सामग्रीमा जानुहोस्

वैवस्वत मनु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वैवस्वत मनु
मनु
मत्स्य अवतारले वैवस्वत मनु र सप्तर्षिलाई दिव्य जलप्रलयबाट बचाउँदै
पूर्ववर्तीचाक्षुष मनु
उत्तराधिकारीसावर्णि मनु
वंशावली
अभिभावकहरू
जीवनसाथीश्रद्धा
सन्तानहरूइक्ष्वाकु, धृष्ट, नरिष्यन्त, दिष्ट, नृग, कारुष, शर्याति, नभाग, प्रान्शु, पृषध्र[]
इला[]

वैवस्वत मनु (जसलाई श्राद्धदेवसत्यव्रत पनि भनिन्छ) हिन्दु धर्मका वर्तमान मनु अर्थात् मानव जातिका प्रवर्तक हुन्। उनी वर्तमान कल्पका १४ मनुहरूमध्ये सातौँ मनु हुन्। जैन धर्ममा उनलाई नाभिराजाको रूपमा पनि चिनिन्छ, जो ऋषभनाथका पिता र अन्तिम कुलकर हुन्।

उनी सूर्य देवता विवस्वान र उनकी पत्नी सरण्यूका छोरा हुन्। विष्णुको मत्स्य अवतारद्वारा दिव्य जलप्रलयको बारेमा पूर्वसूचना पाएपछि, मनुले आफ्नो परिवार र सप्तर्षि (सात ऋषिहरू) लाई सुरक्षित स्थानमा लैजाने एउटा डुङ्गा बनाएर मानवजातिको रक्षा गरेका थिए।[] उनी पौराणिक तरबार असिका वाहकहरूमध्ये एक थिए।

पुराणहरूका अनुसार, श्राद्धदेवको वंशावली यस प्रकार छ:[]

  1. ब्रह्मा
  2. मरिची, ब्रह्माद्वारा सिर्जित १० प्रजापतिहरूमध्ये एक
  3. कश्यप, मरिचीका छोरा र उनका १३ पत्नीहरूमध्ये कला (अदिति) का पति। कश्यपलाई मानव जातिका प्रवर्तकहरूमध्ये एक मानिन्छ।
  4. विवस्वान वा सूर्य, कश्यप र अदितिका छोरा।
  5. वैवस्वत मनु, विवस्वान र सरण्यू (संज्ञा) का छोरा। उनलाई सत्यव्रत र श्राद्धदेवका रूपमा पनि चिनिन्छ।

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

श्राद्धदेवलाई मत्स्य पुराण को युगमा द्रविड देशका राजाका रूपमा उल्लेख गरिएको छ।[] मत्स्य पुराणका अनुसार, विष्णुका अवतार मत्स्य पहिलोपटक श्राद्धदेवको अगाडि 'शफरी' (एक सानो माछा) का रूपमा प्रकट भएका थिए, जब उनी मलय पर्वतबाट बग्ने नदीमा हात धोइरहेका थिए।[]

त्यो सानो माछाले राजासँग आफ्नो रक्षाको लागि बिन्ती गर्छ र दया देखाउँदै राजाले त्यसलाई पानीको घैँटोमा राख्छन्। त्यो माछा निरन्तर बढ्दै जान्छ जसका कारण राजाले पहिले त्यसलाई ठूलो भाँडामा र त्यसपछि इनारमा राख्छन्। जब इनार पनि बढ्दै गरेको माछाका लागि अपर्याप्त बन्छ तब राजाले त्यसलाई एउटा ठूलो जलाशय मा राख्छन् जुन जमिन माथि दुई योजन (१६ माइल) अग्लो र त्यति नै लामो तथा एक योजन (८ माइल) चौडा थियो।[][] माछा अझै बढेपछि राजाले त्यसलाई नदीमा छाड्छन् र जब नदी पनि उक्त माछाका लागि सानो हुन्छ तब उनले त्यसलाई समुद्रमा छाड्छन् जहाँ त्यसले विशाल महासागरको ठूलो अंश ओगट्यो।

त्यसपछि विष्णुले आफ्नो वास्तविक स्वरूप प्रकट गर्दै राजालाई छिट्टै आउन लागेको सर्वविनाशकारी जलप्रलयको बारेमा जानकारी दिन्छन्।[][१०][११] राजाले एउटा विशाल डुङ्गा बनाए जसमा जलप्रलय समाप्त भएपछि र समुद्रको पानी घटेपछि पृथ्वीमा पुनः जीवन बसाल्नका लागि आफ्नो परिवार, सप्तर्षि (सात ऋषि), नौ प्रकारका बीउ र जनावरहरूलाई राख्छन्। जलप्रलयको समयमा, विष्णु सिङ भएको माछाका रूपमा र शेषनाग डोरीका रूपमा प्रकटहुन्छ जसको सहायताले राजाले डुङ्गालाई माछाको सिङमा बाँधेका थिए।[१२]

जलप्रलयपछि डुङ्गा हिमवत (हिमालय) को सबैभन्दा उच्च शिखर 'नौबन्धन' मा रोकिएको थियो।[१३][१४] जलप्रलय पछि मनुको परिवार र सात ऋषिहरूले पृथ्वीमा पुनः मानव बस्ती बसाल्छन्। पुराणहरूका अनुसार, मनुको यो कथा वर्तमान मन्वन्तर (जुन ७ औँ मन्वन्तर हो) को २८ औँ चतुर्युग भन्दा पहिले घटेको हो। यो समय करिब १२ करोड वर्ष पहिलेको मानिन्छ।[१५] महाभारतको 'आदि पर्व' मा उल्लेखित एक वंशावली सूचीले मनु र नायक अर्जुनका बीचमा ४३ पुस्ताहरू (समावेशी) रहेको देखाउँछ।

यो वृत्तान्त गिल्गामेस जलप्रलय कथा र जेनेसिस जलप्रलय कथा जस्ता अन्य जलप्रलयका पौराणिक कथाहरूसँग मिल्दोजुल्दो छ।[१६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Vaivasvata Manu: 3 definitions", २९ जुन २०१२।
  2. "Story of Ilā", २८ जनवरी २०१९।
  3. The Hare Krsnas – The Manus – Manus of the Present Universe
  4. Francis Hamilton (१८१९), Genealogies of the Hindus: extracted from their sacred writings; with an introduction and alphabetical index, Printed for the author, पृ: ८९।
  5. Alain Daniélou (११ फेब्रुअरी २००३), A Brief History of India, Inner Traditions / Bear & Co, पृ: १९, आइएसबिएन 978-1-59477-794-3
  6. David Dean Shulman (१९८०), Tamil Temple Myths: Sacrifice and Divine Marriage in the South Indian Saiva Tradition, Princeton University Press, आइएसबिएन 978-1-4008-5692-3
  7. DRISCOLL, Ian Driscoll; KURTZ, Matthew Atlantis: Egyptian Genesis, 2009.
  8. Sacred Texts. Section CLXXXVI
  9. S'rîmad Bhâgavatam (Bhâgavata Purâna)Canto 8 Chapter 24 Text 12[स्थायी मृत कडी]
  10. Ragozin, Zénaïde Alexeïevna (२००८-०३-१४), The story of Vedic India as embodied ... – Google Books, अन्तिम पहुँच २०१०-१२-०८
  11. Matsya Purana, Ch.I, 10–33
  12. Matsya Purana, Ch.II, 1–19
  13. The Mahabharata of Krishna-Dwaipayana Vyasa, Kisari Mohan Ganguli, New Delhi: Munshiram Manoharlal Publishers, २०००, आइएसबिएन 81-215-0594-1, ओसिएलसी 45040117
  14. The Matsya Purana[हडपिएको]
  15. "G. P. Bhatt (ed.), The vayu purana, part-II, 1st ed., 784—789, tr. G. V. Tagare. In vol.38 of Ancient Indian Tradition and Mythology, Delhi: Motilal Banarsidass, 1988." अभिलेखिकरण २०१६-०१-२१ वेब्याक मेसिन
  16. Klaus K. Klostermaier (५ जुलाई २००७), A Survey of Hinduism: Third Edition, SUNY Press, पृ: ९७, आइएसबिएन 978-0-7914-7082-4