शंकराचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आदि शङ्कराचार्य
Raja Ravi Varma - Sankaracharya.jpg
छात्रहरूको बिचमा आदि शंकराचार्य
जन्म शंकर
७८८ ई॰[१]
कलाडी, चेर साम्राज्य
वर्तमानमा केरल, भारत
मृत्यु ८२० ई॰[१] (उमेर ३२)
केदारनाथ, पाल साम्राज्य
वर्तमानमा उत्तराखंड, भारत
राष्ट्रियता भारतीय
उपाधि/सम्मान जगद्गुरु
खोजकर्ता हुन् दशनामी सम्प्रदाय, अद्वैत वेदान्त, सानमठ (Shanmata)
गुरू गोविन्द भागवतपाद
दर्शन अद्वैत वेदान्त
साहित्यिक कार्यहरू भज गोविन्दम्, महानुशासन अद्वैत वेदान्तको ब्याख्या गरे

आदि शंकराचार्य, जसलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, वेदांतका अद्वैत मतका प्रणेता थिए। उनको विचारोपदेश आत्मापरमात्माको एकरूपतामा आधारित छन् जसको अनुसार परमात्मा एउटै समयमा सगुणनिर्गुण दुइटै स्वरूपमा रहन्छ। आदि शंकराचार्यलाई शिवको अवतार मानिन्छ।

दिव्य जन्म[सम्पादन गर्ने]

आचार्य शङ्करको जन्मको वास्तविक तिथिमितिको बारेमा अनेक विवाद छन् । हरेक अवतारी पुरुषको जन्म र मृत्यु दुवै दिव्य मानिन्छ । त्यसैले सुरुमा शङ्करको जन्म मितिको बारेमा खासै खोजी भएन । पछि गरिएका अनुसन्धानहरुबाट उनको जन्म वि.सं. ७४३ (सन् ६८६) बैशाख शुक्ल तृतीयाको मध्यान्ह कालमा विशिष्टादेवीको गर्भबाट दक्षिण भारतमा भएको जानकारी प्राप्त हुन्छ ।[२] उनका पिता शिवगुरू नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म जब कोही संतान भएनन् तब उनले आफ्नी पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चंद्रमौली भगवान शंकरको कठोर आराधना गरे। अन्तमा प्रसन्न भएर भगवान शंकरले उनलाई सपनामा दर्शन दिए र भनें- ‘वर माँग।’ शिवगुरूले आफ्ना इष्टसित एउटा दीर्घायु सर्वज्ञ पुत्र माँगे। भगवान शंकरले भने- ‘बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन तिमी कस्तो पुत्र चाहन्छौ?’ तब धर्मप्राण शास्त्रसेवी शिवगुरूले सर्वज्ञ पुत्रको याचना गए। भगवान शिवले फेरि भने- ‘बाबु तिमीले सर्वज्ञ पुत्र पाउनेछौ। म आफैं तिम्रो पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु।’ आठ वर्षमा संन्यास ग्रहण गरी व्यास परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दु धर्मका मूलतत्वको जानकारी दिंदै आधा एसिया भ्रमण गरेका आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बदरीनाथ धाममा भएको मानिन्छ । मृत्यु अघि उनले भ्रमण गरेको महत्वपूर्ण तीर्थ नेपालको पशुपतिनाथ हो । त्यसैले पशुपतिनाथ हिन्दुहरुका लागि महत्वपूर्ण तीर्थस्थल रहीआएको छ ।

भिक्षाको शिक्षा[सम्पादन गर्ने]

दश वर्षका आचार्य शङ्करले सनातन हिन्दु धर्मको समन्वय र पुनरुत्थान गर्ने संकल्प लिएर जब भ्रमण सुरु गरे उनी अत्यन्त चिन्तित थिए । यत्रो ठूलो अभिभारा कसरी पूरा गर्ने होला ? कन्याकुमारी देखि कश्मीर र गान्धार देखि कामरुपसम्मका अनेक देशहरुमा छरिएका सनातन मतावलम्बीहरुमा एकताको संचार र समन्वय कसरी गर्ने होला ? भनेर उनी एउटा गाउंको बाहिर बरको रुखको छायांमा सोच विचारमा मग्न थिए । काम बहुतै ठूलो थियो । उनी एक्लै थिए । राजशक्ति उनको साथमा थिएन । हिन्दुहरु ससाना संकीर्ण मतमा बांडिएका थिए । उनीहरुलाई एकीकरण गर्न निकै गाह्रो थियो । समस्या समाधानको कुनै उपाय फेला परिरहेको थिएन । चिन्तित शङ्कर दोपहर भोजनका लागि भिक्षा माग्नका नजीकको गाउंमा पुगे । एउटा घरको ढोकामा उभिएर भिक्षाकालागि आह्वान गरे । त्यस घरको गृहिणी भित्रबाट धेरै बेरमा आंखा पुछ्दै बाहिर निस्की । शायद भित्र रोएकी रहिछ । निन्याउरो स्वरमा भनी ः भिक्षु, तपाईं घर बाहिर भिक्षा माग्दै हुनु हुन्छ तर मैले आफैं पनि तीन दिन भयो खाना खाएकी छैन । ढोकामा उभिएका भिक्षुलाई रित्तै फर्काउन मेरो धर्मले दिंदैन । घरमा यो अमला बाहेक खानेकुरा केही छैन । यो नै भिक्षाको रुपमा ग्रहण गर्नु होस् । यति भनी उसले एउटा अमलाको गेडा भिक्षुलाई दिइ । शङ्करले त्यो गेडा हातमा समाते । त्यो गेडा पनि चाउरिएको थियो । दुइ तीन दिनको । अनि गृहिणीको मुखमा हेरे । भने, माता तपाईंले मलाई एक अमूल्य वस्तु दिनु भएको छ । दुःख नमान्नुहोस् । यसैलाई आधार मानेर मैले हिन्दु धर्मको पुनरुद्धार गर्ने छु । अनि आंखा भरि आंसु लिएर गाउं बाहिर निस्के ।[३]

वाराणसीको अनुभव[सम्पादन गर्ने]

एक दिन को कुरा हो आफ्ना शिष्यहरुका साथ नुहाउन शङ्कर मणिकर्णिका घाटतर्फ जा“दै थिए । बाटोमा एक स्त्रीले आफ्ना मृत पतिको शिर काखमा राखेर विलाप गर्दै आफ्ना पतिको दाह संस्कारको सहायताका लागि भिक्षा मागिरहेको देखे । त्यस स्त्रीले मणिकर्णिका घाटमा जाने सा“घुरो बाटो छेकेर बसेकी थिई । आचार्यले केही बेर पर्खे । नुहाउन बेर हुन थाल्यो । तर मणिकर्णिका जाने छिर्ने अर्को बाटो थिएन, त्यसैले आचार्यले त्यस स्त्रीलाई भने– आमा, यस शवलाई अलिकति सार्नु भयो भने हामीले नुहाउन जाने बाटो पाउ“थ्यौं । स्त्री कति शोक मग्न थिई भने उसले शङ्करले भनेको सुन्दै सुनिन । आचार्यले अलि ठूलो स्वरमा फेरी त्यही कुरा दोहो¥याए । यो सुनेर स्त्रीले भनी– महात्मान्, तपाईले नै शवलाई सर्न भन्नुस् न ? आचार्यले भने– माता, तपाईं शोकमा अप्रकृतस्थ हुनु भएको छ । शव पनि काहीं आफैं सर्छ ? त्यसमा सर्न सक्ने शक्ति नै कहां हुन्छ र ? त्यस स्त्रीले शङ्करलाई हेर्दै भन्न थाली– यतिवर, तपाईंको सिद्धान्तमा शक्ति निरपेक्ष ब्रह्म नै जगतको कर्ता हो भने शक्ति नभइ आफैं शव किन सर्न नसक्नू ? ब्रह्म पनि शक्तिको सापेक्ष हुन्छ । स्त्रीको ज्ञानपूर्ण वचन सुनेर अचम्म परेका आचार्य विचार मग्न भए । उनले अनुभव गरे कि जीव र ब्रह्म अभिन्न छन् । निर्विशेष ब्रह्म केवल द्रष्टा मात्र हुन्–जगतको रचना भने महामायाले गरेकी हुन् । यस्तै, अर्को दिनको कुरा हो, शङ्कर नुहाउन जांदै थिए । उनले बाटोमा के देखे भने एउटा चाण्डाल आफ्ना कुकुर सहित बाटो छेकेर बसेको छ । यो देखेर शङ्करले भने– ए चाण्डाल, बाटो छोड, म नुहाउन जांदैछु। चाण्डालले संस्कृत श्लोकमा भन्यो– ए साधु, तिमीले कसलाई बाटो छोड भनेका छौ ? शरीरलाई कि आत्मालाई ? यदि आत्मालाई हो भने त्यो शुद्ध सर्वव्यापी र निष्क्रिय छ । यदि शरीरलाई हो भने त्यो मूढो हो । बाटो छोड्न सक्दैन । तिमीले ब्रह्म ज्ञानको मिथ्या अभिमान मात्र गरेको रहेछ । वास्तवमा तिमीलाई ज्ञान भएको रहेनछ । गंगा जलमा देखिने सूर्य छायां र मदिरामा देखिने सूर्यको छायांमा केही अन्तर छ ? के यही हो तिम्रो ब्रह्म ज्ञान ?[४]

उभय भारतीसंग शास्त्रार्थ[सम्पादन गर्ने]

आचार्यले आफ्नो दिग्विजय अभियान काशीका महा विद्वान मण्डन मिश्रको शास्त्रार्थ बाट थालनी गरेका हुन् । जसले शास्त्रार्थमा हार्छ उसले अर्काको शिष्यत्व ग्रहण गर्ने शर्त साथ लामो शास्त्रार्थ भयो जसमा उनले मण्डनलाई निरुत्तर बनाए । यस दृश्यको मूल्यांकन कर्ता भएर बसेकी उभय भारतीले भनिन्– मेरा पतिको पूर्ण पराजय भइसकेको छैन । शास्त्रार्थहरुमा पत्नीलाई पतिको अर्धांगिनी बताइएको छ। मलाई शास्त्रार्थमा पराजित गरेर मात्र मेरा पतिको हार मानिने छ । मलाई थाहा छ, तपाईं सर्वज्ञ हुनु हुन्छ । तथापि तपाईंसंग शास्त्रार्थका लागि पतिका तर्फबाट मैले आफुलाई प्रस्तुत गर्दछु । स्त्रीसंग आचार्य शङ्कर तैयार थिएनन् । एक छिन उनको बक्के फुटेन । केही बेरको मौनता पछि आचार्यले भने– देवी, यशस्वी पंडितजन कहिल्यै पनि स्त्रीसंग वाद गर्दैनन् । तपाईको यो इच्छा उचित भएन । उभय भारतीले केही चर्को स्वरमा भनिन्– तपाईंले स्त्रीलाई तुच्छ किन ठान्नु हुन्छ ? महर्षि याज्ञवल्क्यले गार्गी संग र राजर्षि जनकले सुलभा नामक नारीसंग शास्त्रार्थ गर्नु भएकै हो । तपाईंले मसंग शास्त्रार्थ गर्न किन नहुने ? यदि तपाई मसंग शास्त्रार्थ गर्न सक्नु हुन्न भने आफ्नो पराजय स्वीकार गर्नु होस् ।’ उभय भारतीका स्पर्धापूर्ण वचन सुनेर आचार्य शास्त्रार्थ गर्न बाध्य भए । उभय भारतीले आफ्ना पतिका कुराहरु पुनः प्रारम्भ गरिन् । उभय भारतीको सूक्ष्म भन्दा सूक्ष्मतर हुदै प्रश्न गर्ने शैली देखेर आचार्य विस्मित भए। दिन प्रतिदिन शास्त्रार्थ हुदै गयो । कुनै पनि पक्ष शास्त्रार्थमा गलेन । प्रत्येक दिन बिहानै शास्त्रार्थ प्रारम्भ भइ मध्यान्ह सम्म सञ्चालित रहन्थ्यो र फेरि अर्को दिन पुनः प्रारम्भ हुन्थ्यो । यसरी यो शास्त्रार्थ १७ दिन सम्म सञ्चालित भयो । दर्शकहरु म्ण्डन पत्नीको अगाध शास्त्र ज्ञान र असामान्य विचार शक्ति देखेर छक्क परे । उभय भारतीसंग गरिएको गम्भीर शास्त्रार्थले आचार्य ले के बुझे भने यिनी साक्षात सरस्वतीको अवतार हुन् । कठिन प्रयास पछि शास्त्रार्थ गरेर उनले पनि पराजय स्वीकार गरिन् । यसको विस्तृत वर्णन आचार्यका जीवनीहरुमा पाइन्छ ।आचार्य शङ्करले भारतवर्षका विभिन्न राज्यहरुमा भ्रमण गर्दै गरेका शास्त्रार्थको विस्तृत विवरण शङ्कर दिग्वििजय भन्ने ग्रन्थमा सविस्तार वर्णन गरिएको छ । [५]

पशुपतिनाथमा[सम्पादन गर्ने]

आफ्ना शिष्यहरुका साथ बङ्गाल देशका विभिन्न मन्दिर र तीर्थस्थलहरु को दर्शन गर्न व्यस्त रहेका शङ्करलाई कुनै शिष्यले के खबर ल्यायो भने नेपालको पवित्र मन्दिर पशुपतिनाथको पूजा अर्चना गर्न त्यहांका मानिसहरु ले छोडे । बौद्ध प्रभावकाकारण हिन्दु देवताको पूर्णतया अवहेलना भइरहेको छ । विरुद्ध मतावलम्बीहरु ले रक्सी मासु इत्यादि अपवित्र वस्तुहरु मन्दिर भित्र फालेर मन्दिरलाई भ्रष्ट बनाइरहेका छन् । वर्णाश्रम धर्म त्यहां लोप भएको छ र ब्राह्मणहरु ले दयनीय जीवन बिताइ रहेका छन् । त्यहांका राजा पनि केही गर्न नसकी निष्क्रिय बसेका छन्। यस्ता कुराहरु सुनेर आचार्यका शिष्यहरु लाई पीर पर्यो । उनीहरुले आचार्यलाई नेपालमा जान अनुरोध गर्न थाले। सबैले बारम्बार अनुरोध गरे पछि यसलाई दैव इच्छा भन्ठानेर आचार्य नेपाल तर्फ प्रस्थान गरे । शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ । किनभने आचार्य शङ्करलाई कुनै राजशक्तिको आधार थिएन अन्यथा उनको बारेमा तत्कालीन राजाका तर्फबाट इतिहासमा अवश्य अंकित गरिन्थ्यो । उनी जनमानसका आचार्य थिए र आज पनि जनजनमा उनको कामको गहिरो छाप परेको छ ।

शंकराचार्य नेपाल आएका छन् भन्ने समाचारले समस्त सनातन धर्मावलम्बीहरुको हृदयमा उत्साहको संचार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा मानिसहरु ओइरिन थाले । मन्दिरमा पूजा अर्चना को व्यवस्था लथालिंग देखेर आचार्यले आफ्ना शिष्यहरुलाई मन्दिरको सरसफाई गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले । सम्पूर्ण शिष्यहरुले पनि आचार्यका साथ पशुपतिनाथको पूजा अर्चना गर्न थाले । महादेवको जय ध्वनिले काठमाडौंका चारै दिशाहरु गुंजायमान हुन थाल्यो । पशुपतिनाथमा पुनः पूजा अर्चना हुन थाल्यो भन्ने सुनेर टाढा टाढाबाट मानिसहरु आएर मन्दिर दर्शन गर्न थाले । आचार्य आफैंले पशुपतिनाथ मन्दिरको प्रांगणमा बसेर सबैलाई धर्मोपदेश गर्दथे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर श्रोताहरुको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दु धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यहरुले शहरमा घुमि घुमि धर्म उपदेश गर्न थाले । त्यहांका ब्राह्मणहरु लाई उनीहरुले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पंच देवताको पूजा र पंच महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारंगत ब्राह्मणहरु ले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । यस शुभ कर्मले राजा पनि विशेष उत्साही भए । राजाको खर्चले अनेक स्थानमा मन्दिर बनाइए । तिनीहरुमा देवदेवीहरुको मूर्ति स्थापना गरिए । आचार्यको विशेष इच्छा अनुरुप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्र सम्मत पूजा अर्चनादि नियमित रुपमा गर्नकालागि विद्वान ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्द ले गरेका थिए । केही दिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो । ठाउँ ठाउँमा वेद र अन्य शास्त्रहरुको अध्ययनका लागि पाठशालाहरु बनाइए । आचार्यका गृहस्थ शिष्यहरुमध्ये अनेक ब्राह्मणहरुले अध्यापन गराउने भार वहन गर्न तयार भए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि माधवाचार्य आएर शैव मतको पुनः परिपुष्टि गरे ।आचार्य शङ्करको नेपाल आगमन बारे इतिहासकाहरु एक मत छैनन् । प्राध्यापक गोपालनिधि तिवारीका अनुसार बलदेव उपाध्यायकृत श्रीशंकराचार्य पुस्तकमा आचार्य नेपाल आएको कुराको विस्तृत वर्णन पाइन्छ भने ज्ञानमणि नेपालद्वारा लिखित पशुपतिनाथ दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समीक्षा भन्ने पुस्तकमा आदि शंकराचार्य नेपाल आएको प्रमाण नपाइएको कुरा उल्लेख छ [६] सिलभा“ लेभीले भने शंकराचार्य नाम गरेका संन्यासी दुइपटक नेपाल आएको उल्लेख गरेका छन् । आचार्य शङ्कर नेपाल आएको कुरा अंग्रेज इतिहासकाहरुले पनि उल्लेख गरेका छन् ।[७]

आचार्य शङ्कर रचित ग्रन्थहरु[सम्पादन गर्ने]

आचार्य शङ्करको नामबाट २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन् । शारीरक भाष्य भने सार्वधिक महत्त्वपूर्ण कृति हो । श्रीमदभगवद्गीताको शाङ्कर भाष्य आजसम्मकै गीता ग्रन्थको व्याख्याका लागि आधार मानिन्छ । कसैकसैले सम्पूर्ण रचना शंकराचार्यको होइन भनेर शंका उठाएका छन् । केही रचनाहरू प्रक्षिप्त गरिएको बताउने विद्वानहरू पनि छन् । स्वामी विवेकानन्दले भने आचार्य शङ्करलाई आजसम्मको सर्वाधिक उर्वर मस्तिष्क भनी व्याख्या गरेका छन् । उनले अमेरिकामा रहंदा अद्वैत दर्शनको व्याख्या सुन्न त्यहांका वैज्ञानिकहरु घन्टौं ध्यान पूर्वक बसेको विवरण पनि उल्लेख गरेका छन्, यो कुरा विवेकानन्द साहित्यमा पत्रावली मा उल्लेख गरिएको छ ।[८]

अन्तिम उपदेश[सम्पादन गर्ने]

नेपालमा धर्म संस्थापन पछि आचार्य प्रायः ध्यान मग्न रहन थालेका थिए । तथापि शिष्यहरुको आग्रहले आचार्य सोही कार्यका लागि उत्तराखण्ड पुगे । आचार्यको अन्तर्मुखता बढ्दै गएको देखेर शिष्यहरुले के बुझिहाले भने गुरुदेवको ब्रह्म स्वरुपमा लीन हुने समय आइपुगेको छ । उनको आयुका ३२ वर्ष पूरा भइसकेको थियो । यसबाट सम्पूर्ण शिष्यहरु निराश हुन पुगे । एक दिन आचार्यले सबै शिष्यहरुलाई आफ्नो नजीकमा बोलाएर भने– बाबु हो, मेरो शरीरको जुन प्रयोजन थियो त्यो सकिएको छ । मेरो प्रस्थान पछि तिमीहरुले वेदान्तमय जीवन यापन गरेर वेदान्तको महिमाको प्रचार गर्नु । अहं ब्रह्मास्मि यस ज्ञानलाई अनुभव गर्नु अनि मात्र ठीक ठीक धर्म प्रचार हुने छ । ठूलो पीठमा आसन भएर कुनै व्यक्ति महान बन्दैन । आचरणले मात्र महानता प्राप्त हुन्छ ।[९]

उपसंहार[सम्पादन गर्ने]

हिन्दु धर्म वेदबाट उत्पत्ति भएको छ भन्ने कुरा त्यस बखत हिन्दुहरुले बिर्सिसकेका थिए । यस्तोमा निरन्तर, नथाकीकन एसियाका सम्पूर्ण स–साना देश र राज्यहरु घुमेर हिन्दु धर्मका स–साना शाखाहरु वेदरुपी विशाल वृक्षका अंगहरु हुन् भन्ने कुरा उनले प्रमाणित गरे । सबै मतवादहरु सनातन महाधर्मबाट उत्पत्ति भएका हुन् भन्ने कुरा उनले प्रतिष्ठित गरे । आचार्य शङ्करसग त्यसबेला हिन्दु धर्मबाट उत्पत्ति भएका ७५ ससाना मतावलम्बीका प्रमुखहरुसंग शास्त्रार्थ भएको थियो । जैन र बौद्ध मतावलम्बीहरुलाई पनि समावेश गर्दा उनले लगभग ८० मतावलम्बीहरुसंग विभिन्न स्थानमा शास्त्रार्थ गरेका थिए । यी सबै मत वेदमूलक हुन् भनेर परिश्रमपूर्वक उनले सबैको चित्त बुझाई एक विराट वैदिक धर्मको रचना गरे । उनको प्रयासले गर्दा नै हिन्दु, बौद्ध, जैन आदि सबै मत सम्प्रदायहरु विशाल सनातन वैदिक वृक्षका शाखाहरु भन्ने कुरा उनले प्रमाणित भयोे । शङ्करको आविर्भाव र तिरोभाव १३०० वर्ष अघिक) घटनाहरू हुन् तर उनको जीवनी र वाणीले आज सम्म पनि हिन्दु धर्मको गति नियन्त्रित र नियमित भइ रहेको छ । त्यसैले उनलाई भगवान शङ्करको अवतार मानिन्छ । उनले गरेका धर्मोपदेश र मोक्ष प्राप्तिको अवधारणाको आधारमा उनलाई प्रच्छन्न बुद्ध पनि भनिन्छ । आचार्यले बुद्धलाई विष्णुको नवौं अवतारको रुपमा ग्रहण गरेका थिए । उनको योगदान कारणले नै आज समस्त हिन्दुहरु बौद्ध, जैन आदि ॐकार परिवारका सम्प्रदायलाई आफुले मानिआएको सम्प्रदाय सरह श्रद्धा र आदर गर्छन् ।

आचार्य शङ्करको वाणी[सम्पादन गर्ने]

  • जसरी अन्धकारमा रसीमा सर्पको कल्पना गरिन्छ तथा सीपिलाई चांदीको टुक्रा बुझिन्छ त्यसै गरी अज्ञानीले देहलाई नै आत्मा बुझ्छन् ।
  • एकमेवाद्वितीय ब्रह्मको अनुभूतिबाट माया वा अविद्यालाई नष्ट गर्न सकिन्छ । यो ठीक त्यस्तो ज्ञान हो जस्तो रस्सीको ज्ञान भए पछि फेरि त्यसमा सर्प हुने भ्रम हराउंछ ।
  • जसरी घडा माटैमाटोले बनेको हुन्छ त्यसै गरी देह पूरै चेतना मात्र हो । अतः आत्म अनात्ममा अज्ञानी व्यर्थको भेद गर्दछन् ।
  • जसरी कमलपित्तका रोगीलाई केवल पहेंलो मात्र देखिन्छ, त्यसै गरी अज्ञानले गर्दा मानिस आत्मालाई देहरुप देख्छ । वस्तुतः तिमी परमात्मा हो तर यो अज्ञानको कारण नै तिमीले आफूलाई देहका बन्धनमा ग्रस्त पाउंछौ । र त्यहींबाट जन्म मरणको चक्र सुरु हुनजान्छ ।
  • माता, पिता, पुत्र, बन्धु अथवा अन्य कसैबाट मेरो त्राण छैन । मेरो मस्तकमा स्थित श्रीगुरुदेवका चरणकमलमा नै मेरो परम त्राण तथा कल्याण छ ।
  • यस संसारमा तीन कुरा अत्यन्त दुर्लभ छन् । र ती केवल ईश्वरका अनुकम्पाले मात्र प्राप्त हुनसक्छन् । ती हुन्– मनुष्य जन्म, मुक्तिको इच्छा र महापुरुषको शरण ।
  • मुक्तितर्फ अग्रसर गराउने साधनमा सर्वश्रेष्ठ स्थान केवल भक्ति हो । स्वस्वरुपको अनुसन्धानको नाम भक्ति हो।
  • हे माता, मलाई मुक्ति चाहिएन । धन–सम्पत्ति, सुख वा ज्ञान पनि चाहिदैन । मेरो केवल यही प्रर्थाना छ, जबसम्म शरीरमा प्राण रहन्छ मैले तिम्रो नाम लिइरहुं ।

सन्दर्भ[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ Sharma 1962, p. vi.
  2. तिवारी, गोपालनिधि (वि.सं.२०४५). जगद्गुरु श्रीआद्यशंकराचार्य. 
  3. आचार्य, श्रीराम शर्मा (सन् २००३). आदि शंकराचार्य. मथुरा: युग निर्माण योजना. 
  4. अपूर्वानन्द, अनु. बाबु राम ज्ञवाली, शङ्कराचार्यको जीवनी,वि.सं.२०७१,विद्यार्थी पुस्तक भण्डार,काठमाडौं, ISBN 978-99946-1-p.४८
  5. माधवाचार्य. शंकर दिग्विजय. 
  6. तिवारी, गोपालनिधि (वि.सं.२०४५). जगद्गुरु श्रीआद्यशंकराचार्य. काठमाडौं. 
  7. लेभी, सिल्भां अनुवादक– डिल्लीराज उप्रेती (सन् २००७). नेपाल– हिन्दु अधिराज्यको इतिहास भाग १ र भाग २. हिमाल किताब. 
  8. अपूर्वानन्द,अनु. बाबु राम ज्ञवाली,शङ्कराचार्यको जीवनी, वि.सं.२०७१, विद्यार्थी पुस्तक भण्डार, काठमाडौं, ISBN 978-99946-1-,पृ. १७०
  9. अपूर्वानन्द,अनु. बाबु राम ज्ञवाली,शङ्कराचार्यको जीवनी, वि.सं.२०७१, विद्यार्थी पुस्तक भण्डार, काठमाडौं, ISBN 978-99946-1-