वेदाङ्ग ज्योतिष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वेदाङ्ग ज्योतिष एक प्राचीन ज्योतिष ग्रन्थ हो यसको काल १३५० ई पू मानिएको छ । अतः यो संसारकै सर्वप्राचीन ज्योतिष ग्रन्थ हो । वेदाङ्ग ज्योतिष कालविज्ञापक शास्त्र हो । ठीक तिथि, नक्षत्रमा गरेका यज्ञादि कार्य फल दिन्छन् । भनिएको छ- वेदा हि यज्ञार्थमभिप्रवृत्ताः कालानुपूर्वा विहिताश्च यज्ञाः। तस्मादिदं कालविधानशास्त्रं यो ज्येतिषं वेद स वेद यज्ञान् ॥ [१]

वेदका छ अङ्गमा एक मानिने ज्योतिष मूल ग्रन्थ वेदाङ्ग ज्योतिष हो । यसको रचनाकाल १३५० ई.पू.भन्दा पहिले मानिएको छ । संभवतः यो संसारकै सबैभन्दा पुरानो ज्योतिष ग्रन्थ हो । वेदको आधारमा चल्ने सारा धर्मकार्यको कालनिर्णय यसैको आधारमा गरिन्छ । विश्वकै प्राचीन यस विद्याको संरक्षणमा नेपालको विशेष योगदान छ । नेपालमा यसै ज्योतिष अनुसारको वैदिक पात्रो प्रकाशित हुनुका साथै वैदिक नववर्ष पनि मनाइन्छ ।

चार वेदका पृथक् पृथक् ज्योतिषशास्त्र मध्ये सामवेदको ज्यौतिषशास्त्र अप्राप्य छ । शेष तीन वेदका ज्योतिष प्राप्त छ। (१) ऋग्वेदको ज्योतिष शास्त्र - आर्चज्योतिषम् : यसमा ३६ पद्य छन् । (२) यजुर्वेदका ज्योतिष शास्त्र – याजुषज्योतिषम् : यसमा ४४ पद्य छन् । (३) अथर्ववेद ज्योतिष शास्त्र - आथर्वणज्योतिषम् : यसमा १६२ पद्य छन् । इनमा ऋक् र यजुः ज्योतिषका प्रणेता लगध नामक आचार्य हुन् । अथर्व ज्योतिषका प्रणेता अज्ञात छन् । यजुर्वेदको ज्योतिषका चार संस्कृत भाष्य तथा व्याख्या प्राप्त छन् : एक सोमाकरविरचित प्राचीन भाष्य, द्वितीय सुधाकर द्विवेदी द्वारा रचित नवीन भाष्य (समय १९६४), तृतीय सामशास्त्री द्वारा रचित दीपिका व्याख्या (समय १९९१), चतुर्थ शिवराज आचार्य कौण्डिन्न्यायन द्वारा रचित कौण्डिन्न्यायन-व्याख्यान (समय २०६२)। वेदाङ्गज्योतिषको अर्थको खोजमा जनार्दन बालाजी मोडक, शङ्कर बालकृष्ण दीक्षित, लाला छोटेलाल बार्हस्पत्य, लो.बालगङ्गाधर तिलकको पनि योगदान छ। नेपालका इतिहासकार नयराज पन्तले पनि लिच्छविकालमा वेदाङ्गज्योतिषको प्रयोग हुन्थ्यो भनेर वेदाङ्ग ज्योतिषको खोज गरेका थिए।

के हो वेदाङ्ग ज्योतिष[सम्पादन गर्नुहोस्]

वेदाङ्गज्योतिष सिद्धान्तज्योतिष हो । यसमा सूर्य तथा चन्द्रको गतिको गणित छ। वेदाङ्गज्योतिषमा गणितको महत्त्व प्रतिपादन यस प्रकार गरिएको छ- यथा शिखा मयूराणां नागानां मणयो यथा। तद्वद् वेदाङ्गशास्त्राणां गणितं मूर्धनि स्थितम्॥ [२] अर्थात् "जसरी मयूरहरूमा शिखा र नागहरूमा मणिको स्थान सबैभन्दा माथि छ, त्यसै प्रकार सबै वेदाङ्गशास्त्रमा गणित अर्थात् ज्योतिषको स्थान सर्वोच्च छ" वेदाङ्ग ज्योतिषमा वेदमा जस्तै (शुक्लयजुर्वेद २७।४५, ३०।१५) पाँच वर्षको एक युग मानिन्छ [३]। वर्षारम्भ उत्तरायण, शिशिर ऋतुमाघ अथवा तपस महिनाबाट मानिएको छ (याजुष वे.ज्यो. ६) । युगका पाँच वर्षका नाम- १.संवत्सर, २.परिवत्सर, ३.इदावत्सर, ४इद्वत्सर र ५.वत्सर हुन्। अयन दुइ छन्- उदगयन र दक्षिणायन । ऋतु छ छन्- शिशिर, वसन्त, ग्रीष्म, वर्षा, शरद् र हेमन्त । महिना बार मानिएका छन्- तपः (माघ), तपस्य (फाल्गुन), मधु (चैत्र), माधव (वैशाख), शुक्र (ज्येष्ठ), शुचि (आषाढ), नभः (श्रावण), नभस्य (भाद्र), इष (आश्विन), उर्ज (कार्तिक), सहः (मार्गशीर्ष) र सहस्य (पौष)। महिना शुक्लादि कृष्णान्त छन् । अधिकमास शुचिमास अर्थात् आषाढमा तथा सहस्यमास अर्थात् पौषमा नै पर्छन्, अन्य महिनामा पर्दैनन्। पक्ष दुइ छन्- शुक्ल र कृष्ण । तिथि शुक्लपक्षमा १५ र कृष्णपक्षमा १५ मानिएका छन्। तिथिक्षय केवल चतुर्दशीमा हुन्छ । तिथिवृद्धि हुँदैन । १५ मुहूर्तको दिन र १५ मुहूर्तको रात्रि गरेर दिनरात जम्मा ३० मुहूर्तको एक तिथि मानिएको छ । [४][५] [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. (आर्चज्यौतिषम् ३६, याजुषज्योतिषम् ३)
  2. (याजुषज्योतिषम् ४)
  3. (याजुष वे.ज्यो. ५)
  4. वेदाङ्गज्योतिषम् सोमाकरभाष्य-कौण्डिन्न्यायनव्याख्यानसहितम्, वाराणसी, चौखम्बा विद्याभवन, २००५
  5. धिताल, रामप्रसाद वैदिक नववर्ष वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२९ मिति रूपरेखा
  6. वैदिक नववर्षमा नयाँ वैदिक पात्रोको लोकार्पण[dead link]मधेशवाणी