विक्रमोर्वशीयम्
| विक्रमोर्वशीयम् | |
|---|---|
| लेखक | कालिदास |
| पात्र | |
| मूल भाषा | संस्कृत |
| विधा | नाटक (त्रोटक) |
विक्रमोर्वशीयम् (संस्कृत: विक्रमोर्वशीयम्, शाअ ''पराक्रमद्वारा प्राप्त उर्वशी'') [१] प्राचीन भारतीय कवि कालिदासद्वारा लिखित पाँच अङ्कको एक संस्कृत नाटक हो। ईसापूर्व चौथो वा पाँचौँ शताब्दीतिर रचिएको यो नाटक वैदिक प्रेमकथामा आधारित छ जसमा राजा पुरूरवा र आफ्नो सौन्दर्यका लागि प्रसिद्ध अप्सरा उर्वशीको प्रेमलाई चित्रण गरिएको छ।
परम्परागत रूपमा यस नाटकको मूल कथानक ऋग्वेदको 'संवाद सूक्त', [२] महाभारत र अन्य पौराणिक स्रोतहरूबाट लिइएको हो। यद्यपि, कालिदासले यसलाई थप आकर्षक र मञ्चनयोग्य बनाउन महत्वपूर्ण परिवर्तनहरू गरेका छन् जसले एक नाट्यकारको रूपमा उनको कुशलतालाई स्पष्ट पार्दछ। विक्रमोर्वशीयम् कालिदासद्वारा लिखित तीन नाटकहरूमध्ये दोस्रो नाटक हो। उनको पहिलो नाटक मालविकाग्निमित्रम् हो भने तेस्रो तथा विश्वप्रसिद्ध नाटक अभिज्ञानशाकुन्तलम् हो। एउटा सिद्धान्त अनुसार यसको शीर्षकमा रहेको "विक्रम" शब्दले कालिदासका संरक्षक राजा चन्द्रगुप्त विक्रमादित्यलाई (चन्द्रगुप्त द्वितीय) सङ्केत गरेतापनि यसको कुनै ठोस प्रमाण भने भेटिएको छैन। सामान्यतः यसको अर्थ "पराक्रम" वा "शौर्य" भन्ने बुझिन्छ। [३]
कथानक
[सम्पादन गर्नुहोस्]एकादेशमा उर्वशी नाम गरेकी एक अप्सरा कैलाश पर्वतस्थित कुवेरको दरबारबाट स्वर्ग फर्कँदै थिइन्। उनीसँग चित्रलेखा, रम्भा र अन्य धेरै अप्सराहरू थिए। केशी नामक दैत्यले उर्वशी र चित्रलेखालाई अपहरण गरी उत्तर-पूर्व दिशातिर लान्छ। अप्सराहरूको समूहले मद्दतका लागि हारगुहार गर्छन् जसलाई राजा पुरूरवाले सुन्छन् ती दुवै अप्सराहरूलाई राक्षसबाट उद्धार गरेर ल्याउँछ। पुरुरवा र उर्वशीबीच पहिलो हेराइमै प्रेम बस्न थाल्छ। त्यस लगत्तै सबै अप्सराहरूलाई स्वर्ग फिर्ता बोलाइन्छ। राजाले आफ्नो काममा ध्यान केन्द्रित गर्ने प्रयास गरेतापनि उनी जतिबेला पनि उर्वशीलाई सम्झन थाल्छन्। आफ्नो प्रेम एकतर्फी त होइन भन्ने शङ्का गर्दै उनले आफ्ना मित्र माणवकसँग सल्लाह माग्छन्। यसैबीच, पुरुरवाकी पत्नी औशिनरीलाई राजाको अवस्था देखेर शङ्का लाग्छ, विशेषगरी जब प्रेममा डुबेका पुरुरवाले झुक्किएर उनलाई "उर्वशी" भनी सम्बोधन गर्छन्। रानीकी परिचारिका निपुणिकाले चलाखीपूर्वक राजाको यो पागलपनको स्रोत पत्ता लगाउँछिन् र औशिनरीलाई जानकारी दिन्छिन्। अदृश्य रूपमा राजालाई भेट्न आएकी उर्वशीले तत्कालै भोजपत्रमा एक सन्देश लेखेर आफ्नो प्रेमको पुष्टि गर्छिन्।
दुर्भाग्यवश, त्यो पात हावाले उडाएर लग्यो र सिधै औशिनरीको खुट्टामा पुर्यायो। सुरुमा उनी क्रोधित भएपनि पछि उनले प्रेमीहरूको बीचमा बाधक नबन्ने घोषणा गर्छिन्। उर्वशी र पुरूरवाबीच कुराकानी हुन नपाउँदै उर्वशीलाई पुनः एक नाटकमा अभिनय गर्न स्वर्ग बोलाइयो। उनी पुरुरवाको प्रेममा धेरै मग्न भएकाले आफ्नो पालो पनि बिर्सिइन् र अभिनयको क्रममा आफ्नो प्रेमीको नाम "पुरुषोत्तम" भन्नुपर्ने ठाउँमा "पुरुरवा" भनिन्। सजाय स्वरूप, उर्वशीलाई स्वर्गबाट निष्कासित गरिन्छ। यद्यपि, इन्द्रले उक्त सजायलाई परिमार्जन गर्दै जबसम्म उनका मानवीय प्रेमीले (पुरुरवा) उर्वशीबाट जन्मिएको सन्तानको अनुहार देख्दैनन् तबसम्मका लागि मात्र तोकिदिन्छन्। धेरै उतारचढावहरू अन्ततः उनी श्राप मुक्त हुन्छिन् र उर्वशीलाई पुरुरवा जीवित रहेसम्म पृथ्वीमा सँगै बस्ने अनुमति दिइन्छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Basham, Arthur Llewellyn (१९८१), The Wonder that was India: A Survey of the History and Culture of the Indian Sub-continent Before the Coming of the Muslims, Rupa, पृ: ४३७, आइएसबिएन 978-0-8364-2888-9।
- ↑ Text of Samvāda Sūkta
- ↑ Panda, Pitambar (१९६०), Kalidasa in his own words, Town Press, पृ: ८८, ओसिएलसी 17404460।
- ↑ Pandit, P. S. (1879). The Vikramorvashiyam: A Drama in Five Acts by Kalidasa (Ed.) The Department of Public Instruction, Govt. Central Book Depot, Bombay.