लेजुङको घुन्सा पुगेका बेला भएको हेलिकोप्टर दुर्घटनामा हामीले डा. गुरुङलगायत आधा दर्जन बढी विद्वान् व्यक्तिलाई गुमाएका थियौं । डा. गुरुङको अवसान भएको समय जतिजति घर्किंदै गइरहेको छ आज उति नै उनको अभावले हामी नेपालीलाई पिरोल्दै लगेको छ । 'राष्ट्रप्रेम' को भावना विकास गरेर डा. गुरुङप्रति सच्चा श्रद्धाञ्जलि मात्र दिन सकिए पनि देशले ठूलो उपलब्धि हासिल गर्ने निश्चित छ ।