सामग्रीमा जानुहोस्

वेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेन
जानकारी
परिवार
  • अङ्ग (पिता)
  • सुनीथा (माता)
बच्चापृथु र निषाद (मन्थनपछि उनको शरीरबाट जन्मिएका)[]

वेन (संस्कृत: वेन, शाअ'उत्पीडक') हिन्दु धर्मका एक राजा हुन् जो आफ्नो दुष्टता र कुशासनका लागि कुख्यात छन्। प्रथम मनुका वंशज, उनले सिंहासन सम्हालेलगत्तै सबै प्रकारका पूजा, भेटी र यज्ञहरूमा प्रतिबन्ध लगाएका हुन्छन्। यी प्रथाहरू पुन: सुचारु गर्न गरिएका सबै अनुरोधहरूलाई अस्विकार गरेपछि, ऋषिहरूले उनलाई कुशका धारिला डाँठहरूद्वारा वध गरिदिन्छन्। उनको उत्तराधिकारीको रूपमा पौराणिक राजा पृथुको आगमन हुन्छ जो उनको दाहिने हातको मन्थनबाट उत्पन्न भएका थिए।[]

ऋग्वेद (१०.१२३) मा, वेनलाई एक आकाशीय प्राणीको रूपमा चित्रण गरिएको छ, जुन सम्भवतः इन्द्रेणीको प्रतीक हो। यस सूक्तको नाम पनि 'वेन' नै हो र ऋग्वेद ९.८५ का रचयिताको नाम पनि वेन नै उल्लेख गरिएको छ।

भागवत पुराणले वेनको उत्पत्तिको खोजी ध्रुवचाक्षुष मनुको वंशजको रूपमा गर्दछ। ध्रुवका जेठा छोरा उत्कलले सिंहासन आरोहण नगरेपछि ध्रुवका कान्छा छोरा वत्सरलाई राजा बनाइन्छ। वत्सरले स्वर्वीथिसँग विवाह गर्छन् जसले पुष्‍पार्ण, तिग्मकेतु, ईश, ऊर्ज, वसु र जयलाई जन्म दिन्छिन्।

पुष्‍पार्णले प्रभा र दोषासँग विवाह गर्छन्। दोषाले प्रदोष, निशिथ र व्युष्टलाई जन्म दिन्छिन्। व्युष्टले पुष्करिणीसँग विवाह गरे र सर्वतेजसलाई जन्म दिए, जसको आफ्नी पत्नी आकूतिबाट एक छोरा – चाक्षुष मनु जन्मिएका हुन्छन्। मनु र उनकी पत्नी नद्वलाका बाह्र छोराहरू थिए। मनुका छोराहरूमध्ये एक उल्मुक र उनकी पत्नी पुष्करिणी (जसको नाम व्युष्टकी पत्नीको जस्तै थियो) का ६ छोराहरू थिए। उल्मुकका छोराहरूमध्ये एक अङ्गले सुनीथासँग विवाह गरि वेनलाई जन्म दिन्छन्।[][] पद्म पुराणमा उल्लेख भएअनुसार सुनीथा मृत्यु (काल) की कुरुप छोरी हुन् त्यसैले वेन जन्मदेखि नै दुष्ट स्वभावका थिए भन्ने मानिन्छ।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

पद्म पुराणका अनुसार वेनकी आमा सुनीथा एक क्रूर महिला थिइन् जसलाई अन्य व्यक्तिलाई दुःख दिनुमा आनन्द आउँथ्यो। एक पटक, जब उनी आफ्ना सुसारेहरूसँग खेल्न जङ्गलमा जान्छिन् तब उनले सुशङ्ख नामका एक गन्धर्वलाई देख्छिन्। ती सुुन्दर युवक सङ्गीतकी देवी सरस्वतीलाई प्रसन्न तुल्याउन तपस्यामा लीन थिए। सुनीथाले उनलाई जिस्क्याउन र बाधा पुर्‍याउन थालेपनि सुशङ्खले उनको प्रयासको प्रतिरोध गर्छन्। युवकले आफूलाई बेवास्ता गरेकोमा आक्रोशित बनेकी सुनीथाले सुशङ्खलाई प्रहार गर्छिन्। सुशङ्ख क्रुद्ध भए तर उनले महिलामाथि हात उठाउन चाहेनन्। सुनीथाले आफ्नो वंश यमसँग जोडिएको भन्दै घमण्ड गरिन्, तर उनी प्रभावित भएनन्। जब सुनीथाले फेरि सुशङ्खलाई भेटिन्, उनले उनलाई कोर्राले हिर्काइन्। पीडाले काप्दै र क्रुद्ध हुँदै ती युवकले उनलाई यसरी श्राप दिए:[]

हे दुष्ट नारी! जब तिमी गृहस्थ बन्नेछौ र आफ्नो पतिसँग मिलन हुनेछ, तिमीले यस्तो छोरा पाउनेछौ जो देवता र ब्राह्मणहरूको निन्दा गर्ने र सर्वगुण सम्पन्न पापी हुनेछ।

भागवत पुराणका अनुसार, एकपटक अङ्ग नामक कुनै छोरा नभएका कारण उनले अश्वमेध यज्ञ गरिरहेता पनि देवताहरूले उनको आहुति स्वीकार गर्दैनन्। ऋषिहरूको सल्लाहमा, अङ्गले अर्को यज्ञ गरी विष्णुको उपासना गर्छन्। यज्ञको अग्निबाट खीर (पायस) लिएर एक पुरुष प्रकट हुन्छ। अङ्गले त्यो खीर आफ्नी पत्नी सुनीथालाई खुवाए, जसले पछि एक छोरालाई जन्म दिइन्। ती छोरा बाल्यकालदेखि नै आफ्ना मावली हजुरबुबा मृत्यु (अधर्मको एक अंश) सँग नजिक थिए र अधर्मतर्फ लाग्छन्। उनले जनावर जस्तै व्यवहार गर्थे र निर्दोष मृगहरूको निर्दयीपूर्वक शिकार गर्थे। उनको यस्तो दुष्ट कार्य देखेर उनको नाम 'वेन' (उत्पीडक) राखिन्छ। आफ्नो सन्तानलाई अनुशासित बनाउन नसकेपछि, अङ्गले मानसिक शान्ति गुमाउँछन् र विरक्तिएर आफ्नो राज्य छोडी वनतर्फ लाग्छन्। अराजकता र चोरहरूको डरले, ऋषि र जनताले राजकुमारसँग असन्तुष्ट भएतापनि वेनलाई राजाको रूपमा अभिषेक भने गर्छन्।[]

शासन र मृत्यु

[सम्पादन गर्नुहोस्]

जब वेन राजा भए, चोरहरूले तुरुन्तै आफ्ना अपराधहरू बन्द गरी लुक्न थाल्छन्। तर, वेनले आफ्नो राज्यमा कसैले पनि यज्ञ नगर्ने र धार्मिक कार्यमा एक पैसा पनि खर्च नगर्ने घोषणा गरिदिन्छन्। उनले धर्ममाथि प्रतिबन्ध लगाउँछन्। ऋषिहरूले राजालाई सम्झाउन र धर्मशास्त्र अनुसार धर्म, मोक्ष र शासकको जिम्मेवारीबारे ज्ञान दिन उनको दरबारमा जान्छन्। उनीहरूले राजालाई यज्ञ र धार्मिक अनुष्ठानहरू पुनः सुचारु गर्न आग्रह गर्छन्। वेनले यज्ञेश्वरप्रतिको उनीहरूको भक्तिलाई मूर्खतापूर्ण घोषणा गरे, किनभने उनी आफैँ सबै देवताहरूको अवतार भएको दाबी गर्दथे। उनले आफ्ना सबै प्रजाहरूलाई अन्य कुनै पनि सत्ताको सट्टा आफ्नो पूजा गर्न आदेश दिन्छन्। राजाले उनीहरूको ब्राह्मण जन्म र देवता विष्णुप्रति गरेको अपमानबाट क्रुद्ध भएर ऋषिहरूले 'हुँ' शब्द उच्चारण गर्दै अभिमन्त्रित कुशका डाँठहरूले उनलाई वध गरिदिए। शोकाकुल सुनीथाले मन्त्र उच्चारण गरेर र औषधिहरू प्रयोग गरेर आफ्नो छोराको शवलाई सुरक्षित राख्छिन्।[][]

पृथुको जन्म

[सम्पादन गर्नुहोस्]

राजा वेनको कुनै छोरा वा उत्तराधिकारी नभएकाले

वेनको मृत्युपछि राज्यमा अराजकता फैलिन्छ। चोर र दुष्ट मानिसहरूले निर्दोष मानिसहरूलाई लुट्न र चोरी गर्न थाल्छन्। वेनका पिता अङ्गको वंशलाई निरन्तरता दिने इच्छाले ऋषिहरूले वेनको तिघ्रा मन्थन गरे, जसबाट कालो वर्ण र रगतजस्तै राता आँखा भएको एक होचो मानिस प्रकट हुन्छ। त्यस मानिसले ऋषिहरूका अगाडि झुकेर आफ्नो उद्देश्य सोध्छ। ऋषिहरूले उसलाई बस (निषीद) भने, जसका आधारमा उसले आफ्नो नाम राख्छ। भनिन्छ कि ती पुरुषले वेनले गरेका सबै पापहरू आफूमा लिएका थिए। त्यसपछि, ती पुरुषका वंशजहरूलाई निषाद भन्न थालिन्छ जो विन्ध्याचल पर्वतमा बस्छन्।[१०]

त्यसपछि ऋषिहरूले शवको दाहिने हात मन्थन गर्न थाले, जसबाट दिव्य धनुष, वाण र कवच धारण गरेको एक चमकधमकपूर्ण पुरुष पृथु प्रकट हुन्छन्। ऋषिहरूले पृथुको हातमा सुदर्शन चक्रको चिन्ह देखे, जसका आधारमा उनीहरूले उनलाई विष्णुको एक रूपको रूपमा पहिचान गर्छन् उनलाई नयाँ राजाको रूपमा अभिषेक गरियो र उनी एक शक्तिशाली शासक बनेर धार्मिक अनुष्ठान र यज्ञहरूलाई पुनः स्थापना गर्छन्।

जनताले पृथुलाई भेटेर जानकारी दिए कि उनको राज्यरोहण अघिको अराजकताका बेला संसार यति उदास र अन्धकारमय भएको थियो कि पृथ्वीकी देवी र लक्ष्मीकी अवतार भूमिले मानिसहरूलाई अन्न नदिने निर्णय गरेकी थिइन्। उनले गाईको रूप धारण गरेर लुकेकी थिइन्, जसले गर्दा पृथ्वी वनस्पतिविहीन भएको थियो। क्रोधित पृथुले आफ्नो धनुष अजगव लिएर भूमिलाई तीनै लोकमा पछ्याउँछन्। जब उनले अन्त्यमा भूमिलाई घेरे तब भूमिले आफ्नो ज्यान जोगाउन प्रार्थना गरिन्। उनले पृथु र ऋषिहरूलाई आफूलाई दुहुन अनुमति दिन्छिन् जसले वनस्पतिको पुनर्स्थापना गर्छ र पृथ्वी तथा यसका मानिसहरूमा जीवन्तता फिर्ता ल्याउँछ। यसरी, विष्णुले पृथुका रूपमा आफ्नी अर्धाङ्गिनीलाई मानव जातिमा समृद्धि फर्काउन सफल हुन्छन्। यसै कारणले गर्दा, भूमिको नाम 'पृथ्वी' रहन गएको हो।[११][१२][१३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Motilal Bansaridas Publisher's Bhagavata Purana Book 2, Skandha IV Chapter 13
  2. www.wisdomlib.org (२०१४-०८-०३), "Vena, Veṇa, Veṇā: 21 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०१
  3. Motilal Bansaridas Publisher's Bhagavata Purana Book 2, Skandha IV Chapter 13
  4. "Srimad Bhagavatam: Canto 4 - Chapter 13", bhagavata.org, अन्तिम पहुँच २०२३-११-०३
  5. Padma Purana Srishti Khanda (First Canto) Chapter 8.Verse 3
  6. www.wisdomlib.org (२०१९-०१-२८), "Story of Vena", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०१
  7. Motilal Bansaridas Publisher's Bhagavata Purana Book 2, Skandha IV Chapter 14
  8. www.wisdomlib.org (२०२२-०८-१४), "The Story of Vena: Pṛthu’s Birth [Chapter 14]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०१
  9. Motilal Bansaridas Publisher's Bhagavata Purana Book 2, Skandha IV Chapter 14
  10. www.wisdomlib.org (२०२२-०८-१४), "The Story of Vena: Pṛthu’s Birth [Chapter 14]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०१
  11. O'Flaherty, Wendy Doniger (१९८०-०१-०१), The Origins of Evil in Hindu Mythology (अङ्ग्रेजीमा), University of California Press, आइएसबिएन 9780520040984
  12. www.wisdomlib.org (२०१९-०१-२८), "Story of Pṛthu", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०१
  13. www.wisdomlib.org (२०१३-०५-२५), "The Kings Vena and Prithu", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-०१
"https://ne.wikipedia.org/w/index.php?title=वेन&oldid=1347052" बाट अनुप्रेषित