विष्वक्सेन
| विष्वक्सेन | |
|---|---|
श्रीरङ्गममा द्वारपालको रूपमा चित्रण गरिएका विष्वक्सेन | |
| अन्य नामहरू | सेनई मुदलवार, सेनापति |
| सम्मानित | वैष्णव धर्म |
| वासस्थान | वैकुण्ठ |
| वंशावली | |
| जीवनसाथी | सुत्रवती[२] |
विष्वक्सेन[३] वा वा विश्वक्सेन हिन्दु देवता विष्णुको सेनाका प्रधान सेनापति तथा[४] विष्णुको निवास वैकुण्ठको द्वारपाल र प्रबन्धक हुन्।[५] तन्त्रको अवतारको रूपमा,[६] वैखानस र श्रीवैष्णव सम्प्रदायहरूमा कुनै पनि अनुष्ठान वा समारोह अघि विष्वक्सेनको पूजा गरिन्छ। वैखानस र पाञ्चरात्र मन्दिर परम्पराहरूमा उनको महत्त्वपूर्ण स्थान छ जहाँ मन्दिरका उत्सवहरू प्रायः उनको पूजा र शोभायात्राबाट सुरु हुन्छन्।[७]
प्रतिमाशास्त्र र सम्बन्धहरू
[सम्पादन गर्नुहोस्]धर्मः स्वनुष्ठितः पुंसां विष्वक्सेनकथासु यः ।
नोत्पादयेद्यदि रतिं श्रम एव हि केवलम् ॥८॥
मनुष्यले आफ्नो धर्मलाई राम्ररी पालन गरेतापनि, यदि त्यसले भगवान् विष्वक्सेन (विष्णु) का कथाहरूप्रति अनुराग पैदा गर्दैन भने, त्यो केवल व्यर्थको श्रम मात्र हो।— व्यास, श्रीमद्भागवतम्, प्रथम स्कन्ध, अध्याय २
विश्व भन्नाले ब्रह्माण्ड वा सम्पूर्ण सृष्टिलाई बुझ्न सकिन्छ र सेनाले फौज वा सैन्य दललाई बुझिउँछ। भगवानको सेना ब्रह्माण्डको हरेक कुनाकुनामा हुने भएकाले उहाँलाई 'विष्वक्सेन' भनिएको हो।[८]
कुर्म पुराणले विष्वक्सेनलाई विष्णुको एक अंशबाट जन्मिएको वर्णन गरेको छ, जसले शङ्ख, सुदर्शन चक्र र गदा धारण गर्छन् भने आफ्ना स्वामी जस्तै पीताम्बर लगाउँछन्।[९] कालिका पुराणमा उनलाई विष्णुको परिचारकको रूपमा वर्णन गरिएको छ जसका चार हात छन् र वर्ण रातो र खैरो (ताम्र) छ। उनी सेतो कमलमा बस्छन् भने उनको लामो दाह्री र जटाधारी कपाल छ। उनले आफ्ना हातहरूमा कमल, गदा, शङ्ख र चक्र बोक्छन्।[१०][११]
पाञ्चरात्र ग्रन्थ लक्ष्मी तन्त्रले विष्वक्सेनलाई चार हात भएको र शङ्ख तथा कमल धारण गरेको उल्लेख गरेको छ।[१२] अर्को प्रसङ्गमा, उनले तरबार र मुङ्ग्रो बोक्ने, पहेँलो लुगा लगाउने र उनका आँखा, दाह्री र आँखी भौँहरू पहेँलो रङ्गका तथा चारवटा दाँत भएको बताइएको छ।[१३] वैष्णव धर्मको मध्व सम्प्रदायमा, विष्वक्सेनलाई व्यापक रूपमा वायु (मुख्यप्राण) को पुत्र मानिन्छ।
साहित्य
[सम्पादन गर्नुहोस्]वृहद् भागवतामृत मा वैकुण्ठका विष्णुको सेवामा रहेका विष्वक्सेनको वर्णन यसरी गरिएको छ:[१४]
शेष, सुपर्ण (गरुड), विष्वक्सेन र अन्य प्रमुख सेवकहरू भगवानको अगाडि उभिएका थिए। निहुरिएको टाउको र भक्तिपूर्वक हात जोडेर, उनीहरूले अति नै अद्भुत प्रार्थनाहरूद्वारा भगवानको महिमा गाइरहेका थिए।
गर्ग संहिताका अनुसार विष्वक्सेनले दिनरात वैकुण्ठको उत्तरी ढोकाको रक्षा गर्छन्।[१५]
विष्वक्सेनको उल्लेख वेद वा धर्मशास्त्र ग्रन्थहरूमा नपाइएतापनि उनको पूजाको उल्लेख पाञ्चरात्र र अन्य आगम ग्रन्थहरूमा गरिएको छ।[३] विष्वक्सेनलाई पवित्र आगम शास्त्रहरूको प्रतीक मानिन्छ।
श्री वैष्णव सम्प्रदायका बाह्र आल्वार सन्तहरूलाई कुनै न कुनै रूपमा विष्णुको अवतार मानिन्छ र आल्वार सन्त नम्माल्वारलाई विष्वक्सेनको अवतार मानिन्छ। कवि भट्टरले आफ्नो श्रीरङ्गराज स्तव मा विभिन्न आचार्यहरूको प्रशंसा गर्दै 'तनियान' वा श्लोकहरू लेखेका छन्। यस कार्यको पछिल्लो भागमा विष्वक्सेनका लागि समर्पित एउटा 'तनियान' पनि छ जसले उनलाई विष्णुकी पत्नी लक्ष्मी (श्री) देखि नम्माल्वारसम्मको परम्परागत श्री वैष्णव गुरु-शिष्य परम्पराको सूचीमा समावेश गर्दछ। यसले श्री वैष्णव धर्ममा पाञ्चरात्र ग्रन्थहरूको प्रभावलाई सङ्केत गर्दछ।[१६]
किंवदन्तीहरू
[सम्पादन गर्नुहोस्]
एउटा पौराणिक कथा अनुसार, वरुणका पुत्र विष्वक्सेनले आफ्नो सेनाको सेनापतिको उपाधि प्राप्त गर्नका लागि तिरुमालामा वेङ्कटेश्वरको प्रार्थना गरेका थिए।[१७]
कूर्म पुराण मा भगवान शिव श्रापित भिक्षु वा जोगी (भिक्षाटन, भैरवको एक रूप) को रूपमा वैकुण्ठ गएको चर्चा गरिएको छ। वैकुण्ठको ढोकामा विष्वक्सेनले पहरा दिइरहेका थिए जसले शिवलाई चिनेनन् र भित्र पस्न दिएनन्। भैरवले आफ्ना भयानक सेवक कालवेगलाई विष्वक्सेनसँग लड्न आदेश दिन्छन् यद्यपि, कालवेग विष्वक्सेनद्वारा पराजित हुन्छ। जब विष्वक्सेन भैरवतिर जाइलागे तब स्वयम् भैरवले आफ्नो त्रिशूलले विष्वक्सेनको बध गरी उनको शवलाई त्रिशूलमा उन्छन्। भैरवको यो स्वरूपलाई 'कङ्काल' वा कङ्कालमूर्ति ("कङ्काल धारण गर्ने") को रूपमा चिनिन्छ।[१८][९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Life of Sri Ramanuja, Sri Ramakrishna Math, ७ अप्रिल २०२२।
- ↑ Sri Vishnu Sahasranama: With the Bhashya of Sri Parasara Bhattar : With Translation in English, Sri Visishtadvaita Pracharini Sabha, १९८३।
- 1 2 Nayar p. 103
- ↑ www.wisdomlib.org (२०१५-०८-२७), "Vishvaksena, Viṣvaksenā, Visvaksena, Viṣvaksena, Vishvac-sena, Vishvakshena: 17 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-२४।
- ↑ Nayar p. 96
- ↑ The Bhagavata Purana 3 (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, २०१९-०१-२१, आइएसबिएन 978-93-5305-380-2।
- ↑ Pattanaik, Devdutt (२०१५-०१-२७), 99 Thoughts on Ganesha (अङ्ग्रेजीमा), Jaico Publishing House, पृ: 67, आइएसबिएन 978-81-8495-152-3।
- ↑ A Prose English Translation of Srimadbhagavatam, M.N. Dutt, १८९६।
- 1 2 Cornelia Dimmitt (१५ जुन १९७८), Classical Hindu Mythology: A Reader in the Sanskrit Puranas, Temple University Press, पृ: २०८, आइएसबिएन 978-0-87722-122-7।
- ↑ Biswanarayan Shastri; Indira Gandhi National Centre for the Arts (१ जनवरी १९९४), Kālikāpurāṇe Mūrtivinirdeśaḥ7, Motilal Banarsidass, पृ: १०७, आइएसबिएन 978-81-208-1124-9।
- ↑ Dalal p. 462
- ↑ Gupta p. 246
- ↑ Gupta pp. 263
- ↑ www.wisdomlib.org (२०२०-११-०५), "Verse 2.4.73 [Brihad-bhagavatamrita]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०४।
- ↑ www.wisdomlib.org (२०२२-०७-१६), "Verse 6.21.7 [Garga Samhita]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०४।
- ↑ Nayar pp. 95–96
- ↑ Krishna, Nanditha (२०००), Balaji-Venkateshwara, Lord of Tirumala-Tirupati: An Introduction (अङ्ग्रेजीमा), Vakils, Feffer, and Simons, पृ: 26, आइएसबिएन 978-81-87111-46-7।
- ↑ Stella Kramrisch (१९९२), The Presence of Śiva, Princeton University Press, पृ: 293–4, 297, आइएसबिएन 978-0-691-01930-7।