सामग्रीमा जानुहोस्

विश्वरूप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुन विष्णु-कृष्णको विश्वरूपको अगाडि नतमस्तक हुँदै।

विश्वरूप[१] वा विराटरूपका नामले समेत चिनिने यो स्वरूप, समसामयिक हिन्दु धर्ममा विष्णुको एक प्रतिमात्मक र ईश्वरीय स्वरूप हो। विश्वरूपका धेरै ईश्वरीय अभिव्यक्तिहरू रहेतापनि सबैभन्दा प्रसिद्ध भनेको महाभारतमा कुरुक्षेत्र युद्धको समयमा पाण्डव राजकुमार अर्जुनलाई कृष्णले देखाएको स्वरूप हो जसको वर्णन भगवद्गीता मा गरिएको छ। विश्वरूपलाई विष्णुको सर्वोच्च स्वरूप मानिन्छ, जहाँ सम्पूर्ण ब्रह्माण्ड उनीभित्रै समाहित भएको वर्णन गरिएको छ।[२]

साहित्यिक वर्णन

[सम्पादन]
प्रारम्भिक विष्णु विश्वरूप: विष्णुलाई ब्रह्माण्डीय सृष्टिकर्ताको रूपमा देखाइएको छ, जसमा उनको मानवीय शिरको दुवैतर्फ अवतारहरू (नरसिंहको लागि सिंहको शिर र वराहको लागि बँदेलको मुख) छन्। उनको प्रभामण्डलमा धेरै प्राणीहरू छन् जुन उनको सृजनात्मक शक्तिको प्रतीक हो। ५औँ शताब्दी ईस्वी, मथुरा कला[३]

भगवद्गीता

[सम्पादन]

महाभारतको चरम युद्धमा, पाण्डव राजकुमार अर्जुन र उनका भाइहरू आफ्ना दाजुभाइ कौरवहरू विरुद्ध लड्छन्, जहाँ कृष्ण अर्जुनको सारथीका रूपमा रहन्छन्। आफ्नै परिवारका सदस्यहरू विरुद्ध लड्ने र उनीहरूको हत्या गर्ने कि नगर्ने भन्ने नैतिक दुविधामा परेका अर्जुनमा विवेकको सङ्कट उत्पन्न हुन्छ। उनलाई सम्झाउनका लागि, कृष्णले अर्जुनसँग जीवन र मृत्युका साथै धर्म र योगका बारेमा भगवद्गीताको रूपमा संवाद गर्छन्। १०औँ र ११औँ अध्यायमा, कृष्णले आफूलाई परमेश्वरका रूपमा प्रकट गर्छन् र अन्ततः अर्जुनलाई आफ्नो विश्वरूप देखाउँछन्। अर्जुनले कृष्णद्वारा प्रदान गरिएको दिव्य दृष्टिको सहायताले विश्वरूपको दर्शन पाउँछन्। अर्जुनले आफूले देखेको विश्वरूपको उपस्थितिको वर्णन गर्छन्।[४][५]

विश्वरूपका असङ्ख्य स्वरूप, आँखा, मुख र हातहरू छन्। ब्रह्माण्डका सबै प्राणीहरू उनकै अंश हुन्। उनी आदि र अन्त नभएको अनन्त ब्रह्माण्ड हुन्। उनीभित्र शान्त र क्रोधित दुवै स्वरूपहरू समाहित छन्। यो दृश्यको विशालता सहन नसकी र डरले त्रसित भएर अर्जुनले कृष्णलाई आफ्नो चतुर्भुज विष्णु स्वरूपमा फर्कन अनुरोध गर्छन् जसलाई उनले हेर्न सक्थे।[४][५][६] कृष्णको पूर्ण स्वरूपको उपदेश र दर्शनबाट पूर्ण रूपमा प्रोत्साहित भएर अर्जुनले महाभारतको युद्धलाई निरन्तरता दिन्छन्।[५][७]

विकास

[सम्पादन]

विश्वरूप नाम दुईवटा शब्दहरू; 'विश्व' र 'रूप' मिलेर बनेको छ। यसलाई संयुक्त रूपमा लिँदा, यसले सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सर्वज्ञ स्वरूपलाई बुझाउँछ। यो नाम पहिलोपटक त्रिशिराको नामको रूपमा देखा पर्दछ, जो सबै प्राणीहरूलाई रूप प्रदान गर्ने वैदिक सृष्टिकर्ता-देवता त्वष्टाका तीन टाउको भएका छोरा थिए।[८] ऋग्वेदमा, उनलाई धेरै रूपहरू उत्पन्न गर्ने र आफ्नो गर्भमा धेरै रूपहरू समाहित गर्ने व्यक्तिको रूपमा वर्णन गरिएको छ।[९] 'विश्वरूप' विशेषण अन्य देवताहरू जस्तै सोम (ऋग्वेद), प्रजापति (अथर्ववेद), रुद्र (उपनिषद्) र अमूर्त ब्रह्म (मैत्रायणीय उपनिषद्) का लागि पनि प्रयोग गरिएको छ।[१०] अथर्ववेदले यस शब्दलाई अर्कै अर्थमा प्रयोग गरेको छ – जहाँ दुलहीलाई महिमा र सन्तानले सुशोभित हुनका लागि 'विश्वरूपा' (सबै रूप भएकी) हुन आशीर्वाद दिइन्छ।[९] त्यसपछि, श्रीमद्भगवद्गीता र पुराणहरूमा विष्णु-कृष्णको सन्दर्भमा विश्वरूपको प्रकटिकरण भएको पाइन्छ। यद्यपि, यी साहित्यिक स्रोतहरूले विश्वरूपको प्रतिमा लक्षणको विस्तृत विवरण भने दिँदैनन्।[११] भगवद्गीता सम्भवतः हजार टाउको, हजार आँखा र हजार खुट्टा भएका पुरुष वा ब्रह्माण्डीय विष्णु ("ब्रह्माण्डका सृष्टिकर्ता") को वर्णनबाट प्रेरित हुन सक्छ।[१२]

३९ अवतारहरूको उल्लेख गर्ने सात्वत संहिता र अहिर्बुध्न्य संहिता जस्ता पाञ्चरात्र ग्रन्थहरूका साथै १४ अवतारहरूको उल्लेख गर्ने विष्णुधर्मोत्तर पुराणमा पनि विश्वरूपलाई विष्णुको अवतारको रूपमा उल्लेख गरिएको छ।[१३] विश्वरूपलाई "विकासको कथा" को रूपमा पनि व्याख्या गरिएको छ, किनकि व्यक्तिले यस संसारमा समयसँगै धेरैभन्दा धेरै कार्यहरू गर्दै विकास गर्दछ। विश्वरूप देवी र देवता, ऋषि र असुर तथा हामीले यस संसारमा आफ्नो विशेष दृष्टिकोणबाट देख्ने राम्रो र नराम्रो पक्षहरूको एक ब्रह्माण्डीय चित्रण हो।[१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ wisdomlib.org (२०१२-०६-२९), "Vishvarupa, Viśvarūpā, Visvarupa, Viśvarūpa, Vishva-rupa: 25 definitions", wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-१८।
  2. ↑ wisdomlib.org (२०२०-०५-०८), "Verse 11.16 [Bhagavad-gita]", wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-१८।
  3. ↑ For English summary, see page 80 Schmid, Charlotte (१९९७), "Les Vaikuṇṭha gupta de Mathura : Viṣṇu ou Kṛṣṇa?", Arts Asiatiques 52: 60–88, डिओआई:10.3406/arasi.1997.1401।
  4. 1 2 Howard pp. 58–60
  5. 1 2 3 Sharma, Chakravarthi; Sharma, Rajani; Sharma, Mrs. Rajani (२००४), Self Offerings, AuthorHouse, पृ: 18–19, आइएसबिएन 9781418475024, अन्तिम पहुँच ८ डिसेम्बर २०१२।
  6. ↑ Srinivasan pp. 20–1
  7. ↑ Competition, Sura College of; Padmanabhan, M.; Shankar, Meera Ravi (२००४), Tales of Krishna from Mahabharata, Sura Books, पृ: ८८, आइएसबिएन 9788174784179, अन्तिम पहुँच ८ डिसेम्बर २०१२।
  8. ↑ Howard p. 57
  9. 1 2 Srinivasan p. 6
  10. ↑ Srinivasan pp. 27, 37, 131
  11. ↑ Howard p. 60
  12. ↑ Srinivasan pp. 20-1, 134
  13. ↑ Roshen Dalal (५ अक्टोबर २०११), Hinduism: An Alphabetical Guide, Penguin Books India, पृ: ४५९, आइएसबिएन 978-0-14-341421-6।
  14. ↑ Carl Becker; J Becker Carl J Becker (८ अप्रिल २०१०), A Modern Theory of Evolution, iUniverse, पृ: 330–, आइएसबिएन 978-1-4502-2449-9, अन्तिम पहुँच ८ डिसेम्बर २०१२।