वृषसेन
| वृषसेन | |
|---|---|
| प्राप्त जानकारी | |
| लिङ्ग | पुरुष |
| पेशा | क्षत्रिय |
| परिवार | कर्ण (पिता) चित्रसेन, द्विपत, सत्यसेन, सुषेण, शत्रुञ्जय, बाणसेन, प्रसेन, वृषकेतु (भाइहरू) |
वृषसेन हिन्दु धर्मग्रन्थका एक पौराणिक पात्र हुन् जसलाई महाभारतमा योद्धा कर्णका ज्येष्ठ पुत्र भनिएको छ।[१] उनले आफ्ना पितासँगै कौरव पक्षबाट कुरुक्षेत्र युद्ध लडेका र द्रौपदेय, द्रुपद, धृष्टद्युम्न, नकुल, सहदेव, विराट लगायत अन्य धेरै प्रमुख योद्धाहरूको सामना गरेका छन्। वृषसेन एक पराक्रमी धनुर्धर हुन्छन्। उनले युद्धको अन्तिम चरणमा पाण्डव सेनालाई निकै क्षति पुर्याउँछन्। विशेषगरी युद्धको १७औँ दिनमा उनले नकुल, सहदेव र सात्यकीलाई आफ्नो वाणले ठूलो घात पुर्याउँछन्। उनको बढ्दो पराक्रम देखेर अर्जुनले उनलाई वध गर्ने प्रतिज्ञा गर्छन्। [२]
कुरुक्षेत्र युद्धको क्रममा कर्ण र भीष्मबीचको विवादका कारण कर्णले पहिलो दस दिनसम्म युद्धमा भाग लिएनन् भन्ने धारणा प्रचलित छ। भीष्मले कर्णलाई अर्ध-रथी भनेर अपमान गरेपछि, कर्णले "पितामह" को पतन नभएसम्म युद्ध नगर्ने प्रतिज्ञा गर्छन्। यद्यपि, कर्णका पुत्र वृषसेनको हकमा भने यो अलि फरक छ।
कुरुक्षेत्र युद्ध
[सम्पादन गर्नुहोस्]११औँ दिन
[सम्पादन गर्नुहोस्]युद्धको ११ औँ दिनमा वृषसेनले एकल युद्धमा नकुलका पुत्र शतानिकमाथि विजय प्राप्त गर्छन् र त्यसपछि अन्य द्रौपदेयहरूसँग लडेर उनीहरू सबैलाई पराजित गरिदिन्छन्। सहदेवसँगको युद्धमा उनले सहदेवको धनुष भाँचेर र उनलाई बेहोस बनाइदिन्छन्। अन्ततः सात्यकीले सहदेवको उद्धार गर्छन्।[३]
१२औँ दिन
[सम्पादन गर्नुहोस्]युद्धको १२ औँ दिनमा उनले पाण्डव सेनाको मत्स्य बलमाथि आक्रमण गरी राजा विराटलाई पराजित गर्दै घाइते बनाइदिन्छन्। यो देखेर अभिमन्यु विराटको सहयोगका लागि आएपछि वृषसेन र अभिमन्युबीच भीषण द्वन्द्व हुन जान्छ। वृषसेनले अभिमन्युको छाती र तिघ्रामा केही वाणहरूले प्रहार गरेतापनि अन्ततः अभिमन्युले उनको धनुष भाँच्दै उनलाई पराजित गर्छन्।
१४औँ दिन
[सम्पादन गर्नुहोस्]युद्धको १४ औँ दिनको रातमा, वृषसेनले पाञ्चालका राजा द्रुपदसँग एकल युद्ध गरी उनलाई पराजित गर्छन्।[४] द्रुपदको पराजयपछि उनले पाण्डव सेनाका सेनापति तथा द्रुपदका छोरा धृष्टद्युम्नलाई पराजित गरी द्रुपद तथा धृष्टद्युम्न दुवैलाई पछि हट्न बाध्य बनाउँछन्।
१५औँ दिन
[सम्पादन गर्नुहोस्]युद्धको १५औँ दिनमा, वृषसेन र नकुलबीच एकल युद्ध हुन्छ र वृषसेनले नकुलको रथ ध्वस्त पारिदिन्छन्।[५] त्यसपछि नकुल भीमको रथमा चढ्छन् तर वृषसेनले ती दुवैमाथि प्रहार जारी राख्छन्। उनले भीमको धनुष भाँचेर भीमको छातीमा अत्यन्तै तिखा वाणहरूले प्रहार गर्छन्। त्यसपछि भीमले अर्जुनलाई वृषसेनको वध गर्न आग्रह गरेपछि वृषसेनले अर्जुन, भीम, नकुल र द्रौपदेयहरूको सामूहिक आक्रमणको सामना गर्दा अन्ततः पाण्डवहरूको प्रत्याक्रमणमा उनको मृत्यु हुन जान्छ। युधिष्ठिरले उनको छातीमा शक्ति अस्त्रले प्रहार गर्छन्, नकुलले उनको घाँटीमा तरबारले प्रहार गर्छन्, सहदेवले बन्चरोले उनको कवच फुटाउँछन् र भीमले गदाले उनको टाउकोमा प्रहार गर्छन्। उनी आफ्नो अन्तिम अवस्थासम्म पनि हुन्छन्। [६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Vishnu Purana: Book IV: Chapter XVIII", www.sacred-texts.com, अन्तिम पहुँच २०२२-०८-१९।
- ↑ Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: 883।
- ↑ "The Mahabharata, Book 7: Drona Parva, Dronabhisheka Parva, Section XVI"।
- ↑ "The Mahabharata, Book 7: Drona Parva, Ghatotkacha-Vadha Parva, Section CLXVIII", www.sacred-texts.com, अन्तिम पहुँच २०२०-०३-२२।
- ↑ "The Mahabharata, Book 8: Karna Parva, Section 84", www.sacred-texts.com, अन्तिम पहुँच २०२२-०२-०१।
- ↑ "The Mahabharata, Book 8: Karna Parva: Section 85 | Sacred Texts Archive"।