सामग्रीमा जानुहोस्

वृन्दावनी वस्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वृन्दावनी वस्त्र, सन् १६८० तिर, ब्रिटिस सङ्ग्रहालय

वृन्दावनी वस्त्र (असमिया: বৃন্দাবনী বস্ত্ৰ) असमी तन्तुकारहरूले बुनेको एक लामो वस्त्र हो जसलाई १६औँ शताब्दीमा श्रीमन्त शङ्करदेवको मार्गदर्शन र मथुरदास बुढा आताको नेतृत्वमा बुनिएको थियो। शङ्करदेव हालको असममा बसोबास गर्ने वैष्णव सन्यासी र विद्वान थिए।[] प्रमुख तन्तुकार मथुरदास बुढा आता श्री माधवदेवका शिष्य थिए जो बारपेटा सत्रका पहिलो सत्राधिकार थिए। मथुरदास बुढा आताले आफ्ना १२ सहायक तन्तुकारहरूसँगको सहकार्यमा वृन्दावनी वस्त्रलाई तयार पारेका थिए। यो ठूलो वस्त्रले वृन्दावनमा भगवान कृष्णको बाल्यकालका गतिविधिहरू चित्रण गर्दछ। मूल वृन्दावनी वस्त्रका केही भागहरू हाल लन्डनको भिक्टोरिया एन्ड अल्बर्ट सङ्ग्रहालय र पेरिसको गिमे सङ्ग्रहालयमा राखिएको छ। यो कपडाको टुक्राले मध्यकालीन समयमा विकसित गरिएका दक्ष बुनाई विधिहरू देखाउँछ भने बुनाईको यस्तो जटिलता आजको असममा विरलै देखिन्छ।

असमका रेशमी तन्तुकारहरूले १६औँ शताब्दीमा सन्त, विद्वान र कवि श्रीमन्त शङ्करदेव र उनका शिष्य माधवदेवको निगरानीमा मुख्यतया भागवत वा महाभारतबाट भगवान कृष्णको बाल्यकालीन दिनहरूको दृश्यबाट रेशमी कपडामा चित्रण गरेका थिए।[] पहिलोपटक सन् १५६७ र सन् १५६९ को बीचमा बुनेको यो कपडा भुटानमा पुगेपछि तिब्बतमा पुगेको थियो जहाँ युरोपेली व्यापारीहरूले यसलाई युरोपममा फिर्ता गराएका थिए। वर्तमानमा, यसलाई लन्डनको भिक्टोरिया एन्ड अल्बर्ट सङ्ग्रहालय र पेरिसको गिमे सङ्ग्रहालयमा राखिएको छ। वृन्दावनी वस्त्रको टुक्रा लन्डनका 'द टाइम्स' का एक पत्रकारले सङ्कलन गरेको र लगभग सन् १९०४ तिर सङ्ग्रहालयमा दान दिएको भनि एक तथ्यले बताएको थियो।[] फिलाडेल्फिया कला सङ्ग्रहालयले यस्तै खालको मिल्दोजुल्दो रेशमी कपडा सङ्कलन गरेको छ।[] सन् २००४ मा सम्भवत १६औँ शताब्दीमा शङ्करदेवद्वारा बनाइएको मिल्दोजुल्दो रेशमी पर्दाको टुक्रा न्युयोर्कको क्रिस्टीको लिलामी घरद्वारा लिलाम लागि राखिँदा यसको आरक्षित मूल्य १,२०,००० अमेरिकी डलर रहेको थियो।[] यस प्रकारको रेशमी बुनाईको वस्त्रहरू लगभग सन् १७१५ सम्म असम र असम वरपरका क्षेत्रहरूमा उत्पादित भइरहेको र तिब्बत जस्ता स्थानहरूमा निर्यात गरिएको थियो।[]

कृष्ण वा विष्णु भगवानको जीवन दर्शाउने विभिन्न रेशमी सजावटका वस्त्रहरू ब्रिटिस सङ्ग्रहालयको स्वामित्वमा रहेको प्रदर्शनी केन्द्रमा सन् १९०४ मा तिब्बतबाट प्राप्त गरिएको थियो। भारतका सरकारी निकायहरूद्वारा उक्त रेशमी वस्त्र भारत फिर्ता ल्याउने प्रयासहरू असफल भएका थिए। कला प्रेमी, अनुसन्धानकर्ता र असमी सांस्कृतिक पृष्ठभूमिका मानिसहरूले यस कलाकृतिको प्रशंसा गर्न वा हेर्न सकून् गर्ने उद्देश्यले सन् २०१३ मा भारतको असम सरकारले ब्रिटिस सङ्ग्रहालय लन्डनमा वृन्दावनी वस्त्रको प्रदर्शन गर्न अनुरोध गरेको थियो। यो वस्त्र अहिले ब्रिटिस संग्रहालयको कोठा ९१ मा 'असमको बगैँचामा कृष्ण: भारतीय वस्त्रको सांस्कृतिक प्रसङ्ग' प्रदर्शनीमा अगस्ट २०१६ सम्म प्रदर्शन भइरहेको थियो भने त्यहाँ निःशुल्क प्रवेश गर्न पाइन्छ।[]

राजा नरनारायणको आदेश अनुसार शङ्करदेवले ताँतीकुछीमा कपडाको काम सुरु गरी गोपाल आतालाई मुख्य जिम्मेवारी दिएका थिए। सोही गोपाल आतालाई पछि मथुरादास बुढा आता नामले चिनिन थालियो र उनलाई बोरपेटा सत्रको पहिलो सत्राधिकारी पदमा माधवदेवले अभिषेक गराएका थिए। योजनाअनुसार, श्रीकृष्णको जन्मदेखि कंस वधसम्मको गोकुल, वृन्दावन र मथुराका विभिन्न कथाहरू त्यसमा समावेश गर्ने व्यवस्था गरिएको थियो र त्यसका लागि विभिन्न रङ्गका धागा तयार गरिएको थियो। कपडा कुल लम्बाइ १२० हात र चौडाइ ६० हात राखिएको थियो। जगन्नाथ आताले कपडालाई वृन्दावनको प्रसिद्ध 'बार बन' को ढाँचामा तयार गरिएको उल्लेख गर्दै आफ्नै लेखमा कपडालाई तेह्र भागमा तयारी गरिएको कुरा उल्लेख गरेका थिए।[]

बुनाईको काम

[सम्पादन गर्नुहोस्]

६० हात चौडा र १२० हात लामो कपडाका लागि त्यस्तै खाले धागोको आवश्यकता थियो। ताँतीकुछीका गोपाल वा मथुरादास बुढा आताले राम लारूको घरमा आएर कपडा बुनाईको काम सुरु गरेका थिए।[] शङ्करदेवको निर्देशन अनुसार तन्तुकार गोपालले अन्य सहयोगी तन्तुकारहरूसँगको सहकार्यमा श्रीकृष्णको जन्मको विस्तृत विवरण, नन्द राजाको घरमा कृष्णको आगमन, गोकुलमा कृष्णका सबै लीला-खेल, कंस वधका सबै कार्यहरूलाई विभिन्न रङ्गका धागोले सजाएर बुनेका थिए। यो कपडा बुन्न शङ्करदेवले पाटबाउसी सत्रबाट दैनिक रूपमा तन्तुकारहरूलाई पठाउँदै हरेक दिन क्रमशः कपडा बुन्ने काम हुन्थ्यो। कपडा अत्याधिक ठूलो र गह्रौँ भएकाले पूरा भएपछि त्यसलाई मिलाउन र सम्हाल्न लगभग तीनचार व्यक्तिहरूको आवश्यकता पर्दथ्यो। रामचरण ठाकुरको गुरु चरित्रमा यसबारे उल्लेख गरिएको छ।[१०]

कपडा बुन्ने कामको रेखदेख गर्ने र सधैं त्यहाँ सरिक रहेन शङ्करदेव एकदिन बिरामी भएपछि माधवदेवलाई कपडा बुनाईको जिम्मेवारी दिएका थिए। त्यस दिन माधवदेवले शङ्करदेवलेभन्दा चार औँला बढी बन्न सकेकाले उनलाई शङ्करदेवले ‘‘बढार पो’’ उपाधि दिएका थिए।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Vrindavani Vastra ‘out of reach’ for govt", The Telegraph, Kolkotta, २३ मार्च २०१३, मूलबाट नोभेम्बर ११, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१३
  2. "Vrindavani Vastra: Gogoi to move British Museum", TheHindu, १० नोभेम्बर २०१३, अन्तिम पहुँच १० नोभेम्बर २०१३
  3. Bezboruah, D N (मार्च २०१३), "Lengths of precious fabric", The Assam Tribune (editorial), मूलबाट ११ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१३ अभिलेखिकरण ११ नोभेम्बर २०१३ वेब्याक मेसिन
  4. ""Cloth of Vrindavan" (Vrindavani Vastra) depicting Scenes from the Life of Krishna", Philadelphia Museum of Art, अन्तिम पहुँच १० नोभेम्बर २०१३ अभिलेखिकरण ११ नोभेम्बर २०१३ वेब्याक मेसिन
  5. Hugh and Colleen Gantzer, Colleen Gantzer (२८ अगस्ट २०१२), "The polymath guru of Assam", The Times of India, मूलबाट १५ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१३ अभिलेखिकरण १५ जुन २०१३ वेब्याक मेसिन
  6. Mary Schoeser, Foreword by JulienMacdonald; Marcandalli, contrib. by Bruno (२००७), Silk, New Haven, Conn. [u.a.]: Yale Univ. Press, पृ: ७०, आइएसबिएन 9780300117417, "vrindavani vastra."
  7. Krishna in the Garden of Assam, exhibit at British Museum, 2016
  8. ৰায়চৌধুৰী, ড° ভূপেন্দ্ৰ (২০০৭), শ্ৰীশ্ৰীমথুৰাদাস বুঢ়া আতাৰ জীৱন সুৰভি, ৰেখা প্ৰকাশন, पृ: ১৫।
  9. পাঠক, গোকুল (১৯৫৯(প্ৰথম প্ৰকাশ) ২০২০), বৰপেটা সত্ৰৰ ইতিহাস, ৰঞ্জিত কুমাৰ দাস, पृ: ৯৭।
  10. ঠাকুৰ, ৰামচৰণ (২০১২), গুৰু চৰিত, দত্তবৰুৱা পাব্লোচিং কোম্পানী প্ৰা: লি:, पृ: ৭১৬।
  11. "মহাপুৰুষ শ্ৰীশংকৰদেৱ আৰু শ্ৰীমাধবদেৱ", তান্তীকুছিত ৰাজ্য চৰ্চ্চা (লয়াৰ্ছ বুক ষ্টল), ১৯১৪, पृ: ৯৭।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]