शम्भु प्रधान
शम्भु प्रधान -- निर्देशक
जन्म:- वि.सं. २००८ जेष्ठ ०१ गते मंगलबार पुतलीबजार,धरान,सुनसरी
शम्भु प्रधान नेपाली चलचित्रका निर्देशक हुन्। बुबा कृष्णबहादुर प्रधान र आमा दुर्गादेवी प्रधानका एघारौं सन्तान मध्येका छैंटौं सन्तान हुन् शम्भु प्रधान। उनको जन्म वि.सं. २००८ जेष्ठ ०१ गते पुतलीबजार धरान सुनसरीमा भएको थियो। धरानमा जन्मिए पनि उनका बुबाको कामको सिलसिलामा उनको परिवार भारतको दार्जीलिङमा बसाईं सरेर गए। उनको बाल्यकाल केही धरान र केही दार्जिलिङमा बित्यो। उनका बुबा दार्जिलिङको चियाबगानमा काम गर्दथे, उनका बुबाको सपना शम्भुलाई डाक्टर बनाउने थियो। शम्भुको भने भबिष्यमा यही बन्छु भन्ने कुनै सपना थिएन। बुबाको सपना पूरा गर्न उनले बायोलोजी विषय पढेका थिए, बिस्तारै समयसँगै उनको रुची कृषी बिज्ञानमा बढ्दै गयो। उनको कक्षामा घनिष्ठ मित्र थिए बिनोद प्रधान, बिनोद र शम्भुको मित्रता कक्षा २ देखी गाँसिएको थियो। बिनोद सानैदेखि फोटोग्राफीमा रुची राख्थे, उनले खिचेको हरेक तस्बिरको पहिलो दर्शक शम्भु नै हुन्थे। बिषय फरक भएपनि मन एउटै थियो शम्भु र बिनोदको, फोटोग्राफीमा औधी रुची भएका बिनोद फोटोग्राफी अध्ययनका लागी भारतको पुने पुगेका बिनोदको मन शम्भु बिना मान्दै मानेन यता शम्भुको पनि हालत उस्तै थियो। बिनोदले साथी शम्भुलाई पनि पुने आउन सल्लाह दिए। पुने त जाने तर के का लागि जाने शम्भु द्विविधामा थिए, अकस्मात शम्भुले फिल्म ईडिटिङ पढ्ने बाहाना निकाले। घरमा गएर बुबासँग फिल्म सम्पादन सिक्न भारतको पुने जाने प्रस्ताव राखे, दबावको भन्दा ईच्छाइएको जे काममा पनि सफलता मिल्छ भन्ने मान्यताका शम्भुका बुबाले राम्रैसँग बुझेका थिए। त्यसैले शम्भुका बुबाले शम्भुको ईच्छा बुझेपछि उनलाई फिल्म सम्पादन सिक्न भारतको पुने जाने ब्यावस्था आफैँले मिलाइदिए।
बुबाको अनुमति पाएपछि शम्भु सन् १९७३ मा भारतको पुनेस्थित फिल्म ईन्स्टिच्युट फिल्म ईडिटिङ् कक्षमा भर्ना भए। कोर्स पुरा गरेपछि फिल्म क्षेत्रमा बिस्तारै रस बस्दै गयो। त्यसैले फिल्म क्षेत्रमा केही काम पाइन्छ कि भन्दै खोज्दै हिँड्न थाले। उनले केही समय त कामको खोजीमा भौँतारिनु पर्यो, एकदिन साथी मार्फत हाइदरावादमा सजिलै काम पाइन्छ रे भन्ने सुनेपछि साथी बिनोद शम्भु सँगै चार जना साथी हाइदरावाद गए। त्यहाँ पुगेर चारै जना साथीहरू मिलेर सिनेमा कम्युन नामक कम्पनी खोले, उनिहरुको कम्पनीको उद्देश्य डकुमेन्ट्री निर्माण गर्ने थियो। ठाउँ फेरियो तर भाग्य फेरिएन, उनिहरु जुन सपना बोकेर हैदरावाद पुगेका थिए त्यति सजिलो थिएन हैदरावादमा काम पाउन। एकातिर होस्टेल खर्च र अर्कोतिर कम्पनीको कोठा भाडा, फुटकर कामबाट कमाएको पैसाले कोठा भाडा तिर्न समेत हम्मे हम्मे हुन्थ्यो। सङ्घर्षका ति दिनमा एक छाक खानाको भरमा भौँतारिनुपरेको कहालीलाग्दा ति दिनहरु जीवन सङ्घर्षको पहिलो पाठका रुपमा रह्यो।
करिब ६ महिना सङ्घर्ष गरेपछि उनीहरू हार मान्दै मुम्बई फर्के, त्यतिबेलासम्म उनिहरुको टिम पनि फुटिसकेको थियो सबै आ-आफ्नो बाटो लागे, शम्भु पनि कामको खोजीमा एक्लै हिँड्न थाले नभन्दै चिनजानका एक ब्यक्ति मार्फत उनले भारतीय कलाकारको "दुर्गा कोटे प्रोडक्सन" मा दृश्य सम्पादनको काम पाए यो सन् १९७५ को कुरा थियो। दुर्गा कोटे प्रोडक्सनमा शम्भुको पारिश्रमिक सुरुवातमा ६०० भारु थियो, जुन रकम त्यतिबेलाको समयमा निकै ठूलो थियो। तलबले गाँस वास र कपासको लागी ढुक्क भएपछि उनी मुम्बईमा नै स्थापित हुन थाले।
सम्पादनमा लागेर नाम र दाम दुबै कमाउुनुका साथै मुम्बई जस्तो ठाउँमा एउटा आफ्नै फ्ल्याट किनेर आफुलाई स्थापित गरिसकेका थिए। चाडपर्वमा बाहेक उनको बसाई त्यहीँ थियो। यस्तैमा दशैंको अवसरमा शम्भु नेपाल घर आएका थिए। त्यही समय दार्जिलिङ सिलगढीमा प्रताप सुब्बा निर्देशित चलचित्र परालको आगो हलहरुमा प्रर्दशन भइरहेको थियो। शम्भुका बुबा चलचित्र हेर्न निकै शौखिन थिए, त्यो दिन पनि शम्भुका बुबा आमा नेपाली चलचित्र परालको आगो हेर्न गए। फिल्म हेरेर फर्केका बुबालाई शम्भुले बेलुका "फिल्म कस्तो रहेछ बुबा" भनेर सोधेका थिए, छोराको कुरा भुइँमा खस्न नपाउँदै बुबा कृष्णबहादुरले फिल्मको प्रसंशा गर्न थाले। बुबाले चलचित्रको प्रसंशा गर्दै शम्भुलाई पनि दृश्य सम्पादन छोडेर चलचित्रमा लाग्न सल्लाह दिए। बुबाले दिएको सल्लाहले उनलाई पनि नेपाली चलचित्र निर्माण गर्ने प्रेरणा जाग्यो। सामान्य सम्पादन गर्दै आएका शम्भुलाई चलचित्र निर्देशन गर्नु चानचुने कुरा थिएन। हिम्मत गरेर उनले चलचित्र निर्माण गर्ने निर्णय गरे।
चलचित्रको कथा लेख्न उनलाई टाढा पुग्नै परेन, दार्जिलिङको चियाबगानमा बसेर नै कथा तयार भयो। चलचित्रको सम्वाद तयार भएपछि चलचित्रको नाम जुराइयो "सम्झना" । त्यसपछि कलाकार खोजियो र काम सुरू भयो। दार्जिलिङ र मुम्बईमा छायांकन गरेर चलचित्र सम्झना प्रदर्शनमा आयो। चलचित्र प्रदर्शनमा आएको केही दिनमा नै चलचित्र सबैले मन पराए। दार्जिलिङमा चलचित्र सम्झना सफल भएपछि काठमाडौँमा प्रदर्शन गर्ने हेतुले वि.सं. २०४२ मा शम्भु काठमाडौँ प्रवेश गरे। दार्जिलिङमा जस्तै काठमाडौँमा पनि चलचित्र सम्झनालाई अत्याधिक रुचाइयो। पहिलो चलचित्रबाट नै नसोचेको सफलता हात पारेका शम्भु निकै उत्साहित भए। छोराको सफलतामा उनका बुबा पनि निक्कै खुशी भए।
चलचित्र प्रदर्शनका लागी काठमाडौँ आएका शम्भु काठमाडौँमा नै बसे त्यसपछि उनले मायालु, बेहुली, स्वर्ग, सपना, सरस्वती, सुनचाँदी, सम्पती लगायतका दर्जनौं चलचित्र बनाए। बहु प्रतिभाका धनी शम्भु दक्ष फिल्म निर्माता, निर्देशकका साथै कुशल अभिनेता पनि हुन्। आफुले निर्माण गरेका चलचित्रका कतिपय चरित्रमा उनी आफैंले अभिनय गरेका छन्। चार दशक लामो चलचित्र कलाकारितामा उनको योगदानको कदरस्वरूप उनले सम्मान तथा पुरस्कारहरू प्राप्त गरेका छन्। पुरस्कार भन्दा पनि दर्शकको माया नै ठूलो भएको उनी बताउँछन्।
बिबाह
शम्भु प्रधान र नुतन मराठी एउटै अफिसमा काम गर्दथे। केही दिनको भेटमा नै शम्भुले नुतनलाई मन पराइसकेका थिए। शम्भुको नम्र व्यवहार, काम प्रतिको लगाव र जिम्मेवारीपनबाट नुतन पनि निकै प्रभावित भइसकेकी थिईन्। त्यसैले शम्भुले प्रेमप्रस्ताव राखेपछि नुतनले नाईँ भन्न सकिनन्। शम्भु र नुतनको प्रेमको कुरा नुतनको घरसम्म पुग्यो। यो कुरा सुनेर नुतनको परिवारले नुतनलाई जागीरबाट समेत छुटाइदिए तर साँचो मायाको अगाडी कसैको केही लागेन, अन्ततः सन् १९८९ मा शम्भु र नुतनले भागी विवाह गरे। नुतन भारतीय शम्भु नेपाली उनिहरु बिच जात मात्र होईन देश पनि फरक थियो। अनुमति बिना छोरीले भागी विवाह गरेकोमा सुरुमा नुतनका आमा बुबा खुबै रिसाए तर छोरीको खुशीको सामु उनिहरुको केही लागेन, अन्ततः शम्भुलाई ज्वाइँ स्विकारेर छोरीलाई माइतमा बोलाए।
नुतनका बुबा पनि कलाकार नै थिए, त्यही माहोलमा हुर्किएकी नुतनलाई फिल्मप्रती सानैदेखि खुब चासो थियो। पछि श्रीमानको सल्लाह र सहयोगमा उनी चलचित्रको स्क्रिप्ट लेखनमा लागिन्। श्रीमानकै चलचित्र "बेहुली" बाट चलचित्र लेखनमा हात हालेकी नुतनले सम्पति, स्वर्ग, सरस्वती, नक्कली नक्कली लगायतका चलचित्रको लेखनमा समेत लेखन गरेकी छन्। उनले केही चलचित्रमा अभिनय पनि गरेकी छन्।
प्रधान दम्पतीका एक छोरी र एक छोरा गरी दुई सन्तान छन्। जेठी छोरी ईश्वरी प्रधान र छोरा ससांक प्रधान दुवै नेपाली चलचित्रका चिरपरिचित अनुहार हुन्। ईश्वरीले बालकलाकारका रुपमा नेपाली चलचित्रमा पाइला चालेकी थिइन्। पछि बाल कलाकार हुदैँ गायिका बाट उनी नायीकाको भुमिका निर्वाह गरेकी छिन्। हाल ईश्वरी बैबाहीक जीवनमा बाँधिएर कामको सिलसिलामा अमेरिकामा छिन् ।
छोरा सुसांक भने नेपालमै छन् उनी फोटोग्राफीमा सक्रिय छन्। बाल्यकालमा बालकलाकारको भूमिका निर्वाहा गरेर चङ्खे नामको उपनामले चर्चित बनेका ससांकको रुची चलचित्र निर्देशनमा रहेको छ।
नेपाली चलचित्रमा दर्शकको माया सँगै शम्भुले थुप्रै साथीभाई पनि पाएका छन्, जुन सम्बन्ध आजपनि उत्तिकै सुमधुर रहेको छ। चालीसको दशकका अर्का चर्चित निर्देशक तुलसी घिमिरे र शम्भु प्रधान सहकर्मी मात्र नभएर बाल्यकालदेखिका साथी पनि हुन्। पछि एउटै क्षेत्रमा काम गर्दै गएपछि उनिहरुको मित्रता अझ घनिष्ठ भयो। घिमिरेको नजरमा शम्भु बहुआयामिक व्यक्तित्व हुन्। नेपाली चलचित्र क्षेत्रमा शम्भुको योगदान सम्माननीय भएको घिमिरेको भनाई छ। शम्भु प्रधान धेरै नेपाली कलाकारहरुका गडफादर पनि हुन्, उनले ब्रेक दिएका धेरै कलाकारहरु नेपाली चलचित्र क्षेत्रमा स्थापित भइसकेका छन्। शम्भु प्रधान निर्देशित चलचित्र बेहुली मार्फत चर्चा कमाएका प्रकाश अधिकारी शम्भुको विनम्र स्वभाव र काम गराइ दुवैबाट निकै प्रभावित छन्।
चलचित्रको श्रेय: कलाकार / निर्देशक / निर्माता / कथा / छायांकन / सम्पादन
चलचित्र भुमिका रिलिज मिति
रंग बैजानी -- निर्देशक -- वि.सं २०७१ मंसिर १९ गते सन्यास -- निर्देशक/निर्माता -- वि.सं २०५८ माघ १५ गते इज्जत -- छायांकनकर्ता -- वि.सं २०५८ असोज ०५ गते नेपाल प्यारो छ -- निर्देशक -- वि.सं २०५८ साउन १० गते आशिर्वाद -- निर्देशक -- वि.सं २०५८ बैशाख ०५ गते सोह्र बर्षे जोवन -- निर्देशक/सम्पादक -- वि.सं २०५६ फाल्गुन २४ गते मिष्टर रामकृष्णे -- सम्पादक -- वि.सं २०५४ पौष २० गते सुनचाँदी -- कलाकार/निर्देशक/सम्पादक -- वि.सं २०५४ साउन ०३ गते अल्लारे -- सम्पादक -- वि.सं २०५४ साउन ०३ गते निर्माया -- सम्पादक -- वि.सं २०५३ मंसिर २८ गते सक्काली नक्काली -- कलाकार/निर्देशक/सम्पादक -- वि.सं २०५३ बैशाख ०२ गते गरिब -- सम्पादक -- वि.सं २०५२ चैत्र १२ गते गोठालो -- सम्पादक -- वि.सं २०५२ माघ २६ गते सरस्वती -- कलाकार/निर्देशक/सम्पादक -- वि.सं २०५२ बैशाख ०१ गते झझल्को -- सम्पादक -- वि.सं २०५१ मंसिर ०३ गते स्वर्ग -- निर्देशक/सम्पादक -- वि.सं २०५१ बैशाख ०१ गते सपना -- निर्देशक/सम्पादक -- वि.सं २०४९ भदौ ०६ गते सम्पति -- निर्देशक/निर्माता/सम्पादक -- वि.सं २०४८ कार्तिक १२ गते बेहुली -- निर्देशक/निर्माता/सम्पादक -- वि.सं २०४६ भदौ ११ गते मायालु -- निर्देशक/निर्माता/सम्पादक -- वि.सं २०४५ मंसिर ०५ गते सम्झना -- निर्देशक/निर्माता/कथा/सम्पादक -- वि.सं. २०४२ फाल्गुन ८ गते