सामग्रीमा जानुहोस्

विठोबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विठोबा
कम्मरमा हात राखेर उभिएका, टाउकोमा टोपी जस्तो मुकुट लगाएका र धोती पहिरिएका एक देवताको श्याम-श्वेत मूर्ति। मूर्ति एउटा इँटामाथि उभिएको छ।
पन्ढरपुरस्थित विठोबा मन्दिरको मुख्य मूर्ति
देवनागरीविठोबा
आबद्धवारकरी वैष्णववाद
वासस्थानपन्ढरपुर
मन्त्रराम कृष्ण हरे
अस्त्रचक्र, शङ्ख
बारबुधबार
वाहनगरुड
रानीरखुमाई, राही, सत्यभामा

विठोबा जसलाई विट्ठलपाण्डुरङ्ग नामले पनि चिनिन्छ, मुख्यतया भारतीय राज्य महाराष्ट्रकर्नाटकमा पुजिने एक हिन्दु देवता हुन्। उनी भगवान विष्णुको अवतार कृष्णका एक रूप हुन्। विठोबालाई प्रायः एक श्याम वर्णको युवा बालकको रूपमा चित्रण गरिन्छ जो एउटा इँटामाथि कम्मरमा हात राखेर उभिएका हुन्छन् भने कहिलेकाहीँ उनकी पत्नी रखुमाई पनि उनीसँगै हुन्छिन्।

विठोबालाई महाराष्ट्रमा कर्मकाण्डरहितको एकेश्वरवादी र भक्तिद्वारा सञ्चालित[][] वारकरी सम्प्रदाय र कर्नाटकको द्वैत वेदान्तमा स्थापित हरिदास सम्प्रदायको केन्द्रविन्दु मानिन्छ। पन्ढरपुरमा अवस्थित विठोबा मन्दिर उनको मुख्य मन्दिर हो। विठोबाका पौराणिक कथाहरू उनका भक्त पुण्डलिकको वरिपरि घुम्छन् भने विठोबालाई पन्ढरपुर ल्याएको श्रेय पनि उनैलाई दिइन्छ। यसका साथै यी कथाहरू वारकरी आस्थाका सन्त-कविहरूको उद्धारकर्ताको रूपमा विठोबाको भूमिकामा आधारित छन्। वारकरी सन्त-कविहरू विठोबामा समर्पित र मराठीमा रचना गरिएका आफ्नो अनुपम भक्तिपूर्ण गीति विधा अभङ्गका लागि परिचित छन्। विठोबामा समर्पित अन्य भक्ति साहित्यमा हरिदासहरूको कन्नड भजन र आरती अर्पण गर्ने अनुष्ठानसँग सम्बन्धित मराठी आरतीहरू समावेश छन्। विठोबाका सबैभन्दा महत्त्वपूर्ण उत्सवहरू असार महिनाको शयनी एकादशीकात्तिक महिनाको प्रबोधिनी एकादशीमा मनाइन्छ।

विठोबा र उनको सम्प्रदायको इतिहास लेखन अझै पनि निरन्तर बहसको विषय बन्दै आइरहेको हुँदा कहिलेकाहीँ उनको नाममा पनि विवाद भइरहन्छ। उनको सम्प्रदाय र मुख्य मन्दिर दुवैको उत्पत्तिको बारेमा बहस जारी रहेको भएतापनि १३औँ शताब्दीसम्ममा यी मन्दिरहरू अस्तित्वमा रहेको स्पष्ट प्रमाणहरू भेटिएका थिए।

पन्ढरपुर स्थित विठोबाको मुख्य मन्दिर नजिकै रहेको एक गोपुरमको चित्र जसमा सबैभन्दा बायाँको खण्डले तुकारामलाई, बीचको खण्डले विठोबालाई (बायाँपट्टि उभिएको श्याम वर्णको आकृति) इँटामाथि उभिरहेको अवस्थाका, पुण्डलीकलाई (बीचमा) आफ्ना आमाबाबुको सेवा गरिरहेको अवस्थामा र दायाँको खण्डले ज्ञानेश्वरलाई चित्रण गर्दछ।

विठोबासँग सम्बन्धित पौराणिक कथाहरू मुख्यतया उनका भक्त पुण्डलीक वा वारकरी आस्थाका सन्त-कविहरूको उद्धारकर्ताको रूपमा विठोबाको भूमिकामा केन्द्रित छन्। विभिन्न भक्तिमूलक कार्यहरू खण्डमा उल्लेख भए अनुसार, पुण्डलीकको कथा संस्कृत शास्त्रहरू स्कन्द पुराणपद्म पुराणमा पाइन्छ। यी कथाहरूलाई विभिन्न मराठी ग्रन्थहरूमा पनि लिपिबद्ध गरिएको छ: श्रीधर नामक ब्राह्मणद्वारा लिखित 'पाण्डुरङ्ग-माहात्म्य'; प्रह्लाद महाराजद्वारा लिखित सोही नामको अर्को कृति; र विभिन्न सन्त-कविहरूका 'अभङ्ग'हरूमा पनि यसको वर्णन पाइन्छ।

पुण्डलीकको कथाका तीनवटा संस्करणहरू छन्, जसमध्ये दुईवटा स्कन्द पुराण (१.३४–६७) का पाठ्य भिन्नताका रूपमा प्रमाणित छन्। पहिलो संस्करण अनुसार, तपस्वी पुण्डलीकलाई भगवान विष्णुको भक्त र आफ्ना आमाबाबुको सेवामा समर्पित व्यक्तिको रूपमा वर्णन गरिएको छ। भगवान विष्णुको एक रूप गोपाल-कृष्ण, गोवर्द्धन पर्वतबाट गाईवस्तु चराउँदै गोठालोको भेषमा पुण्डरीकलाई भेट्न आउँछन्। कृष्णलाई 'दिगम्बर' रूपमा वर्णन गरिएको छ, जसले 'मकर-कुण्डल', 'श्रीवत्स' चिन्ह, मयुरको प्वाँखको शिरपोस लगाएका छन् र आफ्नो हात कम्मरमा राखेर तिघ्राको बीचमा गोठालो लौरो राखेका छन्। पुण्डरीकले कृष्णलाई भीमा नदीको किनारमा यही स्वरूपमा रहन प्रार्थना गर्छन्। कृष्णको उपस्थितिले यो ठाउँलाई एक तीर्थ र क्षेत्र बनाउनेछ भन्ने उनको विश्वास हुन्छ।[] यो स्थानलाई हाफ पन्ढरपुरको रूपमा पहिचान गरिएको छ जुन भीमा नदीको किनारमा अवस्थित छ। कृष्णको यो वर्णन पन्ढरपुरमा रहेको विठोबाको मूर्तिको विशेषताहरूसँग मिल्दोजुल्दो रहेको पाइन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Zelliot and Berntsen (1988) p. xviii "Varkari cult is rural and non-Brahman in character"
  2. Sand (1990), p. 33 "According to Raeside the Varkari tradition is essentially monotheistic and without ritual, and, for this tradition, Vithoba represents Hari Krsna, while for the badavas or hereditary priests "Vithoba is neither Visnu nor Siva. Vithoba is Vithoba (...)"; p. 34 "the more or less anti-ritualistic and anti-brahmanical attitudes of Varkari sampradaya."
  3. Sand (1990) pp. 41–42
  4. Bakker (1990) p. 78