शनि प्रदोष व्रत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ। भगवान शंकर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रंथहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ। यिनै विधानहरू मध्ये एउटा व्रत हो - प्रदोष व्रत।

परिचय[सम्पादन गर्ने]

प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ। प्रत्येक दिन सूर्यास्तपछि रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ। यस कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत गरिने दिन हो। यस व्रतमा भोले शङ्कर अथवा भगवान महादेवको आराधना र पूजा गर्ने विधान छ।[१]

व्रतविधि[सम्पादन गर्ने]

व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वतीगणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ। प्रात:कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गंगाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ। सन्ध्याकालमा पुन: स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ। यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ। सायंकालमा व्रत लिने व्यक्तिले फलामको कराईमा कालो दाल, मोटा चामल, तिल आदि मिसाएर खिचडी पकाएर भोजन गर्नुपर्दछ। त्यसरी पकाइएको खिचडीको चारभागको एक भाग कालो कुकुर वा गाईलाई खान दिनुपर्छ। प्रदोष व्रत ती व्यक्तिहरूका निमित्त मनोकाङ्क्षा पूर्ण गर्ने व्रत पनि हो, जसले चन्द्रमा ग्रहको पीडा भोग्नु परेको छ, त्यस्तै चन्द्रमा ग्रहको पीडाबाट मुक्ति प्राप्त गर्न वर्षभरि आउने समस्त प्रदोष व्रतलाई सम्पादन गर्नु, फलाम, तिल, कालोदाल, सुठुनी(शकरखण्ड), मूला, पिंडालु, कम्बल, जूत्ता र कोइला आदि दान गर्दा लाभ प्राप्त हुन्छ। शनिबार वा मङ्गलबार परेको प्रदोष व्रतका भगवान् शिवजीको मन्दिर, हनुमानको मन्दिर वा भैरव मन्दिरमा पूजा मात्र गर्दा पनि लाभ प्राप्त हुन्छ। यद्यपि जुनसुकै बारमा परे पनि प्रदोष व्रतको महत्त्व उत्तिकै हुन्छ, तथापि सोमवार, मंगलवारशनिवारका दिन परेको प्रदोष व्रतलाई अत्यधिक प्रभावकारी मानिएको छ।

शनि प्रदोष व्रत र कथा[सम्पादन गर्ने]

शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ। खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ। पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ। चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकरकुम्भ राशि भएका जातकले यो व्रत आजीवन लिनु राम्रो हुन्छ। आजीवन व्रत सम्पादन गर्न कठिनाइ हुने मनुष्यले कम्तीमा १६ वटा, १६ महिना, १६ वर्ष आदि १६ को सङ्ख्या पुर्याएर व्रतको उद्यापन गर्नु पर्दछ। शनिप्रदोष व्रतको व्रतकथा यस प्रकार छ -

प्राचीन समयको कुरा हो। एउटा सहरमा शिवधन नाम गरेका वैश्य बसोबास गर्दथे। भौतिक सुखसुविधा सम्पन्नताका कारण ती वैभवपूर्ण जीवनयापन गर्दथे। उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो। ती साहुजी अत्यन्त दयालु थिए। उनकहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो। जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे। यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन्। सन्तानहीनताका कारण ती साहुका बूढाबुढी नै अतीव चिन्तित थिए। बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे। आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए। तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे। हेर्दा ती साधु तेजस्वी देखिन्थे। दुबैले ती यसभन्दा पहिले नदेखिएका साधुसित आशीर्वाद प्राप्त गरेर यात्रामा जानु श्रेयस्कर हुने ठहर्याए। ती समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन थिए। समाधिमा रहेका योगीलाई ब्युझाउँदा उल्टै रिसाउने डर पनि थियो। त्यसैले ती दम्पत्ति समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा प्रतीक्षा गर्न थाले। बिहानदेखि नै बसेका ती साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, राती भयो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन। भोलिपल्ट उज्यालो भएपछि बल्ल जोगी ब्युँझिए। वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोडेर बसिरहेका थिए। ती दम्पतीलाई आफ्ना अगाडि सेठजीका पतिपत्नीलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने - ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ। हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो। त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ। तिमीहरूलाई सन्तान प्राप्त हुनेछ। अब तीर्थवास गर्ने आवश्यकता छैन। बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर।' साधुका कुरा सुनेर प्रसन्न भएका ती दम्पत्तीले साधु र भगवानको भूरिभूरि प्रशंसा गरे अनि आफूले नजानीकन लिएको प्रदोष व्रतको महात्म्य र व्रतविधान बताइदिन ऋषिसँग प्रार्थना गरे। साधुले निष्ठापूर्वक विधिविधानले सम्पादन गर्दा सुयोग्य सन्तान दिलाउने शनि प्रदोष व्रतलगायत समस्त प्रदोष व्रतको महात्म्य र विशेषता बताएर व्रतसम्पादन गर्ने विधिविधान र नियम बताइदिए। मुनिसित आशीर्वाद र विदा प्राप्त गरी ती दम्पती तीर्थयात्रा गर्न गए र यात्राबाट फर्किएपछि घरमा आएर नियमपूर्वक शनि प्रदोष व्रतको दिनबाट सुरु गरी प्रत्येक प्रदोष व्रतका दिन व्रत लिन थाले। कालान्तरमा शिवधन वैश्यका घरमा एउटा सुन्दर पुत्रको जन्म भयो। यसरी शनि प्रदोष व्रतको प्रभावले ती वैश्यको जीवनमा छाएको अन्धकार लुप्त भयो। ती दम्पती पुत्र प्राप्त भएपछि आनन्दपूर्वक जीवनयापन गर्न थाले।

प्रदोष व्रतको निष्ठापूर्वक गरिने आराधनाको प्रभावले सांसारिक दुःखको निवृत्ति हुन्छ। केवल चन्द्रमाको दशानिवारण र सन्तानप्राप्तिका लागि मात्र होइन यस व्रतले सुखसम्पदायुक्त जीवन शैली, यश, कीर्ति, ख्याति र वैभव प्रदान गर्दछ। विशेषतः श्रावण, भाद्रपद, कार्तिकमाघ महिनामा पर्ने प्रदोष व्रतले वर्तमान युगको प्रभावबाट सिर्जना हुने समस्त शारीरिक र भौतिक कष्टको निवारण गर्न ठूलो सघाउ पुर्याउँछ। शनिबारबाहेक अन्यबारका दिन परेको भएपनि प्रदोष व्रतको निष्ठापूर्वक पालना गर्नाले शनिको प्रकोप शान्त हुने गर्दछ र रोगव्याधि, दरिद्रता, घरभित्रको अशान्ति, नोकरी वा व्यापारव्यवसायमा देखिएको कठिनाइ आदि निवारण हुन्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान