सामग्रीमा जानुहोस्

विभूति शाही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विभूति शाही रुकुम राज्यका अन्तिम राजा श्रीदत्त शाहीका छोरा हुन । रुकुम राज्यमा पारिवारिक कचिङ्गल भई राजा बनेका श्रीदत्त शाहीलाई गोर्खाली सेनाले धपाएपछि यिनी मुसीकोट भनेरीकाँडामा लुकेर बसे । लुकेर बसेको केही समयपछि राजा श्रीदत्त शाहीको मृत्यु भयो । बाबुको मृत्युले शोकविव्हल बनेका राजकुमार विभूति शाही गोर्खालीसंग बदला लिने र गुमेको राज्य फिर्ता लिने दाउमा थिए । यसैक्रममा यिनले आफ्ना मामा शोभान शाहीलाई पनि गुप्ति रुपमा भेट गरे । शोभान शाही पनि जुम्ला राज्यलाई कसरी जोगाउने भन्ने जुक्ति निकाल्दै थिए । शोभान शाहीले रुकुममा गएर आफ्नो सेना बनाउने, तालिम दिने र राज्य फिर्ता लिने गर बाँकी मद्दत गर्छु भनि अह्राए तर रुकुम जाने हिम्मत राजकुमार विभूति शाहीले गर्न सकेनन किनकि त्यहाँ राजा राज शाही मारेर सत्ता हात लिएको कलंक यिनी र यिनको बाबुलाई लागेको थियो । त्यहाँ रहेका भाइ सन्तानले समेत यिनलाई सहयोग गर्ने स्थिति थिएन । तसर्थ रुकुमकै आठबिस राज्यमा जाने र शोभान शाहीले भने बमोजिम गर्ने बिषयमा मत मिल्यो । जुम्लाबाट राजकुमार विभूति शाही भनेरीकाँडा फर्के । भनेरीकाँडामा रहेका भाइलाई सबै बेलिबिस्तार सुनाए । सबैले केही नगरी लुकेरै बस्ने मत जाहेर गरे । तर यिनले एक्लै भएपनि राजा भएरै छाड्ने दृढता कसे । आफ्ना हितैसी मित्रहरुसंग गोप्य रुपमा भेट गरे । आठबिसका गोले बटाला, रिठे चनारा र ग्वामे ढोली लगायतसंग भेट गरी गुप्ती सल्लाह गरे । खदीको बाटो भएर बि. स. १८४६ असार महिनामा आठबिस प्रबेश गरे । राजकुमार बिभुति शाहीले आठबिस राज्यको राजा भएको घोषणा गरे । जुम्लाबाट सैन्य तालिमको लागि सहयोग प्राप्त भयो । बिभुति शाही राजा भएको र सेना बनाएको कुरा गोर्खालीले असोज महिनामा थाहा पाए । गोर्खाली सेना दाजे भन्ने ठाउँमा आएर बसे । ठुलाकोटमा बिभुति शाहीका सेना पनि तयारी अवस्थामा बसे । राजा विभूति शाहीले सहयोगको लागि जुम्ला शोभान शाहीलाई खवर पठाए तर जुम्लामा पनि गोर्खो पसिसकेकोले सहयोग प्राप्त भएन । मारिकाट्टे भन्ने ठाउँमा गोर्खाली सेना र आठबिसे झराल सेनाको घमसान लडाई भयो । आठबिसे राजाको माझे काटिए । आफ्नो हार हुने पक्का भएपछि बिभुति शाही जोगीको भेष धारण गरी भागे । आठबिस राज्य सदाको लागि नेपालमा गाभियो । करिव १२ बर्षपछि आम माफी पाएर बिभुति शाही आठबिस फर्किए । बिजारे देउतिमा कपाल मुन्डन गरी गृहस्थ जीवनमा फर्किए । हाल यिनै विभूति शाहीका सन्तान आठबिसे शाह कहलिन्छन ।

बंशावलीमा उल्लेख भए अनुसार यिनी अघि आठबिसे राजाको र यिनी पछिको पुस्ताक्रम यस प्रकार छः

  1. राजा कालु बम (आठबिस राज्यका संस्थापक राजा बि.स.१६००)
  2. राजा जगमल्ल बम
  3. राजा श्रीमल्ल बम
  4. राजा सयरूप बम शाही
  5. राजा महान शाही
  6. राजा मदन शाही
  7. राजा नरसिंह शाही
  8. राजा पिर्थी शाही
  9. राजा रूपा शाही
  10. राजा जगती शाही
  11. राजा हिरण शाही
  12. राजा रणउद्दीम शाही (यिनका पालामा बि.स. १८४३ मा नेपाल एकीकरण भयो)
  13. राजा विभूति शाही (यिनको पालामा बि. स. १८४६ मा सधैको लागि आठबिस राज्य नेपालमा गाभियो)
  14. अम्मर शाही
  15. जसु शाही
  16. सेतु शाही
  17. दुन्दु शाही शाह
  18. शेरबहादुर शाह
  19. दिपेन्द्रबहादुर शाह
  20. बीरेन्द्रकुमार शाह
  21. मणि राज शाह(प्रभातबिक्रम शाह)
  22. अभि बिक्रम शाह

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

शाह मणि : आठबिसे शाह वंशावली

शाह मणि: आठबिस राज्यको इतिहास