भगवान श्री पशुपतिनाथ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(श्रीपशुपतिनाथ बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

यी पनि हेर्नुहोस: श्री पशुपतिनाथको मन्दिर, अष्टमूर्ति, शिव

हिन्दुहरूका आराध्यदेव[सम्पादन गर्ने]

भगवान श्री पशुपतिनाथ हिन्दू परम्परा अनुसार निकै महत्त्वपूर्ण भगवान हुनुहुन्छ। उहाँ सबै प्राणीहरूका रक्षकका रूपमा पुजिनुहुन्छ।भगवान पशुपतिनाथ नेपालमा आदिकालदेखि राष्ट् देवताका रूपमा भक्त्तिपूर्वक आराधना गरिदै आएको र भगवानको महात्म्य नेपालमा मात्र नभइ भारत लगायत विश्वभरिका हिन्दुमा फैलिएकाले उहाँलाई नेपाली हिन्दुहरू ज्यादै नै महिमामय परमपूज्य देवताका रूपमा आदर र आराधना गर्दछन। भगवानको पूजा अ‍‍र्चना पनि विशिष्ट विधिविधानपूर्वक आधिकारिक पूजकद्वारा हुँदै आएको तथ्य इतिहासप्रसिद्ध छ। भगवानको नित्य, नैमित्तिक र काम्य पूजा शुद्ध बैदिक र तान्त्रिक पद्धतिबाट हुनु पर्ने, पूजक पाशुपत विशिष्ट दीक्षा र श्रीविधाको पन्चदशी, षोडशी र अष्टादशी सम्मको दीक्षा लिएको, पशुपति सम्बन्धी पूजन परम्परा सिकेको र गर्न सक्ने हुनुपर्ने एवम खान, पान र अन्य दैनिक व्यवहार गर्दा शुद्ध ब्राहमणॉचित आचारमा बसेको, एक पत्नी बर्ती, कुनै घाउ खत नलागेको, निरामिष (परम्परागत शाकाहारी।मासु नखाने) धर्मशास्त्रको मर्यादामा रहेको, निष्ठावान, दीक्षित व्यक्ति हुनु पर्ने, पूजक हुनु भन्दा र पूजकको पदमा नियुक्त्त हुनुभन्दा पहिले गुरु मूलभट्ट (पूर्व मूल पूजक जस्ले अरुलाई पशुपति पूजाको परम्परागत विशिष्ट दीक्षा दिने हो )को निरीक्षणमा रहनु र गुरुबाट विभिन्न प्रयोगद्वारा शरीर शुद्धी, अन्तःकरण शुद्धी, तत्व भुवन, अध्वा शुद्धी गरिएको हुनु पर्ने परम्परा रहेको छ। भगवान पशुपतिनाथ स्वयम कल्याण रूप हुनु हुन्छ त्यसैले प्राणी मात्रका मोक्षदाता समस्त हिन्दुहरूका आराध्यदेव श्रीपशुपतिनाथको महिमा अनुकुल पूजा अर्चना निर्वाध निरन्तर रूपमा व्यवस्थित रूपमा हुनु सबैका लागि सधैका लागि कल्याणकारी छ।

भगवान पशुपतिनाथको साक्षात मूर्ति सहितको परम पावन विश्वप्रशिद्ध् मन्दिर नेपालको राजधानी काठमान्डौको पूर्व दिशामा रहेको प्राचीन देवपत्तनमा रहेको छ। यस मन्दिरमा सदैव भक्तजनहरूको भीड लाग्दछ। खासगरी महाशिवरात्रि, हरितालिका तीज, बालाचतुर्दशी, श्रावण महिनाको सोमबार यस मन्दिरमा पर्वमेला लाग्दछ।[१] [२]

भगवान् श्रीपशुपतिनाथका मन्दिरको इतिहास[सम्पादन गर्ने]

भगवान् पशुपतिनाथको मन्दिर किरात, गोपाल, आभीर र लिच्छवी सबैका लागि उत्तिकै आस्थाको केन्द्र–बिन्दु रहिआएको छ । पशुपतिनाथका पांचवटा मुखहरू विभिन्न प्रकारका सिद्धिका परिचायक मात्र होइनन्, धर्म, अर्थ, काम र मोक्ष सबै पुरुषार्थका परिचायक पनि हुन् । यस मन्दिरमा बौद्ध मतावलम्बीहरूले समेत आफ्नो कृत्य सम्पन्न गर्ने परम्परा छ । यो मन्दिर नेपालको सर्वाधिक प्राचीन र पवित्र तीर्थ मध्येको एक हो । पशुपति ज्योतिर्लिंगको उत्पत्ति आफैं भएको मानिन्छ । स्वयम्भू पुराणमा मृगस्थलीमा लोकेश्वर प्रकट हुने कुरा यसरी उल्लेख छ– उनी तीनै लोकका सम्राट, हरि, हर, हिरण्यगर्भ, गणेश आदि देवताहरूका साथै योगीहरूको ठूलो जमातद्वारा घेरिएर रहेका हुनेछन् । उनी स्थानीय ब्राह्मण, भट्ट, क्षत्रिय र शूद्रद्वारा पनि पूजिने छन् । र उनको नाम पशुपतिनाथ हुने छ । गोपाल वंशका राजा भुक्तमानले (अनुमानित १७६७ वि.पू.) पशुपतिको मन्दिरमा सुनको पाताले मोडेका थिए भन्ने उल्लेखले पशुपतिको प्राचीनता स्पष्ट हुन्छ । शिव वा रुद्रलाई गाईगोरुसंग सम्बन्धित गरेका विभिन्न कथाहरू पढ्न पाइन्छन् । अभिधर्म कोषको चीनिया व्याख्यामा पशुपतिलाई यो–चाउ (साढेका मालिक) भनिएको छ । हु–एन–त्साङ्को यात्रा वृत्तान्तमा शैव मतावलम्बीको यसरी वर्णन गरिएको छ– यिनीहरू खरानी घसेर बस्ने योगी हुन् । जसले कपाल पाल्छन् पनि र खौरिन्छन् पनि... र थोत्रा लुगा लगाउंछन् । हु–एन–त्साङ् नेपाल आउदा नेपालमा लिच्छवी राजा नरेन्द्रदेव (वि.सं.७०२–७३३) ले शासन गरेका थिए ।[३]

कम्पूचियामा वि.सं.९५७ (सन् ९००) मा पाइएको संस्कृत अभिलेखमा शैव आचार्यको मर्यादाक्रम यसरी उल्लेख छ[४]– शैव पाशुपताचार्यो पूज्यौ विप्राद् अनन्तरम् ।

तयोस च वैयाकरणः पूजनयो अधिकम् भवेत् ।।


आचार्य शंकरले निम्नललित शिव पञ्चाक्षर[५] स्तोत्रद्वारा शिवका पांचवटा मुखको पूजा गरेका थिए


  • नागेन्द्र हाराय त्रिलोचनाय, भस्माङ्गरागाय महेश्वराय ।
  • नित्याय शुद्धाय दिगम्बराय, तस्मै न काराय नमः शिवाय ।।१।।
  • मन्दाकिनी सलिल चन्दन चर्चिताय, नन्दीश्वराय प्रमथनाथ महेश्वराय ।
  • मन्दार पुष्प सुपूजिताय, तस्मै म काराय नमः शिवाय ।।२।।
  • शिवाय गौरी वदनाब्ज वृन्द, सूर्याय दक्षाध्वरनाशकाय ।
  • श्री नीलकण्ठाय वृषध्वजाय, तस्मै शि काराय नमः शिवाय ।।३।।
  • वशिष्ठ कुम्भोद्भव गौतमार्य, मुनीन्द्र देवचर्चित शेखराय ।
  • चन्द्रार्क वैश्वानर लोचनाय तस्मै व काराय नमः शिवाय ।।४।।
  • यक्षस्वरूपाय जटाधराय, पिनाकहस्ताय सनातनाय ।
  • दिव्या देवाय दिगम्बराय तस्मै य काराय नमः शिवाय ।।५।।

भगवान् श्री पशुपतिनाथ मन्दिरबारे केही जानकारी[६][सम्पादन गर्ने]

  • मन्दिर स्थापना- प्रचण्डदेव
  • देवल निर्माण- सुपुष्प
  • पञ्चामृतले नुहाउने -पृथ्वीनारायाण
  • वर्तमान मूर्ति बनाउने -जय सिंह देव
  • महास्नान गराउने -अभयमल्ल
  • भट्ट पुजारी राखने- यक्षमल्ल
  • प्रथम पुजारी -शेखरानन्द
  • राष्ट्रिय देवताको मान्यता दिने - अंशु वर्मा
  • स्वर्णमय बनाउने - भाष्कर वर्मा

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "नेपालका आराध्य देव भगवान पशुपतिनाथ" - कुलचन्द्र कोइराला -प्रकाशक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान २०५१
  2. "पशुपतिनाथको दर्शन स्पर्शन पूजनसम्बन्धमा समीक्षा"-ज्ञानमणि नेपाल -प्रकाशक महेशराज पन्त २०४३
  3. नेपाल– हिन्दु अधिराज्यको इतिहास भाग १ र भाग २– सिल्भा लेभी (अनुवादक– डिल्लीराज उप्रेती), हिमाल किताब, सन् २००७
  4. शंकराचार्यको जीवनी, लेखक स्वामी अपूर्वानन्द, अनुवादक बाबु राम ज्ञवाली, विद्यार्थी पुस्तक भण्डार काठमाडौं, २०७१ ISBN 978-99946-1-
  5. स्तोत्र रत्नावली– गीताप्रेस गोरखपुर, वि.सं.२०६७
  6. ईकोशी न्यूज २०७२.११.४